मेरो प्यारो देवर बाबुकै, म दुःखी भाउजुको धेरै सम्झना छ । उपरान्त कुरा भेटमा । हालका बारेलाई यहाँ सबैलाई निको, आरामै छ । तहाँ आराम अवोस् भनी श्री पशुपतिनाथसँग प्रार्थना छ ।
उपरान्त म्याटेरीबाट आईए पढ्न गएकौ बीस महिना ठ्याक्कै भइसक्यो, बाबु एकैपटक पनि आउनु भएन
। किन त्यसरी भाउजुलाई माया मार्नुभएको ? ल भाउजु त बिरानै भयो, दाजु त होइसिन्छ कि ! ल है बाबु, यसपाली त दशैँमा आउनै पर्छ है । हामी भर परेका छौँ । यहाँ अब बाबुको बिहे गरिदिने रे । दाजुले केटी हेरिसक्नु भा’छ, पल्लो गाउँ मुखेनीको छोरी । एउटै मात्र छे नी ! ओहो बाबै कति हलक्क बढेकी ? बाबुलाई साँच्चै मिल्दैन । त्यो कहाँ कि मात्तेकी तरुनी, हाम्रो बाबु भने केटाकेटी नै । मैले बाबुको दाजुलाई भनेकी नै “जुँगा फुल्न आँटिसकेको छ केटाकेटी नै भन्छेस्” भनी मर्जी भो । के भन्ने भरेभन्दा आफ्नै जुँगा बाह्रवटा सिवाय उम्¥या छैन । क्या नि बाबु ! दुई वर्षअघि जति जुँगा थिए अझै त्यतिका त्यति नै । मैले पनि के मर्जी भा’ हिजोसम्मै भने पनि हुन्छ मेरो काखमा हुक्र्या म जान्दिनँ र ? बिहे गर्ने ता बेला भा’ छैन भनेँ । तैपनि के र ? आइमाईले सधैँ हार्नै त पर्छ नि । मलाई थाहा छैन र ? बाबु बिहेको कुरा गर्दा कति लजाउनुहुन्छ । त्यस्तो मान्छेको जुँगा फुल्नु रे । भरेभन्दा जुँगा पनि उम्¥या नहोला । नउम्¥या त के भन्ने नै भरे नदेख्या दुईवर्ष भइसक्यो । ऊ बेलै रेखी बस्या हो । तैपनि त फुल्नु भन्या अर्कै कुरा हो ।
साँच्चै हगि बाबु ! मैले एकचोटी बाबुलाई जुँगा काट्नु, काटेपछि जुँगा बढ्छ, जुँगा भएपछि लोग्नेछोरो राम्रो देखिन्छ भनी फकाएर कैला जुँगा काटिदिएँथे । ओठ अलिकति काटिदिँदा तपाईं “दाजुलाई भनिदिन्छु” भन्दै कति रुनु भा’थ्यो र हलुवा घुस दिएको ऐले झैँ लाग्छ । म सधैँ सम्झदै मरिमरि हाँस्छु । बाबु पनि त अहिले सम्झदै हाँस्नुहुन्छ होला नि ? अब त के र ! झ्यापझ्यापती उम्¥या होलान् । दिनहुँ काट्न पर्दो हो, हैन ? लेख्नु ल बाबु ! मलाई जुँगा दारीको कुरा एकदमै मज्जा लाग्छ ।
खै हामीलाई भने बाबुकै रातो दिन सम्झना । बाबु भने एउटा चिट्ठी पनि लेख्ने हैन । दाजुलाई नै लेख्दा पनि त त्यसैमा भाउजुलाई पनि लेखे हुन्छ नि ! अब भइहाल्यो । मलाई बेग्लै चिट्ठी लेख्नु ल ! मेरा बाबु ! बेग्लै खाममा क्या । के हुन्छ र ? कसले के भन्न पाउँछ र ! देवरले भाउजुलाई लेख्न पाइन्न र ? लेख्नु ल मेरा राजा, नत्र म सधैँंलाई रिसाउँछु ।
चिट्ठीमा बाबुको फोटो पनि है ? फोटो खिच्दा जुँगा अलि लामो पारेर खिच्नु ल ! बरू दुईचार दिन ढिलै भए पनि होस् । मलाई बाबुको जुँगा खुब हेर्न मन लागेको छ । कस्तो हुन्छ कोनि ! बाबुको कलिलो अनुहारमा खुब सुहाउँदो हो । ल है बाबु नबिर्सिकन नी ! बरू मैले पूजा गरेको हनुमानको फोटो जस्तै नाङ्गै खिच्नु ल ! छाती खुट्टाका रौँ पनि प्रष्टै आवस् । तपाईं पनि हनुमान जस्तै आए झन मज्जा ।
साँच्चै ‘त्याँ’ काशीमा त एक्लै हनुमानको फोटो पनि पाइन्छ रे, उनको छातीमा रामचन्द्र भगवान् पनि छन् रे । उनको पूजा गर्दा रामचन्द्रको पनि पूजा हुने । म त हनुमान नै ठूलो देउता जस्तो लाग्छ । बाँदर भए पनि उनी वायुका अवतार हुन् । उनले नै समुन्द्र पार गरेर सीताको पत्तो लाएथे । हनुमानको फोटो नबिर्सिकन ल्याइदिनु है बाबु !
तल्लो घरे लाहुरेले भन्थ्यो– “कपाल लामो हुने औषधी पाइन्छ रे ।” एक शिशी त्यो ल्याइदिनु ल बाबु ! तपाईंको दाईलाई । लोग्नेमान्छेलाई दाह्री–जुँगा नभएको पटक्कै सुहाउँदैन ।
यसपालि दाजुलाई नभनी जेठाको हातबाट दुईसय रुपियाँ पठाएकी छु । बिचरा डेढ सय रुपियाँले त्यस्तो शहरमा, त्यै पनि अर्काको देशमा कसरी पुग्दो हो ! मैले बेसी पठाउनुभन्दा त बेसी खर्च गर्ने बानी बस्छ रे ! बरा ! लाऊँ खाऊँ भन्ने उमेरमा पीर पार्न हुन्न भनी पठाएकी छु । दाजुलाई यो कुरा थाहा नहोस् नि, नत्र फेरि मैले त नबसे हुन्छ ।
यहाँ बाबुको भतिजोलाई मैले बाआमा भन्नु भन्दाअघि नै ‘काका’ भन्न सिकाएकी छु । अब त निक्कै कुरो बुझ्छ । दुईवर्ष पनि त पुग्न आँट्यो नि । उसलाई त के जसको फोटो देखे पनि ‘काका’ कि ‘काका’ छ छ । जो ठिटो देखे पनि त्यही चाला ‘काका’ कि ‘काका’ । उसलाई जुँगा पनि खुब मन पर्छ । थाहा छ ? एकपल्ट के भो ! के भयो भने नि, ऊ जैले पनि गाजलको डिबिया भेट्यो कि हात चोपेर आँखामा धसिहाल्ने, कति रोकेँ अहँ, चाल त त्यतिकै । जे देख्यो त्यो त गरिहाल्ने । मेरो पालो उसको बाबुलाई गाजलको जुँगा लाईदिएँ । मैले पनि लाएँ र उसलाई पनि लाइदिएँ । बस् त्यहाँदेखि उसले पनि सिकिहाल्यो । नत्र भन्नुहोस् त बाबु ! बल्ल–बल्लको छोरोले छोरीको चाल गर्दा कस्तो रिस उठ्छ । हैन र ?
यो दशैँमा त पक्कै आउनु है । नत्र त्यो लाङग्रिनीसँग पर्नुहोला । फेरि आउँदा जुँगा पालेर आउनस् नि ! भतिजोले कति मन पराउँछ लेखिहालेँ । बिचरा ! जो मान्छेको काखमा गए पनि छातीको रौँ र दाह्री जुँगा खेलाइरहन्छ । आफ्नो बाबुको भएको हैन के र ? बाबुले पालेर आउनु ल ? बाबुलाई सधैँ ‘काका’ ‘काका’ भनेर नदेख्दै पनि कति माया गर्छ । ल है बाबु चित्त नदुखाउनु ।
जोतिषीले भनेको मेरो उनन्तीस वर्ष लागेपछि ठूलो खड्गो छ रे । अब तीन महिना मात्र बाँकी छ । मरिने हो कि बाँचिन्छ ? बाबुको मुख नहेरी चित्तै बुझेको छैन । ल है राजा मलाई नरुवाउनु है ।
जानिफकार आफैँ हुनुहुन्छ । हरफमा उँचनीच भए छेमा पाउँ । ज्यादा क्यूँ । आजलाई बिदा । ईति सम्वत् २०२७ भाद्र ३० गते वार ३ शुभम् ।
०२७। ०५। ३०, झोँछेप्रतिकमा प्रकाशित, कालो कथाबाट पुनर्मुद्रित
(स्रोत : Aswikrit.com )