कथा : पवित्र सम्बन्ध

~शर्मिला खड्का दाहाल~Sharmila Khadka Dahal

जीवनको यो मोडमा आएर पनि म एउटा कथाको यी हरफहरू बारम्बार दोहोर्याई तेहर्याई प्रायः पढ्ने गर्दछु ।

एउटा परस्त्रीले परपुरुषसँग गर्ने प्रेम सधै अवैधानिक हुन्छ । यस्तै मान्यता र संस्कारबाट परिपोषित थिएँ म । त्यसैले यस्ता प्रेमका कथाहरूलाई जहिलेे पनि गैरकानुनी आँखाले हेर्थे अनि क्षणिक आवेगात्मक तिर्सना र मुर्ख्याइको संंज्ञा दिन्थे । यस्ता कथाहरू प्रचलित सामाजिक संंस्कार प्रति पनि कडा अव्यवहारिक प्रहार हो भन्ने ठान्दथें । तर होइन रहेछ , प्रेमको परिभाषा असीमित र अपरिमित रहेछ ।

प्रेम जहाँ पनि जसरी पनि फुल्न सक्दो रहेछ । तर त्यो पवित्र हुनपर्दछ भन्ने कुरालाई अहिले म मान्यता दिन थालेको छु ।

तिमीले दिएको प्रेम मेरो लागि एउटा शाश्वत र स्वीकार्य थियो । तिमीले सत्यको पक्ष लिएका थियौ । संसार सारा मेरो विरुद्ध एक हुँदा तिमीले मेरो साथ दियौ । मेरो लागि बौद्धिक वकालत गर्यौ । तिमीले सत्यलाई विजयी बनायौ अनि मलाइ विजयी बनायौ । हो, यसरी विजारोपण गर्यौ तिमीले हाम्रो मायालाई । त्यो मायामा आदर्शता अनि सत्यको आकर्षा थियो । त्यसमा न त क्षणिक आनन्द थियो न त यौनतृप्तिको चाहाना । त्यो नदेखिएको अनि नछोइएको माया अति पवित्र थियो । यदि त्यो छोइएको र देखिएको भए अपवित्र र दुषित हुन सक्दथ्यो । त्यो माया सिप्पिभित्रको मोतीझै पवित्र र शुद्ध थियो । त्यहाँ न कुनै दाग थियो न कुनै क्लेश ।

मायामा नै सृष्टि हाँस्छ अनि सिर्जना फुल्छ । हो, त्रि्रो मायाले मलाई परिभाषित जीवन बाच्न लालयित बनायो । मायाको त्यो राप यति रापिलो थियो, त्यसमा धेरै इष्र्या, डाहहरू जलेर खरानी हुन सक्थे । त्यसैले त्यो राप म सधै तापिरहन चाहन्थें । तर भौतिकवादी जीवनले आर्दशवादी जीवनलाई बाँच्न दिदैन । त्यसैले व्यवहारले त्रि्रो र मेरो मायाबीच धेरै तगारो हाल्न आइदिन्छ तर म त्यसलाई अग्नि परीक्षाको अर्को रूप मान्न पुग्दछु । यसै अग्निपरीक्षामा तिम्रो मायालाई सुरक्षित राख्न धेरै कोसिस गर्दछु । किनभने जीवनको मोडमा धेरै घटनाहरू घट्दछन् । तर सबैभन्दा महत्वपूर्ण घटना तिम्रो र मेरो मायाको वीजारोपण भएकेा पवित्र घटना हो । म यसैमा बाँच्न चाहान्छु यसैमा हराउन चाहान्छु अनि यसैमा आफूलाई भुल्न चाहान्छु । किनभने मैले कहिले मायाको त्यो राप पाइनँ जुन मायामा उमङ्ग हुन्छ, उत्साह हुन्छ अनि जीवनप्रति सचेत भएर अघि बढ्ने सपनाहरू हृुन्छन् ।

म देख्छु तिम्रा आँखाहरूमा मेरा सफलताका लागि अभीष्ट तैरिरहेको अनि म त्यसलाई पढेर बुझन खोज्दछु । मेरो अध्यारो मुखसँग तिम्रा भावहरू कुण्ठित हुन पुग्दछ्न् । अनि तिम्रा दुखित भावहरू सँगै थाहा नै नपाई म पीडीत भइरहेको हुन्छ । सबै कुरा चाहेर हुँँदैन अनि सबै नचाहेका नहुन पनि सक्दैनन् । त्यसैले यसलाई नै प्रेमको अर्को रूप मान्न सकिन्छ । म तिमीदेखि भागेर टाढा जान खोज्दछु । तर समय र परिस्थितिले हाम्रो प्रेमलाई यति नजिक बनायेा कि त्यो कहिलै टाढिन नै सक्दैन । शायद उचित मलजल र उचित वातावरणले यसलाई मौलाउँदै लग्यो । त्यो झाँगिएर एउटा विशाल वृक्ष बन्न पुग्यो । जसको छहारी हामी सुस्ताउन थाल्यौं ।

केही समय अगाडिदेखि एउटा सानो आत्मीयताको डोरीबाट शुरु भएकेा हाम्रो प्रेमले एउटा दह्रो झोलुङ्गे पुल बनाइसकेको छ । जहाँबाट हाम्रा अव्यक्त भावहरू ओहोर दोहोर गर्दछन् अनि अप्रत्यक्ष रूपमा प्रतिक्रियाहरू व्यक्त हुन पुग्दछन् । एउटा दह्रो प्रेमको लागि सुन्दर आत्मा हुन पर्दछ अनि स्वच्छ विचार पनि । जसमा प्रेमका सुन्दर फुलहरू म्ाुस्कुराउँदै फुल्न सक्दछ । कहिलेकाही नचाहँदा नचाहँदै पनि हामी हाम्रो प्रेममा तीखा काँडा उमार्न पुग्दछौं । त्यसको घोचाइवाट म पिडीत हुन पुग्दछु । तर त्यस दुखद अनुभूतिलाई म हाँसी-हाँसी स्वीकारिरहेको हुन्छु । शायद तिमी पनि मर्माहत बन्न पुग्छौ होला । अनि यसको सामाधानका लागि हामी सोच्न बाध्य हुन पुग्दछौ । प्रेममा मुटु दुख्नु स्व्भाविक हो । जसमा मिठास हुन्छ स्वर्गीय आनन्द हुन्छ । जसले प्रेमलाई माझ्दछ अनि नौनी खर्याएझै खर्याउँदछ । माझिएर, खारिएर निस्केको प्रेम विशुद्ध हुन्छ । त्यो आत्मीय प्रेम स्वीकार्य पनि हुन्छ । तिमी म जतिको भावुक नहुन पनि सक्छौ । तिमीले जीवनको सबैभन्दा ठुलो मान्यता व्यवहारलाई दिएका छौ । तर म व्यवहारसँग सिद्धान्त खोजिरहेछु । म जीवनलाई कलात्मक रूपमा आर्दशताले सजाउन चाहान्छु । त्यो तिमीमा नहुन पनि सक्छ ।

कहिलेकाही अचेतन मन उड्न खोज्दछ, स्वतन्त्र भई अनि वहकिन थाल्दछ प्रेमको वासनासँगै । तर यो असान्दर्भिक हुन पुग्दछ हाम्रो जीवनको लागि । त्यसैले त म यसलाई बाध्न चाहान्छु र लगाम दिन चाहान्छु । यो आवश्यक पनि छ किनभने लगाम विनाको घोडाले कहिले पनि सफलता प्राप्त गर्न सक्दैन । अनि नबाधिएको हाम्रो माया पोखियो भने धेरै कुरो बगाउन सक्दछ । त्यसैले समाज व्यवहारबाट अछुत राखेर म हाम्रो माया बाध्न चाहान्छु ।

मसँग प्रेमको भण्डार छ । किनभने म जीवनलाई पीडादायी बनाएर बाँच्न चाहान्न । मैले निस्वार्थ प्रेम खर्च गरिसकेको छु । तर तिमीप्रतिको मेरो प्रेममा अकै लगाव छ, अर्कै आकर्षा छ । प्रेमको अन्तिम रूप मिलन लाई म मान्दिन । अमर प्रेम जहिले पनि मिलनमा बिलाउँदछ । हाम्रो प्रेम नवयौवनाहरूले क्षणिक आनन्दमा रमाउने प्रेम होइन । हाम्रो प्रेम शाश्वत हो, सत्य हो अनि अमर हो । जुन प्रेम र्सर्ूयको किरण सँगै, फूलकेा वासना सँगै , क्षितिजको उषा सँगै हासिरहन्छ अनि बाँचिरहन्छ ।

यस्तै अभिव्यक्ती पोखिएको थियो उनको कथामा । उनको कथा प्रकाशित हुँदा निकै हलचल भयो रे । अन्त्यमा यही कथाको कतिपय अंशले उनको श्रीमानसँग पारपाचुके भएकेा कुरा हल्ला मार्फ मेरो कानमा परेको थियो । यो कथा प्रकाशित भएपछि उनका श्रीमानलाई अफिस सकिएपछिको खाजासँगै उसका साथीहरूले कथाको प्रसंग उठाइ “भाउजुको मनको मन्दिरमा अरू कोही छ जस्तो छ बिष्णुजी, साहित्यकारहरूको विश्वास हुदैन” भनेर शंका उपशंकाका बीउ मस्तिष्कमा छरिदिएका थिए रे । अनि त्यही बीउ झंगिएर बृक्ष बनेर ढल्यो रे । उनको भाग्यमा मैले यस्तै हल्ला सुनेको थिए ।

एकदिन हामी सबै साहित्यिक भेलामा रमाउन पुगेका थियौं । त्यो दिन घरजान ढिला भएको थियो । उनको श्रीमान धेरै समयसम्म ताला लगाएको ढोका रुँगेर बसे रे । यसै निहूँमा गूढ कुरा अर्कै पोखियो रे उसमाथि । झगडाको बीउ चर्कदै गयो । उनले भनिन रे कथाकारले जे पनि लेख्न सक्छ । त्यो वास्तविक नै हुन्छ भन्ने छैन । कतिपय काल्पनिकतामा फूलबुट्टां पारेर लेखिन्छ । सबै कथा आफनै परिवेशमा मात्र हुँँदैन । तर जति नै सत्य ओकेले पनि उनका श्रीमान मान्न तयार भएनन् रे ? उनी आफनो स्वतन्त्र लेखकीयतामा अरूको हस्तक्षेप मन नपराउने स्वभिमानी महिला थिइन् । त्यसैले उनीहरूको सहचर्या धेरै दिनसम्म टिक्न सकेन । अनि एकदिन पारपाचुकेमा गएर टुङ्गियो उनीहरूको कलह ।

साहित्यिक गतिविधिमा भाग लिने क्रममा धेरै समय हामीसँगै हुने गथ्यौ । मलाई थाहा थिएन उनको कथामा कतिको यथार्थ थियो वा थिएन भनेर । तर कतिपय ठाउँमा सत्यको पक्ष लिने क्रममा म उनलाई साथ दिने गर्दथे । यो क्षेत्रमार् इष्या, डाह र खुट्टा तान्ने प्रवृति भएको हुनाले म सधै उनको निश्चल र शुद्ध व्यवहारको पक्ष लिने गर्दथे । जीवनलाई सिर्जनात्मक र कलात्मक बनाएर सजाउने क्रममा विभिन्न व्यक्तिहरूसँग सर्म्पर्कमा रहनुपर्ने हुन्छ । त्यसक्रममा कोही पनि कसैको व्यक्तित्वसँग प्रभावित हुन सक्दछ अनि त्यसको सुगन्ध सिर्जनामा फैलिएको पनि हुन सक्दछ । तर यहाँको समाजको संकिर्णताले त्यो सुगन्धलाई दुर्गन्धित बनाई फैलाउने प्रयास गर्दछ । त्यसमा अद्वितीय प्रतिभाहरू मुनामा नै ओइलाउन सक्दछन् ।

हाम्रो समाजले त्यति धेरै पाचनशक्ति पैदा गरिसकेको छैन जसले एउटा विवाहिता महिलाले कसैमाथि प्रेम गरेको कुरालाई सजिलै पचाउन सकोस् । यहाँ पुरुषहरूले जे पनि गर्न सक्छन अनि जे पनि लेख्न छुटछ । उसले खुुला रूपमा कसैलाई प्रेमको उजगार गर्न सक्छ अनि दुइटी र तीनवटीको पतिपरमेश्वर बनेर मर्दको उपाधि जित्न सक्छ । तर एउटी महिलाले स्वतन्त्र रूपले लेखेर काल्पनिकतालाई अँगालो मार्न पनि सक्दिन । उनको श्रीमानले मसंँगको उसको सम्वन्धलाई शंकास्पद रूपमा हेरेको कुरा चर्चा मार्फ मैले पनि सुनेको थिएँ ।

मैले पनि मेरो एउटा कथामा उनको कथामा पोखिएको भाव जस्तै पोखेको थिएँ । तर म पुरुष थिएँ त्यसैले कसैले मेरो प्रतिकार गर्न सक्दैनथ्यो । तर उनले आफ्नो प्रतिभा प्रस्फुटन गर्ने क्रममा ठुलो सजायको भागीदार हुनुपर्यो । यो समाजको दोष थियो अनि उनको श्रीमानको प्रवृति र विचारको यसमा मैले गर्न सक्ने हुर्मत केही थिएन सबैले आ-आफ्नो भागको पीडा आफैले बोक्नु पर्दछ । त्यो अरुले बोकिदिएर हुन्न रहेछ । हुने भए म उनको सम्पूर्ण पीडा बोकेर उनलाई सुखै सुख मात्र दिन चाहान्थे । तर यो सम्भव थिएन ।

त्यसपछि उनको र मेरो समिप्य टुङगिएको थियो । किनभने शंकाका बीउहरू असरल्ल छरिएका थिए हाम्रा वरिपरि । त्यसैले यसको निवारण गर्न मैल धेरै कोसिस गरे तर सब र्व्यर्थ भए । उनको जिन्दगीमा यति ठूलो बज्र पर्न गयो जुन म मूकदर्शक भएर हेरिरहन बाध्य भएँ । आफ्नो प्रिय बस्तु, मुटुको टुक्रँलेे एक्लोपनमा दुखी जिन्दगी काट्नु पर्दा मलाई पनि मुटु नदुखेको होइन । यसै दुखाइले एकदिन मलाई उनी भए ठाउँमा पुर्यायो । मैले विकल्पको खोजी गर्दै प्रश्नको मियो तेर्साएको थिएँ उनको अगाडि -“तपाईको जीवनप्रति मलाई सहानुभूति छ । यो सबको कारक म नै हु कि -” उनले मेरो प्रश्नको मियोमा विचारहरू पोख्तै भनिन् -“मेरा सिद्धान्तहरू बन्धक छन् । त्यसैले मैले आफूलाई स्वतन्त्र राख्न चाहेको हो । यसमा तपाईको कुनै दोष छैन । यो मेरो भाग्यको दोष हो । अनि यथार्थको प्रतिबिम्ब पनि । तपाई र मेरो पवित्र सम्बन्धलाई नकारात्मकरूपले मात्र हेरिएन मेरो सिर्जनशीलतालाई नै ठूलो चुनौति भएको हुनाले जिन्दगीलाई सम्झौता गर्ने क्रममा मैले यो निर्णय लिनुपर्यो । हाम्रो पवित्र सम्बन्धलाई नै मैले जीवनको मूल उद्देश्य लिएर बा“च्ने प्रण गरेकी छु । उनले हाम्रो सम्बन्धप्रति नै उर्त्र्सग जाहेर गरेकी थिइन् । मलाई धेरै वर्षम्म उनको लागि केही गर्न सकिन भनेर पश्चाताप भइरह्यो । समयको वहाबसग उनको मेरो सम्बन्ध टाढिदै गयो । अतीतको कुहिरोले हाम्रो सम्बन्धलाई धमिलो बनाउँदै लग्यो ।
आज जीवनले साठीऔं खुड्किलो पार गरिसकेको छ । अहिले पनि म मेरो जीवनको पानामा कोरिएका यी सुनौला कथाहरू पढ्ने गर्दछु । अब त मात्र जीवनका महत्वपूर्ण क्षणमा बिताएका अमूल्य सम्झनाका तीता मीठा अनुभूतिहरू मात्र बाकी छन् ।

००००००

(स्रोत : Sahityaghar.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.