‘हेलो मित्र के छ हाल ?’
‘हाल’ के हुनु पर्ने हो र उसलाई जवाफ कु हुनु पर्ने हो ? मलाई थाहा भएन । यति हो कि यस व्यक्तिलाई कमसेकम आज चाहिँ भेट्न सक्ने स्थितिमा थिइनँ । यसकी स्वास्नीले यसलाई एउटा पाँचतारे होटलका बारबाट मेरैसामु त्यानझ्यान पारेर लगेकी थिई । अझै पनि मैले त्यो घटनालाई पचाइसकेको थिइनँ ।
उसको मुखमा हेरेँ । के जवाफ दिने ? हाल नराम्रो थिएन मेरो तर उसलाई यतिखेर अनायास भेटेर ‘हाल’ गड्बडियो ।
कसरी फेस गर्ने यस हाललाई ? एउटा औपचारिकता निभाएँ— “ओहो, मित्र बसन ।”
ऊ टुसुक्क बस्यो मैले देखाएको कुर्सीमा । बस्दा–बस्दै भन्यो– “बताएनौ त आफ्नो हाल ?”
च्वास्स घोँच्यो एउटा सुइरोले । जुन हालको हालत एकदमै नाजुक छ र जसलाई औपचारिकताहरूले ढाकेर बिर्सन खोज्छु ऊ त्यसलाई उप्काएर कोट्याउँछ । एउटा अर्को असफल प्रयास गरेँ । कमसेकम झूठो नबोल्न— ‘के सोध्छौ हाल यार ! भन किन यता ?’
‘तिम्रो हाल सोध्न ।’
मतलब मैले यस स्थितिबाट छुटकारा नपाउने भएँ । अर्थात मैले साँचो बोल्नै पर्ने भयो तर के यहाँ म उसँग त्यति व्यक्तिगत कुरो, त्यति सेन्टिमेन्टल कुरो गर्न सक्छु ? यस अफिसमा ? ल अफिसबाट बिदा लिन सक्छु रे । के म फेरि यस व्यक्तिसँग एकान्त क्षण बिताउन सक्छु ? त्यो घटनाको आलो छाप छँदा—छँदै ? के म यस व्यक्तिलाई सोझै मुख हेरेर कुरा गर्न सक्छु ? मुख हेरेर कुरा गर्न नसक्ने स्थितिमा म उसँग कति समय बिताउन सक्छु ?
रिस उठेर आयो भित्रभित्रै । त्यत्रो पाँचतारे होटलमा स्वास्नी आएर त्यानझ्यान पारेर घिस्याउँदै लान्छे यसलाई । यसलाई किन लाज नभएको ? कसरी यो मान्छे मेरोसामु उभिन सक्छ ? जब कि त्यही लज्जाले म यसको सामु उभिन सक्तिनँ । सहजरूपमा उसलाई भनेँ– ‘के सोध्छौ हाल मेरो ? तिम्रो पो हाल मैले सोध्नेु पर्ने ।’
– ‘होइन मेरो हाल कुनै नयाँ थिएन र छैन । तिमै्र हाल सोध्नेु पर्ने थियो । कमसेकम अस्ति बेलुकाको घटनापछि ।’
मुख पुलुक्क हेरेँ । गम्भीर थियो । उसले भित्रैदेखि भनेको थियो यो । उसलाई निकै दुःख लागेछ क्यारे । लज्जित छ क्यारे– मलाई त्यो अप्ठ्यारो स्थितिमा पारेकोमा । तर उसले लज्जित हुनु पर्ने कुरै के छ र ? पाँचतारे होटलमा रक्सी र मासुको लोभमा म नै उसको पछिपछि गएको थिएँ । उसको गल्ति नै के छ र ? म नगएको भए उसले मलाई बोकेर लाने थिएन क्यारे ! सायद त्यो सम्पूर्ण घटनाको जिम्मेदार म नै थिएँ ।
उसको मायालाग्दो मुख देखेर मलाई पश्चाताप भयो । ऊसँगै केहीक्षण बिताउने एउटा इच्छा जागेर आयो । एउटा आवश्यकता नै सम्झेँ । उसलाई भेटेर जुन अप्ठ्यारोपना उब्जिएको थियो त्यो गायब भयो । ‘हाल’ को हालत सुध्रियो । म बिस्तारै उठेँ— ‘पख म हाकिमसँग बिदा माग्छु ।’
— — — — —
— ‘बिदा त सजिलै पायौ नि ?’
— ‘चाकरी निकै गर्छु ।’
त्यो दुःखी अनुहार हाँस्यो खिस्स । हलुको भयो उसको एक झपट अनुहार देखेर । अझै हसाउन पाए हुन्थ्यो । म त्यो अनुहारमा अरू हँसिला किरणहरू देख्न चाहन्छु । कति दुःखी छ विचरा !
— ‘मित्र अस्तिको घटनाले म लज्जित छु । तिमीले मलाई माफ गर्नै पर्छ ।’
त्यो अनुहारमा कालो अन्धकार छाइसकेथ्यो फेरि । ऊ साँच्चै नै दुःखी देखिन्थ्यो । मैले सानत्वना दिँदै भने— ‘हैन तिमीले गल्ति नै के गरेका थियौ र माफी माग्दैछौ ?’
— ‘हैन मेरी स्वास्नीले अस्ति ज्यादै गरी होटलमा । त्यसले तिमीलाई पनि गाली गरी होइन ?’
मैले केही पनि बोलिनँ । शायद ऊ स्वास्नीको बारेमा अरू बेसी भन्न चाहन्थ्यो गालीहरू । हो म पनि सुन्न चाहन्थेँ– गालीहरू त्यस दुर्छे आइमाईमाथि । हदै गरेकी हो । एउटी स्वास्नीमान्छेलाई त्यस्ती स्वास्नीको भूमिकामा म कल्पनै गर्न सक्तिनँ । बिचरा ! कसरी बाँचेको छ जिन्दगीहरू यस निरीह लोग्नेले त्यस आइमाईको सेपमा ?
– ‘मित्र, तिमी किन रक्सी खान्छौ ?’
कस्तो प्रश्न हो यो ? म त धेरै गालीहरू सुन्न चाहन्थे उसकी त्यो दुर्छे स्वास्नीमाथि । रक्सी किन खान्छु— त्यस विवादमा म अल्झन चाहन्नथेँ । उसको धारणा उसकी स्वास्नी माथि के छ ? बरू त्यो थियो मेरो जिज्ञासा । सोधेँ– ‘त्यस दिन पनि तिमीलाई कुटिन् तिम्री श्रीमतिले ?’
पुलुक्क हे¥यो उसले मतिर । शायद सोध्न हुन्नथ्यो यस्तो नितान्त व्यक्तिगत कुरो । अप्ठ्यारो लागेर आयो तर उसले सहज भावमा भन्यो— ‘नकुट्ने कुरै छैन तर कति कुटी यसै भन्न सकिन्न । निक्कै लागेको थियो । बुझ्यौ निक्कै लाग्नु वेश ।’
खाएपछि धेरै खानु पर्ने उसको सिद्धान्त त थाहा भो तर खानु नै किन पर्छ उसलाई ? त्यो सोध्ने मन लाग्यो— ‘तिमी रक्सी किन खान्छौ ?’
खिस्स फेरि हाँस्यो– ‘यो त मेरो प्रश्न हो । तिमी नै भन पहिले तिमी किन खान्छौ ?’
म किन खान्छु ? सायद खान मन लागेर मात्र हो । नत्र के कारणहरू छन् ममा ? मैले जवाफ दिएँ— ‘यसै भन्न गाह्रो छ तर विशेष साथीहरूसँग लागेर खान्छु । खानै पर्ने कुनै बाध्यता वा आवश्यकता छैन । के भने म रक्सी खान्छु तर रक्सीले मलाई खाँदैन ।’
उसले गम्भीर भएर भन्यो— ‘त्यसोभन्दा मलाई घोच्यो मित्र तर यत्ति चाहिँ म पनि भन्न सक्छु कि रक्सीलाई म पनि खाँदैछु । रक्सीलाई एउटा प्रतीक मान मित्र । म यो रक्सीको अर्थमा धेरै कुराहरू खाँदैछु र यो नसोच कि मलाई रक्सी लागेको हुन्छ । मलाई ती सब कुराहरू लाग्छन् जुन म रक्सीसँग खान्छु ।’
सायद ती धेरै कुराहरूमा त्यो दुर्छे स्वास्नी पनि खान्छ उसले । त्यो व्यापारिक घाटा खाँदो हो । बाबुको इज्जत खाँदो हो । आमाको चिन्ता खाँदो हो । धेरै खानु पर्ने रहेछ बिचरोलाई ।
— ‘मित्र आज पनि खाने है ?’
स्वाभाविक ढङ्गमा भनेँ– ‘तर पाँचतारेमा चाहिँ हैन ।’
– ‘ठीक आज अन्तै खाने । स्वास्नीलाई छकाइन्छ त्यसरी ।’
मेरो पनि त्यही मतलब थियो । कमसेकम म आफूलाई त्यस्ती आइमाईसामु दोषी उभ्याउन चाहन्नँ । आवारा सङ्गत भनाउन चाहन्नँ ।
– ‘भन कहाँ जाने ?’
कहाँ जाने ? मलाई पनि थाहा भएन, कस्तो ठाउँसम्म उसलाई ठीक होला ? त्यो पनि थाहा भएन । मैले उसैलाई छोडेँ– ‘तिमी नै भन । जहाँ लान्छौ त्यहाँ नै जान्छु ।’ पैसा पनि त उसकै जाँदै थियो ।
– ‘होइन यार तिमी नै भन । बरू यस्तो ठाउँमा लैजाऊ जहाँ मेरी श्रीमती पुग्न नसकोस् । यस्तो ठाउँमा लैजाऊ जहाँ मेरो बाबुको इज्जत तगारो नबनोस् ।’
सम्झना आयो– एउटा यस्तो ठाउँको जहाँ सम्भ्रान्त, इज्जतदार मान्छे जाँदैनन् । मैले उसलाई भनेँ– ‘एउटा निकै गोप्य स्थान छ जहाँ लोकलमात्रै पाइन्छ । छोयला, भुटन, सेकुवा आदि गजबकै बनाउँछ तर के तिमी त्यहाँ जान सक्छौ ?’
– ‘के भो र ? जहाँ सुरक्षा छ त्यहाँ वन, जङ्गल र चर्पी समेत ठीक छ । म तिमीसँग समय बिताउन चाहन्छु मित्र । म धेरै पर मेरो परतन्त्र संसारभन्दा निकै पर एउटा स्वतन्त्र क्षण बिताउन चाहन्छु । मेरो त्यो स्वतन्त्रताको सुरक्षाको ग्यारेण्टी चाहिन्छ, म नर्कमा पनि जान तयार छु ।’
– ‘मित्र त्यो नर्क त होइन रन्डीखाना हो । निकै गोप्य छ । स्वतन्त्ररूपले क्षणहरू गुजार्न पाउँछौ । तिम्री श्रीमती वा बुबा वा आमा कोही पनि त्यहाँ आउँदैनन् ।’
— ‘अहो तर यार म त्यस्तो ठाउँमा कहिल्यै गएको छैन ।’
— ‘त्यो त तिम्रो बिचार । तिम्रो स्वतन्त्रतामा आँच नआउने ठाउँ मात्र सुझाएको हुँ । अन्त कहाँ जान्छौ ? जुन ठाउँहरू कानूनी रूपले स्वीकृत छन् त्यहाँ तिम्रो बाबुको इज्जत पुगिहाल्छ । जुन ठाउँहरू सामाजिक रूपले स्वीकृत छन् त्यहाँ तिम्री स्वास्नी पुगिहाल्छिन् । तिम्रो आवश्यता त्यस्तै गैह्रकानूनी, गैह्र सामाजिक, गैह्र नैतिक ठाउँको छ ।’
निकै सङ्घर्ष गर्नु प¥यो बिचराले आफसँग र अन्त्यमा भन्यो— ‘ठीकै छ तर मचाहिँ रक्सी मात्र खान्छु । यताउता गर्नु प¥यो भने तिमीले मात्र गर्नु । के त्यो सम्भव छ ?’
यताउता गर्नु मतलव रन्डीबाजी गर्नु । डराउँदो रहेछ बिचरो ! अर्थात त्यस मूल्यलाई स्वीकार्न नसक्ने सामाजिक प्राणी रहेछ ऊ । संझाउँदै भने— ‘हेर मित्र, त्यो रन्डीखाना हो तर रन्डीबाजहरूका लागि मात्र । जँड्याहाहरूका लागिचाहिँ जाँडपसल मात्र हो बुझ्यौ ? हामी त्यहाँ जँड्याहा मात्र बनेर जाने । रन्डीबाज हैन । त्यो यस्तो ठाउँ हो जहाँबाट तिमी गिर्न सक्छौ तर कति गिर्ने हो तिम्रो ईच्छामा भर पर्छ । तिमी त्यहाँ पूर्ण स्वतन्त्र छौ ।’
– ‘तर के–कस्तो परिस्थिति आइपर्ने हो ?’
– ‘कमसेकम तिम्री स्वास्नी र बाबुको इज्जत आइपर्ने छैन ।’
— — — — —
उसले बुझिसकेको हुनुपर्छ यो रन्डीपसलभन्दा बढी जाँड पसल देखिन्छ । जाँड, रक्सी र मासुका परिकारहरू यत्रतत्र फिँजिएका छन् तर रन्डीका नाङ्गा तिघ्रा देखिएका छैनन् । रन्डीजस्तो देखिने निर्लज्ज पोथीजन्तु पनि त्यहाँ देखिएन । साथीले चारैतिर हे¥यो र मतिर ताक्यो । सायद उसको प्रश्न थियो— ‘तिमीले आखिर अर्कै ठाउँ ल्यायौ हैन ? त्यो सामाजिक मान्यताले निसिद्ध ठाउँमा पु¥यायौ हैन ? यहाँ के ग्यारेण्टी छ मेरो स्वतन्त्रताको ?’
मैले एक आँखा झिम्क्याएँ— यो बुझाउन कि यो गोप्य कुरो हो र सबै कुरो बुझ्नमा छ । यो ठाउँ गोप्य छ र त्यो गोप्यताभित्र पनि अर्को गोप्यता छ रन्डी व्यापार । हामीलाई त्यति तलसम्म ओर्लनु छैन । यो आवरणीय गोप्यताभित्र मजाले रक्सी खाउँ । यहाँ तिम्रो स्वतन्त्रतामा कुनै आँच आउने छैन ।
गोप्यताको पहिलो तलामा बसेर हामीले बेसमारी लोकल खायौँ । राँगोको मासुका अनेक परिकारहरू लडायौँ । उसले अर्थात मित्रले यो गोप्यताको छानोमुनि प्रसस्त स्वतन्त्र क्षणहरू भोग्यो । हामी दुबैले गोप्यताको अर्को तह अर्थात अर्को तलासम्म ओर्लन चाहेनौँ । त्यहाँसम्म झाँक्नसम्म पनि झाँकेनौँ र त्यसो गर्न परिस्थितिले पनि कुनै दवाव दिएन । गजब स्वतन्त्र थियौँ ।
लोकलले छोइसकेछ । उसले आफ्ना भावनाहरूलाई काबुमा राख्न सकेन— ‘मित्र गजबको ठाउँमा ल्यायौ । यस्तो ठाउँमा त म पूरै जिन्दगी बिताउन सक्छु । थाहा छ ? म कति स्वतन्त्र फील गरिरहेछु अहिले ? कति सुरक्षित फील गरिरहेछु यो छानामुनि ?’
साथीले कतै रातै यही सुकुलमा बिताउने सुर कसेको त हैन ? यस स्थितिमा मेरो के कर्तव्य हुनेछ ? अलि अप्ठ्यारो परिस्थितिको गन्ध आयो मलाई । मैले तुरुन्तै भनेँ— ‘हो मित्र तर हरेह ठाउँको आफ्ना—आफ्नै प्रकारका सीमाहरू हुन्छन् । राम्रो यही हुन्छ कि बाहिर रमन घुम्नुअघि नै हामी यहाँबाट हिँडिसक्नु पर्छ ।’
— ‘रमन ? किन उच्चारण ग¥यौ त्यो शब्द ? मेरो स्वतन्त्रताका अनुभूतिमा तिमीले निर्मम एक मुक्का हान्यौ यार । विष घोल्यौ विष ।’
‘होला यार म माफी चाहन्छु । तिमी एउटा बालुवाको दुर्गमा आफूलाई धेरैबेर सुरक्षित राख्न सक्तैनौ । सच्चाइ यही हो । तिमीले केही क्षण मात्र स्वतन्त्रता भोग्न चाहेथ्यौ । त्यसैले मैले यहाँ ल्याएँ तिमीलाई । तिमीले आफ्नो स्वतन्त्रता जोगाउन बारम्बार सुरक्षित ठाउँहरू बदलिराख्नु पर्छ । उठ मित्र अब समय आइसकेको छ । अर्को दुर्गको खोजी गर वा नत्र स्वास्नी छेउ गएर आत्मसमर्पण गर ।’
— ‘उसो भए के अब मलाई तिमीले यस स्थितिमा ल्याएर छोड्ने भयौ त ?’
— ‘मित्र सच्चाइ यही हो कि मलाई पनि तिम्री स्वास्नीदेखि डर लाग्छ ।’
— ‘ठीकै छ मित्र जाऔँ । हार्नेहरूको नियति यही हो । म सधैँ स्वास्नी र बा–आमाको त्रासविरुद्ध बिद्रोह गर्न खोज्छु र सधैँै उनीहरूकै खुट्टामा गएर आफूलाई समर्पित गर्छु । रक्सी त मात्र मेरो मृगतृष्णा हो । आड खोज्ने एउटा प्रयास ।’
हामी बाहिर त निस्क्यौ तर मलाई नै लागि रह्यो एउटा निर्वासित व्यक्तिको साथ कति समयसम्म एउटा निर्वासित जीवन व्यतित गर्न सक्छु ? मेरो धैर्यता आजित हुँदै जाँदैथ्यो तर उसलाई यसै बीचमै छोडेर जाने ईच्छा पनि भइरहेको थिएन । कुनै एउटा किनारासम्म त उसलाई मैले पु¥याउँनै पर्छ । तर त्यो किनारा कुन हो ? के म उसलाई उसको घरसम्म छोड्न सक्छु ? पक्कै सक्तिनँ । यसै कुनै पनि क्षण उसकी श्रीमतीसँग सामना गर्नु पर्नेछ । उसलाई त के छ ? बेसमारी लागेको नक्कल गरे पुगिहाल्छ । घानमा पर्ने त म नै हुँ । गजबकै स्थिति भयो । भालुकै कन्पट भयो उ आज ।
एउटा दिशामा हामी हिँड्दै थियौँ । तर कहाँ जाँदैछौँ ? हामी दुबैलाई थाहा थिएन । सम्पूर्ण बाटो उ एक्लै ढाकेर हिँड्न चाहन्थ्यो तर मभरिको बाटो मलाई पनि चाहिन्थ्यो । त्यसैले मसम्म आइपुगेर उ ठोकिन्थ्यो र सडकको अर्को छेउसम्म उछिट्टिएर पुग्थ्यो ।
उसले सोध्यो– ‘मित्र हामी कहाँ जाँदैछौँ ?’
सजिलै भनेँ— ‘थाहा छैन, तर तिम्री स्वास्नीछेउचाहिँ अवश्यै होइन ।’
— ‘प्लिज मित्र मेरी स्वास्नीलाई यहाँ यो स्वतन्त्र बाटोमा उच्चारण नगर । ठेस लाग्छ ।’
दुबै चुपचाप हिँड्यौँ । हिँड्दै गयौँ । सडकमा घरहरू सिद्धिए । धेरै रूखहरू आउँदै र छुट्दै गए । हाम्रा जुत्ताहरूका ढ्याब्रे शब्दले सन्नाटालाई ठटाउँदै थियो । … … कहाँको हो यो यात्रा ?
– ‘कति बज्यो होला ?’ अँध्यारोमा घडी हेर्दै अंक पढ्न खोजेँ ।
उसले दृढ भएर भन्यो— ‘आज घडी नहेर्ने ।’
— ‘कतिसम्म हिँड्ने ?’
— ‘त्यो पनि नसोच्ने हिँड्दै जाने ।’
— ‘यसरी त हुँदैन मित्र । तिम्रो हिसाबले म सोच्ने सक्तिनँ ।’
— ‘किन सक्तैनौ मित्र ? के मेरो लागि पनि सक्तैनौ ?’
— ‘माफ गर मित्र । आफ्नो स्वतन्त्रताको खोजीमा तिमी मेरो स्वतन्त्रताको हनन गर्दैछौ ।’
ऊ टक्क अडियो र मेरो हात समाउँदै भन्यो— ‘मेरो मतलव त्यो थिएन । म तिमीमाथि अधिकार जनाउँदै छैन । म तिम्रो शरणमा छु । मलाई कहीँ कतै लगेर लुकाउ यार । म मेरी स्वास्नीसामु पर्न चाहन्नँ ।’
केही टाढाबाट एउटा गाडी आउँदै थियो । हेडलाइटको तेजिलो प्रकाशले हाम्रा आँखालाई चोकाचौँध पा¥यो । दुबैले आँखासम्म हत्केला पु¥याएर प्रकाशलाई छल्न कोशिस ग¥यौँ । गाडी हाम्रो अघि आएर टक्क अडियो । ढक्क आङ फुल्यो– ‘मारेन के ? तिम्री श्रीमती आइन क्यार ।’
अत्तालिएर साथी बोल्यो– ‘प्लिज त्यसो नभन मित्र । यस आइमाईलाई सहन सक्ने गरी रक्सी नै लागेको छैन मलाई ।’
गाडीको ढोका खुल्यो । केही व्यक्तिहरू गाडीबाट बाहिर आए । हामीले आफूलाई अचानोमा तारेर राख्यौँ तर यो के ? त्यहाँँ उसकी श्रीमती थिइनन् । उनीहरू पुलिस थिए । रमनमा हिँड्ने पुलिस ।
— — — — —
सानो कोठा थियो र यसमा हामी बाह्रजना थियौँ अटाइनअटाई । थरीथरीका थियौँ । कोही हेर्दैमा चोरजस्ता कोही एकदमै इज्जतदार र सम्भ्रान्त ।
उसलाई निकै गाह्रो परेको हुनुपर्छ । यति मैला, यति गिर्नु, यस्तो चोर र लुच्चासँग समता उसको संस्कारमा थिएन । यहाँ उसको स्वतन्त्रता हनन गर्ने स्वास्नी या बाबुको इज्जत कमसेकम आज रातभरिलाई नआउने पक्कै थियो । तैपनि ऊ दुःखी देखियो । के गर्ने ? ऊ आफ्नै मूल्यहरूबाट हारेको छ । यसरी गिर्नु, यस्तो अवस्थामा फस्नु मेरो लागि पनि सह्य वा ग्राह्य थिएन तर उसको मानसिक अवस्थाले मलाई धेरै पिरोल्यो । यस्तो अवस्थामा एउटा सच्चा मित्रको हैसियतले उसलाई ढाडस दिनुसिवाय अरू केही कर्तव्य जँचेन । उसको ढाडमा यसो मुसारेँ । उसले लामो सास तानेर मेरो मुखमा हे¥यो । रक्सीको नशा उत्रिसकेको थियो उसको आँखाबाट ।
– ‘आखिर बुबा—आमाको डर ठीकै सावित भयो । मैले उनीहरूको इज्जत माटोमा मिलाउने नै भएँ ।’
– ‘भो चिन्ता लिन पर्दैन । भोलि बिहान हामी छुटिहाल्छौँ । केही भएको छैन । कसले चिन्छ यहाँ ? तिमी को हौ ? भनेर ।’
– ‘यहाँ यस्तो दुर्गन्ध छ । यहाँ हामी चोर, लुच्चा र असामाजिक तत्वहरूसँग समानरूपले एकसाथ थुनिएर बसेका छौँ । बरू मलाई स्वास्नीको ताडना सह्य हुन्छ यो नर्कबास सह्य हुन्न । कुन दशाले हामी यहाँ खस्न पुग्यौँ ?’
एउटा व्यक्तिले पल्लो कुनाबाट हामीलाई सम्बोधन ग¥यो— ‘तपाईंलाई चिनेजस्तो लाग्यो ।’
हामी दुबै झस्क्यौँ । उतै हे¥यौँ । उसले मलाई औल्याइरहेको थियो । आफूले चिनेको व्यक्ति थिएन उ । उसले अलि उच्चा स्वरमा भन्यो– ‘तपाईं शैलेन्द्र शाकार हैन ?’
दुबैले एक अर्कोलाई हे¥यौँ र भन्यौँ– ‘होइन ।’
‘उसो भए कविताराम हुनुपर्छ ।’
दुबैले भन्यौँ— ‘होइन ।’
– ‘जे होस् तपाईं कुनै कवि हुनुपर्छ । तपाईंलाई कविगोष्ठीमा धेरैपल्ट देखेको छु । तपाईंको नाम के हो ?’
मलाई अप्ठ्यारो प¥यो । यस्तो स्थितिमा कसरी एउटा प्रतिष्ठित कविको नाम लिने ? उसैलाई सोधेँ– ‘तपाईं को हुनुहुन्छ नि ?’
उ खिस्स हाँस्यो– ‘हुन्छ कविजी ठीकै छ । तपाईं आफ्नो नाम बताउन चाहनुहुन्न । ठीकै छ । यहाँ यस कुप्रतिष्ठित ठाउँमा तपाईंको प्रतिष्ठित नाउँ लिन चाहनुहुन्न । ठीकै छ तर तपाईंहरू दुबैलाई भन्नु छ यहाँ थुनुवा भएर आउनुले तपाईंको प्रतिष्ठामा आघात पार्ने छैन । किनभने तपाईं हामीहरू यहाँ स्वेच्छाले आउँदैनौँ । ल्याइन्छौ । ल्याइनुका विभिन्न कारणहरू हुन सक्छन् । जस्तै–उहाँलाई हेर्नोस्, उहाँ प्रोफेसर साहेव किन ल्याइनुभो भने भीडले एउटा पाकेटमारलाई निर्दयतासाथ पिटेको देख्न सक्नुभएन र भीडलाई रोक्दा भीडले उहाँलाई पनि पाकेटमाराकै सहभागी बनायो । अहिले उहाँ पाकेटमारासँगै यहाँ हुनुहन्छ । त्यस्तै त्यो बालक फागूमा रङको लोला खेलेको अभियोगमा ल्याइयो र उहाँ महासय, किन ल्याइनुभो ? अहिलेसम्म उहाँ आफैँलाई थाहा छैन ।
कविजी तपाईं कविता त लेख्नुहुन्छ तर काफी काँथर हुनुहुन्छ । जिन्दगीलाई तपाईंले जब लिनै जान्नुभएको छैन भने तपाईंको कवितामा के दम होला ? जब तपाईं नै दम्भी संस्कारले पीडित हुनुहन्छ भने तपाईंको कविताबाट के आशा राख्न सकिन्छ ? तपाईंको कविता कस्तो छ ? भन्ने कुरा मैले पनढिनै बुझिसकेँ र अवश्यै तपाईंको नाम मैले जान्न चाहेको मध्ये छैन ।
यस ठाउँमा घृणा गरेर तपाईंहरूले यहाँ हामी सबै थुनिएकाहरूको अपमान गर्नुभएको छ । आफ्नो सम्भ्रान्त पृष्ठभूमिमा उभिएर तपाईंहरूले यहाँ अभद्र व्यवहार गर्नुभएको छ । तपाईंहरू सभ्य–असभ्य हुनुहुन्छ । यहाँबाट सभ्यता सिकेर जानोस् आफ्नो सभ्य समाजमा । सायद नियतिले तपाईंहरूलाई केही सिकाउन यहाँ ल्यायो ।’
उ चुप भयो । हामी ट्वाल्ल परेर उसको मुखमै ताकिरह्यौँ । उसको मुखमा अब त्यही रङ थिएन जुन रङ भरेर हामीमाथि बर्सिरहेथ्यो । बिस्तारै उ उठ्यो र हामी छेउ आयो । हामी दुबै अक्क न बक्क भयौँ । उसले कानैनेर आएर भन्यो– ‘गाँजा अथवा चरेस अथवा केही पनि त्यस्तो कुरा होला यहाँहरूसँग ?’
अचम्मित भयौँ यन्त्रवत दुबैले टाउको हल्लायौ ‘छैन’ बुझाउन । ऊ फेरि उठ्यो र उतै कुनातिर भन्दै गयो– ‘म पनि मुर्खै हुँ । कसरी तपाईंहरूसँग त्यस्तो कुरो हुन सक्छ ? प्रत्येक कुरो त बाहिरै खानतलासी गरेर राख्छ पुलिसले । जान्दा–जान्दै पनि यहाँ आउने प्रत्येकलाई सोध्छु— कतै काकतालीले त्यो चीज भित्रिहाल्छ कि भनेर । बानीले विवश छु । नभई हुन्न । निकै गाह्रोे परिरहे छ ।’
आफ्नो ठाउँमा पुगेर बस्दै हामीतिर फर्कियो– ‘अवश्य तपाईंमा प्रश्न छ । म के हुँ ? को हुँ ? कस्तो हुँ र कसरी यहाँ ? इत्यादि । तर तपाईंतिरै मेरो प्रश्न छ– कविजी जिन्दगीलाई तपाईंले कसरी लिनुभएको छ ? यहाँ पस्नासाथ तपाईंको अनुहारमा जुन पश्चाताप र ग्लानीका पीडा देखेँ । स्पष्टै छ— तपाईं बाँच्नको लागि हरमूल्य चुकाउनुहुन्छ । बाँच्ने लोभमा पर्ने व्यक्तिहरू नीच हुन्छन् । स्वार्थी हुन्छन् । अवसरवादी हुन्छन् । कमजोर हुन्छन् । संझौतावादी हुन्छन् । उनीहरूको आफ्नो रङ हुन्न । आफ्नो मूल्य हुन्न । दर्शन हुन्न र ड्राइभ हुन्न ।’
उ अति नै उत्तेजित भयो । शायद उसलाई आफ्नै टाउको थाम्न गाह्रो भयो । दुबै हातहरूले केश मुठाएर दाह्रा किट्न थाल्यो ।
हामी दुबै डरायौँ । कसरी यस्तो मान्छेसित रात बिताउने ? अरू बाँकी थुनुवाहरूलाई हे¥यौँ— सायद सबै उसका यी चाला–मालाबाट अभ्यस्त छन् । कोही निदाएका, कोही निदाउने क्रममा र कोही आफैँमा हराएका । धेरैले उसलाई ध्यान दिएका छैनन् ।
तर हाम्रो अवस्था उनीहरूकाबाट फरक थियो । विशेष यसकारणले कि त्यस अर्धपागल, गँजडीको ध्यान हामीमा थियो र हामीलाई सम्बोधन गर्दैछ ऊ ।
गँजडी बिस्तारै उठ्यो । हाम्रै छेउमा आयो र टुसुक्क बस्यो– तपाईंहरूका अनुहारमा डर देखियो । किन डराउनुभयो मसँग ? म घातक छैन । वास्तविक कुरो के भने– मलाई तुरुन्त कुनै पनि प्रकारको नसालु चीज चाहिएको छ । त्यो नपाएर ममा जलन भइरहेछ । त्यही जलनले म छटपटाइरहेछु । … के साँच्चै तपाईंहरूसँग त्यस्तो केही पनि छैन ? यदि रिसाउनु हुन्न भने म तपाईंहरूका गोजी छाम्न सक्छु ?’
उसले हाम्रो सहमति पर्खेन । तुरुन्तै हामी दुबैका एकएक गोजी छाम्यो । कत्रो आशा थियो उसको आँखामा । उसको अवस्थामा अति नै दुःखी भएँ । सहानुभूति जाग्यो– मसँग अलिकति मात्रै चरेस भएको भए ? आखिर उ हा¥यो । हामीसँग केही पनि थिएन । निराश भएर फर्कियो आफ्नै ठाउँमा ।
हामीतिर हेर्दै मुसुक्क हाँस्यो– ‘जिन्दगीको उतार चढाव हो यो । ग्राफ मान्नुस् हामी सबैको जिन्दगी । यहाँ यस कोठरीमा आएर हामी सबैका ग्राफ एक विन्दुमा मिलेका छन् । को कस्ता पृष्ठभूमिका छन् ? त्यसले केही फरक पारेको छैन । भोलि या आजै कुनै पनि क्षणदेखि यस विन्दुबाट हामी व्यक्तिविशेषका ग्राफ उँधो वा उँभो फेरि छुटेर जानेछन् । हेर्नोस् कोही निरापराध भनिएर छुट्ने छन् । कोही अपराधी मानिएर जेल जानेछन् । यस्तै छ नियति । जिन्दगीको उतार–छढाव ।
जिन्दगीलाई एउटा तिलस्म मान्नोस् तिलस्म ।
कविजी तपाईं र मेरो यहाँ भेट भएको छ तर तपाईंको यात्राको शुरुवात र मेरो शुरुवात फरक छ । यहाँ यस कोठरीमा पस्दै पनि तपाईं र म बेग्ला–बेग्लै ढोकाबाट पसेका छौँ र जाने ढोका पनि फरक छ । बिचार गर्नुभएको छ ? तपाईं कुन आकस्मिकताबाट यहाँ आइपुग्नुभयो र म कसरी आइपुगेँ ? यसभन्दा पनि आश्चर्य त यो हुन्छ कि हामीले कुनै आकस्मिकताका साथ फरक स्थानबाट फरक किसिमले यात्राको शुरुवात ग¥यौँ । जिन्दगीको यस तिलस्मयात्रामा प्रत्येक नयाँ आकस्मिक ठोकरहरूले कस्ता–कस्ता मोडहरू हामीलाई उभ्याएका छन् ?
जिन्दगीको स्वाद लिने तपाईंको र मेरो सानो फरकले हामीलाई बेग्ला–बेग्लै दिशामा यस तिलस्मले खडा गर्छ । कोही अलिकता ढिला हुँदा गाडी छुट्छ र पैदल हिँड्नु पर्ने स्थितिमा पुग्छ त कोही आरामसँग सुति–सुति गन्तव्यमा पुग्छन् र यसो पनि हुन सक्छ कि गाडीमा डाका लागोस् वा गाडी भिरबाट खसोस् र त्यो व्यक्ति आपत्तिमा परोस् र यता पैदल हिँड्ने व्यक्ति सकुशल आफ्नो गन्तव्यमा पुगोस् । बुझ्नुभो ? केही पनि हुन सक्छ ।’
ऊ टक्क अडियो र सोध्यो– ‘म के भन्दै थिएँ ?’
मैले सम्झाएँ– ‘केही पनि हुन सक्छ भन्दै हुनुहुन्थ्यो ।’
झिझार मानेर टाउको हल्लाउँदै फेरि सोध्यो– ‘हैन–हैन यो प्रसङ्ग किन शुरु गरेँ मैले ? यो सोधेको हुँ ।’
कुन प्रसङ्गमा यो तिलस्मको कुरो आयो । हामी दुबै र सायद मेरा मित्रले पनि सोच्ने शुरु ग¥यौँ ।
मैले सम्झेर बताएँ– ‘जिन्दगी एउटा तिलस्म …’
‘होइन त्योभन्दा पहिले हुनुपर्छ ।’
ऊ आफैँंले सम्झियो— ‘अँ सम्झे … म भन्दै थिएँ यहाँ यस कोठरीमा आउनु या नआउनु तपाईं हाम्रो इच्छा वा बसको कुरा थिएन । त्यसैले यहाँ आएर ग्लानी हुनु वा पश्चाताप हुनु वा यहाँ आउनेलाई घृणा गर्नु मूर्खता हो ।’
सबै चुप भयौँ । झण्डै मिनेट भर चुप भयौँ । एउटा पुलिस ढोका खोलेर भित्र आयो र गँजडीलाई चिया टक्राउँदै भन्यो– ‘काजी साब चिया ।’
गँजडीले पुलिसलाई हुकुम दियो– ‘अरू दुई कप ल्याउन ।’
‘हवस्’ को टाउको हल्लायो पुलिसले ।
हामीतिर फर्केर भन्यो– ‘धन्दा नमान्नोस् म पाईंलाई यहाँबाट छुटाउँछु । बिडम्बना त यही छ कि आफूलाई भने छुटाउन सक्तिनँ । मैले धाक लगाएको हैन । मेरो बुबा एउटा कम्पनीमा जी.एम. हुनुहुन्छ । दाई उपसचिव, मामा जर्नेल र मामाको सम्धी मन्त्री हुनुहुन्छ । तपाईंहरूलाई छुटाउन बुबालाई त केही भन्न सक्तिनँ तर दाईमार्फत मामा वा मन्त्रीसम्मको फोर्स लाउन सक्छु । निश्चिन्त बस्नोस् ।’
(‘अवतार विघटन’ संयुक्त उपन्यासको दोश्रो अध्यायको रूपमा प्रकाशित)०४३ कार्तिक, अनामनगर
(स्रोत : Aswikrit.com )