केही खोजे जस्तै हतासिँदै उसले यताउता हेर्यो । खै केही फेला पारेनछ क्यारे …..सट्टामा फिक्का हाँसो फ्याक्यो अनि निहार्यो आफ्नै परिवेश ।
त्यो धरहरा त्यसरी नै आकाशलाइ हाँक दिदै उभिइरहेको थियो । केहि निदाए जस्तो । केही विउँझिए जस्तो । घण्टाघरको पुरानो घडि जहाँकोतहि थियो । विदाको दिन भएकोले होला मन्दिरहरुमा भिड देखिन्थ्यो । सँगै उभिएको शहिदगेट । वाणले हानेजस्तै चारदिशामा ठड्याइएका झण्डाहरु उसलाइ त्यतिकै हाँसो उठ्यो ।
झटपट सुन्धारा, काठमाडौं मल, बागदरवार, रत्नपार्क, टुडिखेल सवैतिर सर्सर्ती हेर्यो उसले । खुलामञ्च भरिभराउ देखिन्थ्यो । सायद कसैको भाषण चल्दै होला । सैनिकहरु परेडमा ब्यस्त ।
‘कालिमाटि….किर्तिपुर … पाँगा …।‘
‘बालाजु …बाइसास …मनमैजु ………।‘
‘थापाथली. ..कुपण्डोल… ललितपुर ….।‘
फरकफरक स्वरहरु सकेसम्म ठूलो हुदै हुइँकिरहेका थिए ।
‘ओइ साले यो त मलाइ देका ।‘
‘तलाइ हैन मलाइ देका ।‘
‘ओइ तैले मसँग निहूँ खोजेकै होस्, ल आइज………..आइज सिङ्गल सिङ्गल खेल्ने ?’
सडक बालकहरु आफूआफूमा एक रुपैयाँको लागि तँछाडमँछाड गरिरहेका ।
‘ए सस्तो सस्तो एक किलोको पन्ध्र, दुइ किलोको विस मात्र ।‘
‘किन यस्तो भएको ?’
‘नगरपालिका आउँदै छ त्यही भर । ल ल छिट्टो किन्नुस् ।‘
‘यो त तिन पाउ पो भो त‘ कसरी एक किलो हुन्छ ?’
‘यहाँको एककिलो भनेको यत्ति हो, बढि चाहिए अन्तै जाने ।‘
‘क्या हो नापतौल पनि ठाँउ अनुसार फरक हुन्छ र ?’
‘कस्तो किचकिचे मान्छे रैछ…….सस्तो पनि चाहिने पुरा पनि चाहिने ठिसहरु !!’ व्यापारिक भाषा नराम्रोसँग छताछुल्ल हुन्छ त्यहाँँ ।
कत्ति भिडभाड हुँदा हुँदैपनि सबै एकअर्काबाट बेखवर । शहिदगेटको छेउका उभिएको ऊ सबै निहारेर फेरी मुस्कुरायो एक्लै एक्लै ।
केही सम्झेझैं झल्यास्स उसले घडि हेर्यो । बाह्र बजिसकेछ । तर पटक्कै घर जाने मन लागिरहेको छैन …किन उत्तर नै छैन । घण्टौ देखी उ त्यो फलामेबारमा अडेस लगाएर उभिएको उभियै छ । उसका घरका बाटो भएर गुड्ने दर्जनौ सवारी साधन गैसके, कुनै त फर्केर पनि आइपुगिसके तर ऊ जहाँकोतहि छ डेक नचलिकन, बार माथि फरक अस्तित्व जमाएर ।
आकाशका कम्पन छाड्दै एउटा जहाज उड्यो । अनायसै उठेका उसका हातहरु लाजमान्दै खुम्चिए गोजिभित्र । ऊ त्यतै हेरेर टोलाउन लाग्यो ।
शरिरमा चटक्क मिलाएर लगाइएको कपडा, सलक्क छाडिएको कपाल, गाजलले भरिएका जिज्ञासु आँखाहरु । ओहो सुची सधै यसरी नै उभिन्थी यही बारमा । अनि हतारिँदै भित्रबस्थि कुनै माइक्रो भित्र । बाइ बाइ लक्स……।
मास्टरको विद्यार्थी ऊ अर्थात लक्स । एउटा प्राइभेट कम्पनीमा जागिर गर्थ्यो । यि प्राइभेट अफिसहरु ‘नखाउँ भने दिनभरीको शिकार खाउँभने कान्छो बाउको अनुहार‘ पारका हुन्छन् । कहिल्यै फूर्सद हुने हैन । फेरी कजेल दिनदिनै जान नपाए पछि ट्युसन पढेर भएपनि पास त गर्नैपर्यो । ह्या, यो शनिवार एकदिन त मज्जाले सुत्न पाए पनि त हुने…..। तर किन त्यती बेला निद्रा कहाँ गएको थियो र ? कहिल्यै यस्तो अल्छि लागेको थाहा भएन । विशेष शनिवार आउँदा त कुनै चाड आए झै लाग्थ्यो । राति नै उठेर उ नुहाइ धुवाइ गर्यो । आफूलाइ सकेसम्म टिपटप देखिने लुगा छान्थ्यो । अनि बडो उत्साहका साथ घरवाट बाहिर निस्कन्थ्यो ।
आज सण्डे है सुचि ?
अँ आज भर्खर फ्राईडे भयो, यो स्याटरडे आउन किन यति धेरै सामय लाग्छ लक्स ?
हप्तैभरी दुबैजना भित्रभित्रै छटपटाउँथे अनि घण्टौ फोनमा झुण्डिन्थे ।
ऊ हर शनिवार ट्युसन सकाएर मोडल हस्पिटलको गेटमा अडिन्थ्यो । सुचि एकैछिनमा हाजिर हुन्थी । केहीपलमै त्यो निलो पल्सरसँगै एकजोडी प्राणी गायव हुन्थे भिडभाडलाइ छल्दै । कहिले नगरकोट । कहिले गोदावरी त कहिले धुलिखेल । अनि कहिले ककनी कताकता ।
आज ति दिनहरु कल्पनाका आकाशमा हराएका छन् । तरै पनि उसलाइ कल्पना कत्ति मिठो लागिरहेको छ ।
‘तपाइ कहाँ बस्नुहुन्छ ?’
‘हजुर मनमैजुतिर हो ।‘
‘म पनि उतै बस्ने हो हेर्नुस न एक्कासी बन्द भएर, के गर्ने होला ?’
‘अँ भन्या यो बन्दले त अति नै गर्यो । मेरो त झन् गाँउबाट आमा आउनुभाको छ गाँउबाट । आत्तिइसक्नु भो होला के गर्ने गर्ने…..??’
‘अँ तपाइलाइ आपत्ति छैन भने सँगै जाउ न त । ‘भित्रि बाटो त बन्द छैन होला नी ।‘
‘खै‘ के गरुँ के गरुँको अवस्थामा सुचीले उसको लिफ्ट स्विकारेर घरसम्मको यात्रा तय गरेकीथिइ ।
पुतलीसडकको एउटा कन्सल्टेन्सी कम्पनीमा पार्ट टाइम काम गर्दै आएकी सुचना, अर्को एउटा प्राइभेट कम्पनीमा जीवन दर्ता गरेर बाँच्ने बाटो गदै आएको लक्ष्मण दुवै उस्तै उस्तै पिडा र संघर्ष बीच गुज्रँदै आएका थिए । त्यो सधैको पिँडादायी सडकबन्द, एकदिन खुसीको बाटो भएर बगेझै लाग्थ्यो दुवैलाई । दुबैले मन मिल्ने साथी भेट्टाएका थिए । छोटो समयको अन्तरालमै सुचना लक्ष्मणकी मायालु ‘सुचि‘ भएकी थिइ । ऊ ‘लक्स‘ ।
ऊ घरको एक्लो छोरो । बुढा बा आमा । आमाको विरामीको खवर पाएर उसलाइ एक्कासी गाँउ जान परेकोले केहि दिनदेखि सुचीदेखी टाढिन परेको थियो ।
‘लक्स म तिमिलाइ तुरुन्तै भेट्न चाहन्छु, जहाँ जसरी भएपनि ।‘
एकदिन आत्तिँदै सुचिले फोन गरी । दुवैजनाको भेट भयो । आँखाभरी आँशु पारेर सूची बोली ‘म अष्ट्रेलिया जाने भए नी, आजै एक बजेको फ्लाइट छ मेरो ।‘
‘हँ…..तिमीले यतिका दिनसम्म गरेको दुखको फल पायौ । अँ साच्चि, पैसाको जोहो गर्न गाह्रो परिरहेको थियो, के गर्यौ त……केही हतास हुँदै ऊ बोल्यो ।‘
‘मैले एउटा निर्णय गरें लक्स । तिमी विदेश जादै नजाने मलाइ नगइ नहुने ….। अँ एउटा सम्पन्न मान्छेलाइ पनि समस्या परिरा‘रहेछ, उसैसँग कोर्ट म्यारिज गरेर म जाने भएँ । उसले लाग्ने सबै खर्च ब्यहोरीदिन्छु भनेको छ ।‘
‘तिमी कोर्ट म्यारिज गरेर जाने भयौ ? कस्तो मान्छे हो ?’ उ यति मात्र बोल्न सक्यो । मनभित्रबाट उम्लिएर घाटीसम्म आएर रोक्कियो……..’तिम्ले आफ्नो निर्णय त गरेछौ सुची तर तिमी गएपछि मेरो के हुन्छ, विचार गरेकी छौं ?’
‘अँ, अव हामीले चाहेर केही हुने बाला छैन लक्स, मैले निर्णय गरिसकें । जे होला राम्रै होला । तिमीलाइ समयमै, मैले धेरै पटक भने मानेनौं,
……मैले निर्णय गरिसकें । ‘आँशु लुकाउने प्रयत्न गर्दै उ बोलि ‘तिमी राम्ररी पढ, काम गर, मलाइ नविर्स……..’बोल्दा बोल्दै उ उठेर हिँडी । चाहेर पनि उसले रोक्न सकेन ।
त्यसपछि उ फेरी यो शहरमा एक्लै भयो । सुचीसँग भेटिनु अगाडी पनि त एक्लै थिए अव पनि के फरक पर्छ र ? उसले मनलाइ बुझाउने हजार प्रयास गर्यो, आखिर मनै त हो बेला न कुवेला बाँध भत्काएर बगिदिन्छ । सँगै बिताएका ति पलहरु……’एउटा मान्छेको मायाले कति फरक पार्दछ हो जिन्दगीमा…….. ‘त्यो कालजयी गीत उसै बनेको हैन रहेछ कल्पनामै फेरी दुख्यो ऊ बेस्मारी ।
‘ए लक्ष्मण घर जाने हैन ? ‘साथीहरुले कर गर्दा मेरा धेरै काम छ । सरी ल, म जान्न भनेर फिल्म हेर्न नगएको उ । साथीहरु त हेरेर आइसकेछन् । झस्कियो ऊ । अनि साथिहरुसँगै चुपचाप/अनौठो चालामा घर पुग्यो । कसोकसो ऐनामा आँखा पुग्यो । आहो उसको शरिर कति मायालाग्दो भएर सुकिसकेछ । भोक हराएको महिनौ भैसकेछ । कलेटी परेका ओठहरु सुम्सुम्याउँदै यता यता हेर्यो । किताबका चाङहरु धुलोले छपक्क ढाकिएछ । हरेक सामान कस्तो भद्रगोल ! पर फालिराखेको मोवाइल । स्किनमै मुस्कुराइ रहेका दुइ प्राणी लक्स र सुची । उसका औलाहरु यन्त्रवत चले । पलभरमै त्यो नमिठो विगत कमसेकम उसको मोवाइलवाट डिलिट भयो अनि केही चङ्गा भएझै गरेर ऊ भान्छातिर छिर्यो ।
एउटा नमिठो घाउ दिएर उ गइ । उसँग बोल्ने आँट पनि आएन, बोल्ने कुरा पनि बाँकि रहेन । अन्त्यमा “शुभयात्रा सुची, सधैं खुसी रहनु” मोवाइलमा हतार हतार टाइप गरेर उसले सेन्ट गर्यो ।
कल्याणपुर -७ नुवाकोट
हालः शंकरदेव क्याम्पस, काठमाडौं
nirjala0008@gmail.com
(स्रोत : Nepalplus.com)