~संजीव विवश~
विवशताको सारङ्गी रेटेर
तिमी युगको घाँटी नरेट
पुर्पुरोमा केही लेखिएको हुँदैन भने
पुर्पुरो फुटाएर पनि केही भेटिदैन
तिमी बेफ्वाँकमा बक्दैछौ
तिमी नचाहिने धाक लाउँदैछौ
भाले बास्दैमा चरा चिर्बिराउँदैमा
नयाँ सुर्य उदाउँदैन
बेमौसमको वर्षातमा खेती गरेर
तिमी मनसुन डाक्दैछौ
म चुप लागेर बसिदिन्छु
वर्तमानको दाहसंस्कार गरेर
तिमी भवितव्यको भाषामा छाट्दैछौ
सान्त्वना हुन्छ भने
तिमीले लागाएको एउटा चितामा
कुनै दिन म पनि जलिदिन्छु
म चुप लागेर बसिदिन्छु
तर काजी एउटा कुरा
जलन र मरणले मात्र
कसैको शौर्य बढाउँदैन
भाले बास्दैमा
नयाँ सूर्य उदाउँदैन
तापनि म कुरा नकाटी बसिदिन्छु
म चुप लागेर बसिदिन्छु ।
(स्रोत : Dainikee.com)