होशमा आउदा म दुध रंगको पूर्णिमाको जून मनि आकाशमा उडी रहेकी थिएँ। मैले आफूलाई सिमलको भुआभन्दा हलुका अनुभव गरी रहेकी थिएँ। जूनको धमिलो प्रकाशमा यदाकदा टल्किने पानीको सतह बाहेक अरू सबै नछुटि्टने गरी धमिलिएको थियो धर्ती र रात निकै बिती सकेकोले बत्ती कहीं पनि देखिन्नथ्यो। म जून जत्तिकै
सेतो कपडामा बेरिएकी थिएँ तर त्यसको स्पर्श यति नरम र हलुका थियो कि त्यो परिधान कपडा नै पनि नहुन सक्थ्यो। आफूलाई नांगो अनुभव नगरेकीले मात्रै मैले त्यस्तो कपडा लगाएको भनी ठानेकी थिएँ।
मेरा पखेटा थिएनन् तैपनि म त्यतिमाथि उडी रहेकी थिएँ र मेरा कपडाको अनुभव नभए पनि मलाई जाडो या गर्मीको अनुभव पटक्कै भएको थिएन। मैले आफूलाई छोएर पनि हेरें र स्पर्श पहिलेको भन्दा फरक थियो – न चिसो न तातो, न कोमल न कडा मानौं एकै निन्द्रामा नै सबै परिवर्तन भएको थियो। छेवैमा बसेका आमाबाबु, दाजुभाइ, दिदीबहिनी, मंत्रीगण, भाइभारदार, नोकरचाकर कोही पनि थिएनन्। कसरी हुन गयो त्यस्तो सबै ? म त राजदरबारको सभामा ठेस लागेर लडेकी मात्रै हो। बेहोश भएँ हुँला तर त्यति सानो ठेस लाग्दैमा मरी नै त हाल्नु नपर्ने हो।
मैले दायाँ बायाँ तिर हेरें। मेरै समानान्तरमा पुतली जस्तै दुई वटी सुन्दरीहरू उडी रहेका थिए। शायद परी थिए होलान् तिनीहरू। उनीहरूले पखेटा चलाउदा विणाको झन्कारजस्तै मिठो स्वर निस्की रहेको थियो। उनीहरूको अनुहार निर्दोष बालकको मुस्कान झैं चम्की रहेको थियो र उनीहरूको रेसमी परिधान मन्द हावा चल्दा तलाउमा चलेको लहर झैं तरङ्गित हुन्थ्यो। स्वर र चाल नभएको भए त त्यो वातावरण नै एउटा अनस्तित्वको निरवता बन्न सक्थ्यो।
मैले परीतिर हेरेर भनें – “टाडै जादैछौं हामी ?”
“टाडा या नजिक के हो? थाहा छैन तर गन्तव्यतिर भने जादैछौं ।” – परीले मुस्कुराएर जवाफ दिई र उसको मुस्कुराहट बत्ती बल्दाको प्रकाश जस्तै वरिपरि छरियो।
मलाई अलिकति शङ्का लाग्यो र सोधें – “यो सपना हो कि मृत्यु पछिको यात्रा?”
परीले फूल झैं मुस्कान छर्दै जवाफ दिई– “मृत्यु पछिको यात्रा जस्तै सपना पनि सशरीर भोगिन्न ।”
उनीहरू दुई अर्थि भाषामा बोलिरहेका थिए, मानौं उनीहरूले सपनाको संसार र मृत्यु पछिको संसार दुवै नै भोगेका थिए या दुवै नदेखेका हुन सक्थे। त्यसैले मैले उनीहरूलाई अरू सोध्नु बेकार ठानेर चुप लागें।
बिस्तारै बिस्तारै मेरो संसार हराउदै गयो र हामी एउटा अंधकारको दुलोबाट छिरेर ज्योतिको साम्राज्यमा पस्यौं। प्रकाशका प्रत्येका किरणसँग आनन्द मिसिएको थियो त्यहाँ र मलाई त्यो संसार नै अवर्णनिय लाग्यो। मेरा छातीमा आमाबाबु र अरू स्वजनको माया नभएको भए म त्यो वातावरणलाई सजिलै आत्मसात गर्ने थिएँ।
मलाई त्यो संसारको अवर्णनिय र अकथनिय दरवारको बैठकमा खडा गरियो र उच्च आशनमा बसेको दिव्य पुरुषले मलाई सोध्यो – “तिम्रो यात्रमा कुनै कष्ट त भएन ?”
मैले शान्त भएर भनें – “मेरो यात्रा एकदम सरल र सुखमय भयो तर मेरो मनमा थुप्रै जिज्ञाशा छन् जसलाई मेरा सहयात्रीहरूले उत्तर दिएनन् ।”
“उनीहरूको काम कर्तव्य पालन गर्नु मात्र हो, विधिले मात्र भन्नु पर्ने कुरा उनीहरू भन्दैनन्। तिमी मलाई सोध्न सक्छयौ। सोध ।” – दिव्यपुरुषले जवाफ दियो।
मैले लामो सास फेरें तर सास फेरेको आभाष मलाई भएन र भनें – “मैले तपाईलाई कसरी सम्बोधन गर्ने ? थाहा छैन। त्यसैले भनी दिनोस् तपाई को हो? यो वर्तमान कुन संसार हो र म कहाँ छु ?”
दिव्यपुरुषले जवाफ दियो – “राजकुमारी ! तिमी त्यो सम्बन्ध र साइनोले जेलिएको संसारबाट आएकीले अतितलाई छोडन सकेकी छैनौ तर यो मृत्यु पछिको संसार त साइनेा र सम्बन्ध रहित छ। यहाँ त शत्रुता पनि छैन, मित्रता पनि छैन, प्रेम पनि छैन, घृणा पनि छैन। यहाँ त शुन्यताको असीम सुख छ र म काल यो संसारको सीमाको अतिक्रमण नहोस् भनेर पहरा दिएर बस्दछु ।”
“तर मलाई त मर्न मन नै थिएन तर पनि किन मरें ?” – मैले तुरुन्तै प्रश्न गरिहालें।
कालले मुस्कुराएर जवाफ दियो – “राजकुमारी। मृत्यु कसैको इच्छाको कुरा होइन। यो त जन्मदै निश्चित गरिएको एउटा यात्रा हो र यो यात्रा कसैको छोटो हुन्छ कसैको लामो तर यहाँ आएपछि बिस्तारै बिस्तारै सबैले यहाँको सुखलाई स्विकार गर्छन्। यो विधिको नियम हो, नियति हो ।”
मैले हतारसँग सोधें – “म के त्यो जीवनको संसारमा फेरि जान सक्दिनँ त ? जनी गर्नोस्, मलाई फिर्ता पठाइदिनोस्। हेर्नोस्, म कति नै वर्षकी भएँ र? अठार पनि पुगेकी छैन । जीवनको आनन्द धेरै भोग्न बाँकी नै छ। म मर्दा मेरा आमाबाबु कति दुखी भए होलान्? मसँग बिहे गर्न तयार भएको राजकुमारलाई कत्रो चोट पर्योु होला ? मेरा आफन्त कति रोलान् ? सारा देश नै रुँदैछ मेरो नाममा। म सबैकी सबैभन्दा प्यारी छु ।”
मेरो कुरा सुनेर कालले मुस्कुराएर भन्यो – “राजकुमारी। कोही पनि मृत्युभन्दा परसम्म पनि माया गर्न सकिने मायालु हुन सक्दैन। मृत्यु पछि त मानिसले मानिसलाई बगेको मुढोभन्दा पनि पराई सम्झन्छ। त्यसैले तिम्रो आशा बेकार छ तैपनि तिमी मेरो भनाइ जाँच्न चाहन्छयौ भने म तिमीलाई मनका पखेटा र वायुको रुप दिई दिन्छु र तिमी जहाँ चितायो त्यहाँ क्षणमै त्यहीँ पुग्नेछौ र दृश्य र अदृश्य इच्छा अनुसार हुनेछौ। तिमी प्रिय जनहरूसँग उनीहरूको आयु माग र जसले जति दिन्छ त्यति नै आयु म तिमीलाई थपेर जीवन लोकमा फिर्ता पठाई दिनेछु। यसै त तिम्रो बाँकि आयु नै छैन फिर्ता पठाउनलाई। चित्त बुझ्छ तिमीलाई ?”
म खुशीसाथ चित्त बुझाएर मनका पखेटा र वायुको रुप लिएर जीवनलोकमा पुगें।
आफू जन्मेहुर्केको राजप्रासादभित्र पस्ने बित्तिकै म आनन्दले विभोर भएँ। मेरो लाश श्रध्दान्जलीको निम्ति खुला पटाङ्गिनीमा राखिएको थियो र मानिसहरूले चढाएका फूलका माला र गुच्छाहरू मेरो लाशमा पहाड झैं थुप्रिएका थिए। आफूप्रति मानिसको स्नेह देखेर म फेरि जीवित हुने कुरामा ढुक्क भएँ र घरघरको खटप्वालबाट भित्र चियाएँ।
“च्च , उमेर मै गइन् बिचरा” – एउटाले भन्यो।
“पर्सि मात्रै बिहे हुने थियो” – अर्कोले सुनायो।
“के गर्नु ? कालको अगाडि कसैको केही लाग्दैन। आफ्नो आयु दिएर नहुने” –तेश्रोको मुखबाट दया निस्कियो।
“राम्रा र भाग्यवानीको आयु नै छोटो हुन्छ। हामी त मरौं भन्दा पनि मर्न पाइन्न” –चौथोले शुभवाणी निकाल्यो।
आफ्नो मृत्युमा जहींतहीं विषाद देखेर म कृतज्ञताले गदगद भएँ। आफूले कसै न कसैको आयु पाउने कुरामा मलाई शङ्का रहेन। म त्यही विश्वास लिएर सबभन्दा पहिले बुबामुमाको खोपीमा पसें। मुमा रोई रही बक्सिएको थियो र बुवा सम्झाई रही बक्सिएको।
“म मरेर ऊ बाँचेकी भए पनि त हुने थियो नि ।” – मुमाले हिक्काको बीचबाट नै मर्जी भयो।
“कालको सामु कसको के लाग्छ ? जे परे पनि सहनुपर्दोरहेछ। मलाई मात्रै छोरी मरेर म बाँचिरहुला जस्तो कहाँ लागको थियो र ?” – बुबाले मुमालाई फेरि सम्झाई बक्सियो।
बुबामुमाको त्यो कुरा सुनेर हतारिदै अदृश्यबाट दृश्यमा ओर्लिएर बोलें– “बुबा ! मुमा !”
मेरो स्वर सुनेर बुबामुमा दुवैले आँखा उठाएर हेरी बक्सियो र दैविय वस्त्र लगाएकी मलाई देखेर आँखा छोपेर मुमा चिच्याई बक्सियो – “भूत !”
बुबाले मन दरो पारेर मर्जी भयो – “प्रेतात्मा तिमीलाई के चाहियो र फर्केर आयौ ?”
आफूलाई भूत र प्रेतात्मा भनेको सुनेर मेरो चित्त त दुख्यो तर एक छिन अघि मात्र आफ्नो लाश देखेर आएकीले आफू भूत या प्रेतात्मा भएको स्विकारेर भनें– “हो। म वास्तविकतामा त प्रेतात्मा नै हुँ तर तपाईहरू मध्ये कसैले आफ्नो आयु मलाई दिनु हुन्छ भने म फेरि जीवित हुनसक्छु ।”
मेरो कुरा सुनेर बुबा गम्भिर भएर भनिबक्सियो – “प्रेतात्मा सबैले आ-आफ्नो कर्म खानु पर्छ, आ-आफ्नो आयु भोग्नु पर्छ। छोरीलाई हामीले माया गर्यौँ तर कोही पनि कसैको निम्ति सती जान सक्दैन। फेरि म नभए यो देशको शाशन कसले चलाउछ ? शत्रुहरू वरिपरि मेरो मृत्यु कुरेर बसेकाछन् र म नभए भोलि नै यो हाम्रा बाबुबाजेको आर्जन स्वात्तै खाने छन्। त्यसैले प्रेतात्मा तिमी स्वर्गको बाटोतिर लाग ।”
मुमाबाट मर्जी भयो – “मैले त अरूको निम्ति नभए पनि तिम्रो बुबाको निम्ति बाँच्नु छ। म नभए कसले गर्छ वहाँको वास्ता? फेरि यो नारीधर्म पनि हो लोग्नेको निम्ति बाँचि दिनु, छोरी ।”
बुबामुमाको अनिच्छा प्रस्ट हुने बित्तिकै हावा भएर मनको पखेटाले उडें। म दाजु कहाँ गएँ, दिदी कहाँ गएँ। भाइबहिनीकोमा गएँ। नातागोत, इष्टमित्र सबैकोमा गएँ तर सबैले नै मेरो प्रस्तावलाई अस्विकार गर्न एउटा न एउटा बहाना भेट्टाए।
मैले मेरो बिहेको निम्ति तयार राजकुमारकोमा गएर हात जोडदै भनें– “मलाई पूनर्जीवित भएर तपाईसँग बिहे गर्नको निम्ति तपाईको आधा आयु मलाई दिनोस् ।”
“मैले तिमीलाई पाउनको निम्ति बिहेगर्न तयार भएको हुँ, तिमीलाई आयु दिनलाई होइन। त्यसैले जाऊ, प्रेतात्मा, जाऊ। अब आफ्नो गन्तव्यमा जाऊ ।” –मेरा भूतपूर्व वरले जवाफ दिए।
‘कालदेवले मलाई असम्भव माग गर्न पठाएका रहेछन्। यो सबै उनीलाई अगाडि नै थाहा रहेछ।’ –मैले मनमनै सोचें।
सारा सहर अब त मेरो डरले मृत भइसकेको थियो र अन्धकार थियो चारैतिर। मलाई आफ्नो आयु दिनु त के मेरो प्रेतात्मा समेत हेर्न तयार थिएन कोही पनि। त्यसैले मैले एउटा पराजित मनस्थिति र मानिस आफू बाहेका अरू कसैलाई पनि माया गदैंन भन्ने नौलो ज्ञान बोकेर उडनलाई मनका पखेटा के उचालेकी थिएँ सहरको एउटा घरमा टिमटिम बत्ती बलेको देखेर उत्सुकताले थामिएर विचार गरें – “जब यो सिंगो सहर प्रेतात्माको डरले झ्यालढोका बन्द गरेर धर्मका श्लोक दोहोर्या”एर बसिरहेको छ, को होला त्यो झ्याल ढोका खुला राखेर बस्न सक्ने ?”
म क्षणमा नै त्यहाँ पुगें। एउटा युवका माटोको दियोमा बत्ती बालेर आँखा बन्दगरी आँशु बगाई रहेको थियो। पल्लो कोठाबाट नारी स्वर सुनियो– “कति पीर गर्छस्, बाबु, तँ ? सुत् अब, सुत्। जति पीर गरे पनि राजकुमारी फर्कन्नन् अब ।”
युवक बोलेन। नारी स्वर भन्दै गयो– “फर्के पनि त तँलाई के फाइदा छ र? उनको बिहे अर्कैसँग हुनेछ अनि यो भन्दा ठूलो घाउ बोक्नु पर्नेछ तैंले ।”
युवकले बिस्तारै ओठ कपाएर भन्यो– “निदाउनोस्, आमा, निदाउनोस्। म सुत्छु अब ।”
आमा निदाइन्।
त्यो युवक त मेरो बालसखा वाणीधर थियो हाम्रै दरबार रक्षक चक्रधरको छोरो। मलाई झन्डै चिन्न गाहारो परेको। उसको स्वर मिठो भएकोले नै उसलाई वाणीधर भनेर भनिएको थियो। बालककालमा उसले मेरा प्रत्येक बालहठ पुरा गरेको थियो। मेरो गल्तीको सजाय पनि आफूले बेहोरेको थियो, मेरो उदण्डताबाट ताडित पनि भएको थियो। उमेरदार भएपछि उसले मसँग प्रेम याचना पनि गरेको थियो र मैले उसलाई हप्काएर, अपमानित गरेर पठाएकी थिएँ। मेरो कुराले ऊ उदाश भयो र सधैं नै उदाश नै रहयो। मैले त्यसको वास्ता पनि गरिनँ। बाबु चक्रधर मरेपछि त ऊ आमासँगै बाहिरियो र त्यसपछि मैले उसलाई देखेको पनि थिइनँ।
मेरो भित्र कहीं चसक्क चस्कियो। प्रेतात्मा रुनसक्ने भए रोइदिने थिएँ म। मैले अदृश्यबाट बाहिर देखिएर भनें – “वाणीधर !”
वाणीधरले टाउको उठायो र आँखा खोलेर हेर्योक। मलाई देखेर ऊ पहिले त आश्चर्यचकित भयो र खुशीले गदगद हुदै भन्यो – “तिमी कसरी आयौ, राजकुमारी ?”
मैले दुखित स्वरमा भनें – “वाणीधर। म सशरीर राजकुमारी होइन। म त प्रेतात्मा हुँ ।”
वाणीधरले उत्तिकै खुशीसाथ भन्यो – “त्यसले मलाई केही फरक पार्दैन। जे भए पनि तिमी उही मेरी राजकुमारी हौ। बरु भन। यदि तिमी प्रेतात्मा नै हौ भने स्वर्गको बाटो छोडेर यो धर्तीमा किन ओर्लियौ त ? केही नपरी त पक्कै पनि यति लामो बाटो तिमी झरिनौ ।”
आफ्नो असफलता सम्झेर मैले उदाश स्वरमा भनें – “वाणीधर। म त यो लोकमा आफूलाई जीवित बनाउन कोहीकसैसँग आयु माग्न आएकी थिएँ तर कसैले पनि दिएन। मेरो प्रेतात्मादेखि डराएर सिंगो सहरले झ्यालढोका बन्द गरेर मेरो प्रवेश रोकी दिए। तिमीकहाँ त सारा संसार डराउदा पनि नडराएर बस्ने यो को होला ? भन्ने उत्सुकताले मात्र पसेकी हुँ ।”
मैले कालदेवसँग भएको सबै कुरा सुनाएँ। त्यो सुनेर वाणीधरले भन्यो – “व्यर्थै तिमीले त्यत्रो दुख पायौ, राजकुमारी। म कहाँ पहिले नै आएकी भए म दिइहाल्ने थिएँ नि ।” मैले सम्झाउने स्वरमा भनें – “अब मलाई त्यसको आवश्यकता परेन, वाणीधर। कसको निम्ति बाँच्नु छ र मैले ?”
वाणीधरले मिठो स्वरमा भन्यो – “कसैको न सही त मेरो निम्ति। मेरो निम्ति त आफ्नो जीवनको कुनै अर्थ नै छैन। तिमी मरेर म बाँच्दा पनि बाँच्नुको कुनै अर्थ छैन। तिमी बाँचेर म बाँचेको बेला पनि कुनै अर्थ थिएन। त्यसैले राजकुमारी यी अग्नि साक्षी राखेर म मेरो जम्मै आयु तिमीलाई सुम्पिदिन्छु ।”
अनर्थको आशङ्काले म वाणीधरलाई छोडेर त्यही क्षण कालदेवको सामु पुगें र हात जोडेर विन्ति गरें– “कालदेव। मलाई जीवन चाहिदैन। जो मृत्यु मैले पाएँ त्यसैमा म खुशी छु। वाणीधरको आयु म चाहन्न। त्यो उसैसँग रहोस् ।”
कालदेवले सोचेर गम्भिर भएर भने – “राजकुमारी। वाणीधरले तिमीलाई दिएको आयु सत्चित्तले भित्री हृदयदेखि नै दिएको हो। तिमीले बाहिर जति होइन भने पनि भित्री आशयले हात फैलायौ र उसले दिइदियो। अब त्यो गंगा उल्टो बगाउनु विधिको नियम विपरित हुन आउछ। वाणीधर त अब छैन। कसको आयु दिएर म अब उसलाई बचाऊँ ? ऊ चिरायु थियो। अब तिमी नै उसको कथा र व्यथा लिएर बाँच ।”
कालदेवको हात उठने बित्तिकै म अन्धकार तिर हुत्तिएँ।
* * *
“के यस्तो पनि सपना हुन्छ ?” – मरेकी राजकुमारीको अन्त्येष्ठिको तयारगर्न जम्मा भएका बाबुआमा र भाइभारदारतिर हेरेर राजकुमारीले सोधी।
बाह्र घण्टा भन्दा बढी मरेर बिउँतेकी राजकुमारीको प्रश्नले सबैलाई असजिलो पार्योघ। छोरीले मुख हेर्दा रानी बोल्न सकिनन्। राजाले रातो मुख पारेर भने– “कहिले कहीं देखिन्छ त्यस्तो सपना ।”
वरको उम्मेदवार राजकुमारले भन्यो – “सपना सपना नै हो। कहीं सपना पनि विपनासँग दाँजिन्छ र ?”
“गुरुदेव के भन्नुहुन्छ ?” – राजकुमारी राजगुरुतिर फर्किई।
“शरीरबाट निस्केको आत्मा विचरण गरेर अनेक कल्पना गर्न सक्छ। त्यसैले चिन्ता लिनु हुदैन” – राजगुरुले सम्झाए।
राजकुमारी बोलिन। उसको चित्त बुझ्यो वा बुझेन थाहा भएन। त्यसैले त्यो वातावरणलाई बदल्न राजाले भने– “मन्त्रीले किन ढिलो गरे आज ? अब मैयालाई दरबार भित्र लानुपर्ने ।”
केही समय पछि मन्त्री हतार हतार गर्दै आइपुगे र राजालाई कुर्नेस बजाएर भने – “ढिलाइको निम्ति माफ पाऊँ, सरकार ।”
राजाले माफी दिदै सोधे – “किन, के भएर मन्त्री झन आज ढिला भयो ?”
मन्त्रीले लामो सास फेरेर भने – “सरकार। सरकारका पूर्व अंगरक्षक चक्रधरको छोरो वाणीधर आज विहानी पख एकै छिनको व्यथाले गएछ। घरमा बुढी आमा मात्रै। त्यसैले अन्तिम सँस्कारको चाँजोपाँजो मिलाई दिदा अलिकति ढिला भइहाल्यो ।”
राजकुमारीलाई हठात् सयौं सियोले घोचे जस्तै जिउभरि पीडा भयो र उसले चिरिन लागेको मुटु थिचेर बाहिर तिर दौडदै बौलाहाले झैं विकृत स्वरमा भनी – “तिमीहरू सबै झुठ हौ, ठग हौ, स्वार्थी हौ। सबै मिलेर मलाई मार्न लगायौ वाणीधरलाई ।”
राजाले सबै ठाउँ खोज्न लगाए तर राजकुमारी कहीं पनि फेला परिन।
समय पनि युगौं बितिसक्यो। अब त जनश्रुति छ – राजकुमारी मानिस नभएको सुनसान ठाउँमा घुम्छे र क्रन्दन गरेर रुदै आफ्नो अपराधबाट मुक्ति लिन खोज्दछे तर एउटा उपेक्षित प्रेमी र बालसखाले दिएको अमरत्वको बरदान या श्रापबाट मुक्ति पाउन सक्दिन। ऊ त बगेको हावाको सुस्केरा, छाँगोको पानीको चित्कार र कन्दराको प्रतिध्वनीमा क्रन्दनमा बाँडिएर बसेकी छ।
यस्तै छ श्रापित राजकुमारीको कथा।
काठमाडौं
२०५३। १। ११
(स्रोत : Ram Dahal’s Blog)