~हिरामोती जुग्जाली~
पहाडको फेदमा एउटा सानो गोठ थियो । त्यही सानो गोठमा विदुर र उसको बा-आमा बस्थे । उनीहरूको धेरै गाइ, भैंसीहरू थियो । विदुर धेरै सानो थियो उसको बा र आमा गाइ-भैँसीलाइ घाँस काट्न र वस्तुभाउहरू चराउन दिनहुँ जंगल जान्थे । उनीहरूलाइ जंगल जानलाइ चर्को घामपानी र कुनै हुरीबतासले छेक्दैनथ्यो । बारम्बार जान्थे, नजाउन पनि के गरुन, जानै पर्ने बाध्यता थियो ।
एक दिनको कुरा हो, रातभरी पानी परेको थियो । विदूर र उसको बा सुतिरहेका थिए । उसको आमा सबेरै उठी नाम्लो र हँसिया लिएर घाँस काट्न गइन । जमीन पुरै गलेर जहाँ टेक्दा नि गाडिने, हिलैहिलो, चिप्लो भएको थियो रातभरीको झरीले । त्यस्तै पनि मनभरी कुरा खेलाउँदै बडो मुस्किलले भारी पुर्याएर फर्किन । तर अपसोच आउँदा त गोठ नै थिएन, गिलो जमिन सँगै भासिएर गएछ । न छोरा न बुढा न गोठ केही देखिनन् । उनको जीवनमा एक्कासी कालो बादलले ढाक्यो । उनले यही झरीमा श्रीमान गुमाइन् र छोराको एक आँखा पनि गुम्यो । उनी आकाशबाट परिरहेको झरी सरी रुन थालिन् । रोएर मात्र के गर्ने ! दैवको खेल सँगै उनी सम्हालिन् र सदाको झैँ दिनचर्या बिताउन थालिन् ।
केही समय जसोतसो त्यहीं बिताइन् तर विडम्बनाको कुरो समय बित्दै जाँदा उनलाइ समाजले अनेक थरी श्राप र गाली दिन थाले, दोष लगाउन थाले । “पोइ टोक्कानी, अलिच्छिना, मर्न नसकेको” आदी इत्यादि । जीवन साथी विनाको एक्लो जीवनको पीडा र समाजले गर्ने तिरस्कार सहन नसकेर मध्यरातमा छोरालाइ काखी च्यापी गाँउदेखि धेरै टाढाको शहर गइन् । जहाँ उनलाइ विधुवा भनेर कसैले चिन्दैनथे ।
शहर त गइन् । त्यहाँ पनि उनको जीवनमा अर्को संघर्ष थपियो खाने, बस्नेको ठेगान लगाउने । जसोतसो सबै व्यबस्था गरिन् । छोराको पनि उपचार गरिन् । तर उनले गरेको उपचार उनलार्इ पूर्ण लागेन किनकी छोराको एउटा आँखा थिएन । उनलाइ त्यही कुराले हरक्षण सताउन थाल्यो । छोराको एउटा आँखा नभएको हेर्न नसकेर आफ्नै एउटा आँखा डाक्टरको सहयोगमा छोरालाइ आँखा हालिदिइन् । उनले एउटा आँखाको सहारामा इट्टा बोक्ने, बालुवा चाल्ने काम गर्थिन् । छोरा पनि ठुलो हुँदै गयो । आफुले कमाएको पैसाले राम्रो स्कुलमा भर्ना पनि गरिन् छोरालाइ ।
उनको कामको ठेगान नहुने र छोराको हेरचाह गर्ने समय नभएकोले छोरालाइ स्कुल कै छात्रावासमा राखी पढाउन थालिन् । धेरै दिन पछि उनी छोरालाइ भेट्न स्कुल पुगिन् । उनलाइ देखेर सबै हाँसे । विदुर भने रिसायो । विचरी ! उनलाइ के थाहा मलाइ देखेर हाँसे भन्ने कुरा । फेरी एक दिन छोराको रकम तिर्न स्कुल पुगिन् । त्यति बेला विदुर डौडेर आयो र आमालाइ गाली गर्न थाल्यो- ‘मेरो स्कुलमा नआउनु भनेको होइन सबैले कानीको छोरा भनी जिस्काए’ भन्दै झर्क्यो । त्यही दिन देखि उनी फर्केर पनि गइनन् र अरूकै हातमा उसको लागि खाने कुरा र धेरथोर पैसा पठाइदिन थालिन् ।
विदुर पढ्नमा तेज थियो । एस. एल. सी. पनि पहिलो श्रेणीमा पास गर्यो । उ एस. सल. सी. पास गरे लगत्तै छात्रबृति पाएर अमेरीका पढ्न गयो । अमेरीका उड्ने बेलामा आमालार्इ भेटेन बरु अरू क-कसलाइ भेट्नु थियो सबैलाइ भेटेर बिदा मागी गयो । अमेरीकामा पनि उसले धेरै राम्रो संग पढ्यो । उसले पढ्ने कलेज नै टप्यो । त्यसैले त्यही कलेजमा काम गर्ने अवसर पायो ।
दिनहरू बित्दै जाँदा आफू जन्मेको ठाँउ त के जन्म दिने आमा पनि भुल्दै गयो । त्यहीँको रमझम वातावरणमा घुल्दै गयो । त्यहीँ भेटिएकी सुन्दरीसँग विहे पनि गर्यो र दुइ सन्तान पनि भए । उसका दिनहरू बडो सान्दारको साथ बित्न थाल्यो । यता आमा भने उसकै यादमा छट्पटिदै थिइन् । एक दिन विदुरकी आमालाइ छोरालाइ भेट्ने तिव्र रहर जाग्यो । “म डाँडा माथिको घामको के भर जतिखेर जे पनि हुन सक्छु एक पटक छोरालाइ भेट्न पाए हुन्थ्यो” भनी बुद्धिजिवीहरूसँग सहयोग मागिन् । उनीहरू कै सहयोगमा अमेरीका जाने भइन् । ६ महिनाको भिसा पाइन् । उनी खुशीले विभोर हुँदै अमेरीका उडिन् ।
छोराकै निम्ति चाउरीएका अनुहार, कुप्रो परेको ज्यान, थरथरी काँपिरहेका हात खुट्टा, सुकेका ओठहरू, झोलिएका आँखाहरू, फुलेका कपाल लिएर उनी एकाविहानै छोराको ढोकामा पुगिन् । उनको मनभरी अनेक थरी कुरा खेलिरहेको थियो । स्कुल भेट्न जाँदाको क्षण सम्झिन् । “हैन अहिले छोरा ठुलो भयो । बुझ्ने भाको छ, मलाइ देख्यो भने अंगालो मार्न आउँछ होला ।” भन्दै सोच्दै थिइन् ।
उनी एकतक उभिरहिन् । उनका झोलिएका आँखाले छोरा खोजी रहेका थिए । विदुरका बच्चाहरूले उनलाइ देखेर हाँसीरहेका थिए । विदुरकी श्रीमतीले विदुरलाइ बोलाउँदै भनी “ढोकामा माग्ने बुढी आ’छे, दुइ चार पैसा दिएर पठाउ” । आएर हेर्दा ढोकामा आफ्नै आमालाइ देखेर छक्क पर्यो अनि उसको पारो चढ्यो । आमालाइ रिसाउँदै गाली गर्न थाल्यो- “कसरी यहाँ आयौँ ? कहाँ बाट मेरो ढोकामा आउने आँट गर्यौ? खुरुक्क जाउ तिम्रो बाटो ।” उनले म तिम्रो आमा हुँ भन्न नपाउदै उसका ह्दय, मनमुटु छेड्ने वाणरुपी शब्दहरूले गर्दा ढोकैबाट फर्किन् ।
६ महिना त के ६ दिन पनि नबित्दै फर्किन् । सबै मान्छेहरू छक्क परे कति छिटो फर्की भनेर । विचरीको व्यथा कसलाइ पो हुनु थाहा ! सबैले सोध्दा पनि भनिनन् । तर एउटी उनी सँगैको दौँतरिलाइ भने सबै कथा व्यथा, गुनासोहरू पोखेकी थिइन् ।
एकदिन विदुरलाइ उ हुर्किएको गाँउ-टोलले उसको जेहेन्दारको कदर गर्दै सम्मानको लागि निमन्त्रणा पठाएछ । उ स-परिवार सहित नेपाल आएछ । उ आउँदा टोलमा निकै चहलपहल थियो । उ मनमनै जति खुशी थियो उति कानी आमालाइ भेट्नु पर्ने भो भनी दु:खी पनि थियो । सम्मान कार्यक्रम सिद्धियो उसले आँखा डुलाइरह्यो तर कानी आमालाइ देख्न सकेन । उ अचम्ममा पर्यो र मनमनै सोच्यो “मलाइ भेट्न अमेरीका पुग्ने कानी आमा आज यहीं हुँदा पनि किन नआको होला?” उसको मनभरी उकुसमकुस भइरह्यो । र आमाको दैाँतरीलाइ सोध्यो- “ती कानी आमा कहाँ गइन् ?” दौँतरीले गह भरी आँसु झार्दै भनिन्- “कसरी तिमीले आफूलाइ जन्म दिने आमालाइ कानी भन्न सकिराछौ ? तिम्री आमाको आँखाले नै तिमीले हेरीराछौ” भन्दै सबै कुरा बेलिविस्तार लगाइन् । “तिम्री आमा विरामी पर्दासम्म पानी दिने मान्छे पनि थिएन । तिम्रै यादमा छट्पटिदैं त्यहीँ प्राण गयो । प्राण जाने बेलामा छोरा विदुर ! छोरा छोरा भन्दै थिइन् । प्राण गयो ठीकै भयो साह्रै विजोक थियो । तिम्रो आमाले खुशी र सुखको अनुभुति गर्न कहिल्यै पाइनन् । तिमी पनि एक्लै छोडेर गयौ ।” विदुर मन ठाम्न नसकेर डाँको छाडेर रुन थाल्यो । उसले आमा गुमाइसकेको थियो चाहेर पनि उ जन्म दिने आमा पाउने वाला थिएन । आफ्नो लागि आमाले गरेको बलिदान र त्याग बारे बल्ल राम्ररी थाहा पायो । आमाको आँखाले आफुले संसार हेरीरहेको थियो । यो सबै सम्झेर पछुटाउन थाल्यो । ‘मैलै आमालाइ किन यसरी वेवास्ता गरेँ’ भनेर उ रुने कराउने र पश्चताप गर्न बाहेक अरू उपाय केही थिएन किनकी उसको आमा सदाको लागी यो धर्तीबाट विदा भइसकेकी थिइन् ।
हिरामोती जुग्जाली
बिम-३, म्याग्दी
ritu_jugjali2000@yahoo.com
(स्रोत : Bimamyagdi.com )