नियात्रा : स्वदेशको मायाभित्र लुकेको पीडा

~छक्कु उदासी~Chakku Udasi

सिंगो जीवन नै पाहुना र यात्रा रहेछ, त्यही यात्राभित्र पनि पत्रपत्र परेको धेरै यात्राहरु हुने रहेछन् । पत्रपत्र परेको यात्रा जस्तै चुनौती पनि खण्डखण्ड परेको हुँदारहेछन् । यो जीवन जस्तो सोच्यो उस्तै हुने हो कि, भावीले जस्तो लेखेको छ त्यस्तै सोचाइ हुने हो ? बुझ्नै सकिरहेकी छैन । जे जे राम्रा सोचेको थिएँ त्यो भएन, जुनजुन सोचेको हुन्न त्यही भोग्नुपरेको छ । अन्ततः त्यही सोचेजस्तो र चाहेजस्तो नहुने नै जीवनको परिभाषा रहेछ भनेर चित्त बुझाउनुपरेको छ ।

सुन्दर सपना र उज्जल भविष्य भनेकै विदेश हो भन्ने आम नेपालीमा हुने मानसिकताको हावाले मलाई पनि उडायो । मैले पनि अन्जानमै बिदेशमा पाईला टेक्न सफल भएँ । विदेशको भूमिमा पाइला टेकेको तीन दिनदेखि सुरु भयो मेरो रामकहानी र कालखण्डको जीवन । अब त होला नि, भोलि त जुर्ला नि, भन्दाभन्दै नेपालको ठूला चाडपर्वहरु आए गए, थुप्रै वसन्तहरु फेरिए नेपाल फर्कने मेसो मिल्न सकेको थिएन । अनुहार नपरेको मान्छेलाई लगन नजुरे जस्तै स्वदेश फर्किने मौका जुर्न नसक्दाको पीडा आफ़्नै ठाउँमा थियो । कोही लगेज र हेण्डक्यारी लतार्दै एरपोर्टतिर जाने गरेको कोही देख्नै नहुने आफु पनि त्यस्तै गरी नेपाल जाने दिन कहिले आउला ? भनेर मन अत्तालिने गर्थ्यो । त्यो आफु जन्मेहुर्केको धुलो, माटो र हावापानीले बारम्बार तानिरहे पनि म आफु भने विदेशरुपी अंकुशमा अल्झिरहेको थिएँ । यो पटक भने त्यही तोड्न नसकेको अंकुशलाई तोडेर स्वदेश फर्किने अठोट लिएँ । तर त्यति सानो अंकुशभित्र पनि सजिलै त्याग्न नमिल्ने जीवनका महत्वपूर्ण सञ्जालहरु थिए । लामो समयसम्म विदेशको रहनसहन मेरो नसा नसामा घुसिसकेका थिए । आफ़्नो माटो अर्थात जन्मभूमिले चुम्बकीय शक्तिले तानेझै मेरो तन र मन एकनास तान्दा पनि आजसम्म आफैले बसालेको रहनसहनको माया त लागेर आउँदो रहेछ । धेरै वर्षपछि स्वदेश फर्किने दिन नजिकिदै थियो । मनमा एकपछि अर्को उत्सुकता बढेको थियो । टाढा होस् कि नजिक यात्रा गर्ने भनेपछि के गर्ने, के नगर्ने र के लैजाने, के छोड्ने भन्ने बारे यतिकै अल्लमल्ल परेर दिमागले कामै नगर्ने बानी छँदै थियो । फेब्रुअरी १३ तारिख उड्ने दिनसम्म पनि केहि छुट्यो कि भन्ने पिरलोले मनमा बेचैन हुने तर के छुट्यो भन्ने हेक्का नहुने अर्को नराम्रो बानी पनि मेरै थियो । लामो विदेश बसाईपछिको आफ़्नो थातथलो फर्किने भन्दा मनमा खुशी हुने नै भयो । तर त्यो खुशीलाई एकपछि अर्को चुनौतीहरुले भालु बनेर झम्टेको महसुस हुँदैथियो र पनि ती चुनौतीहरुलाई पन्छाउँदै नारिता विमानस्थलतर्फ लागेँ ।

सामान्यतयाः स्वदेश फर्कने भनेपछि कि त मनग्गे मोटो गाँठ, कि त प्रतिक्षारत आफन्तसँगको भेटघाट नै सबैभन्दा महत्वपूर्ण हुन्छ । तर मेरा लागि न त मोटो गाँठ न आफन्तजनसँगको भेटघाट । जसले गर्दा सबैकोभन्दा खल्लो र अलि भिन्न रह्यो मेरो नेपाल फिर्ति । जापानमा एक हप्ता अगाडि परेको हिउँ पग्लिसकेको थिएन । सेताम्य जापानलाई मनमनै बाइबाइ, सायोनारा भन्दै जहाज चढियो । जहाजले भुईं छोड्नेबेला मान्छेको मन न हो, यदी जापान फर्किन मन लागेन भने यही नै अन्तिम त होला नि भनेर केहीबेर भाबुक भएँ । जतिजति जहाज आकासिंदै थियो उतिउति परेलाबाट बलेनी झर्न थाल्यो । अरुले देखे कि ? भन्ने चेतनाले चिमोटे पनि बलेनी रोकिन सकेको थिएन । धन्न चिनेजानेका नेपालीहरु भेटिएनन् र मलाई सजिलो भयो । त्यो खचाखच मान्छेहरुको भिडमा पनि म आफु मात्रै एक्लो महशुस गरिरहेकि थिएँ । मेरो छेउको सिट खाली थियो । सिटनम्बर खोज्दै एकजना भाइ मेरो नजिक आए । झट्ट हेर्दा नेपाली हुन् जस्तो लागेन । छिमेकी राष्ट्र इण्डियन वा पाकिस्तानी हुन् कि जस्तो लाग्यो । छेउकै खाली सिट उनकै रहेछ । नचिनेको मान्छेसँग हतपति नबोल्ने मेरो बानी छँदैथियो । उनी बस्दाबितिकै ह्वास्सै काखी गन्हाउन थाल्यो त्यसपछि मोजा, खैनी र लसुनको गन्धले त नेपाली नै हुन भन्ने सजिलै अनुमान गरिहालेँ । आकाशको तापक्रम माइनस ६८ डिग्री देखाईरहेको थियो । झयालबाट बाहिर हेर्दा डम्मै बादलमाथि आफुलाई देख्दा म त आकाशमाथि छु जस्तो पो लाग्यो । मेरो छेउमा बस्ने भाइसँग बोलचाल गर्न मन पनि लागेन । तीनदिन अघि देखि राम्रोसँग निद्रा पुगेको थिएन । त्यही दिन त झन १ घण्टा मात्रै झिसिक्क गरेको थिएँ । आँखा पोलिरहेको थियो झन् त्यसैमा आँशुको बलेनी चुहुँदा पर्नु भार आँखालाई परेको थियो । आफु त ती भाइ निकै सुट-टाई कसेरै आएका थिए, किन त्यति भांती गन्ध आयो भनेर अचम्म पनि लाग्यो । कतै म पनि उनको नाकमा गन्हाए कि ? भन्ने पिर पनि लाग्यो । केही सीप नलागेर रुमालले सबै अनुहार छोपेर सुतेको बहाना गरेँ । तीन दिनको अनिदो भए पनि निद्रा नै लागेन । एकक्षण पछि खाना आयो । त्यस्तो जाडोमा पनि खाना पछिको डिजर्ट आइसक्रिम रहेछ । खानाको लागि हासी (चपस्टिक) र आइसक्रिमका लागि प्लास्टिकको सानो चम्चा रहेछ । मेरो छेउको भाइले त नेपाली पारा लाईहाले । त्यही सानो चम्चाले ग्वाम कि ग्वाम भात खाए । मैले भने असजिलो मान्दै चपस्टिकले भात खादै थिएँ, कति छिटो भात खाएर पनि उनले त जबर्जस्ती चपस्टिकले पो आइसक्रिम खान थाले । त्यो भात खाएको चम्चाले आइसक्रिम खान पनि मिल्थ्यो नि । किन फेरी चपस्टीकले आइसक्रिम खान पर्‍यो होला ? भन्दै म भने आइसक्रिम खाउँ कि नखाउँ भनेर दोमन भएको थिएँ । तर फाल्नु हुँदैन भनेर मेरो सुरमा आइसक्रिम खाइरहेको बेला ती भाइले पुलुक्क मलाई हेरे अनि खै किन हो त्यो आइसक्रिम खाएको चपस्टिक पिटिक्क भाँचेर राखे । म भने मनमनै हाँसे ………. ।

शौचालय जानुपर्ने भयो अनि बल्ल बाध्य भएर नेपाली भाषामा मुख फोरेँ उनी त दंग परेछन् । शौचालयबाट फर्केपछि दिदी, तपाई त नेपाली पो हुनुहुँदो रहेछ है ? भनेर सोधे मैले छोटो जवाफमा हजुर, भने । म त यतिबेलासम्म चाइनिज पो भनिरहेको थिएँ भन्दै धाराप्रवाह कुरा गर्न थाले । पहिलो भेटमै आफ़्ना नितान्त निजी कुराहरु पनि गर्न भ्याए । म भने उनको कुरामा कुराको सही थप्दैरहेँ । कतिखेर ट्रान्जिट हुने ठाउँ आउलाजस्तो भयो । बल्ल चाइना ओर्लिएपछि मेरो कान र नाकले आराम पायो । जताजता मान्छेको भिड छ त्यतैतिर अञ्जानमै हिडिरहेकी थिएँ । त्यति नै बेला फेरि अर्का एकजना नेपाली भाइ भेटिए । किन हो किन ती भाइलाई भेटेर पो बल्ल ढुक्क महशुस भयो, खुशी लाग्यो । प्लेनमा सिट बेग्ला बेग्लै भए पनि अरु बेला सँगसँगै भयौं । दुखसुखका कुराकानी पनि मिल्दोरहेछ । त्यो चाइनाको ग्वान्जाउ एरपोर्टभित्र हिटरको व्यवस्था पनि रहेनछ । जाडोले निकै सेक्यो । ती भाइले त ग्वान्जाउ भनेको त गुञ्ज गाउँ पो भन्दा रहेछन् । सुरुमा त जोक गरेर भनेका होलान् भनेर हाँसे । तर उनले भन्ने नै त्यही गुञ्ज गाउँ रहेछ । खाना खाने थुप्रै रेष्टुरेन्टहरु त थिए तर खानाको मूल्य मेसोमेलो नपाएर खानेकुरा खाने आंट आएन । जाडो र भोकले सताएर ट्रान्जिटको ५ घण्टा समय बिताउन निकै गाह्रो भयो । नेपालतर्फ उड्ने जहाजमा भने ती भाइ र मेरो सिट छुट्टाछुट्टै रहेछ । नेपाल पुगेपछि त ती फटुरे भाइ त जान्छु पनि नभनि आफु मात्रै सुटुक्क गएछन् । अन्तमा म र युवराज गुरुङ भाइ मात्रै परिएछ । फारम भरेर काउन्टर जानै लाग्दा एकजना पाका मान्छेले मेरो फाराम पनि भरिदिनु न भन्न आएका थिए । नेपालीमा भर्दा पनि हुन्छ नि दाइ भनेर भनेको ती दाइले त नेपाली पनि लेखपढ् गर्न नै आउँदैन भन्दैथिए । मेरो काउन्टरमा जाने पालो आइहाल्यो । बिचरा, ती दाइ त अमिलो मुख पारेर अल्लमल्ल परेर उभिरहेका थिए । त्यति फाराम भरेर सहयोग गर्न नपाएकोमा मन अमिलो भयो ।

बाबा र आमा सेप्टेम्बरमा नेपाल आएर डिसेम्बरमा युके फर्की सक्नुभएको थियो । आमाले जसरी भए पनि समय मिलाएर आउनु है नानी भन्नुभएको थियो । तर यो अभागी छोरीलाई कहाँको मिल्नु र ? यो पटक पनि बाबाआमालाई भेट्ने रहर अधुरो रहेको थियो । एरपोर्टमा ठूली भाउजु र माहिलादाइ लिन आउनुभएको थियो । माइला दाइलाई नभेटेको पनि १७,१८ वर्ष भईसकेको थियो । दाइ र भाउजूको न्यानो स्वागत पाउँदा खुसीले खुट्टा भूँइमा रहेन । त्यो खुशीमा बाबा र आमाको अभाब खड्कीरहेको थियो । मसँगै गएको युवराज भाइ समेत त्यो रात हाम्रो घर गइयो । युकेबाट छोटो बिदामा नेपाल आउनुभएको दाइको बिदा मेरो कारणले गर्दा डामाडोल भएको रहेछ । काम बिशेषले पोखरा गएको दाइलाई अचानक काठमाडौं आउनुपरेको थियो । फेब्रुवरी १३ मा जापानबाट उडेर १४ तारिख काठमाडौं बसेर १५ तारीख दाजुबैनी पोखरातर्फ लागियो । त्यही नै दाजुबहिनीको जीवनको पहिलो यात्रा थियो । आफ़्नै दाइसँग यात्रा गर्दैछु भनेपछि छुट्टै खालको आनन्द र ढुक्क हुनेरहेछ मन । त्यसरी दाजुबहिनी यात्रा गर्दा कतिपय अवस्थामा भने अपरिचितहरुको हेराइमा सहजै दम्पति बनाईदिंदा रहेछन । त्यस्तो अवस्थामा भने परिस्थिति अलि असहज बन्दोरहेछ । दाजुबहिनी यात्रा गरिरहेको बेला दाइले के के सोच्नु भो कुन्नि ? म त एकपछि अर्को गर्दै त्यो बाल्यकालतर्फ फर्किएँ । र्माइक्रोबसमा नयाँ नयाँ लोकगीतहरु गुञ्जेका थिए । सबै यात्रुहरु शान्त मुद्रामा थिए, त्यो बाल्यकालमा दाइसँग लडिबुडी खेलेको, झगडा गर्दै पिटापिट गरेको, दाइले मेरो ओखर चोरेर खाईदिएको, दाइलाई पछ्याउदै स्कुल गएको, दाइले माघेसंक्रान्ति मेलामा जाँदा पहिलोचोटी ५ रुपयाँ दिएर म धेरै खुशी भएको, कान्छोभाइ आमाको पेटमा हुँदा दाइले आफु माहिला हुने र म माहिली हुनेमा हानथाप गरेको, असारे पन्ध्रको चटारोको बेला म सिकिस्तै बिरामी परेर खाना खानै छोडेको अवस्थामा दाइले खाउ बा खाना खाउ, मर्‍यौ भने झन् यो वर्षामासमा किरिया उम्काउन गाह्रो पर्छ भनेर फकाएको जस्ता पुराना यादहरु आलो बनेर आए । त्यो सानो उमेरमा दाइ र मेरो बिचको अतित अनि मैले भोगेको र बुझेको दाइको त्यो चतुर्‍यांइ र उपद्रो बानी स्मरण गर्दै सयर गर्दा बाटो काटेको पत्तै भएनछ ।

त्यो दिन पोखरामा दाइको साली मालाकान्छीको घरमा बास बसियो । बास बस्ने क्रममा मालाकान्छीको सानो छोरा फुच्चे समय गुरुङसँग भेट भयो । राम्रोसँग बस्न पनि नसक्ने तर साह्रै सन्तोषी र अरुसँग आँखा जुध्यो कि मुसुक्क मुस्कुराई हाल्ने अबोध फुच्चेको त्यो बानीले अपार खुशी लाग्यो । समय गुरुङलाई अझै खेलाउने रहर हुँदाहुँदै उसको अबोध र अपार मुस्कानलाई मनभरि कैद गर्दै उज्जवल भविष्यको कामना सहित दुख बिमार नलागोस् भन्ने आशिर्बाद दिएर त्यहाँबाट बिहानै बिदा हुनुपर्‍यो । फेरि दाजुबैनी त्यो दिन म्याग्दी तर्फ लागियो । आफु जन्मेर हुर्केको ठाउँतर्फ लाग्दाको यात्रा खुसी, कौतुहलता र उत्सुकता विशेष खालको हुँदोरहेछ । म्याग्दीको लागि माइक्रोबस चढियो । ड्राइभर दाइ पनि म्याग्दीकै मगर रहेछन् । साह्रै सजिलो ड्राइभिङ गर्दारहेछन् । म्याग्दी कालीपारतिरका मगर्नी आमाहरुसँगसँगै बसेर गइयो । मेरो छेउकी बूढीआमा न मैले चिन्नु न ती आमाले चिन्नु, मेरो टाउकोबाट पछ्यौरी खस्नै नहुने घरिघरि स्नेहलेले मिलाईदिदा त्यो पराइआमाको अनुहारमा एकाएक मेरी आमाको प्रतिमूर्ती देख्न थालिछु अनि ती आमाले थाहा नपाउने गरेर आँशु खसाल्न पुगिछु । म्याग्दीको सदरमुकाम बेनीमा पुगेपछि अर्कै खालको उमंग छायो । परिवर्तन हुँदै गएको बेनीबजारमा धेरै वर्षपछि पाइला टेक्दा दाजुबैनी नै एकछिन त अल्लमल्ल परियो । सोध्दै सोध्दै बल्लतल्ल बेनीबजार छिचोल्दै मंगलाघाट पुग्यौं । मंगलाघाटमा सांइला मामाकी छोरी हाम्रै प्रतिक्षा गरेर म्याग्दी खोलाको माछा, खसीको सुकुटी, रायोको साग जस्ता मीठा परिकारहरु बनाएर बसेकी रहेछिन् । कहिलै बिर्सनै नसकिने ती सोल्टीनीको मेसपानीलाई धेरैधेरै धन्यबाद दिंदै बिदावारी भएर हाम्रो खास गाउँ छिस्वाङतर्फ जाने जिपमा चढियो ।

जब बेनीदेखि माथि लागेपछि त सबै मेरै आफ़्नै जस्तो लाग्न थाल्यो । त्यो पाखापखेरा, म्याग्दी खोला, खोल्साखोल्सी, झारपात, सानाठूला बोट-बुट्यानहरुले हामीलाई नै कुरेर बसेजस्तो लाग्यो । बाटो मुनि बाटो माथि भ्याइनभ्याई आँखा झिमिक्क नगरी हेर्दैथिएँ । धुर्सा, फुल्टुस, प्याउँली, धनियाँ, रायो, केराउ र तोरी झिलिमिली फुलेर हामीलाई नै न्यानो स्वागत गरिरहेको आभास मिल्यो । केही घण्टामै हाम्रो रातोढुंगा आईपुगिएछ । रातोढुंगा झरियो । त्यो रातोढुंगामा केही घरहरु थपिएका रहेछन् भने केही भत्किएका, कुनै फेरि चराले छोडेको पुरानो गुँडजस्ता अवस्थामा रहेछन् । दरबाङ गाबिस र अर्मन गाबिसलाई जोड्ने रातोढुंगाको पुल जिर्ण अवस्थामा रहेछ । त्यही पुलमा दाजुबैनीले पालैपालो फोटो खिचियो । अनि सिधै फुपूको घर गइयो । फुपूले मेरो भदाभदिनीहरुलाई नदेखी नभेटी मर्छु जस्तो लागेको थियो भन्दै खुसीको आँशुले स्वागत गर्दा दाजुबैनी नै भावविह्वल भईएछ । एकछिन त सांइली अमाजू, फुपूको माहिली र कान्छी बुहारी समेत फुपूको आँशुमा साथी बन्न पुगेछन् । केहीबेर सन्नाटा छायो । हाम्री एउटी फुपूको एक्लो पुसाज्यूको अनुपस्थिति अधुरो लाग्ने नै भयो । खाजाखज्यौली खाइयो । अनि ठूलो मामाघर गइयो । ठूलो मामाको अभाव खडि्करहेको मामाको घरमा पस्दा खल्लो महसुस भयो । दृष्टि गुमाईसकेकी बिचरी माइजूले नमरेपछि भेट भइँदोरहेछ भन्दै हामी दाजुबैनीलाई पालैसँग स्नेही हातले सुमसुमाएर मनको साकुम गर्नुभयो । माइजूको त्यो अभिब्यक्तिले हामी लगायत सबैलाई भाबुक बनायो, त्यहाँ पनि माइजूसँगै दाजुबैनी फेरी भक्कानिन पुग्यौँ । म मात्रै कोमल र कमजोर मनको छु भनेको त, मेरो भन्दा पनि पहिले नै दाइको आँखा रसाएको पहिलोचोटी देखेँ । लिंगले पो दाजुबैनी बनायो, आखिर एउटै रगत, एउटै कोख र एउटै थुन चुसेको हामी मन, मुटु र हृदय त एउटै हुन्छ भन्ने त्यसरी प्रमाणित भयो । अनि त्यसपछि सरासर नगई हाम्रो जिजुबाजेको छाला अर्थात खेतबारीलाई दर्शन गर्दै जन्मघर पुगियो । घरमा त अरु पनि पाहुना रहेछन् । पाहुनामाथि पाहुना बनियो । आफ़्नै जन्मघरमा पाहुना बन्नुपरेको त्यो अनुभव अनौठो लागिरहेको थियो । जुन घरले जन्मायो, हुर्कायो, त्यही घरले सहरदेखि परदेशसम्म पुर्‍यायो । पखेटा लागेपछि उडेर छोडेको चराको गुँडजस्तै लाग्यो । त्यसैमाथि सांइलाबाबाको न्यानो सामिप्यता बिनाको त्यो जन्मघर झन बिरानो हुने नै भयो । पुनः उही सांइलाबाबाको छाँया र माया पाउँछु कि भन्ने कता कता आशा पलाएर पनि आउँदो रहेछ । खै किन हो सांइलाबाबाको त्यो अचुक मुस्कान आँखा वरिपरि घुमिरह्यो । त्यसपछि जेठाबाबाको घर गइयो । जेठाबाबाको घरले झन जेठाबाबा जेठीआमालाई नै गुमाईसकेको रहेछ । माइलीआमा बिनाको एक्लो माइलाबाबा र नातिनी बुहारी लालमाया मात्रै रहेछन् । गन्दै जाँदा त हाम्रो आफन्तहरु धेरै नै गुमाईएछ । साह्रै शून्य र न्यास्रो लाग्यो । अन्तमा, यसरी गुमाउँदै गुमाउँदै आएर आफै पनि गुम्ने जीवनको अर्को परिभाषा रहेछ । त्यो रात गतिलो निद्रा नै परेन बिहानै निद्राले छोड्यो, हाम्रो पाखोबारी गोठहरुलाई समसुम्याउने रहर जागेर आयो । भोलिपल्ट जुरुक्कै उठेर दाजुबैनी नै त्यतैतिर गइयो । बाबाले हुर्काउनुभएको बांस ठूलो झाडी बनेर बसेको रहेछ । ओडारबोट डांडाबाट बिहान घामको झुल्कासँगै नागबेली परेर बगेको म्याग्दी खोलाको दृश्य र आफन्तजनहरुको उही रस्तीबस्ती देख्दा छुट्टै खालको आनन्द आउनेरहेछ । गाउँछिमेकमा यताउता डुलियो पुराना मान्छेहरु थोरै र हामीलाई नचिन्नेहरु धेरै भेटिए । हुन पनि त्यो गाउँ छोडेको २० वर्ष भईसकेको रहेछ दाइले छोडेको २५ वर्ष भइसकेको रहेछ ।

त्यो दिन बिहान मामाको घर खाना खाएर म त छककुमारीसँग दरबाङ जानु थियो । दिनभरि म छकदेबी र छककुमारीको गन्थनमन्थन सकिएको थिएन । सँगसँगै दरबाङ गयौं । तर त्यो दरबाङ हो कि हैन जस्तो लाग्यो । पहिलेका बासिन्दाहरु भुत्ला पनि थिएनन् । शिरदेखि पाउसम्म रुपरंग सबै परिवर्तन देखेर दरबाङ गएको महशुसनै भएन । सांझपख घर फर्कियौं । त्यो सांझ फुपूको घरमा खाना खाने कार्यक्रम थियो । संयोगबस सांझको बेला हामी जन्मेको घरबाट बिदा हुनुपर्नेभयो । त्यो जन्मघरको माया मनभरि साँचेर फेरि फर्की आउने बाचा गर्दै दाजुबैनी फुपूको घरतर्फ लाग्यौं । छककुमारी मलाई बिदाइ गर्न वर बाटोसम्म आएकी थिईन् । एकछाक खाना खुवाउन पनि पाईन भन्दै रुन थालिन् । जन्मदिने बाबुआमा र जन्मघर मात्रै फरक हामी दुईमा नाम राशी पनि एउटै ३,४ घण्टाको अन्तरमा एकै दिन जन्मेका जुम्ल्याहा जस्तै थियौं उ र म । बाल्यकालदेखि सँगसँगै हुर्कियौं । त्यसो भनेर मात्रै कहाँ हुने रहेछ र भाग्य बेग्लाबेग्लै हुने रहेछ । समयको हुरीले कहाँ कहाँसम्म पुर्‍याउँदो रहेछ । भेट हुने भन्ने कुरा पनि ठूलो कुरो रहेछ । छिट्टै फर्किने वाचा गर्दै छककुमारीसँग छुट्टिन बाध्य भएँ । त्यो रात फुपूकोमा बास बसियो । हामी भोलिपल्ट बिहानै फ़र्कनुथियो । त्यहाँ फेरी फुपूसँग छुट्टिन गाह्रो भयो । आउँदै गरे है बाबुचेली हो ! माया नमारे भन्दै फुपूको त्यो करुणामय वाक्यले बाटो छेकिरहेको थियो । तर बाध्यता बेग्लै थियो । त्यही दिन जसरी पनि फ़र्कनुपर्ने थियो । रातोढुंगाबाट चल्ने पहिलो गाडिमा चढ्नुथियो । फुपूको छोरा कान्छा-भिनाजु र लक्ष्मण मामा रातोढुंगासम्म पुर्‍याउन आउनुभएको थियो । आफ़्नो जन्मघर र मातृभूमिप्रतिको आस्था, माया र सदभाव वर्षौदेखि पालेर सांचेको तिर्सना मेटियो अनि आफन्तजनहरुलाई भेटियो । अब विदेश धेरै नबस्ने छिट्टै यही गाउँमा फर्केर गाउँमै केही गर्ने योजना बुन्दै केही समयको लागि त्यो प्यारो गाउँघरलाई बाइबाइ गरियो । दाइ पोखरा झर्नुपर्ने म काठमाडौं आउनुपर्ने भएकोले सदरमुकाम बेनी आएर दाजुबैनी छुट्टाछुट्टै गाडिमा चढ्नुपर्ने भयो । न्यास्रो मान्दै एक्लै काठमाडौंका लागि माइक्रोबस चढें ।

त्यो इष्टमित्र, नातेदार र घरगाउँसँग बिछोडिनु पर्दाको पीडाले मन भारी र शरिर शिथिल भएको थियो । मेरो जीवनमा सबैभन्दा लामो बस यात्रा त्यही दिन पहिलो थियो । जापान देखिनै सुत्ने र खानेको तालमेल मिल्न नसकेको हप्ता १० दिन भईसकेको थियो । भुसुक्कै निदाएछु । कांडेलुम्ले आईपुग्ने बेला बल्ल ब्यूँझिन पुगेछु । खाजा खानलाई गाडी रोकेको रहेछ । मन अमन भएको थियो खाजा खान मन लागेन । पौने २ बजेतिर पोखरा आईपुग्यौं । बेनीमा गाडीको टिकट काट्नेबेला काठमाडौंसम्मका लागि भनेर काटेको हो । तर पोखरा आएपछि त त्यो खलासी भाइले खलासी भाषा र खलासी पारामै ५०० रुपैया फिर्ता गर्दै यो गाडी काठमाडौं जाँदैन अर्को माइक्रोमा चढ्नुस् पो भन्छ बा ! मेरो त पारो चढेर आयो, ड्राइभर र खलासीसँग रिस उठ्यो, किन सिधैं काठमाडौंका लागि भनेर टिकट काट्न लगाएको त ? पहिलै पोखरासम्मलाई भनेको भए हुन्थ्यो नि ? यसरी झुक्याएर बिचमा बिचल्ली पार्न पाइन्छ ? यही तरिका हो भने यो कुरा भर्खरै प्रेसमा जान्छ भन्दै ड्राइभर, खलासी र गाडी नम्बरको धमाधम फोटो खिच्दै प्रेसपास देखाईदिएँ । मैले चाहेको भए नेट र साधन हातैमा थियो । तिनीहरुको चलाखीबाजी उतिखेरै भण्डाफोर गरिदिन मन लागेको थियो । तर त्यती सानो कुरामा किन त्यसो गर्नु भनेर मन शितल पार्ने प्रयास गरे । कहिलै बिर्सन नसकिने रिस पनि त्यही दिन उठ्यो । म जस्तै अरु ३,४ जना पनि अलपत्र परिरहेका थिए । खलासीले यात्रुहरु सबैलाई जबर्जस्ती ओराल्यो । सबै ट्वाल्ल परेर हेरिरहेका थिए । मेरो लगायत सबैको सामानहरु गाडीबाट झारिदिएर भुँइमा असरल्ल अवस्थामा थिए । हामी ३,४ जनाबाहेक अरु सबै पोखरासम्मका यात्रु पो रहेछन् । यात्रु नपुगेका कारण त्यस्तो चलाखी अपनाएका रहेछन् । केहीबेरपछि खलासी र ड्राइभर नम्र भएर के गर्ने दिदी, हामी पनि साहुको आदेश मान्नुपर्छ, गाह्रो नमान्नुहोला । हामीले चिनेको मान्छेको गाडीमा अगाडिको सीटमा व्यवस्था गरीदिन्छौ भन्दै खलासी र ड्राइभर मिलेर मेरो सामान र झोलाहरु अर्को गाडीमा राखिदिए । अगाडिको सिटमा बसेर काठमाडौंतिर लागियो । रातिको १०:३० बजे काठमाडौं आईपुगियो ।

बिदेशमा हुँदा कल्पेको मेरो देश र स्वदेशमै आएर भोगेको आफ़्नो देश नितान्त फरक लाग्यो । केही दिन त अल्लमल्ल, रनभुल्ल, जिल्ल र ट्वाल्ल परियो । आफ़्नै देश हो तर टूरिष्टझैँ म अरु नै कुनै देशमा छु जस्तो लाग्यो । घरका एक दुईजना बाहेक अरु सबै बिरानो, चिनेजानेका कोही थिएनन् । जे जे उद्देश्य बोकेर आएको थिएँ ती सबै उद्देश्यहरु पुरा हुने हो कि हैन भनेर पिर लाग्न थालेको थियो । जता हेर्छु, जे देख्छु अस्तब्यत मात्रै देख्छु । बरु त्यो गाउँका बस्ती र झुपडीहरुमा अनवरत आउने पानीका धारा बगिरहेका थिए । बिजुली बत्तीहरु झलमल्लै बलेका थिए । तर काठमाडौंको ठूलठूला महलहरुमा धारा छन् पानी तुर्किदैनन्, बिजुलीका बल्बहरु छन् उज्यालो झुल्किदैनन् । यसअर्थमा मेरो देश त ठिक उल्टो जस्तो लाग्यो । यही ज्यानले सांझ परेपछि मात्रै दियालो र पिल्पिले टुकीको उज्यालो नै मनग्गे ठानेको थियो, तर मान्छेलाई जस्तो गर्‍यो त्यस्तै बानी बिग्रदोंरहेछ । दिउँसै कृत्रिम उज्यालो चाहिने अर्थात बत्ति बाल्नुपर्ने मेरो त बानी बिग्रिसकेको रहेछ । मेरो जीवनमा आजसम्म पानीको आभाव खेप्नुपरेको थिएन । त्यो गाउँमा झन घर नजिकै खोला-नाला प्रशस्त थिए । तर यो पटक काठमाडौं बसाईमा तेल खेलाएजस्तै पानी खेलाउनुपर्‍यो । त्यही संस्कारमा बानी परेकाहरुलाई आफ़्नो असन्तुष्टी व्यक्त गर्न पनि नसकिने रहेछ । के के नै दुई दिन विदेश बसेर आएँ भन्दैमा नाटक गर्छे भन्ने आरोप पो लाग्ने हो कि भन्ने भय मनमा हुने नै भयो । जसोगर्दा पनि मेलोमेसो नपाइने अनि चित्तै नबुझने भन्या ! मेरो लागि सबैभन्दा लामो काठमाडौं बसाई यतिखेर नै भयो । जहाँ मेरो ठूलीभाउजूको न्यानो सामिप्यताले बाबाआमाको तिर्सना मेट्न पाएँ । हाम्रो परिवारको वरिष्ठ सदस्य ठूलीभाउजूको आधारले तीन महिनाको नेपाल बसाई खुशी र आनन्दसँग बिताउन पाएँ । सिक्न मन लागेका र सिक्नुपर्ने कुराहरु थुप्रै थिए । यो तीन महिनाको समय कसरी सदुपयोग गर्ने र सार्थक बनाउने भन्ने मनमा लागिरहेको थियो । तर कसरी र कुन बिन्दुबाट सुरु गर्ने कुनै आइडिया आएन । दाइलाई मेरो सबै कुरा ब्यक्त गरेँ । दाइले पनि यो यो किताब किनेर पढ्नु भनेर सल्लाह दिनुभयो तर पढेर भन्दा ब्यवहारिकरुपमा सिक्न चाहन्थेँ । भाग्यवश साहित्यकार, कलाकार, पत्रकार र हाम्रा नेपाल मगर संघका मुख्य हस्तीहरुसँग भेट हुने अवसर मिल्यो । उहाँहरुकै न्यानो साथ र सहयोगले म एक किसिमले प्रदेशी भइसकेको मान्छेलाई नेपाल बसाई सहज हुँदै आयो । मेरो आफ़्ना उद्देश्यहरु पुरा गर्दै आएँ । खासगरी म कहाँको म्याग्दीको मान्छेले मगर भएकै नाताले कता हो कता, न आमातिरका न बाबु पक्षका मगर दाजुभाइहरुबाट धेरै सहयोग पाएँ । सहयोग मात्रै लिईन दुख पनि दिएँ अनि दिक्क पनि बनाए हुँला । नेपालको थुप्रै मगर कार्यक्रमहरुमा सरिक हुने अवसर मिल्यो । नेपाल मगर संघले न्यानो स्वागत गर्दा म खुसी मात्रै भइन, यो पटक पो बल्ल म आफुलाई मगरकी छोरीचेली र मगरको रगत हुनुमा गर्व गर्ने मौका पाएँ । समग्र मगर जातिमा हुने राम्रा पक्ष र महत्वपूर्ण बिशेषता पनि यही पटक जान्न पाएँ । जसअर्थमा सम्पूर्ण मगर धड्कनहरुलाई हार्दिक धन्यबाद दिन चाहान्छु । बरु मलाई जानेको छु भन्न लाज लाग्छ तर जानेको छैन भन्न र सिक्न लाज लाग्दैन । सँधै केही न केही सिक्नुपर्छ, पढ्नुपर्छ भन्ने चेतनाले घच्घच्याईरहन्छ । तर त्यो सानो हुँदाको पढ्ने भनेपछि हात खुट्टा यतिकै मरेर आउने मेरो नराम्रो बानी अझै नगएको रहेछ । फेरि त्यही मलाई मन नपर्ने मेरो बानी यो पटक बल्झेर आयो । म आफैलाई रिस पनि उठेर आयो । तर पनि यतिखेरको जमाना भनेको कम्प्युटर र ड्राइभिङ आधारभुत कुरा हुन् भन्ने लागेर कम्प्युटर र ड्राइभिङ क्लास भर्ना भएँ । पत्रकारिता सम्बन्धि पनि सिक्नुपर्ने धेरै थिए । केही पत्रकारहरुबाट हल्का जानकारी त लिएँ । त्यही जानकारीले पनि धेरै ऊर्जा मिलेको अनुभव गरेकी छु । साथै मगर भाषा सिक्ने ठाउँको दैलो मात्रै भए पनि टेक्न पाए हुन्थ्यो भन्ने मनमा लागिरहेको थियो तर त्यो संभब नभएपछि मगर दुत (भाषा) को किताब उपहार पाएँ । त्यस्तै गीतसंगीत भनेपछि हुरुक्कै हुने म । नसिके पनि नेपालको वास्तविक गीत संगीतलाई नजिकबाट महशुस गर्ने अवसर जुर्‍यो ।

जेहोस यो पटकको नेपाल भ्रमण जीवनकै महत्वपूर्ण र अविस्मरणीय बन्यो । पानी परे हिलैहिलो, घाम लागे धुलैधुलो हुने काठमाडौंमा आफ़्नो साधन नभए त खुट्टै नभएको जस्तो भइँदोरहेछ । एउटा सानो कामका लागि पनि एक दिनभरि लाग्ने, अव्यवस्थित सडक र अस्तव्यस्त सवारीसाधनहरुको ताल देख्दा पलपलमा जनजनको जीवन धरापमा छ जस्तो लाग्यो । बाटो क्रस गर्दा पनि मानौ मैले ठूलै खोला तर्दैछु जस्तो लाग्ने । जता फर्के पनि असुरक्षित महशुस हुने, अरुभन्दा पनि पसलमा केही किन्न गयो भने प्रायजसो पसलेले ग्राहकको मुखमै नहेर्ने, स्याल आयो कुकुर गयो वास्तै नगर्ने, अर्को भाषामा भन्नुपर्दा भगवानै आउन् कि भिक्षु आउन् बाल मतलबै नराख्ने पसलेहरुको संस्कार अचम्मको लाग्यो । फोन र इन्टरनेट सेवा झन छोयो कि गयो । ठिक यतिखेर फोन र इन्टरनेट बिना बाँच्न नसक्ने जमाना हो तर सुलभ, सजिलो र स्वच्छ सेवा गरौं भन्ने भावना कहीँकतै देखिएन । बरु कसरी हुन्छ, जसरी हुन्छ आफुमात्रै नाफा गरुँ भन्ने सोच धेरैको पाईयो । सवारी साधनहरुमा चढ्यो त्यस्तै लछारपछार गर्नुपर्ने, बैंक तथा अन्य कार्यालयमा जाउँ त्यहाँका कर्मचारीहरुको चालचलन र अनुशासन देख्दा उदेकलाग्दो पाईयो । बोली र ब्यबहारमा कुनै शिष्टाचार र नम्रता भन्ने गन्ध नै नपाइने । बैंक जस्तो ठाउँमा घन्टौ लगाएर लाइन बस्यो अचानक बत्ति झयाप्पै गइदिने, अनि कामधन्दा सबै थप्पै भइदिने अनि हेर्‍या हेरै । कहिलेकाँहि त रुनै मन लागेर आउने …. । आपसी भाइचाराको बिकास गर्दै जाने, एकले अर्कालाई बिश्वास गर्ने आधारहरु खोज्ने, आपसमा सरसापटी र सहयोगी भावनाको उजागर गर्नु उच्च मानवीय विवेक हो । त्यस्तै मानवीय समवेदनालाई मनन र कदर गर्दै कृतज्ञ जाहेर गर्ने, आभार ब्यक्त गर्ने, धन्यबाद दिने र गल्ती भए माफी माग्ने जस्ता मानव जीवनका मुलमन्त्र हुन् । साथै एकले अर्कोलाई सम्मान, इज्जत र आदर गर्ने संस्कार नै सभ्य समाजको संस्कार हो । तर हाम्रो देश नेपालमा यी कुराहरु एकरति पनि पाइएन । तसर्थ नेपालको शिक्षा प्रणालीमा नैतिक शिक्षा, सामाजिक शिक्षा जस्ता बिषयहरु अनिवार्य गरिनुका साथै आमुल परिवर्तन गर्नुपर्छ जस्तो लाग्यो । अझै पनि नेपालमा यस्तै पारा हो भने देश उभो लाग्नेतिरभन्दा अधोगतितिर जान्छ भन्ने मेरो निजी विचार रह्यो ।

– छक्कु उदासी
हाल- जापान

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.