~कृष्णभूषण बल~
कवि कृष्णभूषण बल किन बेपत्ता भएको ?
होइन, कविताहरू लेखिरहेको छु । यसबाहेक दैनिक अखबारहरूमा साहित्यिक स्तम्भ पनि लेख्दै छु । लेख्ने काममै छु ।
‘कवि कृष्णभूषण बल’ कविताको ब्याज खाएर बसिरहेको छ भनिन्छ नि ?
हो, त्यो त पक्कै हो । कविताको ब्याज खानेहरूकै कुरा गर्ने हो भने गोपालप्रसाद रिमालले पनि धेरै खानुभयो । भूपी दाइले पनि खानुभयो । अहिले वैरागी काइँला दाइले पनि खाइरहनुभएको छ । एउटा स्थापित नाम भइसकेपछि त्यसलाई ‘मेन्टेन’ गरेर बस्न बहुत गाह्रो कुरा हो । जस्तो पायो त्यस्तै प्रकाशनमा ल्याउनु आफूलाई तल झार्नु हो । गतिलो र राम्रो कुरा त कम नै हुन्छ । योचाहिँ ठीक छ है, भन्ने लागेपछि मात्रै म बाहिर ल्याउँछु । ब्याज खाए भने पनि सावाँ खाए भने पनि कुरा यही हो ।
स्थापित कवि हुनुहुन्छ, कविताको कमाइ कस्तो छ ?
लेखकहरू लेखेर बाँचे भनेको कमै सुनेको छु । केही लेखक छन्, जोचाहिँ लेखेर नै बाँचेका छन् । तर, कविहरूचाहिँ लेखेर बाँच्ने कमै होलान् जस्तो लाग्छ ।
तपाईंचाहिँ कविता लेखेरै बाँच्नु भा’छ कि छैन ?
लेखनमा बाँचे होला । तर, जिउने सन्दर्भमा चाहिँ पहिले जागिर खाएर बाँचे । अहिले पेन्सन खाएर बाँचिरहेको छु ।
नेपालमा कविता लेखेर बाँच्ने दिन कहिले आउला ?
खोइ कहिले भन्नु र † आशा गरौँ चाँडै यस्तो दिन आउनेछ नेपालमा ।
जिन्दगीमा कति लेखिसक्नुभयो, अब बाँकी कति छ ?
खै, त्यति धेरै लेखेजस्तो लाग्दैन । मलाई त भर्खर सुरु गरेजस्तो पनि लाग्दैन । अब एउटा कवितासंग्रह निकाल्ने तयारीमा छु । कवितासंग्रह तयार भइसक्यो तर कहिले के कहिले के भएर रोकिरहेको छ । सायद, चाँडै प्रकाशन हुन्छ होला ?
तपाईं कविता अबेग या, विवेकले लेख्नुहुन्छ ?
म कविता मुटुले लेख्छु ।
‘कवि कृष्णभूषण बल’ र ‘कृष्णभूषण बल’ मा के भिन्नता छ ?
कवि कृष्णभूषण बल सधैँ आफू जन्मेको ठाउँ पाँचथर रविमा पुग्छ । पहाडी बाटोमा खेल्दै, दौडिँदै हिँड्छ । त्यहाँको अविकसित गाउँबस्ती देखेर रुन्छ, कराउँछ । आक्रोश पोख्छ । अहिलेको कृष्णभूषण बल विराटनगरमा बस्छ, कहीँ जानु छ भने रिक्सा चढ्छ, भ्यान चढ्छ । फरक यति छ ।
कवि कृष्णभूषण बलको कमजोर पक्ष के हो ?
एउटा बोतल चार दिन लगाएर मात्रै सक्छु । मेरो कमजोरी त्यही होलाजस्तो लाग्छ ।
उपन्यासको लहर चलिरहेको छ, उपन्यास लेख्ने झोँक चलेको छैन ?
कविता लेखेर नै अघाएको छैन, उपन्यास कसरी लेख्ने र ? उपन्यास र कथाहरू पनि लेख्नै नसक्ने त कहाँ हो र ? तर, त्यो समय कवितामा नै दिउँ भन्ने लाग्छ । उपन्यास वा कथा लेख्ने समयमा त राम्रो कविता पो लेख्न सकिन्छ कि भन्ने लोभ लाग्छ । कविताको मोह घटेकै छैन ।
कुनैबेला कवि कृष्णभूषण बल उपन्यासकार हुने खतरा छ, कि छैन ?
त्यस्तो कुनै खतरा छैन । बरु एउटा मेरो संस्मरणको पुस्तकचाहिँ प्रकाशन हुनेछ ।
तपाईंलाई मनपर्ने कवि र उनको कविता कुन हो ?
अहिलेका पुस्तामा कवि मनु मञ्जिल मलाई मनपर्ने कवि हुन् । उनको ‘दुश्मन’ शीर्षकको कविता मनपर्छ मलाई ।
कुनै एक कविसँग दिनभरि बस्ने अवसर पाउनुभयो भने कोसँग बस्ने चाहना छ ?
वैरागी काइँला दाइ कान सुन्दैनन् र मात्रै । कान मजाले सुने त वैरागी दाइसँग बस्न मन छ । किनभने उनको कविताको उचाइ अहिलेसम्म अरूले लिएकै छैन । काइँला दाइले कान सुनिदिए बूढोसँगै दिनभरि बस्ने थिएँ जस्तो लागिरहन्छ मलाई ।
कविता कुन उद्देश्यले प्रेरित भएर लेख्न सुरु गर्नुभयो अहिले त्यो पूरा भयो कि भएन ?
अहँ, मैले कुनै सपनाबाट प्रेरित भएर लखेको होइन । कविता लेख्न सुरु गर्दा कवि हुन्छु भन्ने पनि लागेको थिएन । कवि कस्तो हुन्छ ? भन्ने पनि थाहा थिएन । कवि हुँला भनेर सोचेको पनि होइन । साहित्यकार हुन्छु, भनेर सम्झेको पनि थिइनँ । लेख्दा–लेख्दै अब कवि पो भइएछ ।
कविता कसका लागि लेख्न सुरु गर्नुभएको थियो, अहिले कसका लागि लेख्दै हुनुहुन्छ ?
म सानै छँदा मेरी आमा खस्नुभयो, त्यो दु:खद् घटनाले मलाई भावुक बनायो । म जन्मेको ठाउँ रवि ज्यादै रसिलो र रमाइलो थियो । त्यसै पनि कविता फुर्ने ठाउँ थियो त्यो । भावुकतावश त्यही लेखेका कुराहरू अहिले कविता भएछन् जस्तो लाग्छ मलाई ।
पहिल्यै कवितामा घोषणा गर्नुभएको थियो, ‘काठमाडौं, काठमाडौं एक्लैले बोक्न सक्दैन’ तपाईंको पूर्वघोषणा अहिले सही भयो, मक्ख हुनुहुन्छ होला नि ?
खासगरी मैले त्यो कविता विकेन्द्रीकरणका लागि लेखेको थिएँ । विकेन्द्रीकरण ठीक हो भन्ने मेरो विचार थियो । अहिले त संघीयताका नाममा तपाईं हामी नै छुट्टिनुपर्ने अवस्था भयो । तपाईं बेग्लै संघको, म बेग्लै संघको हुनुपर्ने भयो । अहिले कतै न कतै टाढा–टाढा हुँदै गरेको महसुस भइरहेको छ मलाई । म त एकै ठाउँ, एकै पँधेरो, एउटै चौतारो मनपर्ने मान्छे । अहिले जे भइरहेको छ, मलाई चाहिँ कता–कता चित्त बुझेको छैन ।
हिजो एक्लैले काठमाडौं बोक्नै सक्दैन भन्नुभयो, आज काठमाडांै बाँडिँदै छ, अब हुने संघहरूले चाहिँ आफ्नो भारी आफैँ बोक्न सक्लान् त ?
मधेस जसरी दुई टुक्रा मात्रै पारिएको छ । अब पहाडले भारी त के झोला पनि बोक्न सक्दैन जस्तो लाग्छ मलाई ।
काठमाडौंबाहिर बस्ने साहित्यकारको दु:ख के हो ?
यस्तो दु:ख मैलेचाहिँ महसुस गरेको छैन । प्रतिभा छ भने जहाँ बसे पनि उस्तै हो । प्रतिभा छैन भने राजधानीमा बसेर पनि केही हुँदैन । मैले त काठमाडौंबाहिर बसेको केही फरक महसुस गरेकै छैन ।
काठमाडौंबाहिर बस्नुको आनन्दचाहिँ नि ?
राजधानीमा जस्तो गुट–उपगुट छैन यहाँका साहित्यकारमा । सबै कुरामा सधैँ मन मिल्छ । कुनै पनि काम गर्दा एकजुट भएर पूरा गर्छौं । यहाँ भिडभाड, थिचोमिचो, अटेसमटेस हुने खालको वातवरण छैन । एकदमै रमाइलो वातावरण हुन्छ, त्यो नै रमाइलो पक्ष हो ।
तपाईंलाई कहिलेकाहीँ यस्तो लाग्दैन, ‘राजधानीमा बसेको भए कवि कृष्णभूषण बलको उचाइ अझ माथि हुने थियो †’
म महत्त्वाकांक्षी मान्छे होइन । त्यसरी कहिल्यै सोच्दिनँ म । काठमाडांै बसेको भए यो हुन्थ्या,े त्यो हुन्थ्यो भन्ने पटक्कै लाग्दैन मलाई । मलाई ठूलो मान्छे हुने रहर कहिल्यै भएन । हरिभक्त कटुवालको गीत ‘म जे छु, ठीकै छु मलाई बिथोल्न नआऊ’ भनेजस्तो पो भएको छ । मलाई यो नै ठीक छ । छैन कुनै गुनासो ।
विराटनगरको ‘वाणी प्रकाशन’को अध्यक्ष हुनुहुन्छ, तपाईंको प्रकाशनले नेपाली साहित्यलाई
दिइरहेको छ ?
मोरङको विराटनगर भन्ने ठाउँ कवि, साहित्यकारहरूको होइन तर पनि कवि साहित्यकारहरूकै ठाउँ हो जस्तो गरेर हामी नियमित कवि गोष्ठीहरू गरिरहेका छौँ । साहित्यमा चहलपहल ल्याउँछ सफल भएको छ वाणी प्रकाशन । वाणी प्रकाशन विराटनगरको एउटा गहना हो ।
नलेखिएको तर लेख्नै पर्ने विषय केही छ ?
यस्ता विषय धेरै छन् । म जहिल्यै पनि सोच्छु राष्ट्रलाई बोक्ने, आफ्नो संस्कारलाई कहिल्यै नभुल्ने, अत्यन्त मिहिनेती तर असाध्यै दु:ख गर्न सक्ने थारू थरुनीहरू जो विदेशको नाममा फारवेसजगन्जसम्म पनि पुगेको छैन होला । तिनीहरूका बारेमा लेखिएकै छैन । उनीहरूको बारेमा खोजअनुसन्धान गरेर लेख्न हुन्थ्यो जस्तो लागिरहन्छ । यी यस्ता धेरै कथाव्यथा लेखिन बाँकी छन् ।
काठमाडौंलाई विराटनगरका कृष्णभूषण बलको सन्देश के छ ?
जो जहाँ बसे पनि आफ्नो देश र भूगोल नबिर्सौं । सबैले आफ्नो धर्तीको समृद्धिको पक्षमा काम गरौँ । सबै लेखकले मुलुकको समृद्धि लेखून् । जो जति छौँ, हामी सबै नेपाली हौँ । नेपाल छ र न हामी नेपाली छौँ । मेरो सन्देश भने पनि मनको कुरा भने पनि यही हो ।
तपाईंलाई असाध्यै मनपर्ने आफ्नै कविता कुन हुन् ?
पहिलेको ‘नदी किनारको पूर्णिमा’ शीर्षकको कविता मलाई असाध्यै मनपर्छ । हुन त बाल्ने निभाउने स्विच यिनै हुने भनेर पञ्चहरूलाई प्वाक्कै हानेको छु । अहिलेसम्म पनि म त्यो कविता मन पराएर पढ्छु । त्यो ०३५/३६ तिर लेखेको हो । त्यसपछि आएर झनै त्यस्ता खालका कविता लेख्दै आएको छु । तत्काल प्रभाव पार्नेभन्दा पनि सधैँ बाँच्ने कविता लेख्नुपर्छ जस्तो लाग्छ ।
लेखेर के पाइँदो रहेछ, तपाईंको निकष्र्ष के हो ?
खोइ के पाइयो भन्नु ? अहिले प्राज्ञ सभासद् भएको छु । सबैले प्राज्ञज्यू भन्छन् । अनि खर्चचाहिँ बढेको छ । अन्य त केही पनि छैन ।
प्रस्तुति : राजेश राई
२०६९ वैशाख २३ गते २:१० मा प्रकाशित
(स्रोत : Souryadaily)