एक साँझ म एक्लै ओछ्यानमा त्यसै पल्टिएर के के सोच्दै थिएँ । पेटमा सल्ल केही चलेको अनुभव भयो । म सशंकित भएँ । कताकताबाट मनभित्र डर र बेचैनी उर्लिएर आयो । एउटी आइमाई गर्भवती हुँदा यसरी नै भ्रुण चल्छ भन्ने सुनेकी थिएँ । मलाई अकस्मात सम्झना भयो दुई महिना भइसकेको
छ म पर नसरेकी ।
‘अब के गर्ने’ भन्ने प्रश्नले मलाई बेचैन गरायो । कसरी इज्जत थाम्ने ? किन म मनीषसँग मोहित भएँ ? आफ्नै मन पनि किन थाम्न सकिनँ ? कस्तो बेचैनीमा ऊसँग समाहित भएँ ? ममा किन यस्तो मनोविकृति आएको होला ? अनेक प्रश्नहरुले घेरिएर मैले आफ्नो विगत सम्झना थालेँ । मेरो लोग्ने र मेरो उमेरको बीचमा पूर्व र पश्चिमको घाम जत्तिकै फरक थियो । कहाँ ऊ सत्तरी वर्षको ख्याउटे वृद्ध, हजुरबा भन्न सुहाउने, कहाँ म बीस वर्षकी भरभराउँदी तरुनी । हामीबीच पचास वसन्तको फरक । उनकी जेठी स्वास्नी मरेको तीन महिनापछि अर्थात् तीन वर्षअगाडि म यहाँ दोस्री स्वास्नीको रुपमा भित्रिएकी थिएँ । लोग्नेका तीनवटा छोरा थिए, झन्डै बुबाको उमेरसँग मिल्दाजुल्दा । विभिन्न उच्च ओहोदामा कार्यरत उनीहरु आआफ्ना परिवारसहित काठमाडौंमा थिए ।
आमाको कायकिरिया सकिएपछि तीनवटै छोराले एकै मुखले भनेका थिए– ‘बुबा, अब काठमाडौं जाऔं । हामीसँगै बस्नोस् तपाई, यहाँ एक्लै कसरी बस्नुहुन्छ ? गाउँको व्यवहार हामी सबै दाजुभाइ मिलेर चलाउँछौं ।’
गाउँमा जिम्वाल भई हैकम साथ बस्दै आएका बूढालाई छोराहरुको कुरा मन परेन र भने– ‘म मरेपछि जे मन लाग्छ गर तर जिउँदो छउन्जेल म काठमाडौं जान्न, यहीँ नै बस्छु ।’ बोल्दाबोल्दै अलि बदलिएको स्वरमा भने– ‘बरु घर हेर्न मलाई तातोपानी तताएर ख्वाउन गाउँकै एउटी कसैलाई ल्याउनुपर्ला ।’
तीनवटै छोराहरुले एक आपसमा हेराहेर गरे, कसैले पनि बाबुको कुरा भने काट्न सकेनन् । मात्र एक आपसमा मुखामुख गरे । म त्यसबेला त्यहीँ थिएँ– काम सघाउन गएकी । म एउटा गरिब परिवारकी छोरी । हाम्रो सानो झुपडी जिम्वालको घरनजिक थियो । एक साँझ जिम्वाल हाम्रो घरमा आए र आमासँग भने– ‘माइली, तिम्रो लोग्ने बिरामी पर्दा मैले धेरै मद्दत गरेँ, काठमाडौंमा औषधि गर्न लग्दा दश हजार दिएँ, ब्याजस्याज गरेर अब त बीस हजार पुग्यो ।’
आमाको अनुहार अँधेरो भएर आयो । चिन्ताग्रस्त आमाले केही बोल्नै सक्नुभएन । आमाको त्यस्तो अवस्थाबाट मलाई अत्यन्त दुःख लाग्यो तर प्रतिक्रियाविहीन चुपचाप बसिरहेँ । फेरि जिम्वालले नरम स्वरले भने– ‘तिम्री छोरी सानी मलाई देऊ, ऋण माफी गरिदिउँला ।’
यस्तो प्रस्ताव सुनी आमाको मन दोधारमा प¥यो । ऋण तिर्न पैसा छैन, लोग्नेलाई औषधि गर्दागर्दै अलिअलि भएको पैसा पनि सकियो, उनी पनि रहेनन्, भर्खरकी तरुनी छोरी बूढालाई दिऊँ, छोरीको जीवन दुःखमय हुन्छ, नदिऊँ यो पापी बूढाले घर न बास गरिदिन्छ, सोच्दासोच्दै आमाले ‘छोरीसँग एकचोटि सल्लाह गरी जवाफ दिउँला’ भन्नुभयो ।
आमाले मलाई सम्झाउँदै भन्नुभयो– ‘छोरी, म ऋणको बोझले थिचिएकी छु, अर्को तिम्रो विवाहको पीर छ । जिम्वालले पैसाको सट्टा तिमीलाई मागेको छ । मलाई थाहा छ, बूढोसँग पैसा भए पनि तिमी सुखी हुन्नौ । म के गरुँ ?’
मलाई आफ्नो भाग्यदेखि दिक्दार लाग्यो, किन म गरिबको घरमा जन्मेँ ? कसलाई मनपर्छ र हजुरबुबाको उमेरका बूढासँग जान । गरिबीको कारण मान्छे दास हुनुपर्दोरहेछ । परिस्थिति र विवशताले गर्दा मैले मुटुमाथि ढुंगा राखी दुर्भाग्यसँग सम्झौता गर्नुपर्ने भयो, सम्झौता गरेँ ।
उनी मेरा पति परमेश्वर भए पनि उनीप्रति घृणा लाग्थ्यो । उनले मेरो मायाप्रीति कहिल्यै पनि पाउन सकेनन् । म पनि वितृष्णाको विष पिउँदै बाँच्न विवश थिएँ । म भित्रिएपछि उनको जेठो छोरा गोविन्द बरोबर हामीलाई भेट्न आउन थाल्यो । आउँदा मलाई सिँगारका सामान र राम्रा राम्रा लुगा पनि ल्याइदिन्थ्यो । बाबुलाई पनि केही उपहार ल्याइदिन्थ्यो । पहिला वर्षको एकचोटि घर आउन गाह्रो मानने गोविन्द अहिले महिनैपिच्छे आउन थाल्यो ।
बूढाचाहिँ भात खाएर खेतमा काम लगाउन जान्थे । म र गोविन्द भने दिनभरि घरमा हुन्थ्यौं । यस्तैमा हाम्रो हिमचिम बढ्यो, आत्मीयता बढ्न थाल्यो । म गोविन्दकी छोरीकी उमेरकी भएकीले मलाई ऊ सानी नै भन्थ्यो । कहिलेकाहीँ मेरो हात समातेर ‘सानी तिम्रो हात कति नरम । नरम हातले पकाएको खाना पनि मीठो’ भन्थ्यो त कहिले ‘तिम्रो कपाल कति राम्रो र लामो भनेर खेलाउँथ्यो । मलाई अलि असजिलो लाग्थ्यो तर पवित्र मायाले गरेको भनी हाँसी हाँसी बस्थेँ । मैले उसको मनमा कुफत छ भनी बुझ्न सकिनँ । कहिले ‘कत्ति हिस्सी परेकी’ भन्दै ऊ मुस्कुराइ मुस्कुराई मलाई हेरिरहन्थ्यो, कहिले तिम्रो गाला रातो भएछ, ज्वरो छ कि भन्दै मेरा निधार र गाला छाम्थ्यो ।
मैले केही नभनेर होला, उसको हौसला बढेको हुन सक्थ्यो । एक दिन त ‘तिम्रो गाला कस्तो स्याउजस्तो’ भनी म्वाई खाइदियो । म लाजले भुतुक्क भएँ । उसबाट भाग्न खोजेँ । तर मलाई उसले एक्कासि आफ्नो अँगालोमा कस्यो र मेरो ओठ, निधार अनुहारभरि चुम्बनको वर्षा गरिदियो । म पानी पानी भई पग्लिएँ । उसले मेरो सम्पूर्ण यौवनको रसपान ग¥यो । यति बिघ्न अतिक्रमण गर्दा पनि म प्रतिरोधतर्फ जान सकिनँ, चाहेर पनि विरोध गर्न सकिनँ । यसरी म एउटी नारी आफ्नै घरभित्र यौनशोषण भोग्न बाध्य भएँ ।
मेरो बूढो लोग्नेका खस्रा सुकेका हातहरुले मलाई सुमसुम्याउँदा सधैं काँढाले घोचेझैँ लाग्थ्यो । बल्लबल्ल उत्तेजना आई उसले मलाई थिच्दा गह्रुँगो काठको मुढोले थिचेको अनुभव हुन्थ्यो । एउटा बलिष्ठ पुरुषको बाहुपासमा हुँदा यति सुखद अनुभव हुन्छ भन्ने कुरामा म अनभित्र थिएँ । अतृप्त हुने ठानिएको मेरो दमित यौनतृष्णा उत्तेजित भयो । मेरो अपूर्व तिर्खा मेटिएकोमा म हर्षविभोर भएँ । कताकता पापकर्म गर्न पुगेँ कि भन्ने ग्लानि पनि हुन्थ्यो । त्योभन्दा पनि बढी तृप्तिकै अनुभूतिको मिठासमा मन रमाउँथ्यो । यो घटनापछि ममा बूढो लोग्नेप्रति यति धेरै वितृष्णा पैदा भयो कि उसको र मेरो ओछ्यान पनि छुट्टाछुट्टै गरेँ मैले ।
अतृप्त तृष्णा मेटिएर होला रातभरको बेचैनी मेटियो । एकचोटि नशाले छोएपछि बारम्बार नशा लिने मन हुन्छ भनेझैँ गोविन्द हरेक महिना आएर मलाई खेलौनाझैँ खेलाई फर्कन्थ्यो । म पनि मेरो जीवनमा बहार आएको अनुभव गर्थें ।
एक दिन एउटा सुन्दर आकर्षक युवक हाम्रो घर आयो र मेरो लोग्नेलाई खुट्टामा ढोग्यो । मलाई भने मुसुक्क हाँसेर हेरी मात्र रह्यो । भर्खरै अमेरिकाबाट आएको मनीषलाई झन्डै मैले नचिनेकी । मोटाएर अर्कै देखिएको थियो । मनीष, गोविन्दको छोरो । बूढाले नाति घर आएकोमा खुसी व्यक्त गर्दै भलाकुसारी गरेका थिए । हामी स्कुलका बालसखा । ऊ स्कुलको लामो बिदा हुँदा केही दिनको लागि गाउँ आउँथ्यो । हामी कहिलेकाहीँ दुलहादुलही भएर खेल्थ्यौं । उसको हजुरबुबा नभएको ताक पारी उसले मलाई भन्यो– ‘सानी, तिमी कस्तो फरक देखिएकी, पहिले काली, फोहोरी, अहिले कस्ती राम्री ।’
मैले पनि भनेँ, तिमी पनि पहिला ख्याउटे थियौ, हामी तिमीलाई ख्याउटे भनेर जिस्क्याउँथ्यांै । तिमीलाई राधा र मैले बेस्सरी पिटेको अहिले पनि सम्झना आउँछ ।’
‘मलाई पनि तिमीसँग खेलेको सबै सम्झना आउँछ’ उसले भन्यो । मनीषको लागि म साथी थिएँ, हजुरआमा थिइनँ । मेरा लागि पनि ऊ नाति थिएन । उसलाई त हजुरआमाको नाता लगाएर मसँग घुम्न र डुल्न झन् सजिलो भयो । हामी सानोमा खेलेका ठाउँ, नदी, पहाड, झरना र चौरमा घुम्न जान्थ्यौं र घण्टौं कुरा गथ्र्यौं । एकदिन अचानक उसले मलाई सोध्यो– ‘सानी तिमी मेरो हजुरबुबासँग सन्तुष्ट छ्यौ ?’
मैले पनि झट्ट उत्तर दिएँ– ‘नभएर तिमीले सन्तुष्टि दिन सक्छौ त ?’
ऊ चुप लाग्यो, तर मेरो मनमा उथलपुथल भयो । उसको आकर्षक अनुहार र हृष्टपुष्ट शरीरप्रति मोहित थिएँ म, ऊप्रति तृषित थिएँ । उसलाई देख्नासाथ मभित्र एक किसिमको तृष्णा जागृत भएको थियो । आज त्यो तृष्णा अझ भड्कियो । मैले मनलाई संयम गर्न कोसिस गरेँ, ‘यो पाप हो, मैले पाप गर्न हुँदैन’ भनेँ । तर मेरो मनले मानेन, त्यहाँ एउटा विद्रोहले पो जन्म लियो– उसको बाबुले मलाई ललाइफकाइ भोग्यो भने मैले पनि उसको छोरालाई भोग्न केको पाप ? मेरो संयमको बाँध भत्कियो । मैले उसको बाबुले अवलम्बन गरेको योजना ऊप्रति पनि लागू गरेँ । ऊ पनि त मान्छे नै हो, मसँग फसिहाल्यो । मैले ऊसँग स्वर्गीय आनन्द लुटेँ । ऊसँगको मिलन मेरा लागि जीवनको स्वर्णिम क्षण सावित भयो ।
मेरो पेटमा बीउ रोपेर ऊ अमेरिका फर्कियो जुन क्रमशः बढ्दैछ नरोकिने गरी । विस्तारै मैले मेरो इज्जत खतरामा परेको अनुभव गर्न थालेँ । अब म मेरो पेटको बच्चाको बाबु मनीष हो भनी कसरी बताऊँ ? मेरो लोग्नेको नाताले ऊ मेरो नाति । त्यस्तो बेला मैले मेरो मन संयम गर्न सक्नुपथ्र्यो । त्यो बेला मेरो मन प्रतिशोधको ज्वालाको मनोवेगले भत्किएको थियो ।
अब मैले यो समाजमा इज्जतसाथ बस्नु छ । म आत्महत्या गर्दिनँ । उपाय सोच्न थालेँ– एउटा उपाय सुझ्यो । सिंगारपटार गरेर मेरो बूढोलाई पर्खिएर बसेँ । ऊ खेतबाट फर्कंदा सिंगार गरी मैले उसलाई पहिलोपल्ट पर्खिरहेको देखेर ऊ छक्क प¥यो । खुसी पनि भयो । अनुहार उज्यालो पार्दै मख्ख परेर भन्यो– ‘सानी, तिमी यति राम्री भएर बसेकी छ्यौ, खुसी पनि देखिन्छ्यौ । आज कसरी पश्चिमबाट घाम उदायो ।’ ‘हजुर मेरो पतिपरमेश्वर, मैले कसको अगाडि सिंगार देखाउने ? कोसँग खुसी हुने ? मेरो को छ र ?’
मैले मीठोमीठो परिकार बनाई उसलाई खुवाएँ । त्यो रात म ऊसँगै ओछ्यानमा सुतेँ । पहिलोपटक माया गरेजस्तो गरी मेरा नरम हातले उसको खस्रो शरीर सुमसुम्याएँ । उसलाई उत्तेजनामा ल्याउने प्रयास गरेँ । बूढो विस्तारै विस्तारै तात्तिँदै आयो । आकाशमा बिजुली चम्केझैँ उसको शरीरमा करेन्ट आयो । काम विह्वल भई ऊ मसँग टाँस्सिन आयो र सन्तुष्ट भई मस्त निदायो । मेरो योजना सफल भयो । मेरो संकटमोचन भयो । म मातृत्वको सुखद कल्पनामा हराएँ ।
(स्रोत : Ruprekha.com )