लेख : बिटुलो सिन्दुर

~तृष्णा राज्यश्री कुँवर~Trishna Kuwar

‘मसाह्रै अभागिनी रहेछु । यो जुनी आँसु बगाएरै बिताउनुपर्ने भयो ।’ उनको फरियाको मैलो सप्को नुनिलो आँसुले लछप्पै भयो ।

उनी घुम्टोभित्र सहस्ा्रधारा आँसु बगाउँदै मूच्र्छा पर्लिन्झैं गरी रोइरहिछन् । ‘नरोऊ नानी, तिम्रो भाग्यमा यस्तै लेखेको रहेछ’ मेरो मुखबाट यत्ति दुई शब्दसमेत फुत्कन सकिरहेको छैन ।

के यो उनको भाग्यमा लेखिएकै कुरा थियो र ? कि हाम्रो समाजले, यिनको घर र माइतीको गरिबीले कोरेको दुर्भाग्यको रेखा हो यो । विवाह भए पनि माइतीमै बसेकी, गौना नभएकी यी कलिली किशोरी सामाजिक प्रचलन र गरिबीकै कारण वैधब्य अगाल्न बाध्य छिन् । लोग्नेले छुन त के मुखसम्म देखेको छैन, सिन्दुरले मात्र पनि कोही कतै बिटुलिन्छ र ? तर यहाँ त यस्तै भइरहेको छ । चलनमा परेपछि सिन्दुर पनि बिटुलो हुँदोरहेछ ।

कुनै बेला यस्तो थियो, गाउँमा मान्छे नमरेको खबर सुन्नै पाईंदैनथ्यो । त्यस्तै एकबिहान म गोरखाको प्रहरी चौकीमा माओवादीसँग भएको भिडन्तमा उनका लक्का जवान प्रहरी पति मारिएको खबर पछ्याउँदै त्यो आँगनमा उक्लिएकी थिएँ । जनयुद्ध सुरु भएयता ज्यान गुमाउने हजारौं मान्छेमध्ये एउटा उनको लोग्ने पनि पर्यो । रोल्पाको होलेरी र रुकुमको आठबीसे प्रहरी चौकीमा आक्रमण गरी ०५२ फागुन १ देखि माओवादीले जनयुद्ध सुरु गरेयता थुपै्र नेपालीको ज्यान गुमिसकेको छ । टुहुराहरू, सिन्दुर पुछिनेहरू, काख रित्तिनेहरूको संख्या हजारौं पुगिसकेको छ ।

सिन्दुरको नाताले नेपाली भूमिमा पाइलासमेत नहालेकी भारतीय चेली पनि यो जनयुद्धबाट हिंसापीडित बन्न पुगिन् ।

‘यिनको त गौना पनि भएको थिएन, अनि पारिबाट कहिले आइन् त ?’ म नजिकै उभिएको उनको सानो देवरसँग सोध्छु ।

‘खबर पाएको भोलिपल्टै मैले भौजीलाई लिएर आएँ, के गर्नु ? दाइ सिकिस्त बिरामी छ भनी झुठो बालेर ल्याउनुपर्‍यो’ यति बोल्न नपाउँदै ऊ पनि धरधरी रुन थाल्यो । म उनको किशोरावस्था, अहिलेको यो वैधब्य र सिङ्गो उमेरको हिसाबकिताब लगाउन थाल्छु ।

नेपाली युवककी विवाहित पत्नीको नाताले सीमापारिकी यी भारतीय चेली पनि अनाहकमा यता चलिरहेको जनयुद्धको चपेटामा परिन् । नेपालमा पुलिसमा जागिरे लोग्ने मरे धेरै पैसा पाइन्छ भन्दै गरिब माइतीले अब यतै बस्नु भनी सिकाएर हिँडे । निम्नवर्गीय किसानको घरमा जन्मिएकी उनले स्कुलको मुख पनि देख्न पाएकी छैनन् रे । आफू निरक्षर भए पनि आठ कक्षा पास गरेको, एक बिघा खेतबारी भएको केटासँग विवाह हुँदा बाबुआमाले उनको भाग्य ठूलो देखेका हुँदा हुन् ।

पछि पुलिसमा जागिरे भएको खबर पाउँदा उनी पनि खुसीले रोमाञ्चित भएकी थिइन् रे । १२ वर्षमा बिहे भए पनि अचेल उनी केही जवान भइसकेकी र फागुनमा गौना गरेर पठाइदिने सरसल्लाह घरमा भइरहेको थियो । ‘सरकारी नोकरी भएको केटाले राम्रोसँग पाल्छ भन्ने सुनेर खुसी थिएँ । उहाँले बर्दी -प्रहरी पोसाक) लगाएको फोटो पठाइदिनुभएको थियो । यसलाई म दिनमा सयौंपटक हेर्थेँ,’ उनि फेरि भक्कानिइन् । ‘मैले त उहाँको मुख पनि हेर्न पाएकी थिइनँ । अब यही फोटो हेररे रुँदै जिन्दगी बिताउनुपर्ने भयो,’ उनको हातमा मृतक पतिको फोटो थियो । भित्ताको किलामा झुन्ड्याइएको त्यो तस्बिर उनले केहीबेर अगाडि मात्र निकालेकी थिइन् ।

मनै कुड्याउने यस्तो दृश्य कतिन्जेल हेरिरहनु ?

आँसु पुछ्दै म बाहिर ओसारामा -पिंढीमा) बसी रोइरहेका उनका सासूससुरा नजिक पुगें ।

‘भारत उत्तरप्रदेशको महाराजगन्ज, पिपरहवा गाउँ यसको माइती हो, लोग्नेसँग बस्न यसलाई लेखेको रहेनछ, अब यो हाम्रो सेवा गरेर यतै बस्छे ।’ ससुराले रुँदै उनको जन्मघरको नालीबेली सुनाए ।

‘मेहनत, मजदुरी गरेर आफ्नो गाँस काटेर हुर्काएँ । रोगले मरेको भए सहन सक्थेँ होला तर उनीहरूले मेरो छोरालाई बहुत तडपाएर मारे, मेरो लालको हातगोडा काटिएको थियो । निधारमा लागेको गोली कान छेडेर निस्केको थियो,’ विह्वल हुँदै वनकटाहिनले छोराको बीभत्स हत्याबारे यतिसम्म बताइन्, बाँकी शब्द उनको गलामै अड्कियो ।

‘गरिबको सहारा हाम्रो कमाउ छोरा मारेर उनीहरूलाई के मिल्यो ? यस्तो लडाइँको बेला सिपाहीको जागिर नखा भन्दा मानेन, भर्ना हुन्छु भन्दै छाती नपाउन गयो । नौ महिना तालिम गरेर पुलिस बन्यो । हाकिमहरूले हामी मधेसीका छोरालाई सोझै पहाडमा खतरा ठाउँमा पठाइदिए । सबै मिलाएर एक वर्ष एक महिना १३ दिन जागिर खाएर मर्‍यो ।

ऊ त गयो, अब यी भर्खरकी बुहारीको जीवन कसरी चल्छ ?’ नन्दलाल छोराको हत्याको चोटसँगै आइलागेको बुहारीको वैधव्यदेखि चिन्तित देखिए ।

हाम्रो देशमा बालविवाह कानुनी रूपले अपराध मानिए पनि तराईका केही गाउँमा अझै पनि यो प्रथा धार्मिक, सांस्कृतिक परम्पराको रूपमा यथावत् कायम छ । पश्चिमी तराईबासीहरूको यस्तै चलनअनुसार नवलपरासीका नन्दलाल लोनियाले छोराको विवाह तीन वर्षअघि नै गरिदिएका थिए । खुला सिमाना भएका कारण यतातिर वारिपारि बिहेवारी चल्नु सामान्य कुरा नै हो । भारतबाट दुलही ल्याउँदा दाइजो बढी पाइने लोभले दुवै देशबीच बिहेबारी लेनदेन निकै फस्टाएको पाइन्छ । विवाह केटाकेटी उमेरमै भए पनि विवाहमा कन्यालाई घर पठाउनु पर्दैन । केही वर्षपछि मात्र गौना गरेर छोरी बिदा गर्ने परम्पराअनुसार यही फागुन महिनामा सिरसाको गौना गर्ने साइत जुराइएको थियो तर जनयुद्धको चपेटामा परेर कात्तिकमै रवीन्द्रको प्राण उड्यो, सिरसाको सुहाग उजाडियो । सिन्दुरले मात्र बिटुलिएकी सिरसा अब यो समाजमा पखालिएको सिउँदो लिएर बाँच्न विवश छिन् ।

दोहोरो भिडन्तमा मारिएका रवीन्द्रको पार्थिव शरीरलाई गोर्खाको ताकुकोटबाट हेलिकप्टरमा राखी प्रहरीले घरसम्म पुर्‍याइदिए । ‘किरिया खर्चबापत २५ हजार दिंदै, बुहारीले अब हरेक महिना रवीन्द्रको तलब रकम पाउँछे भनेर हाकिमहरूले भनेका छन् ।’ नन्दलालले आँसु पुछ्दै भने ।

वीरगति प्राप्त लोग्नेको ज्यानको बदलामा पाइने क्षतिपूुर्ति रकम र सहयोगको आसमा ससुराको पछि लागी राजधानीसम्म पुग्न बाध्य उनीहरूको कथा गाउँमा सर्वत्र चर्चाको विषय बनेको छ अचेल ।

‘पैसा त टन्नै पायौ होला, कति ल्यायौ भनेर सोध्नेहरू पनि छन्, तिनको कुराले यो छातीको घाउ झनै चहर्‍याउन थाल्छ,’ नन्दलालको भक्कानो मिश्रति रुवाइसँगै मेरो मन पनि राइरहेछ । ‘छोराको प्राणको हर्जाना त्यसको रगत खाएसरह नै हुनेछ । गरिबको छोरो गरिबीमै बाँचिरहेको भए मलाई लाख हुन्थ्यो । यस्तो दुःख आपत अब कसैमाथि नपरोस्, दुश्मनलाई पनि पुत्रशोक नहोस्,’ नन्दलालले फेरि पनि तरक्क आँसु चुहाए ।

‘जाने त गइहाल्यो, बाँच्नेको बिजोग छ । मलाई अचेल कलिली यो बुहारीकै सुर्ता थपिएको छ, यत्रो पहाडजत्रो जिन्दगी उसले कसको सहारामा बिताउली ?’ नन्दलालले बगिरहेको नाक पुछ्दै खुइय्य गरेको सुनियो । त्यो सुस्केराबाट निस्केको उनको दुःख जस्तस्ले कहाँ बुझ्ने सामथ्र्य राख्छ र ?

भन्न त मन लागेको थियो, ‘उनको पुनर्विवाह गराइदेउ भैया ।’ तर अहिले नै यो कुरा काटेको घाउमा नुनचुक होला भनेर मुख थुनिराख्नु उचित लाग्यो । अर्को भेटमा म अवश्य उनलाई यही सल्लाह दिनेछु ।

घाम निकै माथि चढिसकेको थियो । ‘जान्छु’ भन्दै हिँड्न भनि मचियाबाट उठ्दै यसो घडीमा झुन्डिएको समयतर्फ हेरें ।

भित्र केही चलमलाएजस्तो लाग्यो । भित्री कुनोमा बसेर हाम्रो कुरो घत मानेर सुनिरहेकी सिरसाको आकृति रहेछ । एकपटक उनको टाउकोलाई सान्त्वनाका हातले मुसारेर जान्छु भन्ने सोच्दै भित्र पसें । तराइृमा भर्खर भित्रिएकी बुहारी घुम्टो काढेर भित्रै लुक्छन् ।

ससुरा वा आगन्तुक पुरुष कसैलाई सोझै मुख देखाउन मिल्दैन । म भित्रिएको चाल

पाएर फरियाको सप्कोलाई अझै बढी अनुहारतर्फ तान्दै उनी बसिरहेको ठाउँबाट हडबडाउँदै उठिन् । मैले सप्को पन्छाएर अनुहार हेर्दा उनी यति धेरै लजाइन् कि त्यो लज्ज्ााको यहाँ बयानै गर्न सकिँदैन । अघि बगिरहेको आँसु आँखामै सुकिसकेछ । गाजल लतपतिएका ठूला आँखा फोहोरी देखिए पनि ती निष्पाप र निष्कंलक थिए ।

‘मेरो के दोष ?’ भन्न खोजिरहेका ती निर्दोष आँखाहरूको प्रश्नदेखि हडबडाएर म हत्त न पत्त बाहिरिएँ ।

‘मेरो सल्लाह मान्छोै भने बुहारीलाई स्कुल पठाउन थालिहाल । त्यो पनि सक्दैनौ भने छिमेकमा चलिरहेको प्रौढ कक्षामा हालि देउ है भैया’ मेरो मुखबाट कसरी शब्द फुत्कियो आफैलाई थाहा भएन ।

हिंड्दाहिंड्दै फेरी एकपटक आँखाहरूले उनैलाई खोजे । भित्रैबाट घुम्टो उचाली यसो दुइटा आँखाले बाहिर चियाइरहेकी सिरसाको आँखामा एउटा आश देखियो ।

‘ससुराले के निर्णय सुनाउने हुन’ भनेर बिस्फारित हुँदै गएका उनका नयनहरूलाई त्यहीं छाडि लामो लामो पाइला चालेर म त्यहाँबाट मुलसडकमा निस्किएँ । मलाई सुन्न मात्र यति गाह्रो, उनिहरूलाई सहन झन कस्तो भएको होला ? मेरो छाति अझै बेतोडसङ्ग ढुकढुकाइरहेको छ ।

(स्रोत : eKantipur.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लेख - समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.