समुद्रको छेउमा, त्यसमाथि पनि चन्द्रमा उदाइरहेको यो साँझलाई कसम खाएर म एकतमासले शब्दहरूलाई माया गर्दै यो पत्र लेखिरहेकी छु । ओहो, जीवनभन्दा पनि महत्वपूर्ण कुरा भावना कसरी हुनसक्छ ? अहिले आएर मैले विश्वास गर्नै पर्ने एउटा बहसको विषय यो पनि भएको छ । शनिवारको रात र तिम्रो
सम्झनाको स्पर्श अहिले मलाई के पनि लागेको छ भने जीवन वास्तवमा कति सत्य छ । जीवन सत्य छ, त्यसैले हामी बाँचेका छौं ।
“तिम्रो र मेरो सम्बन्ध यही दिन र रात जस्तो त हो नि, अस्थिर सम्बन्ध ।” तिमीले पुसको पहिलो साता अचानक बोलेका यी शब्दहरूको जवाफ दिनुपर्छ भनेर म यो पत्र पठाउँदैछु । मन त्यसै त्यसै उल्लासित भएको छ, शायद वातावरणले पनि साथ दिएको अनुमान मैले गरेको छु ।
तिमीलाई थाहा छ, मैले गल्ती गरेको छु । गल्ती यस अर्थमा पनि मान्य हुँदैन भन्ने मैले नसोचेको हैन । तर बितिसकेको कुरालाई बारम्बार सम्झेर फाइदा हुँदैन भन्ने कुरालाई पनि मैले महसुस गरेको छु । रत्नपार्कको भीड, रानीपोखरी छेउमा लाम लागेर चाइनिज सामान बेचिरहेका मान्छेहरू, उत्तरपट्टि प्रहरीको भ्यान र एक हूल जुलुसलाई छल्दै तिमीले कसरी मेरो हात समात्दै बोलेका थियौं । तिमीलाई थाहा छ – हिँड्दा हिँड्दै बीच बाटोमा उभिएर मलाई पनि रुन मन लागेको थियो । तर आँसु कमजोर मान्छेले मात्र बगाउँछन् भन्ने कुराले मलाई रुनबाट रोकेको थियो । रुने ठाउँ पाउन पनि कति गाह्रो छ भन्ने कुरालाई म पत्रमा मात्र, अभिव्यक्त गर्न सक्छु यतिखेर । जीवन र प्रेमको शाब्दिक अर्थ, जीवनलाई लेख्नु हो । जीवन त सोचेकोभन्दा बढी सुन्दर छ ।
“जीवनलाई भौतिकवादले मात्र जित्न सक्दैन ।” पहिलो भेटमा नै यति भनेर मेरो कोमल मन जित्न तिमी कसरी सफल भएका थियौ ।
“जीवनको यो महत्वपूर्ण मोडलाई स्वीकार्न भावना चाहिन्छ, आखिर जीवनको अमरत्व पनि भावनामा नै छ ।” मैले पनि तिम्रो हात समात्दै भनेकी थिएँ ।
“जीवनका महानतम् क्षणहरूले अवश्य एकदिन मूर्तरूप लिनेछन् । जीवनलाई स्वीकार्ने पक्षमा विरोधात्मकसँग बाँचेका मान्छेहरूलाई पनि बाँच्ने प्रेरणा दिनु नै महानता हो । तिमीसँगको प्रेमले मलाई जीवनको बारेमा धेरै बाँच्न प्रेरणा दिएको छ ।” तिमीले हाँस्दै बोलेका यी कुराहरू तिमी अहिले पनि सम्झन्छौ कि सम्झदैनौ, तर मैले भने पटक्कै बिर्सेको छैन ।
“हेर प्रिय, तिमीले मलाई बाँच्नुपर्छ भन्ने जुन प्रेरणा दियौ, त्यो त सबै बाँचेका मानिहरूले सामूहिक रूपमा स्वीकार्नुपर्ने कुरा हो । तर प्रश्न तिमीसँग के छ भने जीवनको अन्त्य सापेक्षित हुन्छ भनेर कसरी विश्वास गर्ने ? जीवनपद्धतिलाई स्वीकार्ने हाम्रो समानान्तरतामा यस्ता प्रश्नहरूको उत्तर पनि खोजिनु पर्छ हैन र ?”
तिमीलाई थाहा छ – म हरेक साँझ झ्यालनिर बसेर मानिसहरू हिँडेको हेरिरहन्छु । मलाई के विश्वास छ भने मानिस बाँच्नकै लागि बाँच्छन् । मानिसहरूलाई जब अभ्यस्त जीवन बाँच्न बानी पर्छ अनि उसलाई सडक र अँध्यारोसँग पनि डर लाग्न छोड्छ । त्यसैले त्यतिबेला म के सोच्दैछु थाहा छ – हरेक परिवर्तन यो झ्याल खोलेर बाहिरको संसार हेर्दा देख्न सकिन्छ । आखिर परिवर्तन मानिसहरूलाई बुझ्नुमा पनि हुँदो रहेछ ।
म तिम्रो पत्रको दोस्रो पेजमा पुगेको छु । तिम्रो पत्रलाई पढ्दा मैले मेरो वर्तमानलाई यति धेरै मन पराउन थालेको छु कि शायद तिमी नजिक भएको भए म निस्फिक्रीसँग हाँस्दै एउटा सुन्दर कविता कोर्ने थिएँ होला । तिमीले लेखेको पत्रको तेस्रो पेजमा गएपछि मेरो आँखा रोकिएको छ । तिमीलाई म शब्दमा बताउनै सक्दिन यो पत्र पढ्दै गर्दा पनि मलाई फेरि आफ्नै भावनाको संसारमा पुर्याएको छ । थाहा छ तिमीबाट टाढा भए पनि यो सडक यो समुद्र र यी मान्छेहरू सबै सबैको माया लाग्न थालेको छ । तिमीले फेरि लेखेका छौ – “माया गरेको भावना अस्वाभाविक हुँदैन । तर पनि मेरो कुरा सुन्यौ भने तिम्रो मन दुख्न सक्छ । जीवनलाई दुःख र पीडा दिनु हुँदैन । मेरो कुराले तिमीलाई दुख्यो भने म बाँच्नै सक्दिन । तर सत्य कुरालाई तिमीसामु पुर्याउन सकिन भने मेरो मायाप्रतिको इमान्दारिता गुम्छ । म तिमीलाई सबै कुरा बताउन चाहन्छु ।”
म मन्दमन्द बहिरहेको हावालाई छल्दै र अँध्यारो सडकलाई पछ्याउँदै आफ्नो घरभित्र पसेकी छु यतिखेर । पूर्वपट्टि झ्यालनिरै, मेरो सानो कोठा छ । अर्थात् मेरो सानो संसार छ । मलाई मेरो जीवन जति नै प्यारो लाग्ने यो कोठाप्रति मेरो मोह यसरी किन बढेको छ त्यो त मलाई थाहा छैन तर मैले के पनि स्वीकारेको छु भने यी कितावहरू र कविताहरूले मलाई बाँच्ने प्रेरणा दिएको छ कम्तीमा खुशी भएर बाँच्ने ।
“म आज तिमीलाई मेरो र नुमासँगको सम्बन्धलाई खुलस्त पार्ने प्रयासमा छु ।” तिम्रो पत्र म पढिरहेकी छु । “एक विधवासँगको शारीरिक सम्बन्धले आज दुई वर्षप्रवेश गरिसकेको छ । हुन त नुमा र मेरो सम्बन्ध शरीरसँग मात्र सम्बन्धित छ । मानसिक र भावनात्मक सम्बन्ध र तिमीसँग मात्र हो ।”
तिमीले आफूलाई सत्यको प्रतिमूर्ति बनाएर मलाई लेखेको पत्र कुनै फिल्मको कहानीभन्दा कम भने लागेको छैन । तिमीले यसरी पत्र लेखेका छौ र म ओछ्यानमा ढल्किएर तिम्रो पत्र पढिरहेकी छु । “बुझ्यौ ऊ अर्थात् नुमा पैतीस वर्ष नाघेकी भए पनि उति नै भरभराउँदी छे । बिहे गरेको तीन चार वर्ष नबित्दै लोग्नेको सडक दुर्घटनामा मृत्यु भएपछि नुमा काठमाडौं झरेकी हो । एउटै छोरो, त्यसमाथि पनि हुनेखाने परिवारकी बुहारी भएकीले, उनका सासू-ससुराले काठमाडौं कलङ्कीमा पाँच कोठाको घर किनिदिएका थिए । सासू-ससुरा गाउँमा नै बस्ने भएकोले काठमाडौंमा एक्लै नुमा बस्न थालेकी हो । अचानकै एउटा माध्यमिक विद्यालयको कार्यक्रममा हाम्रो भेट भएको थियो । त्यसपछि मेरो सबै रातहरू नुमासँग बित्ने गरेका छन् ।”
तिम्रो पत्र पढ्दा पढ्दै मेरो आँखाबाट कति बेला आँसु झर्यो पत्तो पनि पाइन । उठेर झ्याल बन्द गर्ने तरखर गरेँ । ओहो झ्याल बन्द गर्दा त बाहिरको सुन्दरता देख्न पाइँदैन । बाहिरको सौर्न्दर्य बाहिरनै रहन्छ । जुनेली रातसँग रातभरि साउती मारेर एक्लै रुन र हाँस्न पनि पाइँदैन किनभने झ्याल बन्द हुनु भनेको बाहिरको संसारबाट आफू अलग्गिनु हो । मैले अनुमान गरेर झ्याल नै बन्द नगरी तिम्रो पत्रलाई छातीको ढुकढुकीमा नापेर फेरि तिम्रो बाँकी अंशको पत्रहरू पढ्न थालेको छु । “मलाई तिमीले बिर्सनु पर्छ ।” तिम्रा अन्तिम शब्दहरू यिनै हुन् ।
तिम्रो पत्र पढ्दा पढ्दै मेरा आँखाहरू रसाएका छन् यतिखेर । मैले विश्वासै गर्न नसकेको सत्य तिम्रो चरित्र र मेरो विश्वासको आधार यसरी खण्डित होला भन्ने त मैले कहिले पनि सोचिन । हुन त मैले उचित र अनुचित बीचको समझदारीलाई स्वीकार्दै जीवनभन्दा महत्वपूर्ण कुरा केही छैन भन्ने कुरालाई आफ्नो बनाएको छु । मैले के पनि सोचेको छु भने मेरो जीवन त एक सुन्दर कविता हो र एक सुन्दर कथा हो । जीवनलाई त्यो समयसँग चित्रण गर्नु जुन बेला अँध्यारो र एकदमै अँध्यारोमा आफ्नो जीवनलाई पनि सुखका साथ स्वीकार्ने गरिन्छ । मैले जीवनलाई यसरी स्वीकारेको छु । तिमीसँगको मेरो सम्बन्ध र तिम्रो र नुमाबीचको सम्बन्धले मलाई एउटै कुरा के सिकाएको छ भने मलाई साँझसँग डर लाग्न छोडेको छ । दिनसँग र अँझ भनौं रातसँग पनि डर लाग्न छोडेको छ ।
“सुख दिन सक्दिन भनेर भन्न हुने थिएन । तिमी परदेशमा बसेर यो कुरा बुझ्नै सक्दिनौं । म अहिले जीवनको एउटा यस्तो मध्यान्तरमा उभिएर जीवनको सानो निर्णय पनि गर्न नसक्ने गरेर थाकेको छु । मैले अहिले के निर्णय गरेको छु मैले नुमालाई आमा हुने अधिकार दिनै पर्छ । उसले आमा हुन पाउनु पर्छ । म यही निर्णयमा पुगेको छु । भोलि मेरो र नुमाको सहवासमा म नुमालाई भन्नेछु तिमीले मेरो लागि धेरै बच्चा जन्माउनुपर्छ । मैले आफूलाई पूर्णतः नुमाको लोग्नेको रूपमा आफूलाई आफैले स्वीकार्ने अवस्था बनाइसकेको छु । तिमी धेरै टाढा छ्यौ, प्रेम हुनलाई त र्स्पर्श हुनुपर्छ । एकले अर्कालाई छुनुपर्छ । खै त मैले तिमीलाई छुन पाएको ? म यो दुरत्वमा भावनासँग मात्र बाँच्न सक्दिन ।” तिम्रो पत्र सकिएको छ ।
बाहिर झन्झन् अँध्यारो बढेको भए पनि सडकभरि मान्छेहरू हिँड्न छोडेका छैनन् । जुनेली रातमा मान्छे निस्फिक्री हिँड्न पाउनु पनि एक किसिमको आनन्द नै हुनुपर्छ । यति सोचेर म तिम्रो पत्रलाई सिरानीमुनि राखेर म यही नै सोच्न बाध्य भएको छु उफः कति राम्रो हुन्थ्यो तिमी मेरो लोग्ने भैदिएको भए । अब वास्तवमा सोच्न बाहेक केही गर्न सक्दिन । तर मलाई थाहा छ सत्यको विजय हुन्छ र जीवन झन सुन्दर हुन्छ । तिमीलाई म अमर प्रेमको शुभकामना मात्र दिन सक्छु ।
(स्रोत : अनेसास जापानको प्रकाशोन्मुख “छहारी” कथा संग्रहबाट)