मान्छे पहिले जङ्गल पस्यो
वा पस्यो
चितुवा गाउँभित्र ?
मान्छे बाघसँग डरायो
वा डरायो
बाघ मान्छेसँग ?
गैंडाले चाट्यो मान्छेको छाला
वा चाट्यो
नपुंसक मान्छेले गैंडाको खाग ?
गिद्धले टिप्यो आँगनको चल्ला
वा टिप्यो
मान्छेले वनको कालिज ?
कसले कति बिगार्यो ?
मैले मान्छेसँग सोधेँ
गर्जियो मान्छे
कसले कति बिगार्यो ?
मैले सकिन
बाघलाई सोध्न
र चितुवालाई पनि
म पनि त कायर मान्छे
हात्तीमा चढेर छिरेँ
हात्तीमै चढेर फर्किएँ
जङ्गलमा
न बाघ देखेँ
न गैँडा ।
निष्प्रभ सजी
कास्की, पोखरा
हाल: अष्ट्रेलिया, सिड्नी
(स्रोत : मधुपर्क २०६७ चैत)