अँगेनाको डिलमा,
उही ठुटो चुरोट,
निभाउंदै,
फेरी सल्काउँदै,
चिम्टाले घरीघरी,
कोइला पल्टाउँदै,
बाँसको ढुङ्ग्रोले,
सकी नसकी,
धुँवा को मुस्लो पन्छाउँदै,
जन्मै देखिको बल लगाएर,
फू फू गर्दै,
रातो गुन्यु र मखमली चोलो पोलेर,
खरानीको थुप्रो बनाउंदै,
हर्केले,
प्रणय दिवस मनाउंदै थियो!
“यै रांडले,
मेरो पुस्ता देखिको सर्वस्व,
मेरा सन्तान,
मेरा दिन, रात र सपना,
एकै चोटमा लगी,
भविष्य लगि,
आफन्त, साथि भाइ त के
जन्मेको माटो समेत,
गिद्धले सिनो नछोडे झैं,
टुक्रा टुक्रा पारेर लगी!
तैंले छोडेका यिनै गुन्यु चोलाका
टुक्रा जलाएर,
तिनै खरानीका थुप्रा संग
कसम खाँदै छु
अब देखि कहिल्यै,
यो प्रणय दिवस,
तेरो नाममा,
मनाउने छैन! ”
उसको बर्बराहट सुनेर,
दैलो नाघेर अँगेनो सम्म पुग्ने
मेरो जाँगर त्यसै सेलायो!
आजको साँझ,
हिजो झैं,
साइँली को भट्टी
र ठर्राको तालमेल
हर्के र उसका तितामिठा गफ सुन्ने
मेरो दैनिकी पनि,
खरानी भयो,
हर्केको अँगेनाको खरानी झैं!
(स्रोत : kaflesantosh.wordpress.com )