— कति बज्यो पियारी ?
— सात बजिसक्यो । मान्छेहरू आफ्नाआफ्ना काममा जुटिसके । तिमी अझै ओच्छ्यानमै बसेर समय सोध्दैछौ । ओच्छ्यानमै घाम पसिसकेपछि केको समय सोधि राख्न पर्छ ?
— नेभर माइण्ड पियारी ! समय मभन्दा अगाडि गएको छैन । हिजो सुत्ने बेलामा समयलाई मैले एक घण्टा पछाडि छोडेर सुतेथे ।
— तिमी छ घण्टा सुतिसक्यौ । हिसाबचाहिँ एक घण्टाको मात्र खोज्दैछौ । तिम्रै हिसाबमा समय तिमीभन्दा पाँचघण्टा अगाडि बढिसक्यो ।
— सरी पियारी, मैले समयका गतिको हिसाबमा त्यो भनेको होइन । मेरो गतिको हिसाबमा भनेको हुँ । हिजो म एकघण्टा ढिला सुतेथेँ । आज एकघण्टा ढिला उठ्छु । म अझै एकघण्टा अगाडि छु । म सुतेँ ।
— यो कस्तो प्रवृत्ति हो ? समयलाई पनि क्षति र पूर्तिको हिसाबमा जोख्ने ? समय त आफ्नो रफ्तारमा गतिवान् छ । तिमी छघण्टासम्म सुतुञ्जेल ऊ छघण्टा अगाडि परिसक्यो ।
— होइन पियारी तिमी घडीका कुरा गर्दैछौ । मान्छे वा प्राणी घडी होइनन् ।
— माफ गर मिस्टर ! म यान्त्रिक घडीको कुरा गर्दैछैन । मिसिन कुनै पनि बेला बिग्रेर अल्मलिन सक्छ । म दिन–रात र यिनका गतिका कुरा गर्दैछु जो निरन्तर गतिवान् छन् ।
— कुरा त्यही हो पियारी ! तिमी निर्जीव पिण्डहरूको कुरा गर्दैछौ अर्थात चन्द्र, सूर्य र पृथ्वीका गतिको । प्राणीहरू ती निर्जीव पिण्डहरूभन्दा अलग छन् । बाँच्न पर्ने आवश्यकताका कारण उनका प्रकरण पूर्णतः अलग छन् । दाँज्न मिल्दैन । प्राणीहरूको समय त्यतिबेला गतिवान् हुन्छन् जुनबेला उनीहरूको शरीरले गति पक्रन्छन् । ती गति निर्जीव पिण्डहरूका जस्ता एकसमान निरन्तरित हुन्नन् । जति प्राणीहरू जाग्रत हुन्छन् र जतिजति उनका चेतनाले गति पक्रन्छ उति नै प्राणीहरूका समयले पनि गति पक्रन्छ । यसै मानेमा मान्छेले तिम्रा घडीका समयलाई धेरै पछाडि छाडेका हुन्छन् ।
— तिमी आफ्नो चेतनासँग समयलाई हजार वर्षपछाडि छोड तर तिमी निदाएकै क्षण त्यहीँबाट तिमीलाई समयले छोडेर अगाडि बढ्न लाग्दछ । तिमी निदाउँदैमा समय रोकिन्न । दशवर्ष सुतेर हेर तिमी उठ्दा दशवर्ष बुढो भइसकेका हुनेछौ । प्राणी भएकै हिसाबमा ती व्यतितिबाट नष्ट हुने समयको तिम्रो जीवनकालको निमित्त महत्ता छ । यो नभूल कि तिमी मृत्युको सामु दशवर्ष नजिकिइसकेका हुनेछौ । यस मानेमा म निर्जीव पिण्डहरूका मात्र कुरा गर्दैछैन । तिमै्र शरीरले व्यतित गर्ने समयको पनि कुरा गर्दैछु ।
— यसैउसै हामी प्राणीहरू मृत्युतिर नै अग्रसर हुँदै जान्छौँ । शरीरले आफ्नो काल जाग्रत वा अजाग्रत कुनै पनि बेलामा व्यतित गर्दै नै हुनेछ । उसँग कहीँ पनि हाम्रो प्रतिस्पर्धा छैन । उसँग प्रतिस्पर्धा गरेर हामीले केही आर्जन गर्नु छैन । मैले त यति नै जानेको छु– शरीरले यसको आयुभरिका समयलाई ओगट्छ । यसको आयुलाई तब नै लम्ब्याउन सक्षम हुनेछौँ जब शरीर स्वस्थ्य रहन्छ । पियारी त्यसै स्वास्थ्यको दुहाइ दिँदैछु ? मेरो शरीरलाई चाहिने आराम वा निन्द्रा पुगेन भने मान मेरो शरीरले छिटो–छिटो घडी बजाउन लाग्ने छ । जसको अर्थ हुन्छ– म छिटो–छिटो मृत्युतिर अग्रसर भइरहेको हुनेछु ।
— यो त हदै स्वार्थी कुरा गर्दै छौ । तिम्रा पछाडि तिम्रा आश्रयमा बाँच्नेहरूका एउटा पूरै पीँढी नै छ । तिमीले तिम्रा लागिमात्र बाँच्नु छैन । आफ्ना उत्तरदायित्व भुल्दै छौ ।
— म बाँचे भने ती उत्तरदायित्वका केही अर्थ होलान् मेरा लागि । अर्को हिसाबबाट पनि सोच धेरै बाँचे भने धेरै उत्तरदायित्व बहन गर्ने क्षमता होलान् मसँग । नत्र यसरी सोच मान्छे उत्तरदायित्वका लागि बाँच्दैनन् । मान्छेहरूका लागि उत्तरदायित्वहरू हुन्छन् । यसै मानेमा सोँच मान्छे समयको लागि बाँच्दैनन् । मान्छेका लागि समय हुन्छन् । समयको लागि मान्छे शहिद हुन्नन् । आफ्नालागि समयलाई मार्दछन् । मान– जब मान्छे सुत्छन्, समय सुत्दछ । जब मान्छे मर्दछ, त्यसै क्षण समय पनि मर्दछ । त्यो यस मानेमा कि—मान्छेबिनाको समयले केही महत्व राख्दैन । जुनबेला यस पृथ्वीमा मान्छे नै थिएन त्योबेला पृथ्वीले आफ्नो गतिबाट परिणत गरेको समयले केही महत्व राखेन । हेर जुन बेलादेखि मान्छे जाग्रत हुन लाग्यो । त्यस बेलादेखिनै उसले समयलाई दास बनाउन लाग्यो । आज समयको कुन अवस्था छ ? तिमीलाई थाहै छ । मान्छेले आफ्नो वैज्ञानिक प्रविधिहरूद्वारा समयलाई संकुचित गर्दै लाँदै छ । पृथ्वीले चौबीस घण्टामा आफू वरिपरि चक्कर लाउँदा हामी यसै पृथ्वीका सतहमा सुत्दै नसुती हिँड्दा पचास किलोमिटर पनि हिँड्न सक्तैनथ्यौँ भने आज आफ्नो वैज्ञानिक करामतका कारणले एकै घण्टाभन्दा कम समयमा पृथ्वीलाई एक चक्कर घुम्न हामी मान्छेहरू सक्षम भएका छौँ । यसरी पृथ्वीको एक दिन र एक रात मान्छेको लागि एक घण्टाभन्दा पनि कम भएको छ । तिमीले छ घण्टाको प्रश्न उठाएकी छौ । भन्ने हो भने आज त्यो छ घण्टा मान्छेको लागि आधा घण्टा मात्र भएको छ ।
पियारी आज प्रविधिले सम्पन्न जुन समयको तिमी दास बन्न गइरहेकी छौ त्यो समय मानव निर्मित प्रविधिले सिर्जेको समय हो । यसै मानेमा यो समय मान्छेको पोथीसमय हो । कहिल्यै नभूल कि मान्छेको छाप समयमा छ । मलाई थाहा छ तिमी यसै समायानुकूल परिवर्तित हुने क्रममा छौ । कहिल्यै सोचिनौ कि त्यो समय मान्छेले सिर्जेको समय हो । कहिल्यै सोचिनौ कि त्यसलाई मान्छेले गतिवान बनाएर ल्याउँदैछ । सधैँ त्यसलाई तिमीले स्वचालित वा दैवीक्रम मान्यौ र त्यसै अनुरूप निरन्तरित हुने चेष्टामा लाग्यौ । यस हिसाबमा पियारी तिमी समयभन्दा पछाडि छ्यौ । समयको पोथी छौ । पियारी यहाँनिरै तिमी र ममा भिन्नता आयो । म समयलाई मेरो अनुकूल गर्ने क्रममा छु । यसै हिसाबमा म समयभन्दा अगाडि छु । जति सुते पनि अगाडि रहने छु । मेरो दाससमय मेरो जागरणको प्रतिक्षामा मेरो खुट्टा मुनि निदाइरह्यो र निदाइरहेको हुनेछ । त्यसैले पियारी मलाई मेरो शरीरले मागेको निन्द्राभरि मनग्गे सुत्न देऊ । पियारी म सुतेँ ।
२०४६ पौष १५चिन्तनबाट पुनर्मुद्रित
(स्रोत : Aswikrit.com )