‘मसाह्रै अभागिनी रहेछु । यो जुनी आँसु बगाएरै बिताउनुपर्ने भयो ।’ उनको फरियाको मैलो सप्को नुनिलो आँसुले लछप्पै भयो ।
उनी घुम्टोभित्र सहस्ा्रधारा आँसु बगाउँदै मूच्र्छा पर्लिन्झैं गरी रोइरहिछन् । ‘नरोऊ नानी, तिम्रो भाग्यमा यस्तै लेखेको रहेछ’ मेरो मुखबाट यत्ति दुई शब्दसमेत फुत्कन सकिरहेको छैन ।
के यो उनको भाग्यमा लेखिएकै कुरा थियो र ? कि हाम्रो समाजले, यिनको घर र माइतीको गरिबीले कोरेको दुर्भाग्यको रेखा हो यो । विवाह भए पनि माइतीमै बसेकी, गौना नभएकी यी कलिली किशोरी सामाजिक प्रचलन र गरिबीकै कारण वैधब्य अगाल्न बाध्य छिन् । लोग्नेले छुन त के मुखसम्म देखेको छैन, सिन्दुरले मात्र पनि कोही कतै बिटुलिन्छ र ? तर यहाँ त यस्तै भइरहेको छ । चलनमा परेपछि सिन्दुर पनि बिटुलो हुँदोरहेछ ।
कुनै बेला यस्तो थियो, गाउँमा मान्छे नमरेको खबर सुन्नै पाईंदैनथ्यो । त्यस्तै एकबिहान म गोरखाको प्रहरी चौकीमा माओवादीसँग भएको भिडन्तमा उनका लक्का जवान प्रहरी पति मारिएको खबर पछ्याउँदै त्यो आँगनमा उक्लिएकी थिएँ । जनयुद्ध सुरु भएयता ज्यान गुमाउने हजारौं मान्छेमध्ये एउटा उनको लोग्ने पनि पर्यो । रोल्पाको होलेरी र रुकुमको आठबीसे प्रहरी चौकीमा आक्रमण गरी ०५२ फागुन १ देखि माओवादीले जनयुद्ध सुरु गरेयता थुपै्र नेपालीको ज्यान गुमिसकेको छ । टुहुराहरू, सिन्दुर पुछिनेहरू, काख रित्तिनेहरूको संख्या हजारौं पुगिसकेको छ ।
सिन्दुरको नाताले नेपाली भूमिमा पाइलासमेत नहालेकी भारतीय चेली पनि यो जनयुद्धबाट हिंसापीडित बन्न पुगिन् ।
‘यिनको त गौना पनि भएको थिएन, अनि पारिबाट कहिले आइन् त ?’ म नजिकै उभिएको उनको सानो देवरसँग सोध्छु ।
‘खबर पाएको भोलिपल्टै मैले भौजीलाई लिएर आएँ, के गर्नु ? दाइ सिकिस्त बिरामी छ भनी झुठो बालेर ल्याउनुपर्यो’ यति बोल्न नपाउँदै ऊ पनि धरधरी रुन थाल्यो । म उनको किशोरावस्था, अहिलेको यो वैधब्य र सिङ्गो उमेरको हिसाबकिताब लगाउन थाल्छु ।
नेपाली युवककी विवाहित पत्नीको नाताले सीमापारिकी यी भारतीय चेली पनि अनाहकमा यता चलिरहेको जनयुद्धको चपेटामा परिन् । नेपालमा पुलिसमा जागिरे लोग्ने मरे धेरै पैसा पाइन्छ भन्दै गरिब माइतीले अब यतै बस्नु भनी सिकाएर हिँडे । निम्नवर्गीय किसानको घरमा जन्मिएकी उनले स्कुलको मुख पनि देख्न पाएकी छैनन् रे । आफू निरक्षर भए पनि आठ कक्षा पास गरेको, एक बिघा खेतबारी भएको केटासँग विवाह हुँदा बाबुआमाले उनको भाग्य ठूलो देखेका हुँदा हुन् ।
पछि पुलिसमा जागिरे भएको खबर पाउँदा उनी पनि खुसीले रोमाञ्चित भएकी थिइन् रे । १२ वर्षमा बिहे भए पनि अचेल उनी केही जवान भइसकेकी र फागुनमा गौना गरेर पठाइदिने सरसल्लाह घरमा भइरहेको थियो । ‘सरकारी नोकरी भएको केटाले राम्रोसँग पाल्छ भन्ने सुनेर खुसी थिएँ । उहाँले बर्दी -प्रहरी पोसाक) लगाएको फोटो पठाइदिनुभएको थियो । यसलाई म दिनमा सयौंपटक हेर्थेँ,’ उनि फेरि भक्कानिइन् । ‘मैले त उहाँको मुख पनि हेर्न पाएकी थिइनँ । अब यही फोटो हेररे रुँदै जिन्दगी बिताउनुपर्ने भयो,’ उनको हातमा मृतक पतिको फोटो थियो । भित्ताको किलामा झुन्ड्याइएको त्यो तस्बिर उनले केहीबेर अगाडि मात्र निकालेकी थिइन् ।
मनै कुड्याउने यस्तो दृश्य कतिन्जेल हेरिरहनु ?
आँसु पुछ्दै म बाहिर ओसारामा -पिंढीमा) बसी रोइरहेका उनका सासूससुरा नजिक पुगें ।
‘भारत उत्तरप्रदेशको महाराजगन्ज, पिपरहवा गाउँ यसको माइती हो, लोग्नेसँग बस्न यसलाई लेखेको रहेनछ, अब यो हाम्रो सेवा गरेर यतै बस्छे ।’ ससुराले रुँदै उनको जन्मघरको नालीबेली सुनाए ।
‘मेहनत, मजदुरी गरेर आफ्नो गाँस काटेर हुर्काएँ । रोगले मरेको भए सहन सक्थेँ होला तर उनीहरूले मेरो छोरालाई बहुत तडपाएर मारे, मेरो लालको हातगोडा काटिएको थियो । निधारमा लागेको गोली कान छेडेर निस्केको थियो,’ विह्वल हुँदै वनकटाहिनले छोराको बीभत्स हत्याबारे यतिसम्म बताइन्, बाँकी शब्द उनको गलामै अड्कियो ।
‘गरिबको सहारा हाम्रो कमाउ छोरा मारेर उनीहरूलाई के मिल्यो ? यस्तो लडाइँको बेला सिपाहीको जागिर नखा भन्दा मानेन, भर्ना हुन्छु भन्दै छाती नपाउन गयो । नौ महिना तालिम गरेर पुलिस बन्यो । हाकिमहरूले हामी मधेसीका छोरालाई सोझै पहाडमा खतरा ठाउँमा पठाइदिए । सबै मिलाएर एक वर्ष एक महिना १३ दिन जागिर खाएर मर्यो ।
ऊ त गयो, अब यी भर्खरकी बुहारीको जीवन कसरी चल्छ ?’ नन्दलाल छोराको हत्याको चोटसँगै आइलागेको बुहारीको वैधव्यदेखि चिन्तित देखिए ।
हाम्रो देशमा बालविवाह कानुनी रूपले अपराध मानिए पनि तराईका केही गाउँमा अझै पनि यो प्रथा धार्मिक, सांस्कृतिक परम्पराको रूपमा यथावत् कायम छ । पश्चिमी तराईबासीहरूको यस्तै चलनअनुसार नवलपरासीका नन्दलाल लोनियाले छोराको विवाह तीन वर्षअघि नै गरिदिएका थिए । खुला सिमाना भएका कारण यतातिर वारिपारि बिहेवारी चल्नु सामान्य कुरा नै हो । भारतबाट दुलही ल्याउँदा दाइजो बढी पाइने लोभले दुवै देशबीच बिहेबारी लेनदेन निकै फस्टाएको पाइन्छ । विवाह केटाकेटी उमेरमै भए पनि विवाहमा कन्यालाई घर पठाउनु पर्दैन । केही वर्षपछि मात्र गौना गरेर छोरी बिदा गर्ने परम्पराअनुसार यही फागुन महिनामा सिरसाको गौना गर्ने साइत जुराइएको थियो तर जनयुद्धको चपेटामा परेर कात्तिकमै रवीन्द्रको प्राण उड्यो, सिरसाको सुहाग उजाडियो । सिन्दुरले मात्र बिटुलिएकी सिरसा अब यो समाजमा पखालिएको सिउँदो लिएर बाँच्न विवश छिन् ।
दोहोरो भिडन्तमा मारिएका रवीन्द्रको पार्थिव शरीरलाई गोर्खाको ताकुकोटबाट हेलिकप्टरमा राखी प्रहरीले घरसम्म पुर्याइदिए । ‘किरिया खर्चबापत २५ हजार दिंदै, बुहारीले अब हरेक महिना रवीन्द्रको तलब रकम पाउँछे भनेर हाकिमहरूले भनेका छन् ।’ नन्दलालले आँसु पुछ्दै भने ।
वीरगति प्राप्त लोग्नेको ज्यानको बदलामा पाइने क्षतिपूुर्ति रकम र सहयोगको आसमा ससुराको पछि लागी राजधानीसम्म पुग्न बाध्य उनीहरूको कथा गाउँमा सर्वत्र चर्चाको विषय बनेको छ अचेल ।
‘पैसा त टन्नै पायौ होला, कति ल्यायौ भनेर सोध्नेहरू पनि छन्, तिनको कुराले यो छातीको घाउ झनै चहर्याउन थाल्छ,’ नन्दलालको भक्कानो मिश्रति रुवाइसँगै मेरो मन पनि राइरहेछ । ‘छोराको प्राणको हर्जाना त्यसको रगत खाएसरह नै हुनेछ । गरिबको छोरो गरिबीमै बाँचिरहेको भए मलाई लाख हुन्थ्यो । यस्तो दुःख आपत अब कसैमाथि नपरोस्, दुश्मनलाई पनि पुत्रशोक नहोस्,’ नन्दलालले फेरि पनि तरक्क आँसु चुहाए ।
‘जाने त गइहाल्यो, बाँच्नेको बिजोग छ । मलाई अचेल कलिली यो बुहारीकै सुर्ता थपिएको छ, यत्रो पहाडजत्रो जिन्दगी उसले कसको सहारामा बिताउली ?’ नन्दलालले बगिरहेको नाक पुछ्दै खुइय्य गरेको सुनियो । त्यो सुस्केराबाट निस्केको उनको दुःख जस्तस्ले कहाँ बुझ्ने सामथ्र्य राख्छ र ?
भन्न त मन लागेको थियो, ‘उनको पुनर्विवाह गराइदेउ भैया ।’ तर अहिले नै यो कुरा काटेको घाउमा नुनचुक होला भनेर मुख थुनिराख्नु उचित लाग्यो । अर्को भेटमा म अवश्य उनलाई यही सल्लाह दिनेछु ।
घाम निकै माथि चढिसकेको थियो । ‘जान्छु’ भन्दै हिँड्न भनि मचियाबाट उठ्दै यसो घडीमा झुन्डिएको समयतर्फ हेरें ।
भित्र केही चलमलाएजस्तो लाग्यो । भित्री कुनोमा बसेर हाम्रो कुरो घत मानेर सुनिरहेकी सिरसाको आकृति रहेछ । एकपटक उनको टाउकोलाई सान्त्वनाका हातले मुसारेर जान्छु भन्ने सोच्दै भित्र पसें । तराइृमा भर्खर भित्रिएकी बुहारी घुम्टो काढेर भित्रै लुक्छन् ।
ससुरा वा आगन्तुक पुरुष कसैलाई सोझै मुख देखाउन मिल्दैन । म भित्रिएको चाल
पाएर फरियाको सप्कोलाई अझै बढी अनुहारतर्फ तान्दै उनी बसिरहेको ठाउँबाट हडबडाउँदै उठिन् । मैले सप्को पन्छाएर अनुहार हेर्दा उनी यति धेरै लजाइन् कि त्यो लज्ज्ााको यहाँ बयानै गर्न सकिँदैन । अघि बगिरहेको आँसु आँखामै सुकिसकेछ । गाजल लतपतिएका ठूला आँखा फोहोरी देखिए पनि ती निष्पाप र निष्कंलक थिए ।
‘मेरो के दोष ?’ भन्न खोजिरहेका ती निर्दोष आँखाहरूको प्रश्नदेखि हडबडाएर म हत्त न पत्त बाहिरिएँ ।
‘मेरो सल्लाह मान्छोै भने बुहारीलाई स्कुल पठाउन थालिहाल । त्यो पनि सक्दैनौ भने छिमेकमा चलिरहेको प्रौढ कक्षामा हालि देउ है भैया’ मेरो मुखबाट कसरी शब्द फुत्कियो आफैलाई थाहा भएन ।
हिंड्दाहिंड्दै फेरी एकपटक आँखाहरूले उनैलाई खोजे । भित्रैबाट घुम्टो उचाली यसो दुइटा आँखाले बाहिर चियाइरहेकी सिरसाको आँखामा एउटा आश देखियो ।
‘ससुराले के निर्णय सुनाउने हुन’ भनेर बिस्फारित हुँदै गएका उनका नयनहरूलाई त्यहीं छाडि लामो लामो पाइला चालेर म त्यहाँबाट मुलसडकमा निस्किएँ । मलाई सुन्न मात्र यति गाह्रो, उनिहरूलाई सहन झन कस्तो भएको होला ? मेरो छाति अझै बेतोडसङ्ग ढुकढुकाइरहेको छ ।
(स्रोत : eKantipur.com )