कथा : बिदेशी बिहे

~सिता बराल~Sita Baral

एकाबिहानै के कामले आयौं त ठुले,भन्दै गलैचा ओछ्याइदिइन पण्डीतनी बज्यैले । पण्डीत बाजेसंग दिन हेराउन आएको, कता हुनुहुन्छ? जप गर्दै हुनुहुन्छ, उठ्ने बेला भयो । म चिया बनाएर ल्याउछु बस्दै गर है भन्दै पण्डीतनी बज्यै गईन । के कार्जे गर्ने विचार गरेर दिन हेर्न आयौ त ठुले

भन्दै पात्रो लिएर पण्डीतबाजे निस्कीए । ठुलेले कान्छाको बिहे गर्ने दिन हेराउन आएको भने । पण्डीतबाजे छक्क पर्दै कान्छा कहिले आयो रु केहि थाहै पाएको थिइन त भन्दै थिए रु ठुलेले कान्छा आएको छैन, उसले विदेशमा नै बिहे गर्ने भयो । दिनको टुङ्गो लगाएर छोराको बिहेमा गर्नुपर्ने काम यहाँ गर्ने बिहे परदेशमा गर्ने भन्ने सम्झेर दिन हेर्न आएको भने । पण्डीतनी बज्यैले ठुले र पण्डीतबाजेलाई चिया दिएर भान्छामा नै गईन । कहाँ की नानी हुन बाबु? विदेशी नै हुन् कि के हो? आजकल विदेश गएका केटाकेटी उतै बिहे गर्ने चलन जस्तै भइसक्यो । विदेशी होइन बाजे, नानी यही पल्लोगाँउकी छोरी हुन् । उनी कान्छो भन्दा पहिलो सालमा गएकी रे दुबैले एकअर्कालाई राम्ररी चिनेका रहेछन् । कान्छाले फोन गरेर केटीको घरतिर बुझ्न जानु भनेको थियो, र गए । तीन दाजुहरुकी एउटी बहिनी रहिछन् । कुल, घर, खानदान सबै राम्रै लाग्यो । बाबुलाई नानी मन प¥यो, कुलघर हामीलाई, यति भएपछि पुगेन त बाजे ? साह्रै राम्रो गरेछ कान्छा ले ! ए ओखरबोटे छोरी सुन त ! ठुलेको छोरो कान्छाले बाउलाई केटीको घर,कुल,खानदानको बारेमा बुझेर बिहे गर्न दिन हेराउन भनेछ । बाआमा को ईज्यत र मनलाई कसरी राख्यो कान्छाले भन्दै पण्डीत बाजेले पण्डीतनीलाई सुनाए । उमेर पुगेका छोराछोरीलाई केही भन्न नमिल्ने धन्न अरु जातकी केटी रोजेनछ हैन त ठूले ? धेरै राम्रो खबर सुनायौ । साह्रै खुशी लाग्यो । के गर्ने पण्डीतनी बज्यै, अब त जातभात सबै हराइ सक्यो ।

आजकलका केटाकेटीहरुले अरु केही नगरे पनि आफ्नो संस्कार नछोडी मरेपछि पिण्ड पाउन पाए भयो हामीलाई । मेरो साथी रुद्रेले छोराले आफूसंगै पढेकी मगर जातकी केटीसंग बिहे ग¥यो भनेर कति चित्त दुखायो । आखिर बुझ्दै जाँदा, व्यवहार हेर्दै जाँदा उनीहरु र हाम्रो संस्कार एउटै रहेछ । बिरामी पर्दा हेरविचार र मर्दा पिण्ड भएपछि अरु के चाहियो त भन्दैथियो । अहिले नभन्दै अरु बुहारी भन्दा मनपर्ने बुहारी भएकी छन् ति मगरनी नानी । ठुले असार को चार गते विहिबार (१८ तारिख) साह्रै राम्रो लगन छ । बाजे ! शुक्रवार र शनिवारको दिन हेर्नु भनेको छ । दुबैजनाले जागीर खान्छौ, छुट्टी पाइदैन भन्दैथियो कान्छाले । आफ्नो बिहेमा पनि छुट्टी नपाइने के जागीर रहेछ त त्यस्तो ? खोइ के थाहा, त्यो दिन पार्नु है भनेपछि त्यहि दिनको साइत हेरिदिनु ! उसोभए शुक्रबार त अलि विहानै साइत छ भनिदेउ है त? अनि कहिले आउछन त ठुले कान्छाले बुहारी लिएर? पण्डीतनीले सोधिन । अलिवर्षपछि दुबैजना नफर्कने गरि आउछन रे ! उनिहरु खुशी भए पुग्यो हामीलाई होइन र बज्यै? हाम्रा हातखुट्टा बस्ने बेला सम्म आए भयो । कान्छाले भनेजस्तै शुक्रबार असार पाँच गते (१९ तारिख) नै दिन जुराएर आए ठुले ।

त्यो हप्ता भरि नै खुब चर्चा चल्यो ठुलेको छोरा कान्छाले विदेशमा पल्लागाँउकी छोरीसंग बिहे गर्दै छ भन्ने । केटी पट्टीका परिवार पनि खुशी नै थिए । दुबै तिर राम्रै थियो । कान्छाकी दिदीले भाइको बिहे आफ्नै हातले गर्न नपाए पनि माला, लगनका पोते,चुरा र सिंन्दुर पठाईन । ठुलेले फोनमा बिहेमा गर्नुपर्ने संस्कारहरु सिकाए छोरा कान्छालाई । घरमा आमासमूह आएर गीत गाएर रमाइलो गर्ने तयारी र उनिहरुको लागि खाने व्यवस्था बिहे घरमा जस्तै तयार गरे । बिहेको दिन आयो । कान्छाले परदेशमा भएपनि आफ्ना साथीहरु बोलाएर पाटी दिएर बिवाह सम्पन्न गरे । यतातिर बिवाहको दिन बाहिरी रमझम भएपनि कान्छा र दुलैनानीका घरका बाआमालाई भने मन नरमाइलो भएको थियो । कान्छाका घरका परिवारलाई बिहेको डोली घरबाट निकाल्न पाईएन् भन्ने लागेको थियो भने दुलैका बाआमालाई छोरीलाई आफ्ना हातले कन्यादान दिन पाईएन भन्ने लागेर निराश थिए । कान्छाकी दिदीले जोरबत्ति बालेर रातभर कुरी बसिन् । आमासमूह आएर बिहेको घरमा जस्तै रमाईलो गरेर गए ।

परदेशमा बिहे गरे पनि गाँउमा आफ्नो इज्यत राखीदिएकोमा ठूले र कान्छाकी आमा साह्रै खुशी थिए कान्छाको व्यवहार संग । उमेर पुगेको छोराले कस्ती केटी ल्याउने हो भन्ने रातदिनको चिन्ता सबै हटेको थियो । यता तिर सम्धी,सम्धीनीहरु पनि भेटहुने आउने जाने गरिरहन्थे ।

आमासंग कान्छाले बिहेको फोटोहरु र भिडियो पनि छ साथी आउदा पठाइदिन्छु भनेको थियो । छोराको बिहेको फोटो र भिडियो हेर्न साह्रै हतार भएको थियो कान्छाकी आमालाई । कान्छाको साथी भनेकोे समयभन्दा धेरै पछि मात्र गए । कान्छाले घरमा पुगेर यि सामानहरु दिनु, बाआमालाई पनि भेट्नु, हाम्रो चिन्ता लिनुपर्दैन आफ्नो स्वास्थ्यको ख्याल गर्नु भन्ने खबर पठाएका थिए । साथीले कान्छाले भनेजस्तै घरमा पुगेर बाआमालाई सबै खबर सुनाए र उनले पठाएको फोटोहरु र भिडियो दिएर बिदा भए । कान्छाकी आमाले खुशी हुदै पोको समातिन् । खुशीले मन चङ्गा भएको थियो । पोको मझेरीको खाटमा राखेर गाग्री लिएर पँधेरा गईन् । बाटोमा भेटहुनेहरुसंग कान्छाको खबर, उसले पठाएको फोटो र भिडियोको बारेमा सुनाइन् र बिहेको निम्ता जस्तै गरि बोलाइन भिडियो हेर्नलाई । पँधेराबाट फर्कीएर फोटोहरु खोलिन । चार पाँचवटा फोटोहरु रहेछ । कान्छाका बा हेर्नु न फोटो पठाइदे है भनेको त बिहे नगर्दैको पठाएछ । यो त किन पठाउनु परेको थियो र ? मैले त बिहे गर्दाको पो भनेको भन्दै थन्काइन । भोलीपल्ट दिउँसो भिडियो हेर्न सबै जम्मा भए । घर नजिकैको बिजुली पसलमा काम गर्ने रामे आएर भिडियो मिलाएर गए । कान्छाको बिहे त आज हो जस्तै भएकोछ नि ठूली ! हेर त कति रमाइलो ! ठुले फुरुक्क थिए । भिडियो हेर्नआउनेहरुलाई खाजाको व्यवस्था पनि गरेका थिए । साह्रै रमाइलो भएको थियो । विदेशका ठूलाठूला घरहरु देखेर ओहो नि है भन्दै दङ्ग परेर हेरिरहेका थिए । सबैजनाको ध्यान ति ठूला घरहरु र चिल्ला बाटाहरु अनि लाइन लागेका गाडीहरुमा भन्दा कान्छा दुलाहा हुँदा कस्ता देखिएछन्, दुलै नानी कस्ती रहिछन र विदेशमा विबाह कसरी गरे भन्ने हेर्नमा उत्सुक थिए । नेपाली साथीहरुको ठूलो जमात मा ठूलै होटलमा पाटी दिएका रहेछन् । खुब रमाइलो भएको रहेछ । कान्छा र उसकी श्रीमतीले आगन्तुकलाई स्वागत गरिरहेका थिए । पहिरन भने दुलाहा दुलही जस्तो थिएन । न निधारमा रातो टिका थियो न बुहारीको सिउदोमा सिन्दुर न हातमा चुरा । होइन के खालको बिहे रहेछ यस्तो भन्दै गाँउलेहरु मुख खुम्चाउन लागे । भिडियो सकिनै लाग्यो तर हिन्दुपरम्परा अनुसार स्वयम्बर र सिन्दूर लगनका केही कर्म गरिएको देखिएन । केही छिनपछि कर्म देख्न पाइन्छ भनेर कुर्दा कुर्दै भिडियो सकियो । त्यो दिन खोजेको जस्तो रमाइलो कसैले देख्न पाएनन् । गाँउलेहरुले बिदेशी आधुनिक बिहे यस्तो हुने रहेछ । यो भन्दा त बरु यतै आएर मन्दिरमा बिहे गरे धेरै राम्रो कसो ठुले भन्दै हिडे ।

आज ठुलेलाई रातभर निन्द्रा परेन । उसलाई गाँउलेले भनेका शब्दहरु कानमा आएर गुन्जीरहे । उ आफैले पनि केही बुझ्न सकेनन के खालको बिहे भनेर । हिजो सम्म गाँउमा इज्यत बढाइदिएको भनेर फुरुङ्ग भएका ठुलेलाई आज अपमान गरेजस्तो लाग्यो । उनलाई त्यो बिहेको बारेमा बुझ्न मनलाग्यो र भोली बिहानै सम्धी कँहा गएर बुझ्ने निधो गरेर सुते ।

पल्लो गाँउमा सम्धीलाई भेट्न जादा बाटोमा पर्ने साथी रुद्रेलाई भेटेर जाने विचार गरे । रुद्रेले एक्कासी पुरानो साथी ठुलेलाई देख्दा साह्रै खुशी भए । ठुलेले आफू सम्धीसंग लामो समय भेट नभएको हुँदा भेटन जान लागेको भने । ठुलेको सम्धीलाई रुद्रेले हिजो मात्र उपभोक्ता समूहको मिटिङ्गमा भेटेका थिए । सम्धीले आफ्नो मनमा भइरहेको पिडा रुद्रेसंग पोखेका थिए । ति कुराहरु सबै जस्ताको तस्तै ठुलेसंग भने रुद्रेले । “छोरीले एकशब्द पनि नसोधी धर्म फेरिछन् । तिहारमा मात्र थाहा भयो । हरेक चाडपर्वमा माईतीको आगन उजाड बनाई । न हाम्रो कुनै कार्यमा समावेश हुने भइ न कुनै संस्कारमा । छोरी भएर पनि नभए जस्तै हुन प¥यो । दाजुहरुले दिदीबहिनी खोजेर टिका लगाउनु पर्ने र हामीले मर्दा उसको हातको पानी पनि नपाउने भएपछि के भन्ने रुद्रे… मन यसै रोएको छ… । तीनवटा छोरा पछि रहरमा जन्मेकी घर नै उज्यालो बनाएकी छोरी हो । दाजुहरुले पनि साह्रै माया गर्छन । उसको इच्छा अनुसार नै विदेश पठाए आज सबैलाई ……। बिदेशमा आफ्नो धर्मको जगेर्ना गर्न नसके पनि त्यसको अस्तित्व मेटाउन पर्छ भन्ने बाध्यता त थिएन होला नि? हाम्रा हरेक संस्कारहरुमा आत्मिएता गाँसीएको हुन्छ भन्ने सबै चटक्क विर्सीइ उसले । बाबुबाजेले अंगाल्दै आएको संस्कारबाट उ टाढै हुन चाहि, छोरी भन्ने शब्द अब बोलाउने नाता मात्र हुनेभयो । उसकी आमा अझै सम्म पनि रुन छाडेकी छैन । जति सम्झाए पनि आँखामा आँसु बनाइरहन्छे । छोराछोरी भनेर मरिमेटी ग¥यो आखिरमा आफ्नो खुशीको लागि अरुको विचारै नगरि यसरी मुटु चटक्क चुडाउँछन् भने कसको आस गर्नु र खै…. ” भन्दै आँखाभरि आँसु पारेर धेरैबेर गुनासो गरे म संग । ठुले जुन कुरा नबुझेर रातभर निदाउन सकेका थिएनन् त्यो कुरा रुद्रेबाट छर्लङ्ग भयो । उसलाई असह्य भयो । अब बाँकी कुरा सुन्न चाहेन । रुद्रे भयो म घर नै फर्कन्छु । सम्धीलाई आज भेटन जान्न, अरु कुनै दिन आउनु पर्ला भनेर सिधै घर तिर लागे ।

ठुले आफ्नो कोठामा गएर पल्टीरहेको कुरा थाहा थिएन ठूलीलाई । खाना बनाएर कुरी रहेकी थिइन । केही काम परेर कोठा तिर गइन । ठुलेको दुःखी रहेको मन ठूलीलाई देख्दा सहिनसक्नु भयो । उनले छोरा कान्छाले बिहेमा पठाएको माला,लगनका चुरा,पोते र सिंन्दुर प्रयोग नगर्नाको कारण र रुद्रेलाई उनका सम्धीले भनेका कुराहरुकोे बारेमा ठूलीलाई सुनाए । कान्छाकी आमा डाँको छाडेर रुन लागीन……..।

समाप्त

(स्रोत : Sahityasansar.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.