बर्लिन शहर
यतिखेर हाँसिरहेको छ
बर्सेको हिउँ देखेर
यान्त्रिक पीडाले थिचिएको शहर
मन हलुङ्गो पार्दैछ
हिउँका कविता लेखेर,
पिउँ पिउँ लाग्ने
जिउँ जिउँ लाग्ने
त्यो हिउँ हो कि मोती ?
आँखा एकोहोरिईरहे
चश्मामा पावर छ
तर सृष्टिको चमक
मलाई चहकिलो वनाई रहेछ
त्यो हिउँको ज्योति
एकैछिनमा मज्जा दिने
त्यो धवल विहानी
सुषुप्त जिजीविषा
जाग्दो छ जवानी
झरेछन् आँखाबाट हिउँलाई हेर्ने पानी
हेरिरहेछु हिउँको वर्षा कसैलाई नभनी
विहान पनि हिउँ जस्तै सफा होस्
मन पनि हिउँ जस्तै कञ्चन होस्
तर यो मृगतृष्णा
क्षणभरमै खरानी बन्छ
हिउँ र्झन छाडेपछि
म आफैं पग्लन्छु
र पग्लेको मेरो मन
आफ्नै लागि सिरानी वन्छ
एकै छिनमा म कहाँ हो कहाँ पुग्छु
र त्यो स्वप्निल संसार
आफैसंग विरानी वन्छ ।
तापमानमा विश्वास गर्छ मान्छे
उग्रताप जन्माएर पग्लन्छ
हीन वसन्त जन्माएर अग्लन्छ
कुण्ठाग्रस्त मन वोकेर चिसिन्छ
मृतसागरमा सुतेरै पनि थिचिन्छ
उसको अविवेकी मन
उसको अस्थिर तन
आखिर प्रकृतिबाट छुट्दै गएको छ
प्रकृतिलाई विजय गर्ने धुनमा
उसले आफैलाई लुट्दै गएको छ ।
संयन्त्रको मान्छे
साधनहरूको मान्छे
मेशिन जस्तो देखिन्छ
थोरै वोल्छ तर पनि भाषा वुझिदैन
बाटो देखाइ रहन्छ
तर पनि दृष्टान्त भेटिदैन
त्यसैले साथी
यो हिउँ देख्दा लाग्छ
यही आकाशमा उडिरहुँ
जमीनमा सेताम्ये हिउँ छ
जमीन माथि कुदिरहुँ
असीम आनन्द लाग्छ
असीम प्यार जाग्छ
सिर्फ हिउँ पर्दा
सिर्फ चिसिएको पानी झर्दा
त्यतिवेला म प्रकृतिमा लीन भएको हुन्छु
त्यतिवेला म प्रकृतिकै भाषा मात्र सुन्छु
आज संसारमा कसैको हत्या हुन्छ
भोली कोही आत्महत्यामा सरिक हुन्छ
पर्सि कसैको रगतबाट कोही आफ्नो शरीर धुन्छ
यी सारा निरन्तरताको पराकाष्ठा मान्छे
आफ्नो सिद्धान्त वनाइरहेछ
आफ्नै मृत्युको खाडल खनाइरहेछ
रेडियोधर्मी किरणको सिर्जना
यान्त्रिक होडवाजीको तिर्सना
यावत कुराले प्रकृतिलाई रूवाईरहेछन्
आफ्नै आमालाई मान्छेहरू
विषको लड्डु खुवाइरहेछन्
तर पनि इश्वरको हाँसो पाएर
सृष्टिका जीवहरू हाँस्न खोज्छन्
जिउनलाई प्रकृतिको आर्शीवाद पाएर
स्वतन्त्र भै जिउन खोज्छन्
यो प्रान्जल हिउँको वर्षामा
प्रकृतिको अलौकिक हर्षमा
मान्छेले थोरै सन्देश मात्र लिए धेरै हुन्थ्यो
थोरै ज्ञान मात्र लिए दैवको मन छुन्थ्यो
तर के देख्ला मान्छेले सेता हिउँमा भगवानका वाणीहरू
तर के देख्ला मान्छेले सेता हिउँमा वाँच्न खोज्ने लाखौं प्राणीहरू
उ त भन्छ चिसोबाट वच्न रूम हिटर चाहिन्छ
बाहिर ननिस्क साथीहरू हो !
यो हिउँबाट नराम्रो धोका खाईन्छ ।
-बर्लिन ।
(स्रोत : Germany – Inls)