~राजन काफ्ले~
आँखाभित्र उनलाई लुकाई ओंठमा ताला मारिरहे
मनले लाखौं वोल्न खोज्यो मैले आवाज टारिरहे
आकृति त्यो जहाँ जान्छ त्यतै त्यतै ध्यान सँधै
हराउँछ कि उनको छायाँ ? अन्तै दृष्टि बारिरहे
जुनीभरको साइनो माग्यो कल्पनाको तरेलीले
हृदयमै बस भनि यो दिलको ढोका उघारिरहें
घाम लाग्दा बाग खने पानी पर्दा सिंचन गरे
माया टिप्ने आशा साँची पुष्पवृक्ष्य सारिरहे
समयलाई पछ्याउँदै जाँदा अफसोच ! पछि परें
सपनाहरु वादल पारि म’चैं ट्वाल्ल! वारि रहें
थाहै नपाइ पराई आइ मेरो फूल चुँडाइ लग्यो
नि:शब्द भइ सुँक्कसुँक्क आँशु मात्र झारिरहें
(स्रोत : रचनाकारको ब्लगबाट सभार )