~मुक्ति पौडेल~
दश कक्षाको टेस्टमा फेल भएपछि दरबाङ्ग बजार चाहारेर लाहुरेको भारी बोक्नु मेरो दैनिकी थियो । लाहुरेको भारी नपाएको बेला चितवनतिरबाट आएका राता कुखुरा बोकेर गाँउगाँउ डुलेर बेच्नु वाध्यता जस्तै थियो । रातो कुखुरा हेर्दा लोकल जस्तै देखिने मासु चाम्रो हुने भएकाले सबैले मन पराउँथे । खासगरी रक्सी पसलमा त चाँडै नै सकिन्थ्यो । के गर्नु, परिवार पाल्नै पर्यो । भारी तथा कुखुरा नपाएको दिन दर्वाङका होटलहरुमै दिन वित्थ्यो
। भर्खरको देखेर हो या आफ्नै दौतरी जस्तै ठानेर प्राय लाहुरेहरुले मलाई नै भरिया बनाउन खोज्थे ।
दलाललाई पासपोर्ट बुझाएको पनि दुई महिना भैसकेको थियो ।
एक दिन एउटा लाहुरे आयो । कालो चस्मा, टि-सर्ट र जिन्सपाईन्ट लगाएको, गोरो छाला भएको । आँखा र नाकले मात्र नेपाली भएको छनक दिन्थ्यो नत्र विदेशी जस्तै देखिन्थ्यो । हुन त प्राय लाहुरेहरु भर्खर आउँदा यस्तै देखिन्छन् । महिना दिनमै पछि हामी जस्तै हुन्छन् । छतमा राखेको सुटकेस झार्ने क्रममा खलासीले मान्छेको भन्दा दोव्वर भाडा लाग्छ भन्दा अनुहार केही विगारे पनि उसले केही भनेन । म आफ्नो रोजगारदाता पाएकोमा भित्रभित्रै दंग थिएँ । पुर्याउने ठाँउ र मोलतोल गरिसके पछि म आफ्नै नाम्लोले सुटकेस बाँधी बोकेर अघि अघि हिड्न थालेँ ।
होटेलमा उसले मलाई वियर र सुकुटी खुवायो । कति दिनदेखि लोकलले काम चलाईरहेको मलाई आज वियर निकै मिठो लाग्यो । बाटोमा उसले विदेशको विकास र कमाईको खुव गफ लगायो । मैले पनि आफुले दलाललाई पासपोर्ट बुझाएर आएको कुरा बताएँ । उसले आफू फिनिस आएको र अब मिलेसम्म अर्कै देश जाने बतायो ।
मेरो भिषा लागेछ, दलाललाई एक लाख विस हजार रुपैया बुझाएर म पनि विदेश गएँ । दुई बर्षपछि म पनि लाहुरे भएर फर्केँ । दर्वाङमा गाडीबाट झरेपछि भरिया खोज्दै गर्दा एकजना आएर भन्यो- ”दाई भरिया चाहिने हो ?” कालो अनुहार दुब्लो शरिर फुस्रो कपाल र मैला लुगा लगाएको मुखबाट ह्वास्स रक्सीको गन्ध आउने त्यही लाहुरे थियो जसको भारी मैले दुई वर्ष अघि बोकेको थिँए ।
– मुक्ति पौडेल
muktipoudel.tanahun@gmail.com
www.muktabhaav.blogspot.com
(स्रोत : Bimamyagdi.com )