रागिनी बल्दो बैंशमा नभए पनि उसको जवानी ढल्केको थिएन । छरछिमेकमा उसको उमेरका २।४ वटी केटी अझै पनि बिहेलाई पर्खिरहेका थिए भने उसको त छोरो दश वर्षको भई सकेको थियो । त्यसो हुनुमा दोष उसको होइन, उसका आमाबाबुको थियो जसले १६ वर्ष पनि नपुग्दै उसको बिहे गरिदिए । अब त उसको कमाउ लोग्ने
थियो, घर थियो तैपनि घाँटीको पोतेको लुङ कतै छोपिएको र सिन्दूर नदेखिएको बेला नानीको बिहे भयो ? भन्ने देखा नपर्ने भने होइनन् ।
रागिनी राम्री थिई, देख्दा दृष्टिपृय लाग्ने । मानिसको हुन्छ नि कुनै अंग विशिष्ट नभए पनि समष्टिमा विशिष्ट बनौट, त्यस्तै थियो रागिनीको बनौट । त्यसमा पनि भद्दा मेकअप नहुनाले शालिन देखिन्थ्यो उसको अनुहार । स्वभावले पनि रागिनीलाई मन्दबुद्धि होइन तिक्ष्णबुद्धि नै मान्नु पर्दथ्यो । त्यसैले त आफ्नो बिहे पछि पनि उसले आफ्नो पढाइ कायम नै राखेर स्नातक हुन सकेकी थिई ।
चाँडो बिहेगर्नका नोक्सान धेरै भए पनि १।२ फाइदा पनि छन् । तीस पनि नपुगेकी रागिनीको छोरो छात्रावासमा बस्न सक्ने भइसकेको थियो भने तीस वर्षमा बिहे गर्नेहरू त्यो स्थितिमा पुग्दा उनीहरूको कपाल तीलचामले भइसकेको हुने थियो र बाथले समात्ने सम्भावनातिर पुग्ने थिए । रागिनीले त उनीहरूको त्यो उमेरमा पुग्दा त छोराको कमाइको आश गर्न थाले हुन्थ्यो ।
सम्पन्न परिवारकी त्यो सत्ताइस वर्षे आइमाईले पढाइ सकेपछि घरको भान्साभण्डार गरेर बसी रहने सम्भावना भएन । त्यसैले उसको लोग्नेले उसको समय कटाई दिन आफ्नै घर कम्पाउण्डको सडक छेउको घरमा उसका लागि आर्ट ग्यालरी बनाइदियो । त्यही आर्ट ग्यालरी नै रागिनीको पसल, कार्यशाला र विश्रामगृह पनि भयो ।
रागिनी एक्लैले स्टुडियो र ग्यालरी चलाउने सम्भावना नदेखेर उसको लोग्नेले सहयोगको निम्ति रोशनलाई नियुक्त गरी दिएको थियो । उमेरमा रागिनीकै हाराहारीमा भए पनि क्यानभासमा रंगरोगन गर्ने कलामा निकै पोख्त भएकोले ऊ रागिनीको निम्ति सहयोगी मात्र नभएर गुरु पनि बन्न पुगेको थियो । तैपनि नोकर नोकर हो भन्ने ज्ञान भएकोले रागिनीको आदेशलाई सधैं नै पालन गर्ने गर्दथ्यो र त्यसमा कुनै प्रश्न उठाउदैनथ्यो । रागिनीले कुनै राय मागे ऊ स्वामिनीप्रति सद्भाव राखेर नै राय दिन्थ्यो ।
रोशन मालिक्नीले अन्य आदेश नदिएमा, बिहान ९ बजे नै ग्यालरी आउथ्यो र बेलुका ५ बजे पछि फर्कन्थ्यो । ग्यालरी खोल्ने – बन्दगर्ने र बढार्ने पुछने काम घरको नोकरले गरे पनि बाँकी काम रोशन आफैं गर्दथ्यो । कहिले कही यसो २।४ वटा ग्राहक पनि पसी हाल्दथे र २।४ हजारको विक्री पनि भई हाल्थ्यो । रोशन पनि फुर्सदको समयमा ब्रुस र रंग लिएर क्यानभासमा चलेर केही त बनाउथ्यो र कसै न कसैले त मन पराई हाल्थ्यो ।
रागिनी आफ्नो समयमा आउथी । मालिक्नी थिई, समयको पावन्दी थिएन उसलाई । त्यसमा पनि गरिखानभन्दा स्वास्नीलाई समय कटाई दिन सम्पन्न लोग्नेले खोली दिएको पसलमा ऊ सधैं समयमा आउने जाने गरेकी भए बरु त्यो अचम्म हुने थियो ।
रागिनी आउथी, आएर आफ्नो क्यानभास अगाडि बस्दथी । रोशनले सफा गरेर बुरुस र रंग राखी दिएको हुन्थ्यो र त्यही क्यानभासमा चल्दथी । आवश्यक ठाने रोशनलाई बोलाएर आफ्नो कृतिबारे राय माग्दथी या रोशनको क्यानभासमा गएर राय दिन्थी । लगातार तीन वर्षदेखि यही रित चलिरहेको थियो । बिदाका दिन बाहेक रोशन कम नै गयल भयो र रोशनको उपस्थितिमा ऊ यति बानी परी कि रोशन नआएको दिन उसलाई ग्यालरी शुन्य लाग्दथ्यो भान्सेबजै नभएका दिनको भान्सा जस्तो ।
रागिनीको लोग्ने कहीं चालिसतिर छुनलागेको थियो तर संयमले उमेर कम नै देखाइदिन्थ्यो । सौम्य, सुशोभित, सुदर्शन र सभ्य थियो ऊ । आफू सधैं व्यस्त भए पनि रागिनीको ग्यालरीको निम्ति चित्र र सामान जुटाई दिन पछि पर्दैनथ्यो । ऊ रागिनीलाई माया गर्थ्यो र उसको हरेक खुशीको निम्ति तयार हुन्थ्यो । उसलाई रागिनीप्रति यति विश्वास थियो कि रागिनीको ग्यालरीमा रोशनको उपस्थिति एउटा सजीव चित्र जस्तो मात्रै लाग्दथ्यो उसलाई ।
त्यो दिन, बिदाको भोलिपल्ट, रोशन आएन । त्यसरी बिना जानकारी ऊ कहिले पनि गयल भएको थिएन । त्यसैले रागिनीको चासो अलि बढ्यो तर रोशनको टेलिफोन या ठेगाना थाहा थिएन उसलाई । लोग्नेसँग हुन सक्थ्यो तर त्यसको आवश्यकता पर्ला भन्ने उसले सोचेकी पनि थिइन । उसले त रोशनको घरमा को को छन् ? बिहे भएको छ कि छैन ? भन्ने जान्ने चासो र प्रयाश पनि गरेकी थिइन ।
रागिनी ग्यालरीबाट बाहिर निस्की । चौकिदार एउटी आइमाईसँग कुरा गरिरहेको थियो । रागिनीले नजिकै गएर चासो लिई र चौकिदारले भन्यो – “हजूर , मेरी भदै नानी यो । कतै काम पाइन्छ कि भनेर आएकी । अहिले यही मसँगै छ ।
केटी त्यस्तै २०।२२ वर्षकी थिई होला । रागिनीले सोची – ‘काम गर्ने मानिस त मलाई पनि चाहिएको छ । ग्यालरीको कामगर्न पनि सक्छे, फेरि भित्रै पनि त मेरो साथी हुन्छे ।’
उसले चौकिदारलाई भनी – “म कहाँ नै राख न त त्यसो भए ।”
चौकिदारले आपत्ति गर्ने कुरै भएन । उसलाई त के खोज्छस् काना ? आँखो भयो ।
बेलुका लोग्नेले केटीलाई देखेर सोधनी गर्यो । रागिनीले उसको नालीबेली दिई । सबै सुने पछि लोग्नेले भन्यो – “केटीको सट्टा केटो भएको भए हुन्थ्यो । सक्छ्यौ र तिमी यो उमेरदार केटीलाई थाम्न ? ”
रागिनीले आफ्नो दृढता देखाई । लोग्नेले भर्सक केटीलाई हटाउन रागिनीलाई सम्झायो तर रागिनीले उसको कुरा मानिन । अन्त्यमा लोग्नेले भन्यो – “हेर है । केटी राम्री पनि छ, तरुनी पनि छ ।”
लोग्नेको भनाइ सुनेर रागिनीले हाँस्दै भनी – “मलाई क्याथिरिन म्यान्स्फिल्डको ‘एक कप चिया’ की रोजमेरी भनिठानेको होला तपाईले । म त त्यो होइन । मलाई त डर पनि छैन, डाही पनि छैन ।”
लोग्नेलाई एउटी तरुनी केटीको अनावश्यक जिम्मेवारी लिने मन नभए पनि स्वास्नीको जिद्दी अगाडि उसको केही चलेन ।
भोलिपल्ट रोशन ग्यालरी आई पुग्दा त्यो केटी रागिनीको निर्देशनमा पुछपाछ गर्दै थिई । रोशन भित्र पसेको देखेर अलि रिसाए झैं गरेर रागिनीले भनी – “तिमी हिजो किन नआएको ? नआउने भए आउदिनँ है त भन्नु पर्छ ।”
रोशनले आपराधिक अनुहार लाएर भन्यो – “हेर्नोस् न । यहाँबाट घर गएकै दिन एकाएक भाइलाई सन्चो भएन । आमालाई साथ दिनै पर्योए । आउनै सकिनँ । तै दिदी आएर बसी दिइन् र आज आउन पाएँ ।”
रागिनीले संयमित भएर भनी – “म त तिमीलाई पो केही भयो कि भनेर । भाइलाई कस्तो छ त अहिले ? ”
“ठीकै छ अब त । पहिले हेरी त धेरै राम्रो छ ।” – उसले स्टुलमा बस्दै जवाफ दियो र प्रश्नात्मक दृष्टिले काम गर्दैगरेकी केटीतिर हेर्यो । “यहाँ काम गर्न ल्याएको ।” – रागिनीले उसको हेराइलाई जवाफ दिई ।
रोशनले मुस्कुराएर सोध्यो – “अब आउदैन भनेर ल्याएको हो कि के हो मेरो सट्टा ? ”
रागिनीले अलिक तुजुक देखाएर भनी – “अँ । हो । तिम्रो सट्टा । अब यसैले गर्छे तिम्रो काम ।”
रोशन केही नबोली आफ्नै काममा व्यस्त भयो । रागिनी पनि आफ्नो क्यानभासमा निहुरिई ।
निकै समय बितेपछि रागिनी रोशनको क्यानभास छेउ गएर उभिई र एक छिन पछि उसलाई सोधी – “कस्तो लाग्यो तिमीलाई ? ”
रोशनले टाउको नघुमाई सोध्यो – “के कस्तो ? ”
“यहाँ कामगर्ने मानिस थपेर ठिक गरिनँ त ? ” – उसले आँखा चल्मलाएर भनी ।
“ठीकै त होला नि।” – रोशनले त्यता त्यति ध्यान नदिएर जवाफ दियो ।
“तैपनि ? ” – रागिनीले अझै जोड गरी ।
“नभए पनि चल्ने थियो ।” – रोशनले काम गर्ने मानिसको आवश्यकतामा जोड दिएन ।
“मानिस कस्ती छ नि ? ” – रागिनीले रोशनको अनुहारमा आँखा गाडेर सोधी ।
“मानिस तरुनी त हुदै हो । झन त्यसमाथि आँखै लाग्नेगरी राम्री छ ।” – मालिक्नीले खेरेर सोधे पछि आँखा उठाएर पर काम गर्दै गरेकी केटीतिर हेरेर देखेको कुरा बिस्तारै भन्यो रोशनले ।
रागिनी नबोली गई ।
भोलिपल्ट बिहान रागिनीले चौकिदारलाई बोलाएर भनी – “बीरबहादुर , यो भदैलाई घरै लगेर बिहे गरिदेउ । यो लुगाफाटो पनि लेउ र पैसा पनि ।”
चौकिदारले भदै लिएर गयो । केटीको बारेमा कसैले खोजीनिति गरेन ।
बिराटनगर
२०५१।०९।१५
(स्रोत : Ram Dahal’s Blog)