संस्मरण : सत्र सालको क्रान्तिको सम्झना

~कृष्णविक्रम नेम्वाङ~Krishna Bikram Nembang

बी.पी. कोइरालाको नेतृत्वमा रहेको जननिर्वाचित सरकारलाई बर्खास्त गर्दै राजा महेन्द्रले २०१७ सालमा शाही विप्लवबाट शासन सत्ता हातमा लिएपछि नेपाली कांग्रेसले सशस्त्र जनसंघर्ष थालेको थियो । त्यसै क्रममा नेपालको पूर्वी क्षेत्रमा दन्केको सशस्त्र जनसंघर्षका घटनाक्रम र त्यसको अगुवाइ गर्दाको अनुभव धेरै पाठकका लागि उपयोगी देखिन्छ । यहाँ त्यस सशस्त्र जनसंघर्षका एक अगुवा कृष्णविक्रम नेम्बाङले आफ्नो नयाँ किताब ‘सत्र सालको क्रान्तिको सम्झना’मा लिपिबद्ध गर्नुभएको संस्मरणको एक अंश प्रस्तुत गरिएको छ । -सं..

क्रान्तिकारी कारबाहीमा अरु अभावको पूर्ति साहस र आँटले नै गर्नुपर्छ ।

बी.पी. कोइराला

रूसी इतिहासको एउटा घटना स्मरणयोग्य छ– सन् १८७४ मा देशव्यापी विप्लवको आह्वानमा कोइ एक हजार रूसी विद्यार्थीले किसानी पहिरनमा गाउँगाउँको बाटो पक्रे । उनीहरूलाई ‘नोरोदनिक’ भनियो । तर विडम्बना उनीहरूलाई गाउँवासीले विश्वास गर्न सकेनन् । बरु कतिपयलार्ई उल्टै पक्रँदै जारका पुलिसलार्ई बुझाउन थाले । यसो हुनुमा आम जनता र ती बौद्धिक भनाउँदाहरूबीच पूर्वसम्बन्धको सर्वथा अभाव हुनु थियो ।

दार्जिलिङमा हिउँदे बिदा सुरु भइसकेको थियो । अधिकांश साथीहरू पार्टीको निर्देशन लिएर आ–आफ्नो गाउँ लागिसकेका थिए । स्कुल, कलेज बन्द भएकाले दार्जिलिङ सुनसान प्रायः थियो । हिउँ पनि अलिअलि फुसफुसाउन थालेको थियो । पार्टीको निर्देशनबमोजिम म पनि पाँचथर फर्किहाल्नु थियो । झापाका पर्शुराम भण्डारी र इलामका भद्रसिंह राई (कार्यकर्ता) पार्टीको सन्देश लिएर आफ्नो जिल्ला फर्किसकेका थिए । यसबीचमा काठमाण्डुबाट दार्जिलिङ आइपुगेका धर्मरत्न यमी र राजाका दूत केदारमान व्यथितलाई भेट्ने र आफ्ना कुरा राख्ने अवसर मिल्यो । विघटित प्रतिनिधिसभाका सांसद अच्युतराज रेग्मी र डि.के. शाही अलिपछि कलकत्ताबाट दार्जिलिङ आइपुगे । उनीहरूलाई पनि ‘दिलखुश’ होटलमा भेटियो । यही कारणले मेरो जिल्ला फर्काइ ढिलो हुँदै थियो । तर कतिपय साथीले त मेरो ढिलाइलाई विचार डगमगाएको रुपमा लिएछन् । नरमाइलो लाग्यो ।

म होटल फ्रिडममा बस्थें । पुसको अन्तिमतिर होजस्तो लाग्छ । एकदिन किताब–सिताब थन्क्याएँ । होटल मालिक लि थङ फूलाई सेसन सुरु भएपछि आउने भन्दै म पनि बाटो लागें । हिँड्ने बेलामा फ्रेण्डस स्टुडियोका मालिक नेपालबाट पलायित कांग्रेस कार्यकर्ता रामशंकरलाल श्रेष्ठसँग भेट भयो । उनलाई कुन बाटो नेपाल फर्कंदा उचित होला भनी राय मागें । उनले सिधै पशुपतिनगर–इलामको बाटो गए हुने बताए । दार्जिलिङमा कांग्रेस कार्यकर्ता भनेर म चिनिइसकेको थिएँ । अझ झोलामा पार्टीको चारतारे झण्डा पनि थियो । त्यसैले अलि छलिएर नेपाल प्रवेश गर्ने कि भन्ने विचार थियो मेरो । तर साथीहरूले पनि सिधै मूलबाटो भएर जानु नै राम्रो हुने सल्लाह दिएका थिए । अन्ततः साथीहरूले सुझाएझैं मूलबाटोलाई नै रोजें । सायद मूलबाटो भनेको प्रजातन्त्रको बाटो थियो, जनसंघर्षको बाटो थियो । तै बाटोभरि रूसी नोरोदनिकको सम्झना भने भइरह्यो ।

अंग्रेजकै पालादेखि दार्जिलिङदेखि मिरिक’ गाडी चल्थ्यो । मिरिक जाने गाडीमै फाटकसम्म यात्रा गरें । फाटकबाट पाँच मिनेट पैदल हिँडेपछि बिहानको दस बजे पशुपतिनगर आइपुगें । पशुपतिनगर नाकामा भन्सारका कर्मचारी र पुलिसको बाक्लै चहलपहल थियो । केही अप्ठेरो पर्ला कि भन्ने डर भयो । तर म उनीहरूको आँखामा परिनँ । अरु त के र, झोलामा जो कांग्रेसको चारतारे झण्डा थियो, त्यसैले अप्ठेरो पार्न सक्थ्यो । तर मैले त्यसलाई त पट्याएर झोलामा सबैभन्दा तल राखेको थिएँ ।

पशुपतिनगरबाट विन्देश्वरी–फूलचन्दको ट्रकको डालामा चढें । त्यतिखेर गाडी चढ्न पाउनु पनि ठूलो अहोभाग्य हुन्थ्यो । कच्ची सडकमा ट्रकले यता बल्ड्याङ उता बल्ड्याङ खान्थ्यो । माघे–सुन्तलेपछि शिवालयबाट ठाडो उकालो हुँदै बेलुकी इलामबजार आइपुगें । धुलोले पुरिएर यात्रुहरू नचिनेने भइसकेका थियौं । सायद गणेशमानसिंह : मेरा कथाका पानाहरू (खण्ड–१) मा भनिएझैं यो एकजना सद्दे अनाडीको जीवनमा राजनीतिक यात्राको सुरूवातको दिन थियो ।

बिहीबारे हटियाको दिन परेछ । तिनताक इलाम बजार पाँचथरेहरूको ठूलो किनमेल थलो मानिन्थ्यो । त्यहाँबाट नुन, तेल, फलाम, लत्ताकपडाजस्ता अत्यावश्यक उपभोग्य वस्तुहरू ढाकरमा बोकेर पाँचथरका हाट–बजारमा पुर्‍याइन्थ्यो । हाटको परम्परा अंग्रेजहरूले आफ्नो उपनिवेशकालमा भारतमा ल्याए र हाम्रातिर पनि यसको प्रचलन सरेको हो । ठाउँठाउँमा साता दिने, पन्ध्रदिने हाट लाग्ने । मालसामान हाटबाटै खरिदबिक्री हुने । हटियाका दिन परेकाले होला, ढाक्रेका ताँती देखिन्थे । यस्तो ताँती कि कृष्णप्रसाद कोइरालाले श्री ३ चन्द्र शमशेरलार्ई ‘सौगात’ पठाएको भनिएको जस्तै शरीरमा त्यान्द्रो कपडा फर्फराइरहेका, भारीले पेदूपेदू थिचिएका ।

इलामबाट पाँचथर एक्लै पुग्नु हम्मे पथ्र्यो । बाटोमा खोलाखोल्सी, भीर–पहरा, उकालो–ओरालो थियो । अझ रक्से छिचोलेपछि त घनघोर जंगलले पाँचथरसम्मै ढाकेको थियो । छ न त मसँग त्यस्तो धनदौलत केही थिएन, तै चोरी हुने डर पनि थियो । निक्कैबेर सोचें, आँटें पनि तर एक्लै पाँचथर उक्लने आँटै आएन मलाई । सहयात्रीको खोजीमा बजार चाहार्न थालें । आफ्ना गाउँले सिवाय कसैलार्ई चिन्दिनथें । कुनै गाउँले भेटिएला नि भन्ने आशा थियो । तर अर्कै संयोग पर्‍यो ।
मालापथ पुग्दा ‘सिकारी बूढा’ सँग झ्वास्स भेट भयो । बूढा रेडीको पुरानो खास्टो गम्लङ्ग ओडेर हस्याङफस्याङ हिँडिरहेका रै’छन् । उनको खास नाम चन्द्रमान राई हो । उनीसँग दार्जिलिङमै परिचय भएको थियो । किन हो उनलार्ई सबैले ‘सिकारी बूढा’ भन्थे । उत्तरी इलामको आलुबारी भन्ने गाउँमा जन्मे हुर्केका उनी पार्टीका निष्ठावान कार्यकर्ता थिए । एकछिन उभिएरै कानेखुसी गर्‍यौं । उनी इलामका साथीहरू भेट्न आएका रहेछन् । हामीले बेलुकै भेटघाट सकाउने, बिहान बाँडा होटलमा चिया खाने र पाँचथर लाग्ने योजना बनायौं । सुन्तलाबारीमा साइँली छ्यामाको घर थियो । म वास बस्न सुन्तलाबारीतिर लागें ।

बिहान सखारै बाटो लाग्यौं सिकारी बूढा र म । गफगाफमै पुवाखोला अनि झुत्रेखोलाको झोलुंगे पुल तरेर साखेजुङ्को उकालो लाग्यौं । त्यतिन्जेलसम्म घाम पनि टाउकोमाथि पुगिसकेको थियो । फेरफारे लुगाको झोला पनि गह्रौं–गह्रौं भइरहेको थियो । पेट पनि भर्नु थियो । गमेर ल्याउँदा साखेजुङमा लालबहादुर लोक्त्तामको घर सही लाग्यो । उहाँ मेरो पनि नातेदार र दाइ भूविक्रम नेम्बाङको त साक्खै ससुरा । खाना खान पनि पाइने र जिल्लाको राजनीतिक हलचलका सम्बन्धमा पनि केही न केही थाहा पाइने । लोक्ताम निवास बाँसका ठूलठूला झ्याङदेखि केही पर बाटोको छेवैमा पथ्र्यो । हामी घरलार्ई ताकेर त्यतैतिर सरासर लाग्यौं ।

राजनीतिक दृष्टिले इलाम जिल्लामा साखेजुङ गाउँको ठूलै साख थियो । २०१५ सालको आम निर्वाचनमा कांग्रेसका विजयी सांसद कृष्णबहादुर भट्टराई त्यहीँका निवासी थिए । दार्जिलिङमा हामी छात्रहरूले मिटिङ गरेको उनै के.बी. भट्टराइकैमा हो । कम्युनिस्ट आन्दोलनमा इलाम जिल्लाका शिखर पुरूष तथा २०१५ सालमा नेपाल कम्युनिस्ट पार्टीका उम्मेद्वार ज्ञानीराम भट्टराई यहीँका थिए । उनले नै इलाम जिल्लामा कम्युनिस्ट पार्टीको जग बसाए । हाल उनी दार्जिलिङ प्रवासिएका थिए । यहाँका बस्नेतहरू अत्यन्त सम्पन्न तथा शिक्षित कहलिन्थे । लक्ष्मण, खम्बसिं बस्नेतहरू भाइभतिजासँग दार्जिलिङ तरिसकेका थिए । लक्ष्मण बस्नेत २०१५ सालमा क्षेत्र नं. २८ बाट स्वतन्त्र उम्मेदवार पनि थिए । खम्बसिंह बस्नेत पछि राष्ट्रिय पञ्चायतको सदस्यसमेत भए । अहिले पनि एमाले अध्यक्ष एवं भूपू प्रधानमन्त्री झलनाथ खनालको गाउँ यही हो ।

दार्जिलिङबाट हिँड्नअघि ज्ञानीराम भट्टराई तथा लक्ष्मण बस्नेतहरुसँग भेटघाट पनि भएको थियो । यी परिवारसँग लोक्ताम लिम्बू परिवारको पनि औधी मिल्ती थियो । हामी पुग्दा एउटा सुखद संयोग र आश्चर्यले पर्खिबसेको रहेछ– भूविक्रम दाइ । दाइ अर्धभूमिगत अवस्थामा हुनुहुन्थ्यो । सुदूर पूर्वको राजनीतिक केन्द्रविन्दू इलामबजारै थियो । इलामबजारको निकै नजिकको गाउँ साखेजुङ । दाइ राजनीतिक घटनाक्रमको अध्ययनार्थ सिलौटीबाट साखेजुङ झर्नुभएको रहेछ । दाइसँगको भेटपछि सिकारी बूढा आफ्नो गन्तव्यतर्फ लागे । दाइ र भाइबीच राजनीतिक उथलपुथलबारे कुरा भए । दार्जिलिङमा भएको पार्टी र छात्रहरूको गतिविधिबारे बेलिविस्तार लगाएँ । मैले आफ्नो देशप्रवेशको उद्देश्य सुनाएँ, दाइ साह्रै उत्साहित हुनुभयो ।

झुरुम्म थियो लोक्ताम लिम्बुहरूको बस्ती । बेलुकी स्थानीयहरू भेलिए । तिनमा बिष्णुबहादुर लोक्तामको मात्र नाम सम्झना छ । उनीहरूसँग पनि राजाको ‘कु’का बारे छलफल भयो । भोलिपल्ट बिहानको खाना खाएर पाँचथरतिर लाग्यौं । बाटोमा जनसंघर्षको तयारी गर्ने सल्लाह भयो । यसका लागि अर्धभूमिगत हुने निर्णय पनि भयो । म घर पुगेर सिलौटी लागें । तिनताका भूविक्रम दाइ गभर्मेन्ट कलेज (दार्जिलिङ)को पढाइ र सारतापको ‘बिल्डिङघर’ त्यागेर सिलौटीको पातले गाउँमा अस्थायी रूपमा बस्दै आउनुभएको थियो । उहाँ स्वास्थ्यलाभ गर्दै हुनुहुन्थ्यो । हामी सिलौटी पुग्दा लेकाली बस्तीमा जाडो जवान पुगिसकेको थियो ।

० ० ०

बी.पी.ले आफ्नो कथामा एक ठाउँमा ‘सहरू बेढंगपन छोड्दै गएँ’ भन्नुभएको छ । सुरुसुरूमा सिलौटीमा रहँदा मैले पनि त्यस्तै कठिनाइ बेहोर्नुपर्‍यो ।

हामीमा योजनाबद्ध ग्राम विकासको न इतिहास छ, न परम्परा नै । सामान्यतः एक नेपालीले आफ्नो पैतृक जमिनमा सानो झुप्रो हाल्छ, बस्छ चाहे त्यो रूखो–मलिलो, लेक–बेंसी, पायक–अपायक, सुगम–दुर्गम जहाँ जस्तो होस् । दश हजार फिटको उचाइमा
रहेको सिलौटी पर्वत क्षेत्रमा पुग्दा निक्कै भावुक भएँ । गाउँबस्ती नियाल्थें, आकाशमा ताराहरू छरपस्ट झैं अकबरे सुनको गहनामा जडित हिरामोतीका दानाजस्तै लाग्थे ।

सिलौटी क्षेत्रमा इत्थुङ, नाम्दु, सिम्ले, पातलेजस्ता दर्जनौं लेकाली गाउँ पर्छन् । त्यतिखेर सिलौटी क्षेत्रमा विशेषगरी टाटीबेराका घरहरू हुन्थे । बाँस, निगालो, मालिङगोबाट बुनिन्थ्यो चित्रा र यसैलाई घरको वास्तुकलामा ढालिन्थ्यो । केही सम्पन्नहरूको घरमा मात्र ढुंगाको गारो हुन्थ्यो तर छानाचाहिँ चित्राकै हुने । आलु, मकै र केही मात्रामा फापरको खेती हुने । गाई, भैंसी, भेडा, बाख्रा, कसैकसैले घोडा र गाईवस्तुसँगसँगै सुँगुर पनि पाल्थे । खेतीबाट त ३÷४ महिना पनि खान नपुग्ने । त्यसपछिको महिना चौपाया बेचेर आएको पैसाले टार्नुपर्ने । त्यतिले पनि वर्ष नगए मालिंगो परेङको घुम, डोको, थुन्से, डालो, नाङलो आदि बुनेर हाटबजार वा गाउँमा पुर्‍याई खाद्यान्नसँग साटफेर गरी खाद्यसामग्री जुटाउँथे । एक साल काट्नु एक जुनी काट्नुजस्तै दुःख थियो ।

सरकारको सम्बन्ध ‘तिरो’सित मात्र थियो । नागरिकका प्रति केही जिम्मेवारी थिएन । ती लेकालीहरू आफ्नो कठोर श्रम र मिहिनेतद्वारा सदा आत्मनिर्भर हुन उद्यत भइरहन्थे । वैकल्पिक आयआर्जनको कुनै क्षेत्र थिएन । रोग, भोक, गरिबी, अशिक्षा तथा पछौटेपनले ग्रस्त थिए । न पढालेखा छन् न त पेटभरि खान पाएका छन् न अधिकारप्रति सचेत नै छन् । आफ्नै धुनीफानीमा व्यस्त छन् । हामीले यिनलाई संगठित गर्नु, क्रान्तिकारी बनाउनु र प्रजातन्त्रप्रति प्रतिबद्ध बनाउनु थियो । हाम्रो लागि यो कठोर तर अपरिहार्य काम थियो ।

म उनीहरूको नजरमा सभ्य सहरीया सुटेडबुटेड मान्छे थिएँ । सायद टाढैबाट भिन्नै देखिन्थें दार्जिलिङे सेतो पतलुन र कमिजले । उनीहरू मसँग खुलेर कुरा गर्नसमेत हिच्किचाउँथे । यस्तो संवादहीनता थियो त उनीहरूमाझ जनसंघर्षको चेत फैलाउनु हास्यास्पद ठहरिन्थ्यो । त्यसैले सबैभन्दा पहिले पहिरनमा परिवर्तन गर्ने सोच बनाएँ । कहीं पढेको थिएँ, जवाहरलाल नेहरूले बिहारको नीलखेती आन्दोलनमा सरिक हुने क्रममा पहिलोपल्ट चम्पारनमा पश्चिमा भेषभूषा परित्याग गरेका थिए । गान्धीजी दक्षिण अफ्रिकाबाट भारत आउँदा सस्तो किसिमको देशी लिबासमै हुन्थे ।

लिम्बूनीहरूले खुबै तान बुन्ने समय थियो । लिम्बू गाउँमा कोगटी, सादा, चारखाने खाँडीका कपडा यथेष्ट पाइन्थे ।

अब मैले हाँसको बथानमा बकुल्ला नहुन दौरा सुरुवाल पहिरनलाई अपनाउने निर्णय गरें । इम्बुङ गाउँबाट बीस हात खाँडीको कपडा मगाएँ र सारतापमा सिलाउन दिएँ । अब मेरो पहिरन तयार भयो । त्यसो त त्यतिखेर सरकारी जैकारेहरूले ‘यौटै भाषा यौटै भेष’ भन्ने नारा गोरखा परिषदबाट सापट लिन लागेको अवस्था थियो । दौरा सुरुवाललाई राष्ट्रिय पोसाक बनाइएको थियो । मचाहिँ त्यही पोसाक लगाएर पञ्चायती व्यवस्थाविरुद्ध जनसंघर्षको तैयारी गर्दै थिएँ । पहिरनमात्र होइन खानपान, बोलीचाली, रहनसहन, उठबसमा पनि गाउँलेको प्रभाव पर्न थाल्यो । रूसी नोरोदनिकजस्तो सहजाउने म अब पूरै गाउँलेमा परिणत भइसकेको थिएँ ।

सिलौटी क्षेत्रको सेपिलो पाटामा त्यसै पनि ठण्डी । अझ हिउँ पर्न थाल्यो । केशर, जटामसी, गुच्छीच्याउ, यार्चागुम्बुजस्ता जडीबुटी पनि सिलौटी क्षेत्रमा पाइन्थ्यो नै होला, तर तिनलाई पटके औषधिको रुपमा मात्र प्रयोग हुन्थ्यो । बरु गाउँलेहरू जाँड, रक्सी र सुर्तीलाई चिसोको दबाइ मान्थे । चिसोलाई झेल्न न्यानो कपडा पहुँचभन्दा टाढाको विषय थियो । टुप्पी नै ठाडो पार्ने जाडोसँग जुध्न म पनि डबकाको जाँड र कचौराको रक्सीको हरकमा मगमगिन थालें । मकैको खोस्टा नपाए कटुसको पातमा बेरेर लाम्पाते सुर्तीको सर्को पनि तान्न थालें । सिलौटी क्षेत्रका लागि इलाम पानी पँधेरोजस्तै थियो, त्यसैले यहाँ चियाको प्रचलन पनि आइसकेको थियो । चियापत्ती टुट्यो भने मकैको च्याँख्ला भुटेर वा खसु्रको चोपकै भए पनि चिया बनाएर पिउने चलन थियो । तर, चियाले भन्दा पनि जाँड–रक्सीले नै पुस–माघको ठण्डीलाई काबुमा ल्याएजस्तो लाग्थ्यो, खैर यो एउटा ‘ह्याबिच्युअल’ भ्रम किन नहोस् ।

सबै गाउँले अघोरीजस्तै लाग्थे । भक्ष–अभक्षको साँधसीमाना थिएन । अम्मलहरूको स्वादमा जिब्रो रतिँदै जाँदा म पनि अघोरी नै बन्दै गएँ । सिल्भाँ लेभीले नेपाल : नेपाल हिन्दू अधिराज्यको इतिहास (दोश्रो खण्ड)मा भनेका छन् “…यतातिर ठाउँको उचाइबमोजिम मैलोपना पनि बढ्छ, जति माथि उति बढ्ता मैला” । मानिस मैला हुनुको प्रमुख कारण सरसफाइको चेतनाको कमी नै हो, तर सिलौटी क्षेत्रजस्ता उच्च पहाडी शृंखलामा भने चिसोको निहुँ पनि हो । पानी छुँदै आङ जिरिङ जिरिङ हुने यस्तो कठयांग्रिने ठण्डीमा कसले नुहाइधुवाइ गरोस् । गाउँलेहरू मयल कट्कटिएका बाक्ला खापका खाप लुगाले पुरिएर हिँड्थे । कसैको आङमा मयल देख्यो भन्ने लच्छिन हो भन्थे । मैले पनि मयलको लच्छिन बोकेर हिँड्न थालें ।

डा. बी.एस. चौहानको एसिया का प्रादेशिक भूगोल अनुसार ‘‘एसियामा फिलिपिन्समा नै सर्वप्रथम मकैको खेती गरिएको थियो ।’’ र, ‘‘हाम्रो देशको उत्तरी क्षेत्रको बस्ती बिस्तार आलु, मकैको इतिहाससँग आबद्ध छ ।’’ सिलौटी क्षेत्रमा पनि आलु, मकैको खेती निकै पुरानो हो । यसको कारणचाहिँ दार्जिलिङ (भारत) नजिकमा भएकोले हो । अंग्रेजहरूले आफ्नो उपनिवेश भारतमा जति पनि फलफूल, अन्नबाली अथवा अन्य वनस्पति ल्याए, सिलौटी क्षेत्रमा पनि सहजै भित्रियो । गाउँलेहरू बिहान–बेलुकीको छाक उसिनेको आलुले टार्थे । उसिनेको आलु टिम्मुरको अचारमा नचोप्दै जिब्रोले त्यसको स्वाद लिइसक्थ्यो । अल्लो र सिस्नुको हरियो दाल बाह्रैमास प्रयोग हुन्थ्यो । मूला र पातशाहीको साग तरकारी बनाइन्थ्यो । जरिङ्गो, दुङदुङे, जिम्बु, ठोट्ने मौसमी तरकारी थिए । चिङफिङ त खासा चट्नी भइगयो । लिम्बूहरूले मिक्थुम्बा भन्ने अर्खौलोको फल प्रशस्तै पाइन्थ्यो । अर्खौलोको पनि खोलेफाँडो बनाउन सकिन्छ भन्थे बूढापाका । युरोपियनहरूले त ओर्खौलोको फल सँुगुरको चारोका निम्ति संकलन गर्थे रे । पिटर मार्शलको युरोपज् लस्ट सिभिलाईजेसन अनुसार अमेरिकाबाट आलु, मकै पुग्नुअघि पुर्तगालको टोउरा उपत्यकाका बासिन्दाको पनि मुख्य आहार ढाडेकटुस नै थियो ।

यहाँचाहिँ ढाडेकटुस भुटेर खाने प्रचलन थियो । मलाई कुटुक कुटुक ढाँडे कटुस टोक्दा यसको खोलेफाँडोको स्वादचाहिँ कस्तो हुँदो हो लाग्थ्यो ।

राजनीतिक ध्येयका साथ अर्धभूमिगत भएको म सिलौटी क्षेत्रको जीवनशैलीमा ढालिइसकेको थिएँ । बाहिरी अघोरीजस्तै देखिए पनि भित्री रुपमा मेरो राजनीतिक मनसाय प्रस्ट थियो । राजाको कदमका विरुद्धमा प्रचारप्रसार गर्नु, संगठन निर्माण गर्नु र जनसंघर्षका लागि स्वयम्सेवक तयार गर्नु थियो । यसका लागि गाउँ–गाउँ भ्रमण गर्नु थियो । छिट्टै एउटा आमसभा गर्ने तयारी पनि हुँदैथियो । तर मेरो ताल हेरेर गाउँलेहरू त के साथीहरूले सम्म नपत्याउने अवस्था थियो । किनभने राजनीति भनेको त सुकिलोमुकिलो मानिसले गर्ने पो त भन्ने भ्रम थियो । एकदिन स्थानीय दिलबहादुर सुनुवार र साथीहरूले चुनौती दिए, ‘‘लु, एक्लै च्याङ्थापु पुगेर आउनुहोस् त ।’’ सिक्किम–भारत र पाँचथरको सिमाना च्याङथापु नाका रणनीतिक महत्वको थियो । यो सिलौटी क्षेत्रबाट निक्कै टाढा पनि पथ्र्यो । सायद यसैले पनि साथीहरूले मलाई चुनौती दिएको हुनुपर्छ । तर, संयोगको कुरा वोयाम र च्याङथापुमा दार्जिलिङमै चिनेको मेरा साथीहरू थिए ।

एक बिहान च्याङथापु पुगेर आउने अठोटले हिँडें एक्लै । च्याङथापु पैदल हिँडेर दुई दिनमा पुग्न सकिन्थ्यो । सिलौटी क्षेत्रमा सेताम्मै हिउँ परेको थियो । स्याउँस्याउँती जाडो । कञ्चनजङ्गा हिमाल ताकेर हिउँ कुल्चँदै लागें । लालीखर्क हुँदै जोरसाल पुग्दा घाम निक्कै छिप्पिसकेको थियो । औंशी पूर्णे हाट लाग्ने जोरसालमा दुई तीनवटा पसल थिए । एउटा नेवार पसलमा खाना खाएर हेंवाखोलातर्फ ओरालो झरें । ओरालै ओरालो । हेंवाखोला तरेर भारपा उकालो लागें । उकालै उकालो । यस्तो उकालो कि चित्तै फाट्ने खालको । त्यसमा पनि मध्यान्हको चर्को घाम, उकालोमा हाराङराङ तीर्खा लाग्यो तर पानी कहीँ नपाइने । मुनि हेंवा खोला अबिरल बगेर गइरहेछ माथि सुक्खाले भारपा गाउँलाई प्याकप्याक्ती पारिरहेछ । बल्लबल्ल भारपा सिरानको एक तामाङ घरमा दुई आनामा एक लोहोटा पानी किनिखान पाएँ । यहीँबाट सुभाङ जाने बाटो छुट्टिन्थ्यो, सोधें र उतै लागें, करेमकरेम, तेर्सैतेर्सो ।

सुभाङ टेक्दा रात ओर्लनै लागेको थियो । अनिकालको याम थियो । कस्तो घरमा खान पाइन्छ पाइँदैन अड्कल गर्न सक्थें म । बाटोको डिलमाथि बाहाँभरि मकैका झुत्ता झुण्ड्याइएको तीनतले बरण्डा भएको घरतिर उक्लें । संग्रौला परिवारको घर रहेछ । सिकुवामा बास पाएँ । खाटमा आसन जमाएँ । घरमूलीको नाम नेत्रप्रसाद संग्रौला रहेछ । तिनको २५/२६ उमेरका देखिने छोरासँग राति अबेरसम्म पुस १ गतेको घटनाबारे गफियौं । तिनले पनि राजाको कदमलाई मन पराएनन् । निरन्तर सम्पर्कमा राखे यो मानिस काम लाग्छ जस्तो लाग्यो । पछि थुप्रै पटक सम्पर्क गर्न पनि खोजें तर भेट हुनै सकेन ।

संग्रौला परिवारले बिहानको पनि खाना खुवाए । च्याङथापु जाने बाटो बताइदिए । म बिदाबारी भएर चतुरे–जोरपोखरीतिर लागें । उकालोमा चार पाँचवटा खसी बाख्रा डोर्‍याउने दुई जना बेपारीसँग भेट भयो । उनीहरू वोयामका लिम्बुहरू रहेछन् । सँगै बाटोमा गफिँदै गयौं । जोरपोखरी जंगलको कुनै रुख पनि सुनाखरीको नाम्जा नझुण्डिएको थिएन । वारेकबुङ भन्ज्याङतिर त ढुंगा फारिएका, च्यातिएका काप्चाहरूमा पनि सुनाखरी नै सुनाखरी । किसिम–किसिमका सुनाखरी थिए । चौरासे वेपारीहरूलाई नानावली गफ चुट्न कसले भ्याउँथ्यो र ! दिउँसोभर हिँडिएछ, बाटो काटेको पत्तै भएन । बेलुकी वोयाममा एकजना लिम्बुको घरमा वास बसें । वेपारीहरू गफिँदै गफिँदै आ–आफ्ना घरतिर लागे ।

वोयामबाट च्याङथापु खासै टाढा हैन । भोलिपल्ट विहान सहजै च्याङथापु पुगें । पुण्यप्रसाद खरेलको बारे सोध्दैखोज्दै गएँ । ऊ र वोयामको भूपाल खरेल दार्जिलिङका मेरा सँगाती थिए । भूपाल दार्जिलिङमै रहेछ । पूण्य घरैमा भेटियो । तीन दिन पुण्यको घरमा बसें । च्याङथापु क्षेत्रमा कसरी संगठन, प्रचार प्रसार गर्ने छलफल भयो । उसले गढी, जगात घुमायो, स्थानीयहरूसँग भेटघाट गरायो । च्याङ्थापुमा धेरै दिन रहने अवस्था थिएन मेरो । किनभने सिलौटीमा महत्वपूर्ण सभा गर्दैथ्यौं । हाम्रो निम्ति त्यो सभा स्टेट्स जनरल वा लोया जिर्गा समान महत्वको थियो । मेरो च्याङथापु गई छिमेकमा मिलिक्क अगुल्टो लिन गए सरहमात्र भयो । पूण्यप्रसादलाई संगठनको जिम्मेवारी दिएर चौथो दिन म सिलौटी फर्की हालें ।

(स्रोत : SahityaGrihar )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.