नजिकैको बुकि फूल टिपेर किरणले अरूणिमाको चुल्ठोमा घुसार्दै भन्दै थियो, “अरूणिमा, मेरो खुशीहरू भित्र तिमी, मेरो मनका तरङ्गहरूमा सँधै सँधै तिमी । तिमी विनाको जीवन एउटा नकोरिएको सादा कागज जस्तै हुनेछ ।” त्यसपछि अरूणिमाले पनि सुष्क हाँसो र रोदन मिश्रति भावमा भन्दै थिर्इ, “हरेक आँखाहरूले देख्ने सपनाहरूमा तिमी छौ भने अब तिमी विनाको अर्को संसार कसरी सोचौं र -” यस्तै यस्तै प्रेमालापहरू गर्दै किरण र अरूणिमा ककनी
डाँडाको एउटा सानो चौरमा बसिरहेका थिए । सुर्यले पश्चिम क्षितिजबाट धुमिल प्रकाशका किरणहरू गणेश हिमालको टुप्पा टुप्पामा पुर्याईसकेको थियो त्यसबेला ।
आज उनीहरूको अन्तिम मिलन थियो किनभने भोलीदेखि दुवैको कलेज विदा हुँदै थियो । दुई बर्षदेखिको उनीहरूको प्रेम यात्रा नचुँडिने धागो झै एक बन्धन थियो । मानौ ती यूगल जोडीहरू धरतीको सुन्दर बगैचाको फूलहरू थिए ।
तीन महिना पश्चात पूःन कलेज शुरू भयो । किरणलाई पहिलो आँखाको दृष्टिमा देख्ने सपनाहरू बोकेर अरूणिमा कलेज हतारिंदै पुगिन् । तर अफसोच ! आज उ कलेज आएन । किरणप्रतिको अरूणिमाका भावनाहरू टुक्रा टुक्रा भए । त्यस दिनभरि नै अरूणिमाले अन्धकार देखिन् । आजभोली भन्दै महिनादिन बिते तैपनि किरण फर्केन । क्याम्पस प्रशासनबाट किरणको घरको ठेगाना लिएर हुरिदै अरूणिमा पोखरा पुगिन् । ठेगाना सोधखोज गर्दै उनी भिमसेन चौकमा पुगिन् तर त्यहिबेला बाजागाजा सहित एउटा जन्ती बाटोपारीबाट आउँदै थियो । रातो तुलमा ठूला-ठूला अक्षरमा लेखिएको थियो किरण + आशा । अरूणिमाले भिडमा अनायासै सोधिन “कसको बिहेको रहेछ आज यहाँ” जवाफ थियो “किरणको….” यो सुनि नसक्दै उनले गाडि भित्र सजिएका दुल्हा र दुलहीलाई देखिन् ।
धोकेबाज ! यति भन्दै उनी सेती नदीतिर दौडिईन । भोलीपल्ट नदी किनारमा अरूणिमाको प्राणविहिन शरिर र उनले किरणलाई लेखेको अन्तिम पत्र पानीमाथि तैरिरहेको थियो । जसमा लेखिएको थियो …..प्रिय किरण…..तिमी भन्ने गथ्र्यौ मेरो संसारभित्र तिमी….तिमी विनाको जीवन एउटा नकोरिएको सादा कागजजस्तै भनेर आदि…..आदि….। मैले तिमीजस्ताको यो स्वार्थी संसारमा नबाँच्ने प्रण गरें । सुखमय रहोस् दाम्पत्य जीवन….शुभ-विवाहको शुभकामना…….।
त्यसैबेला मानिसहरूको हुलबाट निस्केर दुलाहा किरणले उक्त पत्र पढ्यो । “हे…भगवान…म त्यो किरण होईन भन्दै उ चिच्यायो र भन्यो काठमाडौं पढ्न जाने किरण त मुटुको व्यथाले छट्पटिएर विगत दुई महिनादेखि अझैसम्म गण्डकी अस्पतालमा मुर्छित अवस्थामा छ ।” तर…. अरूणिमाको प्राण भने उनको शरिरलाई छोडेर बादल माथि-माथि अकासिदै थियो ।
– बर्लिन जर्मनी ।
(स्रोत : Germany – Inls)