एक प्रफुल्ल प्रभात
सपनाको झुण्ड लिएर आयो
जहाँ
रङ्गहरुको शहर थियो
प्रेमको बस्ती थियो
स्पर्शको आभास थियो
ऊ थियो, म थिएँ
फूल थियो, पात थियो
……………………….॥
म सोच्दैथिएँ,
सपना देख्नुहुदैंन
रङ्ग हेर्नुहुदैंन……
तर त्यसो भएन,
सपनामा रङ्ग घोलियो
रङ्गमा मुटु चोपलियो
बिम्बहरु नजरभरी बास बस्न खोजे
पाइलाहरु हिउँका पहाड चढ्न लागे
आभासहरु आकाशको दुरी नाप्न लागे
अवयवहरु अन्जानी स्पर्शमा तरङ्गित हुन लागे
……………………………………………॥
अरे ! म रोकिदैं थिएँ,
प्रेम गर्नुहुदैन
स्पर्शमा रम्नुहुदैंन…..
(खै के पो भयो?)
परिवेश शुन्य–शुन्य थियो
पराजयले गिज्याए झैं पनि लाग्यो
झिनो आश, ऊ सम्झाउन आउनेछ
हैन,.उसले मलाई हार्न दिनेछैन
त्यो पनि भएन,
उल्टो, झझल्कोको आगमन भयो ॥
यो त झन् पहिरो जस्तो हुदोरहेछ
न त रोक्न सकिने, न त समेटिनै सकिने
मात्र गइरहने
वारीदेखी पारीसम्म
टुप्पोदेखी फेदसम्म ॥
मैले प्रष्ट पारें,
ती बेरुजु सपना
महत्वकाक्षीं रङ्ग
अन्जानी स्पर्श
प्रेमिल भाका
केहीसँग मेरो सरोकारै छैन
अनागतसँग पनि खासै आस्था छैन
बस्, म छु, आगत छ……..॥
अपशोच !
झझल्को सुन्दोरहेनछ
बरु यो त धमिरा जस्तो हुदोरहेछ
कोतरीरहने, खाइरहने,
यो मुटुदेखी त्यो मुटुसम्म
यो मनदेखी त्यो मनसम्म ॥
मैले त गाली गरेकै हुँ,
झझल्कोमा डुब्नुहुदैन
योसँग रम्नुहुदैंन…….
(दर्भाग्य ! भनेको के नै भयो र ?)
तुफानी झझल्को
लरबर लरबर……
हल्लाइदिन्छ मनका हाँगाहरु
समात्न खोज्छु, स्वरूप छैन
छाम्न खोज्छु, आकार छैन ॥
त्यसैले,
केही नहुनुको सत्यतामा
अब कतै दुखेको छैन
जलेको छैन
छ त एक मापाहा झझल्को
र यही हुर–हुर बलेको छ
बेहिसाब जलेको छ………… ॥
(ती सम्पूर्ण लाँकुरी मनहरुको झझल्कोमा जो भौतिकरुपमा टाढा हुनुहुन्छ तर मनमै हुनुहुन्छ । फेसबुक साहित्य सञ्जालले आयोजना गरेको बनभोज कार्यक्रमा लाँकुरी भञ्ज्याङ्मा २४।०९।२०६७ मा लेखिएको तथा वाचन गरिएको । -विद्या)