~कृशु क्षेत्री~
कवि
जंगलमा
कविता लेख्न एक्लै टोलाइरहेको छ
कविकै छेउमा
उफ्रदैं खेलिरहेको छ
भरखरै जन्मेको मृगको बच्चा …
जंगलमा
सिंह छ
बाघ छ
चितुवा छ
ब्वाँसो छ
भालु छ
सबै भोकाएका छन्
यस्तो बेला
आमाको दूध खाँदै गरेको
त्यो मृगको बच्चा बचाउनु पर्ने
जिम्मेवारी छ कविमाथि …
घाँसे मैदानमा
अजिंगर छ
गोमन सर्प छ
करेत छ
एनाकोण्डा छ
यस्तोबेला
घाँस चर्दै गरेको
त्यो मृगको बच्चा बचाउनुपर्ने
जिम्मेवारी छ कविमाथि…
छेउको समुद्रमा
गोही छ
सार्क छ
हृवेल छ
अक्टोपस छ
यस्तो बेला
तिर्खाएर पानी खान
किनारमा उभिएको
त्यो मृगको बच्चा बचाउनु पर्ने
जिम्मेवारी छ कविमाथि…
नीलो आकाशमा
बाज छ
चिल छ
गिद्ध छ
चमेराहरु छन्
यस्तोबेला
घाम तापेर निदाइराखेको
त्यो मृगको बच्चा बचाउनु पर्ने
जिम्मेवारी छ कविमाथि…
छेउको शहरमा
भगवान छ
राजा छ
नेता छ
सेना छ
बिद्रोही छ
र, सबैको नंग्रा पलाएको छ
दाह्रा उम्रिएको छ
बन्दुक बोकेर
शिकार खेल्न
जंगलतर्फ दौडदैं गरेको दृश्य छ
यस्तोबेला
खेल्दै उफ्रदैं गरेको
त्यो मृगको बच्चा बचाउनु पर्ने
जिम्मेवारी छ कविमाथि…
चारैतिर
असुरक्षाको घेरामा
मृत्युको मुखमा परेको
त्यो मृगको बच्चाको
सुरक्षित भविष्य सोचेर
अहँ ! कविले लेख्न सकेन
कुनै नयां कविता…
– ढाका, बंगलादेश ।
(स्रोत : Germany – Inls)