कथा : कथा बी

~रामप्रसाद दाहाल~Ram Prasad Dahal

सरिता आज खुशी थिई। उसले हिजो मात्रै छोरालाई पठाइ दिने तार दिएकी थिई। कति दिन पछि उसले छोरालाई झिकाउने निर्णय लिएकी थिई। फेरि छोरो फर्केपछि उसलाई आफ्नो सम्पत्तिको हकदार घोषणा गर्न चाहन्थी ऊ, उसको आगमनमा सबैलाई निम्त्याएर स्वागत आयोजना गर्न चाहन्थी । आखिर करोडौंको उत्तराधिकारीको सम्मान त हुनै पर्‍यो नि।

सरिता कार्यालयमा पुग्दा उसलाई उसकी पि.ए. ले भनी- “मैडमको कोठामा

एक जना हुनुहुन्छ । अहिले न पस्नु भनेको, मान्नु भएन।”

सरिता विवाद गर्ने मुडमा थिइन। त्यसैले उसले केही नभनी पिउनले खोलेको ढोकाबाट भित्र पसी र पिउनले ढोका लगायो। पिढयूँ फर्काएर झ्यालबाट बाहिर हेरिरहेको मानिस ढोका लगाएको आवाज सुनेर अगाडि फर्कियो र सरिताले उसलाई देखेर जिल्ल पर्दै भनी -“विजय, तिमी? मैले तिमीलाई यहाँ नआउनु भनेकी होइन?”

विजय सरितातिर आउँदै भन्यो -“नआउनु भनेकी त हौ, सरिता तर मानिसको बाध्यताले आदेश पुरा गर्न दिदों रहेनछ ।”

“के भन्न आयौ तिमी?” -सरिताले ऊ सँग विवाद गर्नु निरर्थ ठानेर सोधी।

“तिमीले त मलाई ‘बस’ पनि भनिनौ । भै हाल्यो, तिम्रो आदेश बिना पनि म बस्दछु किनकी कुरा गम्भिर नै भएकोले ऊभिएर कुरा गर्न असजिलो हुन्छ।” -विजय बस्यो र फेरी भन्न थाल्यो -“तिमीलाई थाहा छँदैछ म सँधैको दरिद्र भनेर र तिमीसँग प्रशस्त छ कहिले पनि नसकिने। यसैले म केही माग्न आएको छु तिमी सँग।”

“विजय, मैले दिएर तिमीलाई पुग्ने र तिमीले सन्चय गर्ने भए आजसम्म मैले दिएकोले सम्पन्न भइसक्ने थियौ। तिम्रो दरिद्रताको कारण तिम्रो व्यवहार हो र त्यो आचरण रहुन्जेल तिमीलाई सँधै नै अपुग नै भइरहेनछ।”

“यो चुस्स चुस्स दिएकोले नहुँदो रहेछ। दिनेलाई सँधै दिए जस्तो, पाऊनेले कहिले पनि नपाए जस्तो। मलाई एक पल्ट देऊ, अलि धेरै देऊ अनि त्यस पछि माग्ने छैन।”

“तिमीलाई म दिने पक्षमा त छैन तैपनि तिम्रो माग कति?”

“तिम्रो सम्पतिको १५ प्रतिशत भन्दा बढी त म माग्दिनँ।”

“तिम्रो त्यत्रो आँट? म तिमीलाई चुनदाम पनि दिन्नँ।”

“त्यसो नभन, सरिता। तिम्रो छोरो फर्किए पछि त यो सम्पति जम्मै उसले लिने छ। तिमीसँग केही पनि रहने छैन। आखिर तिमी त उसको सम्पतिको कुरालुसम्म न हौ। तिमीले दिइनौ भने मैले ऊ सँग नै माग्नु पर्ने हुन्छ। उसको बाबु ‘म’ हुँ भनेर। कति नराम्रो लाग्ला उसलाई यो कुरा सुनेर?”

“तिमीले भन्दैमा बाबु हुने होइन। समाजले त्यो मान्दैन।”

“समाजको कुरा नै कहाँ आयो र? तिम्रो छोरोलाई पर्याप्त कारण दिने छु म। उसले विश्वास गर्ने कारण पर्याप्त हुनेछ उसको सुखको अन्त्य गर्न। आखिर बाबुआमा छुट्टिनुको कारण पनि केही छन् भन्ने मान्नै पर्‍यो उसले।”

“तिम्रो ब्ल्याकमेलिङको धम्कीले केही गर्दैन र म डराऊन्नँ पनि। तिमीले जे गर्छौ गर।” -सरिताले दिगो भएर जवाफ दिई।

विजयले कुटिल मुस्कान ओठमा ल्याएर भन्यो -“तिमी अबुझ होइनौ र तिमीले यसको परिणाम के हुन्छ भन्ने सोचिसकेकी छौ। खाली तिमीलाई सोच्ने समय चाहिएको छ। भोली बेलुका सम्म सोच। म तिम्रो घरमा आउँछु भोली बेलुका। मसँग पनि समय कम छ। २।४ दिनमा त तिम्रो छोरो पनि आइ पुग्छ।”

“मेरो घरमा कोही हुने छैनन् तिमीलाई स्वागत गर्न।” -सरिताले घृणा साथ भनी।

“बिना आज्ञा नै प्रवेश गर्न सक्छु म तिम्रो घरमा” -विजयले त्यही मुस्कानका साथ भन्यो।

“त्यस्तो धृष्ठता नगरेस्।” -सरिताले थपी।

विजय निस्कियो।

ब्ल्याकमेलिङ विजयले वर्षौ देखि गरिरहेको थियो र सरिता मोल तिरिरहेकी थिई। अझ कति वर्ष तिरिरहने उसले? यसको अन्त्य कहाँ गएर हुने?

सरिता धेरै सोच्ने थिई तर उसकी पि.ए. भित्र पसी र भनी -“मैडम। स्वागत भोजको कार्ड र मेन्यु फाइनल गर्न आएको छ।”

केही नयाँ कुरा सुने झै उसले पि.ए.लाई हेरी र भनी -“कार्ड? ए, अँ। त्यो अहिलेलाई सार भनिदेऊ। अँ फेरी बाबुलाई पनि अहिले नपठाऊनु भनेर तार दिइदेऊ।”

पि.ए. छक्क परी। हिजो जे पनि ‘तुरन्त, तुरन्त’ भन्ने थियो। आज सबै पर सर्‍यो।

‘सनक चड्छ यी धनीहरुलाई पनि’ -ऊसले सोची – ‘हामी काम नपाए झैं कहिले त्यही ‘हो’ कहिले त्यसैलाई ‘होइन’ भन्दै हिड्नु पर्ने। ऊनीहरुलाई हामी अप्ठ्यारोमा परे पनि केही छैन।’

पि.ए.बाहिर निस्की। सरितालाई कार्म गर्न मन लागेन। जरुरी फाइल पनि केही भए पि.ए.ले भनीसक्ने थिई। ऊ आँखा चिम्लेर कुर्सीमा अडेस लागी र समाधनको बाटो सोच्न थाली।

“टेलिफोन मैडम।” -इन्टरकममा पि.ए. को स्वर आयो।

“को?” -ऊसले आँखा नखोली सोधी।

“अनिश शर्मा।” -पि.ए.को स्वर भावहीन थियो।

सरिता झस्की। उसले सोची -‘फेरी अर्को आपत। के दुईजनाको यो संयुक्त प्रयास त होइन। आखिर चाहे पनि नचाहे पनि सुन्न त परिहाल्यो।’ उसले फोन दिने आदेश दिई।

“हलो।”

“म अनिश, सरिता।”

“किन फोन गर्नु भयो?”

“सरिता, हेरन। फेरि केही पैसा चाहियो मलाई।”

“कति चाहियो तपाईलाई?”

“यो चुपुर चुपुर गरेर तिमीलाई पनि झन्झट, मलाई पनि अपुग। अहिले बरु एकैपल्ट देऊ ।”

“कहीं १५ प्रतिशत त होइन?”

“हो, त्यति जति नै तर तिमीले कसरी अन्दाज गर्यौ ?”

“त्यसै, हावामा। तर म दिने विचारमा छैनँ।”

“त्यसो नभन, सरिता। तिम्रो छोरो आएपछि माग्न पनि पाउँदिनँ। फेरि छोराको बाबुको निम्ति त्यो कुनै ठुलो कुरा पनि त होइन।”

“मैले दिइनँ भने?”

“मैले बाबु होइन भनेर हात केही नपार्नु भन्दा ‘बाबु हुँ’ भनेर पत्रम् पुष्यम् लिनु उपयुक्त ठान्छु र तिमी पनि यसलाई बुद्धिमानी नै भन्छ्यौ होला।”

ऊ चेपमा पर्न लागेकी थिई। समाधान तुरन्तै खोज्नु आवश्यक थियो। विपत्तिमा उसको मस्तिष्क कम्प्युटर झैं क्रियाशील भयो। उसले तुरन्त सोची। ” म हुन्छ भन्न पनि सक्दिन ‘हुन्दैन भन्न पनि सक्दिनँ। भोली सम्म सोच्न दिनोस्”

फेरी एक छिन पछि भनी -“यसो गर्नोस् न। भोली बेलुका खाना सँगै खाँदा हुदैन? त्यहीं कुरा गरौला।”

अनिशको स्वीकृतिमा उसले आफू जाने रेष्टुराँको नाम र समय दिई। अनिलशले टेलिफोन राख्यो।

कार्यालय जानु अगाडि सरिताले ड्रेसिङ टेबल अगाडि बसेर आफ्नो मेकअप मिलाई र लाउन झिकेको एऊटा सानो सेट गहना लगाएर ऐना हेरी। फेरी एकछिन पछि केही नमिलेजस्तो लागेर सबै फुकाली र टेबलमा राखी। दराजबाट अर्को सेट झकेर फेरि लगाई। टेबलको सेट त्यहीं नै रह्यो। बाहिर निस्कन तयार भएपछि नोकर्नीलाई सोधी -“तँ घर जान्छु भनेकी होइन, राधिका?”

“छुट्टी पाए त जाने थिएँ।” -राधिकाले अनुरोधको स्वरमा भनी।

“यसो गर त। तँ आज जा, भोली बेलुका आइज।” -सरिताले आदेश दिई र फेरी थपी -“म गएपछि बाहिरको साँचो लगाऊनु र गेटमा दिनु।”

नोकर्नीले २।४ दिनै कै छुट्टी खोजेकी थिई तर मालिकनीले भनिसकेपछि ‘नाइँ’ भन्न सकिन। केही भन्न आँट नै गरे पनि मालिकनी निस्की सकेकी थिई।

बेलुका रेष्टुराँमा सरिताले अनिशको प्रस्तावको जोडदार विरोध गरी तर अनिशले आफ्नो हठ छोडेन। पारपाचुके भएपनि छोराको बाबु थियो ऊ, र उसले छोराको बाबु रहिरहन आवश्यक थियो सबैको निम्ति पनि उसलाई आफ्नो मोल थाहा थियो। सरितासँग पनि अर्को विकल्प थिएन । एकातिरबाट ‘म बाबु होइन’ भन्ने र अर्को तिरबाट ‘म बाबु हुँ’ भन्ने दुई पक्ष भएपछि एक्ली सरिताको भुइँ भासिइ सकेको थियो र उसले अनिशको प्रस्ताव स्वीकार गरेर १० प्रतिशत सम्म दिन तयार भई। अनिश आफ्नो सफलतामा मख्ख पर्‍यो।

घर फर्कदाँ बाटोमा सरिताले अनिशलाई सोधी -“दिदीलाई, केटाकेटीलाई कस्तो छ नि?”

सरिताले यसरी आफ्नो परिवारको कुरा गरिदिंदा अनिश खुशी भएर भन्यो -“यही ऊनीहरुकै निम्ति त हो नि मैले यत्रो कर गरेको। मेरो निम्ति त के छ र?”

“त्यस्तै हो। एऊटाको घरको निकालेर अर्को घरमा जोडनु पर्छ।”

“तिम्रो निम्ति त त्यति धेरै होइन नि यो पनि।”

“होइन यसको अन्त्य हुने भए त। म त यसको अन्त्य नै देख्दिन।”

“यो पछिल्लो पटक हो।”

“धेरै भइसक्यो पछिल्लो पटक।”

“सत्ते, सत्ते। तिम्रो मासु खाने। विश्वास गर न मलाई।”

“भै हाल्यो छोडिदिनोस्। घर आईपुग्यो। हिंडनोस् एक कप कफी सँगै बसेर खाउँला।”

अनिशले इन्कार गरेन। सरिताले ढोका खोलेपछि दुवै भित्र पसे।

करिब १५ मिनेट पछि सारा घर र बाहिर समेत सुनिने गरी सरिताको चर्को पीडामय चित्कार आयो र ढोकाको पाले दौडदै आइपुग्यो र मालिकनीलाई कराउँदै ढोका घचघच्याउन लाग्यो। ढोका नखुलेको र पाले कराएको स्वर सुनेर माली र बाहिरको कुरुवा समेत आइपुगे। तीनै जनाको बललाई ढोकाको चेस्कीनेले थाम्न सकेन र ढोका खुल्यो। ऊनीहरुले हेर्दा एकातिर सरिता रगताम्य भएर लडेकी थिई र अर्को तिर अनिश। त्यो देखेर कुरुवाले भन्यो -“पुलिसलाई फोन गर। डाक्टरलाई फोन गर।”

अनिशको लाश ऊठाइसकेको थियो र सरिता अस्पताल पुगिसकेकी थिई। कोठामा थिए प्रहरी निरीक्षक अविनाश र उसको सहयोगी विजेन्द्र र घरका नोकर। नोकर चाकरले आफ्नो परिचय दिए पछि अविनाशले पालेलाई सोध्यो -“कति बजे फर्किएका थिए अनिश र सरिता?”

“नौ बज्न लागेको थियो होला हजुर।” -पालेले जवाफ दियो।

“अनिश बराबर आउने गर्थ्यौ?”

“खै, हजुर मैले त अहिलेसम्म कहिले देखेकै थिइँन, चिन्नु त परै जाओस्।”

“तिमीहरुले देखेका थियौ?”

“मैले देखेको थिएँ। मालिकनीको लोग्ने रे भन्थें।” -मालीले जवाफ दियो।

“अनिशको सनाखत नै माली नै गरेका।” -सहयोगीले अविनाशलाई भन्यो।

“अरुले आएको देख्यौ?”

माली र कुरुवाले नकारमा टाऊको हल्लाए।

“कति समयपछि मालिकनी चिच्याइन् त?”

“त्यस्तै अन्दाजी १० मिनेट होला।”

कोही बाहिर निस्किएको चाल सुन्यौ कि?”

“अगाडिबाट त कोही गएन।” -पालेले जवाफ दियो। -“झ्यालमा ग्रील छ। पछाडिबाट गएको भए थाहै पाइन्न।”

“पछाडि गेट छ र?”

“पर्खाल नाघ्नु पर्छ। पर्खाल पनि होचै छ। हामी आउँदा घरको पछाडिको ढोका खुलै थियो” – सहयोगीले भन्यो।

“पछाडि भागेको कसैले देखेको छ कि?” -अविनाशले सहयोगीलाई सोध्यो।

“एकजना भागेको देख्ने छन्। विवरण पनि दिएका छन् तर जुन व्यक्तिको विवरण दिएको त्यो व्यक्ति. हो भनेर मान्नै गाहारो।” -सहयोगीले नाम भन्न नचाहेको देखेर अविनाशले जोड गरेन।

“यहाँ त सबै लाहा छाप मारेको छ, होइन?”

“छ। सबै खानतलाशी नै लिइएको छैन।”

अविनाशले नोकरहरु तिर हेरेर भन्यो -“यो घरमा अरु को बस्छ?”

मालीले जवाफ दियो -“हजुर। घर भित्र सँगै नोकर्नी राधिका बस्छे। आज बिहानै विदामा गएकी छ। दिउँसो काम गर्ने अर्को पनि माली छ। चौकीदार छन् अरु दुइवटा । आज पालो छैन तिनीहरुको।”

“त्यसो भए आज घरमा हुने चाहीं तिमीहरु ३ जना मात्रै हो?”

तीनै जनाले टाऊको हल्लाए।

“यिनीहरुको र बाँकी नोकरहरुको नाम, थर, ठेगाना त टिपेको होला नि?” -अविनाशले विजेन्द्रलाई सोध्यो। विजेन्द्रले ‘छ’ भनेर टाऊको हल्लायो।

“त्यसो भए तिमीहरु जाओ आफ्नो आफ्नो काममा। शहर छोडेर जानु पर्‍यो भने जानकारी दिएर मात्र जानु।”

“हवस्।” तीनै जना निस्किए।

तीनै जना गएपछि अविनाशले विजेन्द्रतिर हेरे भन्यो -“भाग्ने मानिस को हो ? भन्छन् नि ?

विजेन्द्रले विस्तारै भन्यो -“विश्वास नै गर्न गाहारो। कलाकार विजय परियार।”

“तब त शंकाको दायरामा ऊ पनि बाँधियो। मानिसले उसको अनुहार अर्कोसँग धोखा खाने सम्भावना छ?”

“छैन। उसको निधारको त्यो ठुलो खतले नै चिनाई दिन्छ। त्यसमा पनि कलाकारको अनुहारको खत।”

“भोलि हेरौंला उसलाई। मेरो फेरि भोलि बाजे बुढा कहाँ जानै पर्ने दिन। नगए मार्छन् बुढाले।”

“भोली त जान सम्भव छैन जस्तो लाग्छ। सही व्यक्तिद्वारा लाशको सनाखत त भएको छैन। दिनभरि त सनाखत, पोष्टमार्टमलाई नै लाग्छ। फेरि सबैको बयान पनि लिनु पर्‍यो, घरको खानतलाशी पनि।” -सहयोगीले आपत्ति जनायो।

“हेरुँला, हेरुँला। भन्न पाएको छैन त्यसै आत्तिएर विरोध गर्छ। नभ्याए नजाउँला नि।” -अविनाश चिडियो।

सरिताकी पि.ए. बाट अविनाशले बुझ्यो हत्याको अघिल्लो दिन विजय सरिताकोमा आएको थियो र अनिशले पनि फोन गरेको थियो । यसबाट यही निष्कर्ष निस्किन्थ्यो कि उसको बाजेले भने झैं उनीहरूको भेट कुनै आकस्मिक थिएन। अवश्य सुनियोजित नै थियो। सुनियोजित थियो त कुन चाहनामा?

अहिलेसम्मको सुत्र त केवल विजय मात्र थियो। पहिलो सोधपुछ त सिद्धिएको थियो तर फेला नपारुन्जेल फेरी सोधपुछ गर्नुमा कुनै तुक थिएन। त्यसैले उसले अनिशकोको परिवार खोज्यो र फेला पार्‍यो पनि तर अर्को सहरमा। विजेन्द्रलाई साथमा लिएर चोथो दिन अनिशको घरमा पुग्दा उसकी स्वास्नी उषाले ढोका खोली र सोधी -“तपाईहरु को?”

अविनाशले उसलाई हेरेर सोध्यो -“तपाई अनिशजीको …?”

उषाले जवाफ दिई -“वहाँ त हुनुहुन्न। म वहाँकी श्रीमति, उषा मेरो नाम।”

प्रष्ट थियो चौथो दिनमा पनि अनिशको मृत्युको समाचार उसकी पत्नीसम्म पुगेको थिएन। यसले यही प्रमाणित गर्थ्यो कि अनिशको नाता गोता, इष्ट मित्र, साथी भाईको दायरा एकदम सानो थियो। त्यो बुझेर अविनाशले नरम स्वरमा भन्यो -“उषाजी। हामी प्रहरीका मानिस। तपाईकहाँ सानो काम भएर आएका।”

उषाले ढोका पुरै खोलेर बैठकमा लगेर बसाई।

बैठकमा सामान्य सजावट थियो एऊटा मध्यम वर्गीय परिवारको जस्तो। बैठक हेरेर त्यो घरको आम्दानी पुग नपुगको बीचमा छ भन्ने आँक्न सकिन्थ्यो। आफू बसिसकेपछि पनि उषा ऊभिएको देखेर अविनाशले भन्यो -“बस्नोस् न तपाई पनि। हामी २।४ कुरा गरेर गइहाल्छौं।”

उषा बसेपछि अविनाशले सोध्यो -“टाडै जानु भएको अनिशजी?”

“हो टाडै। १०।१५ दिन पछि मात्र आउँछु भन्नु भएको छ।” -उषाले जवाफ दिई।

“तपाईका केटा केटी कति र कत्रा छन्?”

“एऊटी छोरी, एऊटा छोरो। छोरी त १६ पुगी सकी, छोरो १४ मा हिंदैछ।”

“सरिता पछि तपाईको बिहे भएको होइन त?”

“होइन बिहे त मेरो पहिले भएको हो। सरितालाई गर्दा मेरो बिहे भएको कुरा पनि भनेको मात्र हो।”

“तपाईले विरोध गर्नु भएन त सरितासँग बिहे गर्दा?”

“के फरक पर्थ्यो र मलाई नछोडे पछि? फेरी फुँडी आईमाईसँग लोग्नेमानिस लहसिए भनेर वास्ता गरेर के फाइदा?” -उषाको स्वरमा कटुता थियो।

“सम्पति त छ नि ऊ सँग।” -अविनाशले उसलाई अझ चर्कायो।

“यही सम्पति त होनि मानिसलाई बिगार्ने। कहाँ पुर्या।उँछ त्यसले यिनीहरुलाई।”

उषाको ‘यिनीहरु’ ले अविनाशलाई झस्काई दियो।

‘त्यसो भए अर्को व्यक्ति पनि त्यसमा’ -अविनाशले सोच्यो -‘कहीं त्यो ‘हरु’ विजय पनि त होइन?’

“हुन त हो। विजयलाई पनि त त्यसैले तानेको छ।” -ऊसले अँध्यारोमा ढुंगो हान्यो।

विजयको नाम आउँदा उषाले कुनै आश्चर्य नमानी थपी -“त्यो विजय दाई झन चर्को। जति सम्झाए पनि नमान्ने। मलाई त डर लाग्छ।”

अविनाशले थाहा पायो – अनिश र विजयको राम्रै मित्रता छ र सरितासँगको भेटमा कहीं साझेदारी त छैन दुई जनाको ?

“अनिशजी र विजयजीको चिनापर्ची भएको कति भयो नि?” -अविनाशले निश्चित भएर सोध्यो।

“मलाई पनि थाहा छैन। मेरो बिहे हुँदा दुवै जना सँगै थिए।”

“त्यसो भए विजय सरितासँग पढदा अनिशजी पनि सँगै हुनुहुन्थ्यो।”

“हो। हामी सँगै बस्थ्यौं त्यो बेला। विजय दाई पनि हामी कहाँ नै खानु हुन्थ्यो। वहाँको कोठा पनि हामी बसेकै घरमा थियो।” -उषाले तुरन्तै जवाफ दिई। प्रष्ट थियो – उषा त्यति बाठी स्वास्नीमानिस थिइन। ऊबाट कुरा थुत्न सकिन्थ्यो।

“सरितालाई किन विजयले बिहे गरेन त अनिशको ठाउँमा?”

उषाले गोप्य कुरा खोले झैं गरेर भनी -“बुझनु भो मैले त्यसै फुँडी भनेको होइन नि। विजय दाईसँग नै लसपस थियो उसको। पेट पनि बोकेकी रे। बाबुले विजय दाईलाई नदिएपछि मात्रै मेरो श्रीमान्ले बिहे गर्नु भएको त हो।”

“छोडनु किन पर्‍यो त बिहे गरीसकेपछि?”

उषाले अलि मुस्कुराएर व्यङयात्मक पाराले भनी -“एऊटै स्वास्नी धान्न नसक्नेले अर्की स्वास्नी पाल्न कसरी सक्थ्यो र?”

फेरी स्वाभाविक रुपमा आएर थपी -“भैगो अब। तपाईहरु केलाई चाहियो यी सबै कुरा?”

अविनाशले अब गोप्यता खोल्नु उचित ठान्यो। उसले विस्तारै सहानुभूतिपूर्ण आवाजमा भन्यो -“उषाजी! सरिता सिकिस्त घाइते छ र अनिशजीको हत्या भयो।”

निकटस्थ सम्बन्धिको मृत्युको समाचार सुनें झैं उषा विस्मित भई र विस्तारै सोधी -“कसरी? कहाँ भयो?”

“सरिताको घरैमा। हत्या र हत्याको प्रयासको आरोपमा विजयलाई समातिएको छ।” -अविनाशले दोश्रो समाचार दियो।

दोश्रो समाचारले उषा साँचै स्तब्ध भई। उसको रंङ विदिर्ण नै हुन पुग्यो। उसले उडेको अनुहारले सोधी -“दुवै कहाँ छन् त?” अविनाशले सविस्तार वर्णन गरिदियो र उषालाई लिएर फर्कियो।

उषाले अनिशको लास जिम्मा लिएपछि अविनाशले दाहकर्म सिध्याएर उषाको बस्ने बन्दोबस्त गरिदियो र सरिताको यौवनकालको इतिहास खोज्न लाग्यो।

करोडपति बाबुकी छोरी सरिता सामान्य भन्दा बढतै चल्ता पुर्जा थिई र विजयसँगको उसको प्रेमको कथा पनि पुरा कलेज भरी नै चर्चित थियो त्यो बेला। ऊनीहरुको बिहे हुने कुरा पनि चर्चा नभएको होइन तर ऊनीहरुको बिहे भएन। कलेजको नाट्य समूहमा नाम कमाएको जोडी एकदिन छुट्टिए र सरिताको बिहे अनिश शर्मासँग भएको समाचार पनि कलेजमा आयो। अनिश शर्मासँग यति चाँडो बिहे भयो कि कसैले पनि विश्वास गर्न गाहारो भयो पहिले त। विजय सँग किन बिहे भएन त? त्यसमा विभिन्न मानिसको विभिन्न राय थियो। विजयले धोखा दियो, सरिताले छोडिदिई आदि आदि तर जात नमलेकोले सरिताका बाबुले विजयालाई दिएनन् र ‘बलजफ्ति बिहे गरे धन नदिने बाबुको धम्कीले विजयले बिहे गरेन’ भन्ने तर्क चाहीं सबैभन्दा बलियो थियो त्यो बेला। बिहे गरे पछि सरिता कलेजको दृश्यबाट नै हराई।

यो तथ्य जम्मा गर्न पनि अविनाशलाई निकै दिन लाग्यो। १५।२० वर्ष अगाडिको कुरा सबै थाहा भएर सम्झना राख्ने मानिस फेला पार्न पनि त्यति सजिलो भएन।

१४ दिन पछाडि डाक्टरले सरिताको बयान लिन सक्ने स्वीकृति दिए। अविनाश र विजेन्द्रसहित टोली पुग्यो। सरिता अडेस लागेर बसेकी थिई। आफू अगाडिको कुर्सीमा बस्दै उसले सोध्यो -“अहिले कस्तो छ तपाईलाई?”

सरिताले झनो मुस्कान ओठमा ल्याएर बिस्तारै भनी -“केही सन्चो छ अहिले त।”

अविनाशले कुराकानी शुरु गर्ने हिसाबले भन्यो -“सरिताजी। त्यो दुर्घटना भएको साँझ तपाईलाई चोट लाग्यो कसरी? र कसले प्रहार गर्योी?”

सरिताले बिस्तारै भनी -“वहाँ र म ढोका खोलेर भित्र पस्यौं। वहाँ सोफामा बस्नु भयो। घरमा नोकर्नी थिइन, कफी आफै बसाल्नु पर्ने भएकोले केही बेर सुस्ताए पछि म भान्सामा पसें र कफी बसालेर बाहिर निस्कदाँ वहाँ घोप्टो परिरहनु भएको रहेछ। म के भएछ भनेर आउँदा कसैले छुरीले हिर्कायो मलाई।”

“अगाडि बाट कि पछाडिबाट?” -अविनाशले तुरन्तै प्रश्न गर्योी

सरिता एकछिन रोकिई र भनी -“अगाडिबाट।”

“ऊसको अनुहार देख्नु भयो तपाईले?”

“ऊसले मुख छोपेको थियो।”

“ऊसको जिऊडाल, लवाई?”

सरिताको बयानको मानिस ठ्याक्कै विजयसँग मिल्यो। सरिताको बयानले पनि विजयलाई नै गाँठो कसिरहेको थियो।

“तपाईले अनिशलाई कसरी भेटनु भयो?” -अविनाशले प्रश्न राख्यो।

“मैले बोलाएकी थिएँ वहाँलाई वहाँले फोन गरेको दिन। आमा र बाबु छुट्टिए पनि छोरो आउने भएपछि उसको स्वागत गर्नै पर्‍यो।”

“अनि?”

“खाना सँगै खान बोलाएकी थिएँ कुरा गर्न। कुरा गर्‍यो, खाना सँगै खायौ। लोग्नेमानिसको नाताले घरसम्म पुर्याउन आउनु भयो। घरधनीको मर्यादाले कफी खाने निम्तो गरें। वहाँले स्वीकार गर्नुभयो। चौकिदारसँग साँचो लिएर ढोका खोलें। नोकर्नी थिइन। कफी आफैं बनाऊन पानी बसालें। त्यस पछिको घटना त भनिहालें।”

“तपाई को माथि शंका गर्नुहुन्छ?”

“शंका मेरो कसैमाथि पनि छैन। कुनै चोर डाँकुको काम हुन सक्छ।”

“चोर पनि एऊटै मात्र फेला पर्यो , विजय परियार।”

“विजय परियार?”

“हो। तपाई कै निम्तोमा आएर भित्र बसेको थिएँ भन्छ ऊ।”

“मैले उसलाई बोलाऊनु पर्ने त कारण नै छैन। म किन बोलाउँछु उसलाई?”

“आफ्नो कलेजको समयको समयको प्रेमी त हो नि।”

“कलेजमा भेट सम्म हो। नाट्य समूहमा सँगै काम गरेका र त्यो काम पनि चर्चित नै भएकोले दुइजनालाई मानिसले एऊटै धागोमा बाँध्नु कुनै अच्चम होइन। हाम्रा बीचमा प्रेम जस्तो सम्बन्ध थिएन।”

“त्यसो भए उसले अनाधिकार प्रवेश किन गर्‍यो त?”

“त्यो उसैले जानोस्, उसले प्रवेश गरेको हो भने।”

“तपाईको अनिशसँगको प्रेम चर्चा त कहीं पनि सुनिएन नि?” -अविनाश अर्को तिर मोडियो।

“प्रेम बजारमा फिंजाऊने विषय होइन।”

“तर बिहे भने ‘चट मगनी, पट शादी’ जस्तो भयो।”

“त्यसको कारण तपाई अन्दाज गर्न सक्नुहुन्छ।” -सरिता लजाई।

“तपाई दिदी भनौं या बहिनी उषालाई भेटन जानु भएको थियो।” – अविनाशले प्रसंङलाई अर्को तिर लग्यो।

“मेरो निम्ति नाता कायम राख्नु पर्ने आवश्यकता थिएन तर वयस्क छोराको लागि त्यो नाता चाहिंदो रहेछ।”

“सौहार्द्रता पाऊनु भयो त वहाँबाट?”

“सौहार्द्रताको आशा नै राखेकी थिइनँ।”

सरितको प्रत्येक जवाफ निर्दोष थियो। अविनाशले कहीं खोट भेट्टाएन। आखिर हत्या भयो किन? सामान्यतः हत्या हुन्छ कि आवेशमा, कि त इज्जतको निम्ति, कि धनको निम्ति। हत्यारा आवेशमा थिएन। उसले कुरेर, पर्खेर योजनाबद्ध तरिकाले हत्या गरेको थियो। अब इज्जत पक्षलाई हेरौं। अनिशको हत्याले कसको इज्जत जोगिन्थ्यो? विजय इज्जतको वास्ता गर्ने मानिस होइन। त्यसमा पनि आफू च्याँखे पर्ने गरी त उसले काम नै गर्ने थिएन। उषाको इज्जतको कुरा हुन सक्थ्यो तर यदि उसले अभिनय गरेकी होइन भने, उसलाई अनिशको हत्या भएको नै थाहा थिएन। सरिता आफै मरणासन्न भई, उसको त कुरै रहेन। रह्यो धनको कुरा। अनिश र सरिता मरेर धन पाऊने को हुन सक्छ? छोरो जो हजारौं कोश टाढा छ। उषा हत्याभन्दा सयौं माइल टाढा छ र ऊ त्यो ठाउँ छाडेकी पनि छैन भन्थें छिमेकीले। विजय त्यही बन्दी थियो। हत्याका ठाउँमा बाहिरका मानिसको ऊपस्थितिको दर्शन त के ? आभास पनि थिएन। मानिस हावाबाट आएर हावामा बिलाऊन सक्दैनथ्यो।

आवेश र इज्जतको सवाल थिएन त्यहाँ। धन थियो त केवल सरिताको मातहतमा। त्यहीं गएर खोतल्नु ऊपयुक्त ठान्यो अविनाशले र पुग्यो सरितको लेखापाल कहाँ।

अविनाशले लेखापाललाई ऊत्तेजित बनाऊन भन्यो -“लेखापालज्यू। यो सरिताजीको ज्यानको पनि, इज्जतको पनि सवाल हो। तपाई सम्झनोस् – सरिताजीले अनिच्छाका साथ कहीं केही खर्च गर्नु भएको छ?”

“कारोबारमा त्यस्तो त परिहाल्छ नि, हजुर, जहिले पनि। खाली सानो ठुलो रकमको कुरा मात्रै हो।”

“कसैको अन्याय गरेर लिनु भएको छ कहीं?”

“त्यस्तो त गर्नु भएको छैन मैले थाहा पाएसम्म।”

“त्यसो भए अन्याय गरेर शत्रु कमाएको छैन।”

“वहाँको बुवाको पालादेखि बसेको। खै अहिले सम्म थाहा छैन।”

“कसैलाई ठग्नु भएन भने कसैद्वारा ठगिनु भएको त होला नि?”

“आइमाई केटाकेटी जति नै बाठा भए पनि ठगिन्छन्।”

“जस्तै?”

“वर्षौ देखि लगातार सँधै ठुलै रकम गइरहेको छ कुनै स्पष्ट कारण बिना नै पार्टीहरु कहाँ।”

“धेरै छन् पाऊने पार्टी?”

“छन दुइवटा । पहिले त अलग अलग ठानिएको थियो तर एउटै खातामा जम्मा हुदों रहेछ दिएको रकम।”

“कसरी थाहा पाउनु भयो?”

“नानीले चेक गराउन लगाऊनु भएको थियो।”

“कसको खातामा जम्मा भयो?”

“उषा शर्मा।”

“चेक नै ऊनको नाम काटिन्थ्यो?”

“ती नाम नभएका पार्टीलाई पनि पैसा नै दिइन्थ्यो। वर्षै पिच्छे पैसाको रकम बढ्थ्यो । यसै पटक मात्र नानीले भनेर चेक एकाऊन्ट पेयी दिइयो।”

“अरु पार्टीका खाता पनि चेक गराउनु हुन्छ सरिताजीले?”

“होइन। मैले थाहा पाएको यो पहिलो हो।”

“अनिश र विजय त होइनन् ती पार्टी?”

लेखापाल बोलेन। अविनाशले थप्यो -“उषाको एकाऊण्ट चेक गरेपछि म थाहा पाऊनेछु यी कुरा। खाली त्यो लेठा किन गरुँ भनेर मात्रै।”

लेखापालले जवाफ दियो -“हो। ऊनीहरु नै हो।”

अब नक्सा प्रष्ट हुँदै थियो अविनाशलाई। सरिता, अनिश र विजय यी तीन बिन्दुहरु अब पूर्ण जाडिए। तर प्रश्न फेरी शुरु भयो। किन दिन्थी सरिता पैसा? किन बाध्य थिई। अनिशको त लौ मानियो, विजयको पैसा उषाको खातामा जम्मा हुने किन?

उषाको खातामा ठुलै रकम जम्मा थियो – मध्यमवर्गीको खातामा जम्मा हुन नसक्ने र त्यो जम्मा गराऊने अनिश र विजय हुन् भन्ने शंका थिएन।

“मानें, अविनाश, मैले मानें। ठगेछन् ऊनीहरुले सरितालाई । ब्ल्याकमेल पनि गरेछन् । तब सुनको फुल पार्ने कुखुरीलाई विजयले किन हत्या गर्न खोज्ने? फेरि अनिशको हत्या गरेर विजयले के पाउँछ?” -बाजेले तर्क दिए।

“उषा पनि, उषाको सम्पति पनि।” -अविनाशले तर्क दियो।

“उषाको साझेदारी बारे त अनिश र विजयको असहमति नै छैन। यौन साझेदारी हुन पनि सक्छ, नहुन पनि सक्छ। तँ नै भन्छस् उषाको तराजु विजय तिर बढी ढल्केको छ। ल, विजयले अनावश्यक हत्यामा सामेल हुनु किन? फेरि त्यो स्थितिमा आफू बसेर कसैको हत्या गर्दैन। हो, ऊ त्यहाँ आउनुमा पक्कै केही कारण छ र ऊ त्यहाँ छ भन्ने विश्वास सरितालाई पनि छ। सरिताले उसलाई बोलाएकी हैन, ऊ बलजफित आएको।”

“विजय हत्यारा हैन र विजय त्यहीं छ भने हत्यारा त्यहाँ पुग्यो कसरी? विजय त बैठकमा नै बसीरहेको थियो। अनिश र सरिता आएपछि बेडरुममा पस्यो। अनिशले बैठक छोडेको छैन। अनिश र सरिता बैठकमा पस्छन् र सरिता केही क्षणको लागि भान्सामा पस्छे भने हत्यारा थियो कहाँ?”

“सोच् अविनाश, सोच। हत्यारा त कहीं भित्रै थियो पक्कै नत्र हत्या हुने नै थिएन। हत्या सुनियोजित थियो। त्यो घरभित्र को को हुने छन्? भन्ने हत्यारालाई पहिले नै थाहा थियो र कहाँ हुनेछन्? भन्ने पनि।”

“मतलब, मतलब?” “मलतब मलाई थाहा छेन। त्यो तैंले थाहा पाऊनु पर्छ। एक कुरा जानी राख् कि हत्यारा सँधै शंकाको दायराभन्दा बाहिर हुन्छ। ऊसँग साक्षी, प्रमाण सँधै हुन्छन्। हत्या सुनियोजित भएकोले शंकास्पद ठाउँ प्रशस्त हुन्छन्।”

“शंका नहुने व्यक्ति खोज्नु पर्‍यो त्यसै भए?” -अविनाशले ठट्यौलो तर्क दियो।

“पहिलो त हत्याको ऊद्देश्य निश्चित गर्नु पर्‍यो। हत्याबाट कसलाई किटान फाइदा हुन्छ त्यो हेर्नु पर्‍यो। फाइदा स्वयम् मर्ने मानिसलाई हुन्छ भने ऊ पनि शंकाको दायरा भित्र पर्छ। अरुको त कुरै छोडिदिउँ।”

अविनाशले गम्भिर भएर भन्यो -“हत्यारा घर भित्र थियो। विजय भन्दा अघि आउँछ र त्यही हुन्छ तीनैजनाको आँखाबाट छोपिएर बसेको। हत्यारालाई तीनै जना त्यहाँ हुनेछन् भन्ने पनि थाहा छ। हत्याबाट हत्यारा लाई फाइदा हुनु पर्छ। मैले बुझें, हजुरबा, मैले बुझें।”

अविनाश जुरुक्क ऊठेर बाहिर निस्कियो। त्यो देखेर हजुरबाले सोधे -“ए तँ खाना नखाई कहाँ हिंडेको?”

“डाक्टर कहाँ, हजुर बा, डाक्टर कहाँ। म खान्न आज भनिदिनोस्।” -ऊसले मोटरसाइकल स्टार्ट गर्दै जवाफ दियो।

सरिता आफ्नो बैठकको कोठामा बसिरहेकी थिई। अविनाशले आउने कुरा गरेको थियो त्यसैले। पहिलो घण्टी बज्दा नोकर्नीले ढोका खोलिदिई। अविनाश विजेन्द्रसँग भित्र पस्यो र अभिवादन गरेर भन्यो -“माफ गर्नु होला, सरिताजी, आज तपाईलाई दुःख दिन लागेकोमा।”

“के को माफी नि सेवा गर्नु भएकोमा तपाईले। बरु भन्नोस् तातो के मगाउँ? जाडो लागेकै होला।” -सरिताले जवाफ दिई।

कफीको माग भयो तर कफी नआई पुग्दै उषालाई लिएर प्रहरी भित्र पसे। उषा बसेपछि प्रहरी बाहिर गए।

सरिताले कफीको मात्रा बढाई। त्यो सुनेर अविनाशले भन्यो -अर्को २।४ मात्रा बडाउँ । यसैसँग सम्बन्धित अरु २।४ जनाको ऊपस्थिति पनि अनिवार्य छ।”

सरिता र उषा दुवैले बुझेनन् तापनि सरिताले फेरि मात्रा बढाई।

बाहिर घण्टी बज्यो र ढोका खोल्दा विजयसहित प्रहरी आइपुगे र साथमा डाक्टर, सरिताकी पि.ए. र लेखापाल पनि। आफ्ना पि.ए. र लेखापाल देखेर सरिताले भनी -“यिनीहरु पनि?”

“हो। यिनीहरु प्ानि यहाँ अलिकति काम छ।” -अविनाशले जवाफ दियो।

सबै जना बसिसकेपछि अविनाशले भन्यो -“विजेन्द्र। घटनाक्रमलाई तिमी एकाकार बनाउँछौ कि?”

विजेन्द्रले आफ्नो हातको फाइल खोल्यो र सजिलो सँग बस्यो र सबैलाई हेरिपछि भन्न थाल्यो -“घटना आज भन्दा २७ दिन अगाडिको हो। सरिता शर्माले आफ्ना पूर्व पति अनिश शर्मा सँग एकाएक भेट गरी। एकाएक भन्नुमा कारण छ किनकी यो भन्दा धेरै पटक फोनमा कुरा त भएका थिए तर प्रत्यक्ष भेट भने वर्षौ भएको थिएन। र त्यही रात अनिशको हत्या हुन्छ, सरिता सख्त घाइते हुन्छे।”

विजेन्द्र सबैको मुख हेर्‍यो। कसैले प्रतिक्रिया देखाएन।

“हत्या भएको बेला अर्को कोठामा विजय परियार बसेको थियो। हत्याभन्दा पहिले हत्या भएकै कोठामा थियो र हत्या पछि मात्र त्यो घरबाट निस्केको थियो र अर्को कोही पनि त्यो घरमा पसेको र त्यो घरबाट निस्किएको प्रमाण छैन। विजयजीको साथमा सरिताजीको चोरी भएको गहना छ, हत्याको हतियार चुप्पीमा उसका औंलाको छाप छन्, बैठक कोठामा पनि यस्तै छाप छन्। टेबलमा अनिशको औंलाको छाप छ। यस हिसाबले त हत्यारा विजय बाहेक अरु कोही हुन सक्दैन। अझ सरिताजीको भनाइमा त मानिसको जिऊ डाल र लवाई विजयजी सँग ठ्याम्मै मिल्छ। तब हत्यारा अर्को को खोज्नु?”

विजेन्द्र थामियो। उसले विजयको मुख हेर्‍यो। उसको अनुहार थकित देखिन्थ्यो। सरिताका भावमा कुनै परिवर्तन थिएन। उषा पीडित देखिन्थी।

“हत्याका समयमा त्यो घर भित्र तीन व्यक्ति थिए – अनिश, विजय र सरिता। हत्यारा पनि थियो त्यहाँ तीन जना मध्ये एक अथवा तीभन्दा बाहिरको। परिवन्दले हत्यारा विजय देखियो तर हत्यारा कोही पनि हुन सक्छ। अनिशले सरिताको हत्या गर्न खोजेर आफूले आत्महत्या गरेको हुन सक्छ अथवा सरिताले अनिशको हत्या गरेर आफू आत्महत्या गर्न खोजेको हुन सक्छ। विजयको भनाईलाई सत्य नमान्ने हो भने सरिताको भनाई पनि झुठो मान्न सकिन्छ। त्यसैले कसैलाई हत्यारा मान्न उसले हत्या गर्न सक्ने ऊद्देश्य हुन आवश्यक हुनु पर्छ। यस हिसाबले हेर्दा विजयले अनिशको हत्या, या सरिताको हत्याको प्रयासमा ऊद्देश्य देखिदैन।” -विजेन्द्रले भन्यो।

“तीन जनाको सम्बन्धबारे प्रकाश पाछौं कि, विजेन्द्र?”- अविनाशले भन्यो।

“हुन त पहिले झलक्क हेर्दा मारिने, घाइते हुने र हत्या आरोपमा पर्ने अनिश, सरिता, विजय साथै पढे पनि कुनै सम्बन्ध छैन जस्तो देखिएको थियो तर सम्बन्ध ठुलै रहेछ। विजय र सरिता एऊटै कलेजमा पढथे, दुवैको प्रेमको खुब चर्चा थियो त्यो बेला र बिहे हुने कुरा पनि चलेको थियो तर बिहे भएन। बिहे भयो अनिश शर्मासँग, विजयकै साथीसँग। अनिशकी पहिली पत्नी उषाको बयान र विजयको स्वीकारोक्तिले यसलाई पूर्ण समर्थन गर्छ । अझ विजयको भनाई र उषाको शंका त सरिताको छोराको बाबु समेत विजय भएको पुष्टि गर्छ र अनिशले सरितासँग बिहे गर्नु त योजना मान्न कर लाग्छ।” -विजेन्द्रले थप्यो।

“यो अविनाशजीको कल्पना होला, होइन?” -सरिताले मुस्कुराउँदै भनी।

विजेन्द्र मुस्कुरायो र भन्दै गयो “विजयले सरितासँग बिहे गरेन किनकी बेजातसँग बिहे गरे सम्पति नदिने सरिताका बाबुले घोषणा गरे र सम्पति बिनाकी सरिता विजयलाई चाहिएको थिएन। विजयको आशय बुझेर सरितालाई ऊ प्रति घृणा भयो र अपर्झट आएको अनिशलाई समाएर तुरन्तै बिहे गरी या सरिताका बाबुले पर्याप्त धनले सरितालाई लोग्ने किनिदिए। बिहे गरेको ६ महिना पनि नबित्दै सरिताको छोरो जन्मियो र केही महिनामै अनिशले छोडेर गयो या सरिताले उसलाई निकाली दिई। ऊनीहरुको झगडाको कारण अनिशको विजयसँगको मित्रता थियो या अरु कुनै ।”

“सरिताका बाबुले सरितालाई सम्पति दिएनन् नातीको नाममा गरिदिए सबै र सरितालाई संरक्षक मात्र बनाए तर अनिश र विजयले सरितालाई दबाव दिएर सँधै पैसा धुत्न सफल भए र पटकै पिच्छे सो रकमको मात्रा बढाउँदै गए। ऊनीहरु सँधै नै नगद लिने गर्दथे तर यस पटक एकाऊन्ट पेयी चेक लिन पुगे। सरिताले भुक्तानी खाताको नाम र ठेगाना पत्ता लगाई र दुवैको रकम एऊटा खातामा जम्मा भएको थाहा पाई – उषा शर्माको नाममा। सरिताको लेखापालको बयानले यो पुष्टि गर्छ।”

विजेन्द्रले अविनाशको मुख हेर्यो्। अविनाशले भन्यो -“भन्दै जाऊ विजेन्द्र, यसको अगाडिको भाग पनि सुनाई देऊ।”

विजेन्द्रले फेरी शुरु गर्योर -“आफूबाट लुटेको सम्पति दुइटै लोग्नेमानिसले एऊटै स्वास्नीमानिस कहाँ जम्मा गरेको देखेर सरिताले त्यो स्वास्नीमानिस हेर्ने अर्को सहरमा गई। उषाको परिवारलाई देखेर अनिश र विजय दुइको सम्बन्ध बुझी र आफूले बन्धनमा राख्न नसकेकोहरूलाई उषाले मुठ्ठीमा राखेको देखेर उसको सराहना पनि गरी।”

“पख, पख, विजेन्द्र। अहिलेसम्म भनिएका कुराहरुलाई मनन गरौं पहिले।” -अविनाशले कुरा काट्यो र अगाडि भन्न थाल्यो -“विजयले धन विहीन सरितालाई बिहे गरेन तर विजयको अन्तरंङ अनिशले गर्‍यो। त्यसमा पनि बिहे नगरेको विजय पन्सियो, घरमा स्वास्नी हुने अनिश तम्सियो। तब के विजय र अनिशको मिलेमतोबाट जालसाझी भएको त होइन? नत्र तुरन्त अनिश कहाँबाट आईपुग्यो? अवश्य उषाजीलाई यो कुरा थाहा छ तर वहाँ यसलाई भन्नु हुने छैन र सरिताजीलाई यो कुरामा विश्वास छ तर वहाँले पनि यसलाई मान्नु हुने छैन। अब अगाडि भन, विजेन्द्र।”

विजेन्द्रले फेरी शुरु गर्योह -“श्याल तन्देरी नै भए पनि बुढो बाघले जित्छ। विजय र अनिशको जालोमा सरिता फस्न सक्थी तर सरितका बाबु होइन। सरिताको बिहे भए पछि ऊनले बुझे कि सरिता फेरि विजयको जालमा परी। ऊनले सरितालाई जोगाउन उसलाई सम्पति दिएनन् र सबै सम्पति नाबालक नातीको नाममा गरिदिए। सरिताले मूल सम्पति छुनै सक्दिनथी र मुनाफाको केही अंशको भागका लागि सरितालाई कुर्नु अनिशलाई आवश्यक थिएन। सरिताका बाबु छँदै ऊनीहरु छुट्टिए। शायद विजयको पनि यही सल्लाह थियो।”

अविनाशले सरितालाई हेरेर भन्यो -“यसलाई विजयजीले समर्थन गर्नु आवश्यक होला, सरिताजी?”

सरिता मुस्कुराउँदै भनी -“कल्पनालाई कसैको समर्थनले पनि सत्य बनाउँदैन।”

अविनाशले पनि मुस्कुराउँदै उषातिर हेरेर सोध्यो -“उषाजीको केही भन्नु छ कि?”

उषाले मुख बाउनु भन्दा अगाडि नै सरिताले भनिहाली -“वहाँको कल्पना वहाँ सँगै रहन दिनोस्, सुन्नोस् मात्रै। मुख नखोल्नोस्। मुख खोल्यो कि प्रहरीलाई सँधै प्रमाण हुन्छ।”

सरितको कुरा सुनेर विजेन्द्र पनि नमुस्कुराऊन सकेन र अविनाश पनि नबोलेको देखेर उसले भन्यो -“यो घटनाका तीनवटा पात्रका बारेमा अहिलेसम्म किटिएको छैन। विजय, अनिश र उषा को हुन? कहाँबाट आए यिनीहरु? यिनीहरुको नाता के हो? यत्रो लामो अवधिसम्म यिनीहरु एक साथमा कसरी रहे? शुरुमा यी प्रश्न अनुत्तरित थिए तर उषाको भनाइले सत्य खोल्दै गयो। विजय र अनिश अनिष्ठ मित्र हुन्। गाउँको बाहुनको छोरो अनिशको बालखकालमै बिहे भएको थियो। बाल्यमित्रहरुका बीचमा कुनै गोप्यता पनि रहँदैन र अनिशको यौनहीनता विजयले नबुझ्ने कुरा पनि थिएन। उषाले पनि यो कुरा थाहा पाई तर बालख बाहुनकी छोरीले के पो गर्न सक्थी र? चुपचाप बस्नु बाहेक ऊसँग अर्को विकल्प पनि थिएन। अनिशका बाबु आमालाई यो कुरा थाहा थियो कि थिएन भन्न सकिन्न। केही समय पछि अनिश र विजय पढनलाई शहर तिर लागे। यौवनमा भर्खर पाइला हालेका केटाहरुको सम्बन्ध यौन तिर गहिरियो। स्वाभाव र परिस्थितिले अनिशको भूमिका स्त्रीयोचित्त रह्यो होला र विजयको पुरुषोचित्त।”

“मेरेको मानिसलाई बदनाम गर्नु नैतिकता होइन।” – विजयले आपत्ति गर्‍यो।

“बदनामी गरेको होइन, विजयजी। यो परिस्थितिमा त्यति नभनी सुखै छैन र भनिएको हो। अन्यथा अनिशजी सँग हाम्रो शत्रुता त थिएन।” -अविनाशले हस्तक्षेप गर्योै।

“यही समयमा अनिशका बाबु आमाले उषालाई अनिश कहाँ पठाइदिए। उषालाई आफ्नो मुठ्ठी भित्र राख्न आवश्यक भएकोले दुई मित्रले योजना तयार गरे। उषाले पहिले त त्यसको विरोध गरी तर समयँगै सम्झौता गरेर औपचारिक र अनौपचारिक दुई पति सँगै राख्न उसलाई गाहारो परेन।”

“झुठ, झुठ।” -उषाले विजेन्द्रलाई बीचैमा काटेर चिच्याई।

“तपाई व्यर्थै ऊत्तेजित हुनु भयो। यिनीहरु भन्दैमा साँचो हुने हो र? चुप लागेर सुन्ने मात्र न।” -सरिताले उषालाई अलि ठुलो स्वरमा हप्काई।

उषा चुप लागी। विजेन्द्रले फेरी शुरु गयो।

“उषा र अनिशको सम्बन्ध लोग्नेस्वास्नीको जस्तो थिएन, दुई सहेलीको जस्तो थियो। अनिशको मृत्युको समाचार सुन्दा उषाले त्यस्तै प्रतिक्रिया देखाएकी थिई तर हत्याको अपराधमा विजय समाएको कुरा सुन्दा ऊ आत्तिएकी थिई – एऊटी स्वास्नी आत्तिए झैं। अनिशको पौरुषहीनता त सरितलाई पनि थाहा थियो र उषाका छोराछोरी देखेपछि उसले पनि उषा र विजयको सम्बन्ध बुझी र अनिश र विजयले आफूलाई ठगेकोमा सजाय दिन तयार पनि भएकी थिई।”

“यो कुरा त तपाई पनि त मान्नु हुन्छ, होइन सरिताजी?” -अविनाशले सरितालाई हेरेर टिप्पणी गर्योफ।

“तपाईको यो कपोलकल्पित कुरालाई कहाँ ठीक भन्नु कहाँ बेठीक।” -सरिताले उसको जवाफ दिईन -“भन्दै जानोस् बरु।”

विजेन्द्र भन्दै गयो -“तर अनिश र विजयले पराकाष्ठालाई पनि नाघे। ऊनीहरुको मुख ठुलो भयो र सो पुरा नगरे सरितको छोरोको नै अनिष्ट गर्ने धम्की दिए ऊनीहरुले । विजयले सरितालाई भेटनु, अनिशले फोन गर्नु र त्यसको लगत्तै पछि कत्रो ऊत्साहसाथ तयार गरिन लागेको छोराको स्वागत समारोह सरिताले खारेज गर्नु, आउन लागेको छोरालाई रोक्नुले यही कुरा प्रमाणित गर्छन। छोराको अनिष्ट आशंकाले एउटी सरल आमालाई क्रुद्ध बघिनीमा परिणत गराइदिए ऊनीहरुले।”

“विजयजी। आफ्नो गल्तीको आभाष हुन लाग्यो होला तपाईलाई।” -अविनाशले विजयलाई हेरेर भन्यो।

“हत्या र हत्याको प्रयाससँग यसको तालमेल कहाँ छ त?” -विजयले बुझेर प्रश्न गर्योर।

“आउँदैछ, आँऊदैछ। सुन्दै जानोस्।” -अविनाशले जोडयो।

विजेन्द्रले भन्न थाल्यो -“दुइटा शैतान मुख बाएर बसेका छन् र छोरो त्यतै आइरहेका छ त सरितालाई कठोर हुन कर लाग्यो। विजय उसको इच्छाको विपरीत उसको घरमा आइरहेको थियो -आफ्नो मागको फैसला सुन्न। अनिश पनि तुरन्तै फैसला चाहन्थ्यो। यो सँधैको विषम परिस्थितिको अन्त्य गर्न सरिताले अनिशको हत्या गर्ने र हत्याको आरोप विजयमाथि हालिदिने निर्णय गरी।”

“सरिताले?” -विजय वाल्ल परेर सरिताको मुख हेर्न थाल्यो। सबैका आँखा सरितामाथि थिए।

“कल्पनालाई राम्रै मोड दिनु भएको छ, अविनाश बाबु। सबैलाई अचम्म लागेको छ। अझ अरु भन्न लगाउनोस् आफ्नो सहायकलाई।” -सरिताले आफ्नो स्वर र मुद्रामा कुनै अन्तर नल्याएर भनी।

“अभिनयमा तपाईको प्रतिभा पनि विजयको भन्दा कम रहेनछ, सरिताजी। अझ बढी नै पो छ कि कसो? यहाँ सबको अनुहार र व्यवहारमा परिवर्तन देखा पर्छ तर तपाई भने शिलाखण्डजस्तै एऊटै भावमा अडनु भएको छ ।” -अविनाशले सरितालाई भन्यो।

“किनकी म मन गडन्तमा विश्वास गर्दिन त्यसैले।” -सरिताले मुसुक्क हाँसेर जवाफ दिई।

“सरिताले अनिशलाई आफ्नो बैठकमा ल्याऊने ठुलै प्रलोभन दिई होला या अनिशको जम्मै कुरा स्वीकार गरी होला किनकी यौनको लालसाले अनिश त्यहाँ आउने सम्भावना थिएन। सरिताले अनिशलाई सोफामा बसाली र भान्सामा गई। हत्यको लागि तयार चुप्पी बिहानै देखि भान्सामा नै थियो। सरिताले पछाडिबाट प्रहार गरी। अनिशले मर्ने बेलामा सानै भए पनि केही आवाज गर्यो होला तर सरिताले त्यसलाई वार्ताको प्रसंङ बनाईदिई। ड्रेसिङ टेबलको गहना खल्ती हालेर विजयले बैठकमा घटेको कुराको पत्तै पाएन।”

“तर सरिता पनि झण्डै मरेकी थिई? उसलाई कसले चुपी रोप्यो त?” – विजयले विश्वास नगरेर प्रश्न ऊठायो।

“हामीले पनि शुरुमा यही कुरा सोच्न सकेनौं र हत्यारा खोज्दै हिंड्यौ। अनिशको हत्या सरिताले गरी भने सरिताको हत्याको प्रयास कसले गर्‍यो?” -यसपाली अविनाश आफैं बोल्यो – “अनिशलाई पछाडिबाट आक्रमण भएको थियो भने सरितालाई किन अगाडिबाट आक्रमण भयो? किनकी सरितालाई पछाडिबाट आक्रमण गर्न सम्भव थिएन। आफैले आफैलाई पछाडिबाट घाइते बनाऊन सकिन्न। सरितालाई त आक्रमण भएन। सरिता घाइते मात्र भई। देब्रेतिरको मुटुमा नपर्ने गरी छुरी दाहिने तिर रोपियो। डाक्टरको रिपोर्टलाई हेर्ने हो भने सरिता मर्ने सम्भावना नै थिएन । सरिताको घाउ त आफैले रोपिएको सुनियोजित रोपाइबाट भएको थियो। सारी चोलोमा रगतको मात्रा बढी देखियो तर सरिताको मरणासन्न चोटको अभिनयले त्यसलाई सिकिस्त बनाईदियो। उसको शारिरीक शिथिलता देखेर डाक्टरहरुले पनि उसलाई विशेष ध्यान दिए नै । त्यसमा पनि धनीको त ‘हाच्छिउँ’ पनि गरीबको टाइफाइड जत्तिकै हुन्छ।”

“तपाई सँग प्रमाण के छ?” -यसपाली सरिताले गम्भिर प्रश्न गरी।

“हामीसँग प्रमाण छैन। केवल सैद्धान्तिक तर्क छ। परिवन्द र प्रमाणले त विजयजी चुक्नु भएको छ र वहाँलाई सजायँ सस्तै पर्न जाने छ। सरिता माथि गर्नु भएको जालसाँजी, ठगी जस्ता अन्यायको सजाय सबै जोडने हो भने २० वर्षभन्दा बढी नै हुन्छ। फेरी सरितालाई सजाय दिलाउने प्रयासले उषालाई पनि त तान्छ। त्यसमा पनि सरितालाई सजाय दिन सकिन्छ भन्ने के छ? अब विजय नै फैसला गर्नोस्।”

एकछिन घोरिएर विजयले भन्यो -“भइहाल्यो। जो हुनु थियो भै सक्यो। सजाय चुक्ता म नै गरुँला।”

अविनाशले सरितालाई हेरेर भन्यो -“उषा एक्ली हुनु भयो। वहाँको संरक्षण कसले गर्ने?”

सरिताले गम्भिर भएर भनी -“सम्पति सबभन्दा ठुलो संरक्षक हो। त्यसमा पनि बहिनी त छँदैछु नि।”

अविनाश मुस्कुरायो।

समाप्त

(स्रोत : Ram Dahal’s Blog)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.