आफ्नो घरको आगनमा तिहारे फूल कोपिला बन्दै जति मुस्कुराउन थाल्थ्यो उति सुन्तलीको खुसी पनि मुस्कुराईरहेको थियो । किनकिआफ्नो मुटुको टुक्रा जस्तै भाइ परदेशबाट फर्की आउँने ब्याकुल प्रतिक्षामा थिई । प्रत्यक बर्ष भाइको बाटो हेर्दा हेर्दा सुन्तली थाकेकी थिई ।
यसपाली पनि यसरी वरपर, खेतबारी र बाटा हुँदै रंगी बिरंगी तिहारे फूल धकमक्कै फुलेको देखेर सुन्तलीको मनमा
उमंग छाएको हुन्छ । जता-जता तिहारे फूल फुलेका छन्, त्यतै आफ्नो प्राणप्यारो भाइको प्रतिबिम्ब देख्नुका साथै भाइ हाँसिरहेको पाउँन थालेको छ । गर्दा गर्दा फूलको बास्नामा पनि भाइप्रतिको अथाह माया र न्यानो सामिप्य बसाईरहेको हुन्छ । कतिखेर त सुन्तली तिनै तिहारे फूलहरूलाई हल्का सुमसुमाउँदै चुम्ने पनि गर्थी ।
आफूभन्दा दश बर्ष पछि जन्मेको भाइ, सुन्तलीको लागि संसारको सबै भन्दा प्यारो बस्तु बनेको थियो । भाइको राशीको नाम रुबिन भए पनि घराँ बोलाउँदा, गाली अथवा माया गर्दा पारिवारिक नामले लाटा भनेर बोलाईन्थ्यो । सानोमा अरुको भन्दा अस्वभाबिक रुपले मुख ढिलो लागेको थियो । सबैले लाटा बन्ने भो भन्ने अड्कल गर्नुका साथै चिन्ता गर्दा गर्दै बोल्ने भएकोले लाटा उपनामा रहेको थियो । नबुझ्ने हुँदासम्म त, “ए….लाटा” भनेर बोलाउँदा पनि मुसुक्क हाँस्थ्यो, “हडुल” (हजुर) भन्थ्यो । जब अलि बुझ्ने भएपछि लाटा भन्दा रिसाउने भएकोले लगभग अरुले त लाटा भन्न छोडिसकेका थिए । तर सुन्तलीले भने लाटा भन्न छोडेकी थिइन । आफ्नो भाइ दिन प्रति दिन पुर्ण रुपले बुझ्ने हुँदै गएपछि त दिदीले लाटा भनेकैमा रमाउन र मन पराउन थाल्यो । त्यति मात्रै हैन गर्व गर्न पनि थाल्यो ।
(स्रोत : Majheri.com)