कथा : लक्ष्मण रेखा

~बिपुल सिजापति~Bipul Sijapati

“को हो र रौनक ? कोही पनि त होइन । फेरी किन यति व्यग्र छु म !” मस्तिष्कमा लडिबुडि खेलिरहेको एउटै प्रश्नलाई पन्छाउने प्रयास गर्दै सालिनी झ्यालबाट बाहिर हेर्न थालिन् । आकाश सिम्रिक रङ्गमा रंगिएको थियो । केही क्षण बिराएर विभिन्न जातका चराहरु गुँडतर्फ फर्कदै थिए । सालिनिले उड्दै गरेको चराहरुलाई हेरिन् । यिनीहरू अब गुँडमा गएर बस्छन्, दिनभरिको यावत् कुराहरू एकअर्कासँग साट्न एकछिन चिर्बिराउँछन् अनि

गुडुल्किएर सुत्छन् । गोधुलीका धुलीकाहरु धरामा खस्दानखस्दै आकाश सुत्ने छ । आकाश सुत्ने बित्तिकै क्षितिजको छेउबाट चन्दमा चिहाउँछे । । चन्द्रमाले फैलाएको चाँदनी देख्ने बित्तिकै समुन्द्र मोहित हुँदै उर्लिएर छुनलाई दगुर्नेछ । उसका फैलिएका अंगालाहरु किनारमा ठोकिनेछन् र अनुपलव्धिमा लाज मानेर फर्कनेछन् । तर यसको उर्लाईको क्रम रोकिँदैन । अनुरागी भएको छ चन्द्रमाको, मोहित छ चाँदनीमा । ऊ फेरी अंगाल्ने चेष्टा गर्नेछ, लहरसँगै गड्गडाएर बोलाउँनेछ । मिलन हुन्छ कि हुँदैन, कसलाई थाहा ? तथापि समुन्द्रको लहरको आवाज मध्यरात सम्म पनि आइ नै रहेको हुन्छ, अनवरत् ।

“मलाइ पनि यसरी नै व्यग्र प्रेम गर्ने कोही छ ?” सालिनीले आफैलाई छामिन् । भित्ताहरु मौन थिए, छत चुप लागेको थियो । छाती भित्र कतै केही सल्केको अनुभव भयो उनलाई । फेरी लावा भर्भराउँन थाल्यो । “यो लावा छाती चिरेर एकै पटक बाहिर निस्के पनि त हुन्थ्यो नि ! तर पानी बनेर आँखाबाट बगिदिन्छ ।” अत्तालिएर सालिनीले गहमा औंला पुर्याइन्, गह शुष्क थिए, आँखा छामिन्, ती पनि भिजेका थिएनन् । “लगातार कति बर्षिउन् यी आँखा पनि ! थाकेछन् ।” सालिनीले सन्तोष मानिन् ।

दिनले आँखा चिम्लिसकेको थियो । सालिनीले झ्याल लगाएर बत्ती बालिन् र सोफामा गएर बसिन् । समुन्द्रका छालका सङ्गीत अब झ्याल भित्र मधुरो चुहिन थालेको छ । सालिनीलाई आज यो सङ्गीत पनि केही कर्कश लाग्न थालेको छ । विगत एक वर्ष देखि बोझिल लाग्न थालेको साँझ आज पनि बोझील नै लाग्न थालेको छ । हो, साँझ बोझिल नै हुन्छ परदेशमा । कतैबाट फर्किनु छैन, कोही प्रतीक्षामा हुँदेनन्, कसैलाई भेट्नु छैन । बिहान देखि नै असक्त स्याहारेर बसेको व्यक्तिलाई समय परिवर्तनको कुनै असर नपरे पनि परदेशमा एक्लो मान्छेलाई साँझ बोझिल नै हुन्छ, सायद, अरूलाई पनि ।

“अब ?” सालिनीको हृदयमा फेरी प्रश्न उव्जीयो । नसम्झन खोजको रौनकलाई फेरी सम्झिइन्, सपिङ कम्पलेक्समा रौनकासँग भएको पहिलो भेट सम्झिइन्, उसको मुस्कान सम्झिइन्, त्यस पछिका भेटहरु पनि सम्झिइन् । नारी नियती नजान्ली तर नियत ऊ बुझ्दछे । रौनकको आँखामा फैलिएका स्नेह उसले बारम्बारको भेटमा छामी सकेकी थिइन् । ऊ प्रतिको आकर्षणलाई बुझिसकेकी थिइन् । रौनकको हृदयमा छचल्किएको अनुरागको तातो बाफले सालिनीलाई द्रवित नपारेको हैन, तर कतै केही थियो । अदृष्य, अगोचर, मिहीन तगारो ।

“तगारो ? कतै पाँचबर्ष अघि सिउँदोमा परेको एक चिम्टी सिन्दूर त हैन तगारो ? कतै धागोमा उनिएको स-साना काँचका गुच्चाहरु त होइन तगारो ? या साक्षी राखिएको अग्नी ? के हो तगारो ? के को लागि तगारो ?” सालिनीले उठेर ऐना अगाडी उभिएर आफ्नो सिउँदो हेरिन् । तीन वर्ष भएछ यसले सिन्दूरको रङ्ग नपाएको । पोतेको अस्तित्व मेटिएको पनि लगभग त्यति नै भइसकेको छ । हो, साक्षी राखिएको अग्नी भने अझै हृदयमा छ, तीन वर्ष देखि सालिनीलाई सुस्त सुस्त सल्काइ राखेको छ त्यो आगोले । तगारो बनेर साँधमा उभिने आयुष आफै साँध नाघेर गैसकेको छ, बाँध्ने डोरी आफैले चुडालेर । बाँधेको मान्छेले नै चुँडाइसक्यो भने बाँधिएर बस्नु पर्ने आवश्यकता कहाँबाट उम्रियो फेरी ?

बाहिर ढोकामा बिरालोले कोतर्यो । सालिनीको ध्यान मोडियो । बाहिर जाडो छ त्यसैले बिरालो भित्र आउँन खोज्दैछ । बिरालो पनि एक्लो छ, सालिनी जस्तै । उसलाई पनि जरुरी छ, छतको, उसलाई पनि त जरुरी छ न्यानोको । प्राणी हो ऊ पनि । छत बिहिन चिसोमा एक्लै बस्न सक्दैन । सालिनीले ढोका खोलिदिइन्, बिरालो लुसुक्क आएर सालिनीलाई कृतज्ञ नजरले हेर्दै सोफामा उक्लिएर बस्यो ।

बाहिर चिसो छ, सालिनीको हृदय जस्तै । सालिनीले बिरालोलाई हेरिन् । बिरालो सोफाको आडमा न्यानो मानिरहेको थियो । घरभित्र बिरालो सुरक्षित थियो, न्यानो पाइरहेको थियो । सालिनीलाई बिरालो देखेर इश्र्या लागेर आयो । “मलाई पनि त छत चाहिएको छ, मलाई पनि त न्यानो चाहिएको छ । म पनि त …… !” “म पनि त के शालिनी ? म पनि त के ? मान्छे अन्तरयामी त होइन ! कसरी बुझोस अरूको मनका कुरा ? बिरालोले जस्तै ढोकामा कोतरेकी भए पनि त हुन्थ्यो नि !”

आधा घण्टाको ट्याक्सीको यात्राभरि सालिनी बाफिएकी थिइन् । त्यो बिल्डिङको भर्‍याङ उक्लदा सम्म सालिनीको अनुहारमा अठोटले साम्राज्य चलाइरहेको थियो । कलबेलको आवाजसँगै रौनकले ढोका खोल्यो । अगाडी सालिनीको उपस्थितिले उसलाई आश्चर्य र उदेकको करेन्ट लाग्न थाल्यो । रौनक जड भएर एकछिन ढोकैमा उभियो र ढोका पुरै खोलेर सालिनीलाई भित्र आउँने बाटो दियो । सालिनीले भित्र पसेर ढोका लगाईन् र ढोकामा अडेस लगाएर उभिइन् । उनले रौनकलाई नियालेर हेरिन् । रौनकका आँखाले अब आउँन सक्ने परिस्थितिको आँकलन गर्दै थियो । रौनक र सालिनी बिच जम्मा दुई हातको दूरी मात्र थियो । सालिनीले हुत्तिएर रौनकलाई अँगालो हालिन् र केही बेर रौनकसँग टाँसिइ रहिन् । रौनक हत्प्रभ उभिइरह्यो । सालिनीले केही अठोटका साथ रौनको ओठमा आफ्नो ओठ जोडिन् तर दुई ओठ जोडिइरहन सकेनन् । सालिनी अत्तालिएर रौनकलाई पर धकेल्दै हटिन्, फरक्क फर्केर ढोका खोलिन र हुर्दुराउँदै भर्‍याङ ओर्लिन् ।

अघि आएको ट्याक्सी गैसकेको थिएन् । सालिनी फेरी त्यसैमा बसेर घर आइन्, ढोका खोलेर भित्र पसिन् र ढोका लगाएर ढोकैमा अडेस लगाएर रुन थालिन् । जोडिएका दुई ओठमा भएका आगोले पनि कहिँकतै खिँचिएको अदृक्ष्य, अगोचर लक्ष्मण रेखा जलाउन सकेनँ ।

(स्रोत : Shabdahar.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.