उ निकै क्युरियस थियो । अलि पढेलेखेको नयां मान्छे भेट हुंदा उ प्रश्नहरुको झटारो हान्थ्यो । हावा किन देखिंदैन? हवाइजहाज उड्न इन्जिन चाहिन्छ तर चरा उड्न किन चाहिंदैन? आदि आदि । आजको युगमा जन्मेको भए गुगललाइ सोध्थ्यो । उत्तर नपाए लाइब्रेरीमा गइ किताबमा खोज्थ्यो । तर तीसको
दशकमा जन्मेकोले नयां मान्छेलाइ वा पढाउने सरलाइ सोध्नुको बिकल्प थिएन ।
उ पिंढीमा जन्मेको हो । अस्पताल उसले ठुलो भएपछि मात्र देखेको हो । पेट दुख्दा हजुरबाले दन्केर्नोको रस पिलाउंथे । निकै टर्रो हुन्थ्यो । दन्केर्नोलाइ हातमा राखी थिचेपछि पातको आकार हातमा बस्थ्यो त्यसैले उ दन्केर्नोलाइ टाटुको रुपमा पनि प्रयोग गर्थ्यो । ज्वरो आउंदा चाहिं कान्छा दाइ फुक्न आउंथे ।
दिनहरु सधैं उस्तै हुन्थे । हजुरआमाले आठ बजेपछि भात खान दिन्थिन् । त्यसपछि उ हतार हतार स्कुल जाने लुगा लगाउंथ्यो । अगिल्लो दशैंमा किनेको उसको सेतो कमेज खैरो भइसकेको थियो । कट्टु पछाडि दुइ ठाउंमा टालेको थियो । लुगा लगाइ उ गोरु चराउन खोलातिर झर्थ्यो । हतार भएको दिन उ गोरुको पुच्छर निमोठ्थ्यो । तर गोरु झन् नटेरी खेतखेतै भाग्थ्यो । उसलाइ झन् अबेर हुन्थ्यो । गोरुलाइ खोरियातिर हुलेपछि दगुर्दै उ स्कुल जान्थ्यो । सधैं उ ढिलो पुग्थ्यो । डराइ डराइ उ सरसंग हात थाप्थ्यो । लठ्ठी पाउंथ्यो । जति पटक लठ्ठी खान्थ्यो त्यति नै पटक उ हात झट्कार्थ्यो । दुखाइ अलि कम हुन्थ्यो ।
स्कुल सकिएपछि उ गोरु लिइ घर जान्थ्यो । हजुरआमाले दुइ पसर भुटेको मकै दिन्थिन् । उ मकै खल्तिमा हाल्थ्यो र डोको बोकी घांस काट्न जान्थ्यो । हरेक दिन एक डोको घांस काट्नु उसको काम थियो । घांस काट्दा कहिलेकाहिं आंसीले हात काट्थ्यो । उ घाउमा गन्ने वा पातिको रस निचोरेर लगाउंथ्यो अनि झुम्रो बांध्थ्यो । एकैछिन बारीको कान्लामा अडेस लगाइ आराम गर्थ्यो । उसले घांस काट्दा सधैं पुर्वको आकाशबाट एउटा जहाज आउंथ्यो । उ जहाजको छायांलाइ पछ्याउंदै दगुर्थ्यो । आंखाले देखुन्जेल जहाजतिर हेरिरहन्थ्यो । त्यो जहाज अलि पर पुगी मोडिन्थ्यो र जमिन तिर झर्थ्यो । उसका हजुरबाले त्यो जहाजलाइ शहर जांदा नजिकबाट देखेका छन् । उसलाइ पनि त्यो जहाजलाइ आंफ्नै आंखाले नजिकबाट हेर्न मन छ । त्यसका लागि शहरसम्म पुग्नुपर्छ । एउटा ठुलो खोलो तर्नुपर्छ । तर उ अझै सानै छ । जहाज बिलाएपछि डोको भरेर उ घर फर्कन्थ्यो । धेरैजसो उ डोको माथि थप एक मुठो घांस समेत लान्थ्यो । त्यसो गर्दा उसले बेलुका भात खांदा एक डाडु दुध बढी पाउंथ्यो ।
जमाना निकै फरक थियो । आजकलको जस्तो प्लाष्टिकका खेलौना बन्दुक थिएनन् । तर बाउ पल्टने भएकाले बन्दुकको शान संग चाहिं उ राम्रै परिचित थियो । बन्दुक बनाइदिन उसले हजुरबालाइ धेरै पटक भन्यो । हजुरबाले बांसको ढुंग्रोमा बन्दुक बनाइदिएका पनि हुन् । चरा मार्नसक्ने बन्दुक चाहिं होइन । सानो ढुंगोलाइ पांच सात फिट टाढासम्म फ्यांक्न सक्थ्यो । तर बन्दुक भएपछि साथिहरुले उसलाइ फरक नजरले हेर्थे । उसलाइ त्यति भए पुग्थ्यो । उ जे गर्थ्यो आफुलाइ आफ्ना साथिहरुबाट अलग देखाउन गर्थ्यो । उसको संसार निकै सानो थियो । त्यस्तै ४ ५ जना जति थिए साथिहरु। नयां खेलौना केहि भए सबैभन्दा पहिले तिनैलाइ देखाउंथ्यो। कोहि पाहुना आउंदा बिस्कुट वा मिठाइ ल्याइदिए तिनलाइ देखाएपछि मात्र खान्थ्यो । देखाएपछि खांदाको स्वाद बेग्लै हुन्थ्यो ।अधिकांश समय तिनै साथिहरुसंगै बित्थ्यो । उसको प्रतिस्पर्धा तिनै साथिसंग हुन्थ्यो । उनिहरु बांसको सुइरोमा सजिवनीका गेडा कोपेर सबैभन्दा टाढा कसले पुर्याउने भनि प्रतिस्पर्धा गर्थे । ढुंगालाइ डुब्न नदिइ खोला तार्न प्रतिस्पर्धा गर्थे । धेरैजसो उ जित्थ्यो । तर हारेको दिन उसलाइ राम्रोसंग निन्द्रा पर्दैनथ्यो ।
उ सिर्जनात्मक थियो । आजकल जस्तो किबोर्ड गितार वा अरु संगितका साधन रेडियोमा मात्र सुनिन्थ्यो । ति थरीथरी आवाज उ सुसेलीमा निकाल्थ्यो । पाखुरीको पातलाइ मोडेर संगित निकाल्न पनि उ खप्पिस थियो। एक पटक पानीको पाएपमा प्वाल पारी मुरली पनि बनाएको हो तर बज्न चाहिं बजेन । नबजेपछि अर्को पायपको टुक्रा जोडेर पांग्रा बनायो । पुरानो छाताको करगंले उ त्यसलाइ गुडाउंथ्यो । त्यो पांग्रालाइ नलडाइकन खेत बारी छिचोल्दै डांडासम्म पुग्थ्यो । डांडाबाट तल घरतिर हेरी संसार जितेको अनुभुति गर्थ्यो र आफुलाइ अलेक्जेन्डर ठान्थ्यो । उसले फाटेको कट्टुको ग्यांटिसले गुलेली पनि बनाएको हो। बिजुली खैनीको डिब्बाले गुड्ने गाडी बनायो । फालिएका बोतलका बिर्का प्रयोग गरी क्यारमबोर्ड खेल्ने जुक्ति पनि निकाल्यो । उसले कागजको हवाइजहाज पनि बनाएको हो जुन आधा घन्टाभन्दा बढी उडेको थियो । उसले फाटेको मोजाले बनाएको फुटबल खेल्यो । बाटोमा फालिएका चिजहरुमा उ कुनै न कुनै नयां खेलौनाको स्वरुप देख्थ्यो । उसले अन्य धेरै कुराको आविष्कार गर्यो । गाउंमा उसको शान बेग्लै थियो ।
किशोर भएपछि बाउ आमासंगै उ शहर झर्यो । उसका साथिहरु चाहिं गाउंमै भए । अब उसका नयां शहरिया साथिहरु भए । तर शहरमा उसको परिचय ‘गाउंले’ नै थियो । कतिपय शहरका रैथानेहरु उसलाइ ‘पाखे’ भन्थे । उनिहरु उसलाइ खुब उडाउंथे । हुन पनि उनिहरुलाइ देखाउन लायक उ संग केहि थिएन । पढाइमा चाहिं उ अब्बल नै थियो । पहिला वा दोस्रा हुन्थ्यो नै । उसका कतिपय साथिहरुसंग साइकल थियो । कतिपयसंग भिडियो गेम समेत थियो । उसले झोलाबाट निकालेर मोजाको बल देखाउंदा उनिहरु गलल हांस्थे । रबरको बल किन्ने पैसा उ संग थिएन । झोक चल्दा बाउको खल्ति छाम्थ्यो । तर खुद्रा पैसा मात्र भेट्थ्यो । शुक्रबार शनिबार आउंदा उ सधैं गाउं जाने गर्थ्यो । कहिलेकाहिं गाउंबाट दुध दहि लिएर आउंदा उसलाइ उसका नयां साथिहरुले गिज्याउंथे । दुधवाला आयो भनी जिस्क्याउंथे । लाजले उ रातो हुन्थ्यो । उसलाइ निकै हिनताबोध हुन्थ्यो । त्यसबाट उसलाइ बदलाको भावना पनि आउंथ्यो । शहरको हावाले उसलाइ कहिलेकाहिं बेस्सरी हान्थ्यो । गाउंमा फर्किंदा भने त्यो दुखाइ अलि कम हुन्थ्यो । गाउंमा गइ साथिहरुसंग उ शहरमा जहाज देखेको, टिभी हेरेको, गाडी चडेको कुरा सुनाउंथ्यो । जे होस् शहरिया भएपछि गाउंमा उसको शान चाहिं मजैले बढेको थियो ।
जवान भएपछि चाहिं उसलाइ त्यो शहर सांगुरो लाग्यो । अझ फराकिलो ठाउं खोज्दै उ राजधानी छिर्यो । अरुको जस्तै उसको पनि राजधानी जाने बहाना क्याम्पस पढ्ने नै थियो । त्यहां जिवन सरल होला भन्ने उसले सोचेको थियो । तर त्यहां प्रतिस्पर्धा निकै कडा थियो । उसको राजधानीकै रैथाने प्रतिस्पर्धिहरु थुप्रै थिए । अनि देशभरका गाउंबाट आएका उ जस्तै अन्य पनि । तर उ निकै मिहिनेती थियो । पढाइमा उ अगाडि नै हुन्थ्यो ।
राजधानीमा पढाइमा मात्र हैन हरेक कुरामा प्रतिस्पर्धा गर्नुपर्थ्यो । वास्तवमा राजधानीले उसलाइ प्रतिस्पर्धा गर्न सिकाउंदै थियो । यसै बीचमा उसलाइ जवानीले पनि छोयो । उसले एउटी केटीलाइ मन पराउन थाल्यो । केटीहरु मायाका भोका हुन्छन् भन्ने उसले सुनेको थियो । उसले त्यो केटीलाइ अपार माया दियो । उ हेर्दा त्यस्तो ह्यान्डसम पनि थिएन । उसले त्यो केटीलाइ प्रभावित पार्न सकेको सबैथोक गर्यो । कपालको स्टाइल दिनदिनै चेन्ज गर्यो। फुटबल खेल्न थाल्यो । जिम पनि जान थाल्यो । तर त्यतिले पुगेन । राजधानीमा भिडबाट आफुलाइ अलग्याउन निकै गार्हो थियो । त्यसका लागि फ्यासन अनुसारको लुगा फेरिरहनु पर्थ्यो । पर्फ्युम छर्किनुपर्थ्यो । हिन्दी र अंग्रेजी सिनेमाका कुरा गर्नुपर्थ्यो । रेष्टुरेन्टमा खानुपर्थ्यो अनि ख्वाउनुपर्थ्यो । बाइकमा चड्नुपर्थ्यो अनि चढाउनुपर्थ्यो । उसले त्यो केटीलाइ प्राप्त गर्न सकेन । उ राजधानीमा हुर्केकी केटी थिइ । तर उ भने ‘पाखे’ नै थियो । उ जिवनमा धेरै कुरामा सफल भएपनि प्रेममा सफल हुन सकेन । उसले चाहेको कुरा प्राप्त गर्न सकेन । जिवनमा पहिलो पटक प्राप्त नगरी गुमाएको महशुस उसले गर्यो । त्यसपछिको केहि समय उ निराश भयो । तर समयले सबै घाउ पुर्यो । उसले आफुलाइ सम्हाल्यो । यस घटनाले उसलाइ जिवनमा धेरै कुरा सिकायो ।
केहि बर्षपछि उसलाइ राजधानी सांगुरो लाग्न थाल्यो । उ अमेरिका गयो । अरुको जस्तै उसको पनि विदेश जाने बहाना पढ्ने नै थियो । त्यहां प्रतिस्पर्धा झनै कडा थियो । विश्वभरबाट छानिएर आएका युवाहरुसंग उसको प्रतिस्पर्धा थियो । त्यहांको ब्यस्त जिवनलाइ भोगेपछि आठ कक्षामा पढेको डार्बिनको बांच्नका लागि संघर्ष सिद्दान्त उसले राम्रोसंग बुझ्यो । उ जिवनका अनुभवहरुबाट सिक्दै थियो । तर प्रतिस्पर्धा गर्दा गर्दा उ थाकिसकेको थियो । उसलाइ अब अरुसंग प्रतिस्पर्धा गर्नु अर्थहिन लाग्न थाल्यो । उ आंफैसंग प्रतिस्पर्धा गर्न थाल्यो । उसले पढाइमा अझ मन लगायो । संघर्षलाइ जीवनशैली बनायो । आंफैभित्र रमायो । आफ्नो जवानीलाइ काबुमा राख्यो ।
उसका धेरै साथिहरुलाइ अमेरिकी जीवनशैलीले प्रभावित पार्यो । उनिहरु वियर खांदा र गोरा युवतिहरुसंग झुम्दा आनन्द मान्न थाले । तर अमेरिकाले उसलाइ धेरै प्रभावित गर्न सकेन । उ फ्यासन अनुसार लुगा लगाउंदैनथ्यो । उसको कोठामा सामानहरु पनि पुरानै थिए । साथिहरुका घरमा भित्ताभरीका टिभी थिए । उ संग चाहिं पुरानो क्याथोड रे टिभी नै थियो । उसको फोन पनि नोकिया ६०३० नै थियो । उ हरेक चिज किन्दा उपयोगिताको हिसाबले किन्थ्यो । हरेक वस्तुलाइ उ अधिकतम प्रयोग गर्थ्यो । कुनै वस्तुको वास्तविक लागत मुल्य भन्दा बढी तिर्नुपर्यो भने उ हिच्किचाउंथ्यो । केहि चिज बिग्रे उ सकेसम्म आंफै बनाउंथ्यो । उसका कतिपय साथिहरुले उसलाइ लोभी भन्थे । तर उसलाइ त्यसको परवाह थिएन । आफु सकेसम्म गलत काम गर्दैनथ्यो । अमेरिकामा उसको स्ट्याटस ‘पाखे’ नै थियो । तर ‘पाखे’ हुनुमा उ गर्व गर्थ्यो । उ जे गर्थ्यो मज्जाले गर्थ्यो । मज्जाले हांस्थ्यो । मज्जाले रुन्थ्यो ।
आजसम्म आइपुग्दा उसले पढाइ र जिवनका भोगाइहरुबाट धेरै सिकेको छ । गलत के हो शहि के हो छुट्याउन सक्ने भएको छ । खुशी हुन उ आजकल अरुमा भर पर्दैन । उसका उद्देश्य पनि रियलिस्टिक छन् । सकेसम्म विवेकशिल पनि हुन खोज्छ । उसलाइ आफ्नो लिमिटेसन पनि थाहा छ । उ आजकल शिव खेराको पुस्तक पढेर जोशमा आउंदैन । उ धेरै कुरा पढ्छ, हेर्छ, सुन्छ । अनिमात्र आफ्नो धारणा बनाउंछ । उ कन्सर्टमा अरुले गीत गाएको देखेर उत्तेजित पनि हुंदैन । बरु एक्लै गुन्गुनाउंछ । टिभीमा अरुले फुटबल खेलेको हेरेर दगं पनि पर्दैन । फुर्सद हुंदा बरु आंफै खेल्छ । उ असफल हुुंदा पनि त्यति निरश र विचलित हुंदैन । यो संसारमा सबै प्रश्नहरुको उत्तर हुंदैन भन्ने पनि उसले बुझेको छ । सबैलाइ समान व्यवहार पनि गर्छ । ठुलो मान्छेलाइ भेट्दा धनुष्टंकार परी नमस्कार गर्दैन । अफिस सफा गर्ने स्विपरलाइ सानो पनि ठान्दैन ।
सानो छंदा आकाशमा देखेको हवाइजहाजमा उ धेरैपटक चढिसक्यो । तर जहाजको छायांलाइ पछ्याएर दगुर्दाको आनन्द उसले पाएन । अमेरिकाका चिल्ला हाइवेमा मोटर पनि उसले धेरै चलायो । तर उसले गाउंमा पांग्रा गुडाएको जस्तो आनन्द कहिल्यै पाएन । भौतिक सुखसयलका सबै माध्यमहरु भएको अमेरिका पनि आजकल उसलाइ सांगुरो लाग्दैछ । त्यसैले उ एउटा फराकिलो ठाउं खोज्दैछ । जहां उ स्वच्छन्द रुपमा फुल्न सकोस् । उसले चाहेको जीवन जिउन सकोस् । आफुले सिकेको कुरा नयां पुस्तालाइ सिकाउन सकोस् । उ आफु हुर्केको गाउं, शहर र राजधानीलाइ जोडेर फराकिलो पार्न चाहन्छ । उसले सानो छंदा पांग्रा गुडाएका डांडाकांडामा मोटर गुडाउन चाहन्छ । फालिएका चिजहरुमा उसको सिर्जना प्रयोग गरी उपयोग गर्न चाहन्छ । आफु जन्मेको ठाउंलाइ उ भौतिक रुपमा मात्र हैन सामाजिक रुपमा पनि फराकिलो बनाउन चाहन्छ । उसले सिकेका मुल्य र मान्यताहरुलाइ त्यहां स्थापित गर्न चाहन्छ । सांगुरो जन्मभूमिलाइ उ हरेक हिसाबले फराकिलो पार्न चाहन्छ । उ गाउं फर्किन चाहन्छ । उ ‘पाखे’ नै रहन चाहन्छ ।
(स्रोत : Sagar Parajuli’s Blog)