~जापानी कवि मित्सुरू त्सुगाने~
अनुः अभय श्रेष्ठ
हाइस्कुल पढ्ने एउटी केटीले
डस्नामा छाडेकी छ ‘डेथ नोट’
सुरूदेखि अन्त्यसम्म मृत्यको प्रशंसा !
के मृत्युले स्वर्गको बगैंचामा गौरवमय जीवन दिने हो ?
अवश्य एउटा सुन्दर छायाँ मृत्युको अन्तरंगबाट उफ्रेर आउँछ
अवश्य पनि यो छुटकारा हो, सबै चिजको अन्त्य हो
फूलै फूलको बगैंचामा सबैलाई स्वागत छ
भइसकेका र गर्न बाँकी पापहरूका लागि
दिइनेछ, माफी बिना दण्ड
र, उनी त्यहाँ संसारको केन्द्र भएर बस्नेछिन्
सामान्य दैनिक जीवनलाई छाडेर
उनी गइन् अझ शानदार गन्तव्य भेट्न
मात्र सानो अध्ययन कोठा छुटेको छ
जहाँ जान चाहन्थिन्, जहाँ गइन् तिनी
शंका छैन, त्यो मृत्यु हो जसको अर्थ हो नयाँ सुरूवात
यो सधै नयाँ सुरूवातहरूको
अन्तिम सुरूवात हो बारम्बार दोहोरिरहने ।
मनोविज्ञान र आफैलाई दिइएको धोकाले
के मानिसहरू मृत्युको डरलाई जित्न सक्छन् ?
कति मानिस हराए मृत्युको पर्खालपछाडि
कुनै पनि काम गर्न स्वतन्त्र थिए तिनीहरू
अब कहिल्यै फर्किन्न भन्ने सोच्न सकेका भए
मृत्युको लाली कहिल्यै हलचल गर्दैन, रंग खुइलिएको आँखा चम्कन्छ
तिनका इच्छाहरू ध्वस्त भए, घट्दै–घट्दै लुप्त भए
ताते–ताते जर्दै यो संसारबाट छुट्दै गएकाहरूले
मृत्युसँग सन्तुलन कायम गर्न
अँध्यारोमा उभिएको ठूलो मूर्तिले जस्तै
रहस्यमय सपनाहरू मनभरि हुर्काउनुपर्ने हो ?
मानवीय इतिहासले जारी राखेको
ठूला चट्टानहरूले पूर्ण सुरक्षा दिएको चिहानहरूको निर्माण
त्यो एउटा प्रार्थना अस्तित्वका लागि मृत्युपछि पनि
मृत्युमा पनि जीवन जारी छ
मृतक मृत्युमा गतिशील भएर बाँच्छ आफन्तसँग कुनै सम्बन्ध नराखी
साँच्ची मृतकमा पनि जीवन हुन्छ
प्रत्येक चिहानमा सग्बलाउँछ जीवन जहाँ मृत्यु सम्पादन भएको हुन्छ ।
मर्न लागेको मानिस
सुनाखरी सन्देश
आफ्नो एक्लोपन साँच्चिकै इमान्दार भएको स्वीर्काछ
त्यहाँ कुनै आकार हुँदैन
कुनै ध्वनि हुँदैन
कुनै संकेत हुँदैन जीवनको
प्रत्येक प्राणी पूर्ण एक्लोपनमा प्रवेश गर्छ
मृत्यु आफैँ चुपचाप यसको खेती गर्छ
यो आफैँ बीउ छर्छ
गोप्य तरिकाले यो बढ्दै जान्छ यो एक्लै एक्लै
र, चाहेको बेला प्राप्त गर्छ
अरूका लागि त्यहाँ कुनै ठाउँ छैन
यो समयको झरनामा हराउँछ
यो लहरहरूमा डुब्छ र फेरि आउदैन
‘जीवन र मृत्यु’को अर्थ हो
आपसमा गाँसिएका अनेकौं साँग्ला
ऊर्जामा कुनै भिन्नता छैन, अथवा मृतकहरूबीच जीवनको मूल्यमा
कोही खुसी हुन पनि सक्छन्, उनीहरू मृत्युको नजिक छन्
अरू–अरू दृढ भएर
आफ्नो शक्तिद्धारा मृत्युलाई जित्ने विश्वास गर्न सक्छन्
र, अरूहरू देख्छन् तिनीहरूको जीवन र मृत्यु छुट्दै गएको
पूर्ण मृत्यु यात्राको अन्त्य हो, एउटा सपना ।
मृत्यको कुनै अस्तित्व नहुन सक्छ यो संसारमा
मानौ हावाको आवाज र बादलको तस्बिरको आयतन नाप्नु
यो आफैँ आफूबाट धेरै टाढा गएको स्थिति हो
आफ्नै आकार अब ढल्नेछ एकाएक ।
अस्पतालमा बिरामीको डस्ना उडाउँछ हुरीले
बिरामी ब्लांकेट यरी च्याप्छ मानौं यो उसको आफ्नै रंग हो
ऊ अस्पताल बाहिर जान्छ र ऊ जान्छ आफैँबाट बाहिर
ऊ पछाडिको ढोकाबाट निस्कन्छ, एउटा पूर्ण शून्यता भएर
हरेक परिस्थिति मृत्युमा छ भने
कुनै शक्ति बाँकी छ जीवनमा ?
अस्पतालमा हुन्जेल ऊ एक्लो हुँदैन
जब हामी वास्तविक एकान्तमा
छुट्टाछुट्टै ठाउँमा हुन्छौं
के हामी आफैँलाई बचाउने शक्ति प्रदान गर्न सक्छौं ?
मृत्युको प्रतीक्षामा लाइनमा बसेको थाहा हुँदाहुँदै
के हामी कुनै असल प्रभाव छाड्न सक्छौं
जुन निरन्तर दोहोरिइरहेको हुन्छ ?
(नेपाल जापान संयुक्त कविता सङ्ग्रह फूलका गुच्छाहरू– ६ बाट साभार)
(स्रोत : Esunakhari)