~सञ्जयकुमार श्रेष्ठ~
नेपालमा केही गर्न नसके पनि विदेश गएर केही कमाएर सुखसँग बसांैला भन्ने रहर बोकी विदेश गएको थिएँ । आकाशको तारा सुलुल्ल बगेझैं समय बगेछ । समय बित्न के बेर लाग्दो रहेछ र ? ५ वर्ष पछि आज नेपाल फर्कंदै छु ।
जहाज चढेको केही घण्टापछि जहाजभित्र थाहा भयो । अब हामी काठमाण्डौको आकाशमा उडिरहेका छौं, केही बेरमा नै जहाज अवतरण हुँदैछ । साँच्चै अब म
आफ्नै धरतीमा पाईला टेक्दैछु । निकै खुशी लागिरहेको थियो । गाउँमा रहेका इष्टमित्रहरुका लागि भनेर काठमाण्डौमा केही सामान किनमेल गर्नेछु र म तुरुन्तै गाउँ जानेछु किनकि मेरो मन उनै सरुलाई देख्न व्यग्र थियो ।
उनले मलाई विदेश जाने बेलामा विदा गर्दै भनेकी थिइन्– “तिमी मेरो लागि कुनै चिन्ता नगर । सयौं जुनीसम्म म तिम्रै हुनेछु । म तिम्रै बाटो कुरी बस्नेछु । केही बर्ष त हो नि, पछि त संधैभरि साथै रहनेछौं । दुःख पछि सुखका दिन कसो नआउलान् र ?”
मलाई विदेश पठाउन उनैले कर गरेकी त हुन् नि । यो कुरा मलाई टाढा लाग्दैन, हिजो झैं लाग्छ ।
“काली, जाउँ अव त, कति यसरी बस्ने ?” मैले फकाउँदै भने ।
“कहाँ जाउँ भनेको ? भन त” सरुको प्रश्न तेर्सियो ।
“भागेर, अव त विहे गर्नु पर्छ । संधै यसरी कति बस्ने ?” मैले जोड दिएँ ।
“धत्, यसरी हतारिनु हून्न, पहिले आफ्नो खुट्टामा उभिनु पर्छ” उनको जोड थियो ।
मैले भने– “छोड यस्ता कुरा, म घरबाट केही पैसासैसा हात पार्छु अनि तिमी र म भागेर पोखरा घुम्न जाने, २,४ दिन पछि फर्केर आउने अनि संधैभरिको लागि तिमी र म संगै बस्ने । हुन्न र ?”
“ठिक छ , भागेर त जाने, पैसा हुन्जेल मजाले डुल्ने, घुम्ने । यहाँ आए पछि बाबा आमाले स्वीकार नगरे के गर्ने ? कोठा लिएर बस्दा, कोठा भाडा, ग्याँस, पानी, विजुली खाना खर्च यी सबै कसरी जुटाउने ? हाम्रो जागिर पनि छैन । त्यसको लागि पहिले आफू सक्षम हुनु पर्छ नि ।” उनी मलाई भन्दै थिइन् ।
मैले जोडेें– “हा … जे जे पर्छ टर्दै जान्छ । संधै यस्तो भन्ने हो भने त खोई कैले आउँछ हाम्रो दिन ?”
“धत, मर्द भएर पनि यति छोटो सोचाई गर्ने हो ? तिम्रो र मेरो माया क्षणिक मात्र हो र ? जीन्दगीभरि होइन र ? यस्तो हो भने म त मान्दिन, बरु मलाई नै छोडिदेउ, मलाई त जीन्दगीभरि साथ दिने माया चाहिन्छ । मलाई यति छोटो सोचाइ गरेको मन पर्दैन” उनी झर्कंदै उठ्न खोजिन् ।
मैले विस्तारै उनको हात समाई ताने र भने– “म त तिम्रो परीक्षा पो लिंदै थिएँ । सरु, म तिमीविना बाँच्न सक्दिन । हो, अब हामीले पनि केही गर्नुपर्छ । तिम्रो सरसल्लाहबाट म जे गर्न पनि तयार छु,”।
त्यसैदिनको हाम्रो सल्लाह अनुसार केही बर्ष विहे नगर्ने निधो भयो । बरु केही वर्ष विदेश जाने, धन कमाउने, शहरमा एउटा घर किन्ने अनि जमेर बस्ने सोंच भयो । सोंच अनुसार ५,५ वर्ष विदेशमा बस्दा खुब दुःख गरें ।
शुरुशुरुमा हाम्रो चिठी आदान प्रदान भइरहन्थ्यो । कति अत्यार लाग्थ्यो उनको । जब उनको यादले सताउँथ्यो, म उनको चिठी हेरेर चित्त बुझाउँथें । तर एकपटक उनको दाईले मेरो चिठी फेला पारेछन् । सरुलाई नराम्रोसँग गाली गरेछन् । त्यसपछि एउटा चिठीबाहेक हाम्रो अरु चिठी आउने जाने पनि बन्द भयो ।
लामो समयको अन्तरालले होला मेरो मन हतारिरहेको थियो । म उनलाई भेट्न चाहन्थे जति सक्छ चाँडो । त्यसैले काठमाण्डौमा किनमेल सकिए पछि नाईटबस चढिहालें । उनका लागि विशेष गरी कपडा, घडी र सुनका गहना ल्याएको थिएँ ।
भोलिपल्ट विहान बल्ल सदरमुकाम आइपुगेें । सदरमुकामबाट फेरि गाउँ पुग्नुपर्ने, कच्ची बाटो । जीप चढेर गाउँ पुगेें । जीपबाट झरे पछि एकजनालाई भारी बोक्न लगाई हतारहतार म घर तर्फ लागें । नजिक देवीको मन्दिर थियो, दुबै हात जोडेर दर्शन गरें । यही मन्दिर अगाडि हामी संधैभरि नछुटिने कसम खाएका थियौं ।
अगाडि बढ्दै थिएँ, धारामा पानी भर्न आइरहेकी केटीलाई चिनेचिने जस्तो लाग्यो । राम्ररी हेरें, मेरै सरु पो रहिछिन् । हर्षले मेरो खुट्टा भूईंमा नै थिएन । उनी नजिक पुग्न मेरा पाइला छिटोछिटो चल्न थाले । म सोच्दै थिएँ, “अगाडि पुगेपछि आँखा छोपी दिन्छु र सर्पराइज दिन्छु ।” नजिक पुगेपछि एक्कासी मेरा पाइला रोकिए । देखें, उनको सिउँदोमा सिन्दूर, गलामा पोते र मंगलसुत्र ।
म आकाशबाट खसें । अँध्यारो भित्र पसें । दुर्भाग्य, यो कस्तो दुर्भाग्य ?
तिम्रो वाचा थियो, “जस्तै आँधी हुरी आए पनि, जस्तै संकट परेपनि म तिमीलाई नै कुरेर बस्नेछु, सारा कष्ट व्यथा सहन तयार रहनेछु ।” वाचा आज कहाँ गयो ? अर्कैलाई रोजेर जानु थियो त, मन्दिरमा देवी–देवतालाई साक्षी राखेर सयौं जुनी साथ दिने झुठा कसम किन खाइयो ? न त म नै सोध्न सक्थें, न त मेरा यी सोधाइहरुका जवाफ उनीसँग थियो । आखिर छोडी जानु थियो त झुठो माया किन लाउनु ?
म केही हेर्न चाहँदैनथें । मेरा पाइला रोकिएकै थिए । आँखा बन्दै रहे । पृथ्वी फनफनी घुम्यो । थचक्क भूईमा बसें । भगवानसँग मेरो एउटा मात्र प्रार्थना रह्यो “हे प्रभु, म संधैभरि आँखा चिम्लिरहुँ, म यसभन्दा धेरै केही देख्न चाहन्न, केही सुन्न सक्दिन । मलाई तिम्रै साथमा लैजाऊ प्रभु, ….साथमा लैजाऊ । यो संसारमा कहिल्यै नफर्कने गरी ….. कहिल्यै नफर्कने गरी…. ”
– सञ्जयकुमार श्रेष्ठ
बेनीबजार, म्याग्दी
sanjay_bdcl@yahoo.com
(स्रोत : Bimamyagdi.com )