बलेवाका मामा दमकभरका पण्डित ठुला
थियौ ज्ञानी ध्यानी वदन रसिला दन्त सुकिला
यता आऊ च्याप्छौं स्मृतिपटलमा मातुल-कला
छ यो वाचा आमा ! भनिदिनुन है ठाउँ छ खुला ।
गयौ मामा मेरा सकल ममता बञ्चित म छु
बितायौ छोडेर विकल टुहुरो चिन्तित म छु
थिएँ एक्लै पैलै अझ पनि डुबायौ विकृत छु
न मारे है माया वर र परको मन्थन म छु ।
गरें मैले भूलै कतिपय बिते बाहिर दिन
न संझेका हैनौं तर पनि भुलें मावल किन ?
छ सन्ध्याको कालो व्यवहृत यहाँ हा ! छिन छिन
छिनिस् काले तैँले प्रिय परम मामा किन, किन ?
बिताएँ पैसामा अलिकति बचेको युवतिमा
जुवा खेली खाएँ तर अगतिलो त्यो व्यसनमा
बचेको मौकामा पनि तरल रक्सी छिन छिन
पिई फालें मैले समय बितिगो के गरूँ झन ।
छ रोएको नाथे हवन सब भो कालकुटमा
छ ढोएको पाले डलरसित सुत्ने निकटमा
न जानेको कालो करतुत कहाँ काल महिमा
डुबिस् रोइस् ऐले मृतक प्रिय मामाको निधनमा ।
अमेरिका आई तलवितलमा आश्रति म छु
गयौ मामा स्वर्गै अझ बिछुडिएको झन म छु
फुटे मेरा आँखा धन-पति-त भान्जो द्रवित छु
क्षमा देऊ मामा गुरुवर थियौ लज्जित म छु ।
– वुडब्रीज, भर्जिनिया
(स्रोत : Germany – Inls)