बिहानै,
बच्चो घामको इन्द्रणी आँखा हुदैं
देखिए–केही राता पत्रहरु
मुसुक्क–मुसुक्क आफ्नै मुटुको गमलामा
फूलको (?)
सायद ! गुलाफको (??)
तरङ्गिदै,
अल्लारे पवनसँग
बिर्सिदिए मैले –कुन्नि कहिले रोपियो बीज (?)
बिर्से
–सँगैका काँडाहरु
–घाउका सम्भावनाहरु
–आगोका कुराहरु
बस् थपिदिएँ/थप्दैरहेँ– एकोहोरो प्रेमजल ।।
फूलका पत्रहरु :मेरा सपनाका केश्राहरु
बैशालु हिमालहरु :समपर्णका साक्षीहरु
…………………………………
बज्दै गएँ म ,गीत बनेर कसैका धुनहरुमा
पोखाएँ आफैलाई, रङ्ग बनाएर क्यानभासहरुमा
बेरिइरहें, अनुभूतिका फरक-फरक अंगालाहरुमा ।।
अहिले
यो ढल्दो साँझमा,
खै कता हो (?) रुदैछ न्याउली
तप् तप् तप्
तप्किदै छन्, विश्वासका थोपाहरु
………………………………
आखिर ! के थियो त्यो
‘एक फिलिङ्गो आगो’ वा ‘प्रेम–आलाप’ ??