~अनन्तगोपाल रिसाल~
मूना ती विचरी मरिन्,मदन त्यो, मर्दैन तिम्रो छवी
नेपाली अब सोच है अमरता, भाषा छ यो सूरभी |
पागल् झैँ,पुतली,लुनी,सुन-विहान्,सीता-हरण्,कुन्जिनी
शाकुन्तल् र सुलोचना,बन-कुसुम्,राणा-प्रतापी तिमी |१|
शावित्री तर सत्यवान्,कसमले-चम्पा-प्रभा,गाइने
बिर्सिन्नौँ सुन-यो छ है ‘डलरमा’,लक्ष्मी सधैँ चाहिने
भश्मै रै छ त यो,प्रसाद,जग खै? बाँकी रह्यो छैन ती?
धूवाँ झैँ,सब मैलियो दश-दिशा एकै बुझेँ कृष्णजी|२|
लक्ष्मी छन् कणमा,विदेश घरमा,लूकेर बस्छन् कति!
यौटै वीज थियौ,कहाँ शिखरमा,देख्यौ नजिकै यति?
तिम्रा भाव र सम्पदा नगरमा,बढ्नेछ आशा यहाँ
साझा छौ जनका,अगाध धनका,लक्ष्मी तिमी छौ जहाँ|३|
छाती चर्चर गर्दथ्यो,अमरता,खै त्यो कता?साधना?
छोड्यौ तल्तल ती नशा,कसर झैँ, छैनन् कुनै वाशना
धर्ती पूजन गर्दछौँ मिलिवरी,सुन्का अनर्सा फले
बन्ने भो,नव-पाइला मुलुकको, थाली-पुजा-दीपले|४| |
त्यागी बन्न सक्यौ!अहा!ऋदयले,वाणी मिठा भर्दियौ
सेवा नै जनको,उदार मनले,घाऊ सफा गर्दियौ|
आत्मा पूजन गर्दछौ,इश-भनी,ढुँगा न की देवता
लक्ष्मीका परसाद हौ,जन-कवि बस्छिन् त्यहिँ शारदा|५|
औँसीका,अझ रातका प्रहरमा,ज्योति बनी बल्दछौ
श्रस्टा हे!अब देशमा सरलता,शिक्षा नयाँ भर्दछौ|
देखौँ सज्जन आज,विश्व-जनमा, सम्मानको आँगन
हाम्रा शुद्ध बनुन्,सबै मतिहरु,भैलेनीको माँगन |६|
गोठैमा किन बस्दछौ? शरण ली, तिम्रा प्रशँसा कति?
धर्तीमा अझ झर्दछौ,धन-कवि,द्यौता सरी सम्पत्ती !
खाई घाँस रुखो,अम्रित बनी,उद्धार सबको गर
भक्ती भावन गर्दछौँ बस तिमी, नेपाल तिम्रो घर|७|
दैवी खेल छ यो,अवश्य रहने छैनन् यहाँ क्यै पनि!
द्वी-चारै महिना निवाश गरियो, मीठा कहानी भनी
बर्षौँ वर्ष बिते सताब्दी गईगो, खै के भयो सँझ त ?
भाषा रैछ समाजमा गतिदिने,प्यारो,मीठो,दुर्लभ |८|
जसै लक्ष्मी उक्ले,स्वरग तलमा,ईन्द्र पहिले
कुरा नेपालीमा,सहज गरियो,देव जनले |
सुनाए धर्तीका-मदन,कविले,विह्वर कथा
अहा!मीठा गाये,गजल रसिला,छन्द कविता|९|
बनायौ बाटा ती,अमर रहने,धर्म-मूरती
छ भाषा नेपाली सरल बहने, स्वर्ग-धरती|
बिते बर्सौँ,ताजा-तर छ अहिले सुन्दर-पन
उदाएका तारा,गगन भरमा झल्मल बन |१०|
अनन्तगोपाल रिसाल
१० अक्टोबर २००९
(स्रोत : INLSNY)