गंगालालले बाहिरबाट आएर अगेनोको छेउमा बस्दै आगो फुक्दै गरेकी स्वास्नीलाई भन्यो – “तैले सुनिस् हैन बुढाले ‘बिहे गर्छु’ भनेको कुरा ? ”
धनमायाले जाडोले नाकको टुप्पोमा अएको पानी मजेत्रोले पुछ्दै भनी – “सुनें त्यो त तर बुढाले आँटे भने हामी के गर्न सक्छौं र ? ”
“बुढाले बिहे गरे भने हाम्रो के हाल हुन्छ नि ? त्यो पनि थाहा छ तँलाई, हैन? ” – गगालालले तुजुकसाथ प्रश्न गरयो । स्वास्नीले नबोलेर लोग्नेतिर प्रश्नात्मक दृष्टिले हेरी ।
“आजसम्म धौ धौ खान पुग्दै थियो । भोलि देखि त्यही पनि पुग्न छोड्छ।” – लोग्नेले भन्यो ।
“आफ्नो भाग लिइएर छुट्टिऊँ न त।” – स्वास्नीले राय दिई ।
“छुट्टीए आधा पाइन्छ । आधी त बुढासँगै बस्छ । फेरि बुढालाई बिहे गर्न झन् सजिलो हुन्छ । छरछिमेकी, जोरीपारीले पनि ‘आ, छोराबुहारीले छोडेर यो बुढेसकालमा एक्लो पारे, बिहे नगरेर के गरुन् त बिचरा बुढाले ?’ भनीहाल्छन् नि । जसो गरे पनि हामीलाई दोष।” – लोग्नेले भन्यो ।
“के गर्ने त त्यसोभए ? हामीलाई त कसै गरे पनि भलो छैन । बसे ताईमा उफ्रे आगोमा पो भयो त ।” – धनमायाले जवाफ दिई ।
“यसो केही अक्कल लडा न, कसरी रोक्ने हो बुढालाइ ? भनेर।” – स्वास्नीलाई राय दियो गंगालालले ।
“बुढाले कुरोखाने मानिस कसैलाई भन्न लगाउनोस् न त।” – स्वास्नीले राय दिई ।
“खै, कसलाई भन्न लगाउने ? फेरि पनि बुढाले मानेनन् भने ? ” – लोग्नेले शङ्का उठायो ।
“त्यो बेला देखा जाएगा।” – स्वास्नीले कुरो टुंग्याई ।
स्वास्नीको भनाइ गंगालाललाई चित्त बुझ्यो र भन्यो – “अरुले भनेको त के सुन्लान् बुढाले ? तै मीतबाले भनेको चैं मानिहाल्छन् कि !”
स्वास्नीले पनि सहमती जनाएकीले ऊ मीतबाबुको घरतिर लाग्यो ।
गंगालाल ३१ वर्षमा हिड्दै थियो । उसकी स्वास्नी धनमाया लोग्नेभन्दा तीन वर्ष मात्रै कान्छी थिई र लोग्नेले ऊ सँग जे कुरा पनि सल्लाह लिन्थ्येा । हुनत गंगालाललाई मन नपराउनेहरू ‘यो गंगे स्वास्नीको मुतमा बग्छ, स्वास्नीले मुत् भने मुत्छ , हग् भने हग्छ’ भन्थे तापनि सल्लाह लिने दाजुभाइ, दिदीबहिनी नभएकाले कि बाबुसँग कि स्वास्नीसँग सल्लाह लिनै पर्थ्यो उसले । आमा हुदा पनि आमा साह्रै सोझी भएकीले उनीबाट कुनै सल्लाह पाउने आशा नै हुन्नथ्यो । घर भित्रको कुरामा पनि बुढोले समेत बरु बुहारीको कुरा सुन्दथ्यो बुढीको भन्दा । अरु त अरु छोरालाई पनि ‘यो उसकी आमाको छोरो, आमा जस्तै ग्वाँजे छ, बुहारी धेरै जान्दछे’ भनेर केही पर्दा बुहारीको नै राय माग्दथ्यो । हुन पनि छोरो सोझो थियो बौलाहा खालको सोझो । रिस उठे पछि र आफूलाई चित्त नबुझे पछि ठीकबेठीक छुट्याउन नसकेर आफ्नो, अर्काको ज्यान लिएको पनि पत्ता नपाउने । बुढी मरेको वर्ष दिन सम्म त बुढो केही बोलेन । दोश्रो वर्षको आधाउधीमा उसले आफ्नो बिहेको मनशाय छोराबुहारी सामु राखेको थियो । उसले भनेको थियो – “एक दिन होइन, दुई दिन होइन । जिन्दगीभरको कुरा हो । सद्दे हुन्जेल त सजिलै छ । विरामी भए पछि त तिमीहरूलाई पनि बुढाको हेरचाह गर्न गाहारो म आफूलाई पनि मरूँ कि बाँचूँ हुने । बरु अहिले नै बिहे गरूँ कि ? कसो भन्छौ तिमीहरू ? ”
छोरो बाबुको कुरो सुन्ने बित्तिकै रन्थनियो । ऊसँग धैर्यसाथ कुरा सुनेर समाधान गर्ने क्षमता थिएन । त्यो देखेर बुहारीले बिचैमा भनी – “अब बालाई हामीले के भन्नु र ? जस्तो राम्रो हुन्छ त्यस्तै गर्नु पर्छ नै ।”
स्विकार, नकार केही नजनाई दिइएको बुहारीको जवाफको बुढाले कुनै अर्थ निकाल्न सकेन तर त्यो समयमा छोराबुहारीलाई आफ्नो चाहना सुनाउनु थियो । त्यो सुनाइहालेकोले त्यसमा अरु थप गर्न उचित ठानेन । बिहेको निम्ति उनीहरूलाई तयार पार्नु त लामो कुरा थियो ।
बुढाको सम्पत्ति ठूलो थिएन । आफैले कमाइ गरेर दुई बाली लगाउदा पनि ३०।३५ मुरी अन्न मरेर भित्रिन सक्थ्यो । बारीको तुलफूल, सागपात, बाख्रोपाठोले वर्ष दिन बलैले तानिन्थ्यो । तीन वटा नातिनातिनी समेत गरेर खाने मूख पनि पर्याप्त थिए । सानो नै पनि पाँच वर्षको भइसकेको थियो एक भाग खान सक्ने । तर त्यही सम्पत्ति पनि विभाजित हुदा गंगालालका पाँच पेट पालिन गाहारो थियो र त्यसले ऊ जस्तो सोझो मानिसलाई उत्तेजित बनाउनु स्वभाविक थियो । स्वास्नीले सल्लाहदिने बित्तिकै गंगालाल मीतबाबु कहाँ हानिनुको कारण पनि त्यही थियो ।
बेलुका गंगालालले स्वास्नीलाई भन्यो – “मीतबाले मानेनन् बालाई सम्झाउन ।”
धनमायाले दीयो मनि बसेर तुन्न लागेको कपडाबाट आँखा नहटाई सोधी – “किन के भने र ? ”
उसले जवाफ दियो – “मीतबा बुढा त भन्छन् – ‘तँ बाको कुरा बुझी दे न, गंगा । आमा हुदा कस्तो हुनुहुन्थ्यो र अहिले कस्तो हुनुभएको छ स्याहार नपुगे जस्तो। मैले भनें – ‘अब आमा हुदा जस्तो त कहाँ हुन्छ त ? हुनेसम्म हेरचाह मैले, बुहारीले गरेकैछौं’। बुढाले भने – ‘गरेकाछौ तिमीहरूले गरेकाछौ आफूले गर्नसक्ने जति, गर्नहुने जति । बा पनि त्यसै भन्नुहुन्छ । दोष दिनुभएको छैन बाले पनि, सह्रानी नै गर्नहुन्छ तिमीहरूको तर स्वास्नीले गर्नुपर्ने काम छोराबुहारीले गरेर कहाँ हुन्छ र ? गर्न पो कहाँ सक्छन् र ? त्यसो पो त कुरा त।’ अनि त मैले पनि बुझी हालेँ बुढाले भन्दैनन् भनेर । अनि ‘अहिले जान्छु त म” भनेर फर्केर आएँ ।””
“मलाई त ठीकै हो कि जस्तो लाग्यो मीतबाका कुरा पनि । बालाई साथी चाहिएको हो।” – धनमायाले भनी ।
“साथी चाहिए हामी छैनौ र ? ” – गगालाल जंगियो ।
“बाको उमेर नै कति भएको छ र ? पचास पुग्न पनि अझ दुई वर्ष बाँकी नै छ । गैराघरबाका छोरा, कति ? अठसठ्ठी वर्षमा जन्मिएका होइनन् ? गैराघर बा अझै ठमठम गर्दै वल्लो पल्लो गाउँ गर्दै हुनुहुन्छ।” – धनमायाले राय दिई ।
“गैराघरबाको त के ? औलाधौला धन छ । छोरो थिएनन्, बिहे गरे । तँ पनि बुढाकै कुरामा सही थाप्छेस् । हैन ? यो सम्पत्ति फ्याक्क दुई फ्याक पारेर दुई भाग लगाएपछि खान नपाउदा थाहा पाउलिस्।”” – गगालाल रिसायो ।
स्वास्नीले तुरुन्तै आफ्नो भुल सुधार्न भनी – “हैन, मैले त मीतबाका कुराका बारेमा पो भनेकी त । बाको बिहे गर्ने कुरा त मलाई पनि कहाँ चित्त बुझेको छ र ? तर रोक्ने पो कसरी ? यसो एकपल्ट बालाई नै सम्झाउनोस् न तपाईले नै । त्यसो गर्दा भइहाल्छ कि ? ”
“कहिले सुनेका थिए मेरा कुरा र सुन्छन् अब ? ” – लोग्ने झर्कियो ।
“एक पल्ट कोशिश गर्दैमा केही बिग्रदैन । ‘राजा र बाबुका अगाडिा साँचो कुरा राखेपछि न्याय पाइन्छ’ भन्छन् । के भयो त भन्दैमा ? ” – स्वास्नीले कडा स्वरमा भनी ।
बाबुछोराको ठ्याक मिलेको धनमायाले कहिले पनि देखेकी थिइन । बाबुले ‘पाङ्रो” भन्यो भने छोरो ‘बल्ड्याङ्रो भन्न पुग्थ्यो । सानेा छदा आमाले मध्यस्थता गर्थी रे । कतिपय स्थितिमा धनमायाले नै मध्यस्थता गर्नु परेको थियो । आमा मरे पछि त धनमायालाई यस्तो मध्यस्थताको स्थिति बराबर आइनैरहन्थ्यो । त्यसैले बाबुछोराका कुराले समस्या समाधान हुने त उसले देखेकी थिइन तैपनि ‘बुहारी भन्दा छोरो नजिक हुनुपर्थ्यो, माया उसको नै बढी हुनुपर्थ्यो’ भनेर गंगालाललाई बाबु कहाँ पठाएकी थिई । दोश्रो, बाबुको बिहेको पक्षमा छोरो छैन भन्ने बाबुले जान्नु पनि आवश्यक थियो र त्यो कुरा भन्न छोरो नै सबभन्दा बढी उपयुक्त हुन्थ्यो ।
गंगालालको चिन्ता स्वाभाविक थियो तर समस्याको समाधान के त ? धनमायाले पहिल्याउन सकेकी थिइन । त्यो समस्या सजिलो पनि थिएन । छोराको समस्या जति वास्तविक थियो बाबुको पनि त्यत्तिकै थियो । खाने लाउने जीविका छोराको अहम् सवाल थियो भने बाबुलाई स्वास्नी ल्याउनु अत्यावश्यक । धनमायाले दुवैका वाध्यता बुझेकी थिई तर ऊसँग समयलाई बग्न दिनु र घटनालाई घट्न दिनु बाहेक अर्को विकल्प भएन ।
स्वास्नीको भनाइ मानेर गंगालाल बाबु कहाँ गयो र आफ्नो राय सुनायो । हो, कसरी सुनायो ? त्यो कुरा अलग्गै हो । केही गानगुन पछि नै बाबुको प्रचण्ड स्वर सुनियो – “मैले जन्माएको छुसीले मलाई तर्साउन खोज्ने ! जा, के नाप्छस् नाप् । म मेरो खुशी गर्छु । मलाई धम्क्याउने तँ ? जा, निस्की यो मेरो घरबाट । स्वास्नीछोराछोरी बोकेर निस्की हाल् ।”
गंगालाल पनि बम्किदै थियो । धनमनया गएर कराई – “किन कराउनु भएको बासँग ? आफूलाई माया गर्ने, आफ्नो भलो चिताउनेसँग चैं झगडा गर्नु पर्ने किन नि ? हिडनोस् उता ।”
गंगालाल धनमाया द्वारा ठेलिदैगयो । पछि धनमायाले ससुरालाई भनी – “के गर्नु ? आफ्ना छोराको व्यहोरा बालाई थाहा भएकै कुरा हो । बाले आफू खुशी गरे पनि नातिनातिनीको मुख हेरेर रिसाइदिनु भएन । अरु त म के भनूँ ? ”
बुढोले पनि सहानुभूतिसाथ भन्यो – “तिमीहरूसित केको रिस मेरो ? त्यही बौलाहासँग पनि रिसाएर के गर्नु ? ‘ज्यान जाला आफूखुशी गर्दा’ भन्यो र पो रिस पनि उठ्यो, चित्त पनि दुख्यो ।”
बुढोको भनाइमा पीडा भएको धनमायाले अनुभव गरी ।
छोरोले सोच्यो – ‘बाबु तर्सिए’ । लामो चिन्तन नभएका मानिस कुनै कुराको प्रभाव तत्कालै मात्र देख्दछन् ।
‘मैले तर्साएँ बाबुलाई ।’ – भनी ठान्यो उसले तर बुहारीले बुझेकी थिई – छोराको धम्कीले भलै बाबुको मनमा चिसो पस्ला तर आफ्नो निर्णय त्यति सजिलै छोड्दैनन् । छोरोलाई भन्नु पर्ने कुरा बाबु सधैं बुहारीमार्फत नै दिने गर्दथ्यो । उसले त ससुराका तर्फबाट लिइने कारवाहीको निम्ति तयार भएर बस्नु परेको थियो ।
नभन्दै एक दिन गंगालाल गोठ, बेंसी कही गएको बेला ससुराले बुहारीलाई भन्यो – “बुहारी ! गंगे छुट्टिन्छ भने म अंश दिइदिन्छु । सोधी हेर उसलाई ।”
धनमायाले ससुरातिर पुलुक्क हेरेर भनी – “बालाई के ढाँटनु ? यही छुट्टीनु पर्छ भन्ने पीरले हो वहाँलाई त्यस्तो बनाएको । अब बाको कुरा मैले के सुनाउनु ? ”
बुढोले जिल्ल परेर भन्यो – “केको पिर छुट्टीनु पर्दा ? सबैका छोरा छुट्टिन्छन् । त्यसमा पनि म त झन् उन्ननइस वर्षमा छुट्टिएको । गंगे त ३१ वर्षको भइसक्यो ।”
“अंश लिएर छुट्टिएपछि त खान पनि पुग्दैन । त्यो त बालाई थाहा छदैछ । जवाँमर्दले भए भन्ने थियो – ‘अंशले नपुगे अर्काको बनी गरेर भए पनि स्वास्नी, छोराछोरीलाई खुवाउछु ।’ तर वहाँको त आत्मा नै कमजोर छ, बुध्दि नै छोटो छ । सधैं बाको भरमा बस्नु भयो र आज बाको आश्रय छुट्न लाग्दा आत्तिन थाल्नु भएको छ।” – बुहारीले आफ्नो कुरा सुनाई ।
“मेरो खुशी पनि गर्न नदिने, छुट्टिन पनि नछुटि्टने । अब कसरी मिल्छ त कुरो ? ” – बुढो अलि रन्कियो ।
बुहारीले एकछिन सोचेर ससुराको मुख हेरेर भनी – “बा ! यो समस्याको कहीं मध्यमार्गी समाधान छैन ? ”
“कस्तो मध्यमार्गी समाधान भनेको ? ” – ससुरोले बुहारीतिर हेरेर सोध्यो ।
“त्यही साप पनि मरोस्, लठ्ठी पनि नभाँचियोस् । छोराको डर पनि मेटियोस्, बाबुको आवश्यकता पनि पुरा होस्।” – बुहारीले अझै पनि छोटकरीमा नै कुरा राखी ।
“मैले बुझनँ, बुहारी, तेरो कुरा।” – ससुरो अझै पनि रनभुल्ल थियो ।
बुहारीले बिस्तारै कुरा थाली – “पुस्ता पुस्ता अझ सृष्टिदेखि चलेको कुरा हो । आमाबाबुले छोरा जन्माउछन्, हुर्काउछन् र फेरि बुहारीको जिम्मा लगाउछन् । ‘ला, गरी खा’ भनेर आफ्नो सम्पत्ति भाग लगाई दिन्छन् । छोरा त्यही बाबुआमाले दिएको खान्छन् । सके बढाउछन्, नसके सिध्याउछन् । छोराले पनि बुढेसकालमा आमाबाबुलाई आफूसँग भएको दिएर सुखी राख्न खोज्छन् । मातृभक्ति, पितृभक्ति पनि यही होला ।”
“आफूसँग छैन भने नि ? ” – बुढोले प्रश्न गर्योक ।
“छैन भने पनि मागेर, चोरेर भए पनि जुटाई दिनु पर्छ बाबुआमालाई । यो छोराको धर्म हो । नसक्दाको त ओखती छैन । आमाबाबुले पनि नपाइने कुरा खोजेर अत्तो थाप्नु हुदैन।” – बुहारीले व्याख्या गरी ।
“मैले अत्तो थापेको छैन । भएको कुरा दिन्छु भनेकै छु।” – बुढोले घुर्की देखायो ।
धनमायाले लामो सास फेरेर भनी – “परिवारमा जहिले पनि दुई चिज,सम्पत्ति र आइमाई, अंश लाग्दै आएका हुन् । सम्पत्ति जहिले पनि बाबुले या छोरोले मात्रै लिन खोजे कलह उब्जन्छ र कालले मात्र त्यसको टुंगो लगाइदिन्छ । घरकी आइमाई पनि सधैं लोग्ने र छोरामा बाँडिएर बसेकी हुन्छे । लोग्नेकी मात्र हुन खोजी भने छोरो बिग्रन्छ, छोराकी मात्र हुन खोजी भने लोग्ने हिडी दिन्छ । त्यसैले ऊ छोरालाई दुध पनि खुवाउछे र लोग्नेको इच्छा पनि पुरा गरी दिन्छे । छोरो ठूलो नहुन्जेल बाबुको प्रत्येक प्रहारमा आमा बिचमा छिरेर डडाल्नो थापिदिन्छे र छोराको उमेर पुगेपछि आफ्नो छोरो बुहारी भन्ने त्यो अर्की आइमाईलाई सुम्पी दिन्छे ।”
बुहारीको त्यो लामो भनाइ सुने पछि ससुरोले मनले उसको बुद्धिको सह्रानी गर्योी र मुखले भन्यो – “खै, तेरो भनाइ नै लामेा छ टुंगोमा पुग्नै गाहारो ।”
धनमायाले आफ्ना कुराले ससुरोमा प्रभाव परेको बुझी र आफ्नो भनाइको डोरी कस्न थाली – “असजिलो कुराको व्याख्या पनि असजिलो हुन्छ र त्यसलाई भूमिका पनि लामो चाहिन्छ । यो घरको सम्पत्ति विभाजित भयो भने तपाईका छोरा बौलाउनु हुन्छ । यो मैले बुझेको कुरा हो र वहाँ बौलाए पछि के गर्न सक्नुहुन्छ ? त्यो मभन्दा तपाईलाई बढी थाहा छ । त्यस पछि त धन पनि सिद्धिन्छ, घर पनि डुब्छ । सम्पत्ति विभाजनको परिणाम यही हो ।”
“मेरो हेरचाह, मेरो इच्छापूर्ति गर्नु पर्दैन त छोरोले ? के म स्वास्नी ल्याउनै नहुने बुढो भई सकें ? ” – ससुरोले आफ्नो कुरा राख्यो ।
बुहारीले ससुरोको कुरा र्भैमा खस्न नपाउदै टपक्क टिपेर जवाफ दिई – “पर्छ, अवश्य पर्छ । त्यो छोराकेा कर्तव्य हो तर छोराले सधैं गर्छन् भन्ने छैन । त्यसैले त बाबुछोराका बिचमा विवाद उठ्छ, झगडा चल्छ । आमा हुदा त समस्या समाधान आमाहरूले गर्छन् तर यो घरमा आमा हुनुहुन्न । भएकी आइमाई केवल म मात्रै हुँ । विदुर ससुरोलाई सासू खोजिदिनुपर्थ्यो मैले तर लोग्नेले अस्विकार गरे पछि मैले खोजी दिन मिलेन । कति विवश छ स्वास्नीमानिस ? लोग्नेको स्विकृति बिना त ऊ बुहारी पनि भित्र्याउन सक्दिन भने सासूको त कुरै छोडिदिऊँ ।”
“त्यो त फेरि कुरो शुरूमा नै आई हाल्यो नि।” – ससुरोले खिस्सी गर्दै भन्यो ।
बुहारीले ससुरोको भनाइ वास्ता नराखी भन्दै गई – “सम्पत्ति विभाजनको परिणाम घातक हुने भए पछि आइमाई विभाजन आवश्यक भई सक्यो । त्यो विभाजन आमाको जस्तो अवश्य पनि हुन सक्दैन तर ‘न मामा भन्दा कानु मामा निको’ भन्छन्, त्यस्तो चाहीं हुन्छ । म तपाईको सेवसुश्रुषा गरिदिन्छु ।”
“स्वास्नीको जस्तो सेवासुश्रुषा कहाँ हुन्छ बुहारीबाट ? ” – ससुरोले स्वतः आपत्ति जनायो ।
“स्वास्नीको जस्तो नहोला तर बुहारीको जस्तो पनि नभएर एउटी आइमाईको जस्तो त हुन सक्छ । तर यसमा मूल कुरो, सबै कुरा बिर्सेर तपाईले यसलाई स्विकार्न सक्नु पर्छ । यो घर बिग्रनबाट जोगाउन तपाईको पहिलो जिम्मेवारी हो।” – बुहारीले दह्रो अडान लिई ।
“ल, मान्छु तैंले भनेको कुरा।” – ससुरोले बुहारीको तर्कसँग हार्दै भन्यो ।
“कुनै दिन यो घरमा बुहारीको जरुरत पर्यो , तपाईहरूले, अझ आमाले, मलाई ल्याउनु भयो । सन्तान वृद्धिको निम्ति यो स्वाभाविक नियम थियो तर अहिले यो घरमा बाबुको निम्ति एउटी आइमाईको जरुरत पर्योो, सन्तानवृद्धिको निम्ति त अवश्य पनि होइन।” – बुहारीले ससुरोतिर हेरी ।
“हो त्यो पनि।” – ससुरोले सत्य बोल्यो ।
बुहारी दृढ स्वरमा भन्दै गई – “त्यसोभए आजको यो विध्वंशकारी समस्याको समाधानको एक मात्र उपायको निम्ति अबदेखि म, सबै घरकी मूल आइमाईले गरे जस्तै तर उल्टो अर्थमा र कर्तव्य र वाध्यता दुवै कारणले, अंशको रुपमा आफूलाई दुई चिरामा विभाजित गरी दिन्छु । मूलतः म यो घरकी बुहारी रहनेछु तर मेरो लोग्नेको अनुपस्थितिमा यो घरकी आमामा परिणत हुनेछु अथवा तपाईकी स्वास्नी बनी दिनेछु । यसरी तपाईहरूको समस्या समाधान गरे पछि तपाईमाथिको मेरो अधिकार बुहारीको होइन, सधैं स्वास्नीको हुनेछ । त्यो द्वैध भूमिका म सधैं गर्नेछु । अरू सेवासुश्रुषा त मैले यसै पनि गर्नै पर्थ्यो । ल भन्नोस् – यसलाई आजको समस्याको समाधान मानूँ म ? ”
के भन्न सक्थ्यो बिचरो ससुरो ! उसले बिहे गर्ने विचार नै छोडिदियो ।
बिराटनगर ।
२०५१।९।२०
(स्रोत : Ram Dahal’s Blog)