कथा : वचनको पालना

~सुबिसुधा आचार्य~SubiSudha Acharya

“काम फत्ते भयो त पूर्ण ?” हातको सियोलाई टोपीमा सिउँरिदै जिज्ञासाको झटारो तेर्साउँछु म उसित । ठूलो खकाने झोला काँधमा बोकेर सुसेल्दै ऊ खर्कबाट ओरालो लाग्छ । मेरो सोधाइ, प्रश्न भनौं वा जिज्ञासा उसले सुन्यो या सुनेन, कि त काम अधुरो भएको हुनुपर्छ र मेरो मन साघुराउन उसले वास्तबिकता ओकल्न चाहेन अथवा सुनेर पनि बुझ पचाउँदैछ । त्यसो त कहिले पो राम्रो मिजासिलो बोलिले नजरमा नजर जुधाएर बोलेको थियो र मसँग

। पूर्व दिशा म बस्दा पश्चिम मुहडा फर्काएर हिँड्छ, हरेक मेरा हरेक शब्दलाई हेय, पाराले जवाफ दिने बानी भनांै वा आचरण छ उसको । म नाताले दाजु हूँ, शैक्षिक योग्यताको हकमा उसँग पौठेजोरी खेल्ने सामथ्र्य ममा छैन, त्यो म बुझ्छु तर त्यसको मतलब म उसँग हरेक समय, पल झुक्नु पर्छ, डराउनु पर्छ, हच्किनु पर्छ भन्ने त छैन । मेरो शिरले उसको भन्दा बढि शीत थापेको छ, मेरो आङ्गले बढिनै भोटा फटाएका छन् ।उसको तुलनामा गोडा पाँचैवटा हिउँद बढि मैले थेगेको छु तर पनि बाँसको मुनाझैं झुक्नु परेको छ मैले पटक पटक…………. । कसिङ्गरझैं बढारिनु पर्छ कुचाले हरेक साँझ र बिहानमा । मायाको बन्धनले नझेल्दो हो त जमानामा नै कमण्डलु बोकेर काशी गयाको बाटो तताउँथे । एकहोरो बिचार उग्राइमैं म कलको पाङ्गो बेस्सरी घुमाउँछु, त्यो घुमाइसँगै घुम्छ मन, सोंचाइ र जीवन, एकजोर मयलपोस जसरी भएपनि आजै सिलाएर सिध्याउनु छ नत्र मुखियाको हप्काई असिना झैं बर्षन्छ मेरो शिरमा । कपडा सिलाउँदा सिलाउँदै उचालेर हेर्छु, आधा आधी मात्र भएको हुन्छ । घाम डाँडातिर धमाधम ओर्लंदै छ । अब दिन धेरै बाँकी छैन, मन अमिलो बन्छ ।

सुसेलीको रन्को कानको पर्दामा ठक्कर लाग्दा म कपडाबाट आँखा हटाएर आवाजलाई पच्छ्याउँछु । नयाँ जिन्स पाइन्ट र कलेजी टिसर्टमा रातो क्याप पछाडि फर्काएर लगाउँदै ऊ उकालो लाग्दै रै‘छ । “कता हिँडिस् फेरि यो साँझमा, भर्खर आएको हो क्यारे आराम गरेर बसे हुन्छ नि ।” मनलाई बाँध्न खोज्दा खोज्दै बन्दुकबाट गोली फुत्किए जस्तै आवाज फुत्किन्छ मेरो मुखबाट । हिँडाइको गतिलाई टक्क रोकेर हान्ने गोरुले सिङ थापेझैं मुन्टो टेडो बनाउँदै बोल्छ ऊ –“मतलव नभएको कुराको त वास्तै नगर्नु नि, नजाने गाउँको बाटो सोधेर बेर्थै समय किन खर्च गर्नु ?” हाँडिमा मकै पड्के झैं पड्कन्छ ऊ । म फेरि अर्को प्रश्न सोध्ने हिम्मत जुटाउन सक्दिन । शिर निहुराएर नजर कलको सियोमै आवद्ध गराउँछु । बाबाले तुलसीको मठमा सुताएको अन्तिम अवस्थामा मेरो हात समाउँदै भनेका थिए–“जेठा, म अव यो संसारमा नरहने भएँ, मेरो काँधको साह्रा दायित्व अव तेरो काँधमा पर्ने भएको छ । आमा र भाइको ख्याल राखे । एउटा दाजु हैन पिता भएर अभिभावकको जिम्मेवारी निर्वाह गरेस्, मैले आफ्नो कर्तब्य पुरा गर्न सकिन । समयले म माथि घात गर्यो । तँ त छस् नि हैन ? बचन दे जेठा ! आमा र भाइको आँखाबाट आँसु झर्न दिन्न भनेर मलाई बचन दे । म यो संसारबाट ओझेल परे पनि माथिबाट तँलाई पच्छ्याइरहेको हुन्छु । बचन दे बाबु मलाई बचन दे ।

फुस्रा र चाउरी परेका गालाबाट अबिरल इन्द्रावती बर्षाउँदै अन्तिम अवस्थामा बुबाले मलाई बाचा गराउनु भएको थियो । त्यसो त बुबाले नअर्थ्याएको भए पनि जेठो बाठो भएको नाताले त्यो मेरो जिम्मेवारी हो । म आफूले अग्निपरिक्षा नै किन दिन नपरोस् । मैले उहाँहरूको इच्छा, चाहना र रहर पुरा गर्नै पर्थ्यो । जसरी घरमूलीको नाताले बाबाले गर्नु हुन्थ्यो । बाबाको बचनलाई शिरोपर गर्दै मैले आफू भोकै बसेर भएपनि नाङ्गै बसेर भएपनि आमा र भाइको इच्छामा कुनै तुषारापात गर्न चाहिन । बिगत सम्झेर टम्म भरिएको आँखाले कपडाको मेलो पैल्याउन छाडेपछि आँखा चिम्म गरेर खोबिल्टाको आँसु गालाको बाटो हुँदै बगाइदिन्छु र नजर उठाएर हेर्छु, ऊ आफ्नो बाटो लागि सकेको हुन्छ । चिसो स्याँठले पछाडिबाट नराम्रोसँग ढाड सेकेपछि म आँखा कपडाबाट हटाएर हेर्छु, घाम पूरै डाँडाबाट लुकिसकेछ, अव त खर्कमा स्याँठले सेकेर बस्न सकिन्न म कल काँधमा बोकेर अर्को हातले कपडाको बोरा र थोत्रो गुन्द्री च्यापेर घरतर्फ लाग्छु ।

काँधको कल झिकेर पिंढीमा बिसाउन मात्र के लागेको हुन्छु कताबाट हो कुन्नि हुत्तेर कुखुराको चल्लो भ्याट भ्याट गर्दै मेरो खुट्टामा लट्पटिन आइपुग्छ । उसले पीडा मिश्रित स्वर पनि अलाप्दै छ । म उसलाई उठाएर भुइँमा राख्छु एउटा खुट्टाले टेक्दैन । रगतको छिटाले भुत्ला पनि केही भिजेको छ यसो नियालेर हेरेको त सानो छालाको त्यान्द्रोले मात्र खुट्टालाई जोडेर राखेको रै‘छ । नत्र पुरै छुट्टेको अवस्थामा, मन भित्रभित्रै उकुसमुकुस भएर आयो । चोट त चल्लालाई लागेको हो तर पीडा मलाई भयो “हरे ! कसले यस्तो बनाइदियो होला ? बिचरो यसलाई कत्रो मोहले दुईदिनको काम दाउमा लगाएर ल्याएको थिएँ ,खुट्टा नै पो भाँचिएछ त ।” म चल्लालाई हातमा लिएर मायाले मुर्साछु । “ओ हो । आफ्नो अर्घेलो चाहि पटक्कै देख्ने होइन उल्टै अर्कालाई देखि सहन्नन् यिनी । दिनभरी लगाएर रोपेको रायोको बिरुवा एकै छिनमा पो उतारि दियो तिम्रो साँढेले ।” दैलोमा हसिया बोकेर चिच्याउँदै उभिन्छे बुहारी । “हरे ! तिम्रो बुद्धि, यो काम गर्न हुन्छ र यो गर्न हुदैन भन्ने ज्ञान भएको भए यो पंक्षीनै हुने थिएन । यही त फरक छ हामी र पशुपंक्षीमा । मान्छेलाई त गल्ति गर्दा सम्झाइ बुझाइ गरिन्छ, यातना दिइन्न भने बिचरो यो पंक्षीलाई किन यति सकस दिएकी तिमीले ?” मेरो आवाज भुइँमा खस्न नभ्याउँदै –“चुप लाग बुढा, बढि बोल्ने हैन । यो कुखुराको त्यति बिघ्न माया लाग्छ भने राख्नु नि सन्दुकमा हालेर, कमसेकम मेरो सागबारी त फाँड्न आउन्न, आज त खुट्टामात्र छिनाली दिएँ । भोलि पनि मेरो सागबारीमा पस्यो भने दिउँसै कराइमा तारेर एक डवका जाँडसँग चपाउँछु ।” खुट्टा बजार्दै भित्र जान्छे ऊ । बिचरो चल्लो भूइँमा पल्यात्त पसारी रै‘छ । मन कटक्क दुखेर आयो तर दुख्नु के थियो र यस्ता झिना मसिना घट्ना त दूध र भात हुन थालेको छ मलाई । चल्लो समातेर भित्र खोरमा लगि थपक्क राख्छु । अब त साँझ पनि बिस्तारै भित्रन थालेको छ । ला ! आज पनि मयलपोस सकिएन, राती अबेरसम्म टुकीमा सिउन सक्दिन बुढेसकालले सताएर हो कि एकछिन बत्तीमा काम गरेपछि आँखा पोलेर आँसु खस्दा केही देखिँदैन । भोक त छैन तर साँझमा भोकै बस्दा मान्छे मरेर छाक छोडेको जस्तो हुन्छ भन्छन् भोकै पनि के बस्नु ? थकाइले भुतुक्क भएको छु । जाँगर नलाई नलाई अँगेनाको दाउराका ठुटा ठाकठुक पारेर आगो बाली ढिंडाको पानी करार्ईमा बसाल्छु । बूढो शरीर शारीरिक थकाई र मानसिक थकानले थिलथिलो बनाएको हुन्छ । जति मरिमेटेर काम गरेपनि साँझ बिहान हातमुख जोर्न सधैँ धौ धौ, के कमाउनु बिष्ट ? के सिलाउनु कपडा ? अनायासै लामो सुस्केरा निस्कन्छ मुखबाट । एक डवका जाँड भएपनि सट्ट पिउँथे र लडाउँथे यो बूढो शरीर जमिनमा, जाँड ! कहाँ पाउनु ? आफूलाई बनाउन न जाँगर चल्छ न त बनाउनको लागि प्रसस्त अन्ननै बाँकी हुन्छ । भएको खेतबारी कान्छाले हडपि हाल्यो । एउटा खेत त उसैलाई पढाउँन खातिर जिम्मल कहाँ धितो राखेर पैसा निकालेको थिएँ तर…………… । कमाइ समाइ केही होइन भनेको बेला ब्याज बुझाउन नसक्दा ब्याजको स्याज गर्दै जिम्मलले नै हडप्यो । उल्टै मैले बेचेर खाएको भन्दै पटक पटक टोकस्छन् भाइबुहारी । आमाले पनि बुढेसकालमा आएर बुद्धि बिगारिन् कसलाई के भन्नु, पचासको उमेर ढल्कदा पनि कुन्नि कुन जोसमा एउटा बिष्ट टिपेर हिँडिन् । नहिडेर पनि के गरुन्, यो अहंबादी समाजले सानो जात र ठूलो जातको पर्खाल तेर्साएर हामीलाई सधँै पैतलाको धुलो बनाइरहे, त्यसमा पनि आफ्नै आमा बैगुनी भएपछि कस्को के लाग्छ ? देशमा परिवर्तन आयो, यो दल त्यो दल स्वतन्त्रता, मानव अधिकार, समानताको भाषण र नारा घन्कन्छ तर ब्यवहारमा सधँै छोइ छिटो……………. ।

सानो थियो पूर्णे आमाले छोड्दा, पिठँयूमा कल र त्यसमाथि उसलाई बोकेर म मालिकहरू कहाँ कपडा सिलाउन जान्थेँ । कहिले उनीहरूको बच्चाको खेलौना चलाएर, कहिले पानीको गाग्रो छोइदिएर त कहिले फोहोर चलाएर त कहिले हातले कपडा समाती दिएर खुब गाली खुवाउँथ्यो मलाई,“भोलिदेखि काममा आउँदा त्यसलाई नल्याएस् ।” कति सजिलै भन्थे, तर म कसरी सक्थे र त्यो नावालक भाइलाई घरमा भोकै राखेर आफू बिष्टहरू कहाँ भात खान ? उसलाई अगाडि राखेर नखुवाएसम्म पानीको घुट्को मेरो घाँटिबाट छिर्दैन थियो । को थियो र उसको म बाहेक, बाबा बितिहाले, आमाले पनि सानैमा छोडेर गइहालीन् संझेर मुटु कुटुक्क चोइटिन्थ्यो र जति गाली अपमान, घृणा र तिरस्कार सहेर भएपनि सँगै लिएर हिँड्थे काममा । जब अलि बुझ्ने भयो गाँस कटाएर भएपनि स्कुलमा भर्ना गराएँ । उफ ! त्यो बेलामा पनि कत्रो घोचपेच सहनु परेको थियो । सानाजातका मान्छे स्कूल जान थाले भनेर । जति तिता र टर्रा बचन भएपनि म सबै सहजै पिउँथे र पचाउन सक्थेँ । महादेवले कालाकूट बिष पिएझैं, मेरो सपना ठूलो थियो भाइलाई एस.एल. सी. पास गराउने । प्रमाणित गर्नु थियो उसले सुनेका ती उद्धगारलाई “मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।” कैयौ बसन्त र शिशिर बिते मैले एक जोर नयाँ कपडा आङमा हालिन, सधैँ अरुले दिएको जडौरी टालटुल पारेर लाउँथे । चाडबाड आउँदा कचौरामा भाइलाई मात्र थोरै भात पकाइदिन्थे र आफू कोदाको ढिडो टिमुर मिसाएको नूनमा चोपेर टोक्थेँ । मनमा भाइलाई ठूलो मान्छे बनाउने सपना सजाएर होला त्यहि ढिडो र नून चौरासी ब्यञ्जन झैं लाग्थ्यो मलाई । मेरो मेहनत र मेरो पसिना माटोमा मिल्न दिएन उसले, जीवनमा सबैभन्दा बढि खुशी भएको त्यो क्षण थियो जति बेला ऊ एस.एल. सी. प्रथम श्रेणीमा पास भयो । शहरमा उच्च शिक्षा पढाउन पठाउने औकात त थिएन मेरो, दिन रात कल चलाएर पेट पाल्ने सुचिकारको भाइ कसरी शहरमा कलेज पढ्न सक्छ ? तैपनि उसको चाहना र रहरको गला दवाएर मन दुखाउन चाहिन मैले, खेत धरौटी राखेर क्रृण लिइ पढन् पठाएँ काठमाडौं । सोच्थेँ भाई धेरै पढेर जागीर खाला अनि मेरो दुःखका दिन सकिनेछन् –“भो दाइ कति बुढो हड्डि घोट्छस् अब त म पनि कमाउने भएको छु ।” बस् यस्तै भन्ने दिन आउँछ भन्ने कल्पनामा टहल्दा टहल्दै उमेरले नेटो काटेको पत्तै भएन, खै कति बेला बितेछ जवानी ? उसैलाई पढाउनको दौडधुपमा बिबाह गर्नु पर्छ भन्ने समेत भुलेछु मैले ।

एकदिन सेन्टर जेलबाट उसको चिठ्ठी आउँछ, लागू औसत बिक्री बितरण गरेको आरोपमा ऊ जेल परेछ । यो खवर सुन्दा म बेहोस नै भएको थिएँ । जब होस आयो गाउँमा दुइचार पैसा क्रृण पान गरेर उसलाई भेट्न गएँ । अनुहार रोटी फुलेको जस्तो फुक्क सुनिएको रै‘छ, जिउभरि निलडाम, कलेटी परेको ओठ, मलाई देख्ने बित्तिकै धेरै रोयो । उसको आँखाबाट झरेको आँसुले म खुब जलेँ भित्रभित्रै जलेँ । पग्लिएर पानी भएँ । “दाइ मलाई बचा, म यो ठाउँमा बस्न सक्दिन । मलाई निकाल यहाँबाट राक्षसहरूले पिटेर मेरो शरीर छिया छिया भएको छ । तँ त मलाई बिश्वास गर्छस् नि हैन ? मैले त्यो हिरोइनको ब्यापार गरेको थिइन कसैले फसाउन मेरो झोलामा राखिदियो प्लिज दाइ यो नरकबाट मलाई उकास् ।” ऊ पिलपिलाउँदो मुख लगाएर मसँग सहयोगको भीक माग्न थाल्छ । मैले सहन सकिन, सानैदेखि मेरै काखमा आची र सुचि गरेर हुर्केको भाई जेलमा सडेको कसरी सहन सक्थेँ र ? आफ्नो शरीर चौक्टा र लाम्टा बनाउँदा जति पीडा हुन्छ त्यसको दोब्बर पीडा उसको अवस्थाले बनायो । छातीमा छुरी रोपिंदाको जलनभन्दा बढ्ता उसको दयनिय अवस्थाले गरायो मलाई । म मणी हराएको साँप जस्तो बेचैनमा जेलबाट बाहिरिएँ । कहाँ–कहाँ को कोसँग सहयोगको भीक मागिन, त्यो म आफैलाई थाहा छ । ब्रेक फेल भएको गाडी झैं अनावरत म खुब भौतारिएँ । भाइलाई त्यहाँबाट निकाल्नको लागि कुनै उपाए थिएन, रङ्गेहात समातेको उनीहरूको दावी थियो । अन्तमा यतिसम्म भने कि, चालीस हजार धरौटी राखेर मात्रै निकाल्न सकिन्छ । म जस्तो एउटा साधारण ब्यक्तिले चालीस हजारको जोह कताबाट गरौं, घरबारी नै बिक्री गर्दा पनि दश हजार आउन्न थियो । कमाइ खाने एउटा थोत्रो कल चौध पन्ध्र सय आउँदो हो त्यसबाट, तर समस्याको समाधान थिएन । भाइलाई जेलबाट छुटाउन नसके म बाँच्नुको कुनै औचित्य थिएन । मेरो ऊ बाहेक अरु को नै थियो र त्यतिका वर्षदेखि खाइ नखाइ दुःख गरेको उसैको लागि त हो । न दिनमा भोक थियो न त रातमा निन्द्रा नै । खोलामा फाल हालेर मरौं जस्तो पनि लाग्यो तर त्यो गर्नु भनेको पनि पूर्णेलाई जेलमै सडाउनु थियो यस अर्थमा चौतर्फी भौतारिने क्रममा एकजनासँग भेट भयो । ऊ मानौ दलाली रहेछ, उसले मलाई मृगौला बेच्न उक्सायो । एउटा मृगौलाको तीस हजारदेखि नब्बे हजार सम्म आउँछ रे । फेरि मानिसको शरीरमा दुइवटा मृगौला हुने कारण एउटा मृगौला बेच्दा पनि खासै असर नपर्ने बतायो । म भाइको लागि मृगौला मात्र हैन आफ्नौ प्राण नै बेच्न पनि पछि पर्नेवाला थिइन् किनकि भाइको मायाले मलाई पागल जस्तै बनाएको थियो । उक्त अपरिचित ब्यक्तिको कुरा जायज लाग्यो र उसँगै नयाँ दिल्ली गएँ । करीव पन्ध्र दिनको समयमा पचास हजार लिएर एउटा मृगौला बेची काठमाडौ फर्किएँ । घाउ आलै र नातागतले रिगटा लागेकै थियो तर भाइलाई जेलबाट मुक्ति दिलाउन पाएकोमा ती पीडा सारा मत्थर भयो । चालीस हजार गनेपछि भाइ जेलबाट मुक्त भयो आफूसँग बाँकी रहेको दश हजार पनि पढाइ खर्च उसैको हातमा थमाएर घर फर्किएँ । त्यत्रो पढेको भाइ त्यतिका पैसा दाजुले कहाँबाट ल्यायो होला भन्ने कुरा उसले एकपटक पनि मलाई सोधेन । बरु पैसा हातमा परेपछि दंग पेरेर बाटो लाग्यो । म भाइको स्वर्णिम भविष्यको कल्पनामा रम्दै जाँदा अन्धो बनँे, भाइले भने मलाई पटक्कै बुझेन । पढाइ सकेर जागिर खाने बेलामा ऊ त पढाइमा ब्याक लागेर श्रीमती पो बोकेर घर फर्कन्छ । त्यसमा पनि मैले कुनै चित्त दुखाइन किनकि उसको बिबाह मैले एउटा अभिभावक भएको नाताले गरिदिनु पर्थ्यो तर त्यो जिम्मेवारी बहन गर्न नसक्नु मेरै कमजोरी हो । म नै मूर्ख हुँ । खुशी थिएँ आमाको बिछोडपछि यो घरले नारीको दर्शन पाउन सकेको थिएन । नारीको कोमल हातले चुरा बजाउँदै पकाएको खाना खान पनि अर्को जन्म कुर्न पर्छ कि ेजस्तो लागेको थियो । तर बुहारी आएपछि म ज्यादै खुशी थिएँ । मेरो खुशीको महल बालुवाको हो भन्ने कुरा मैले भुलेको रै‘छु । बुहारी भित्रेको एक महिना बित्न नपाउँदै उनीहरूले मलाई घरबाट निकाले । भाइले झगडा गरेर काम गरी खाने कल पनि तोडफोड गरिदियो । आफूले माया गरेको मान्छेले यातना नै दिएपनि मन बुझ्दो रहेछ । बिष्टबाट पैसा सापट लिएर अर्को लिलामी कल किनेँ किनकी मैले मुखमा माड लगाउनु थियो, बाहिर फ्याँकेको सामान बटुलेर घर अगाडिको गोठमा भित्राएँ । यस्तै रहेछ संसार जो आफ्नो हो भन्ने सोचेर सर्वस्व गुमायो, उसैले पराइको ब्यवहार गर्दा पनि मर्न त कहाँ पो सकिदो रहेछ र ? कारण जन्म र मृत्यु आफ्नो बसको कुरा थिएन ।

म बिगतलाई केलाउँदै रहँदा ढिडो पाकि सकेछ, बिहानको फर्सीको तरकारीमा ढिडाको पानी राखेर अँगेनामा तताएँ, मीठो खानु त मलाई कहाँ थियो र केबल एक मुठी प्राण राख्नु थियो, त्यहि राख्न दुई गाँस तातो खानु नै पर्ने, ढिडाको डल्लो फर्सीको तरकारीमा चोपेर मुखमा लान मात्र के खोज्छु–“ ए ! तँलाइ लाज लाग्दैन म बजार गएको मौका पारेर बुहारी माथि हात पात गर्ने, तँ कस्तो दाजु होस् हँ । छि ः छि तेरो अनुहार हेर्न पनि मलाई घृणा पो लाग्छ थुक्क ।” रक्सिले मातेर ऊ भित्र पस्छ र मैले खान लागेको ढिडाको थालमा थुकिदिन्छ । गाँस हाल्न लोगेको ढिडा बीचमै रोकेर हेरेको हेर्यै हुन्छु म । ऊ लर्बरिदै चुलामा आउँछ र ढिडाको थाल टिपेर बाहिर आँगनमा मिल्काइ दिन्छ साथमा मेरो कठालो समातेर घिसार्दै बाहिर पिडिमा ल्याएर पर्छाछ । बुहारी संघारमा बसेर प्रसन्न मुद्रामा मुसुक्क मुस्कुराई रहेकी हुन्छे । मेरो भने ढोकामा ठोक्किएर छाती कताकता नराम्रोसँग चस्केर दुख्छ म त्यहि दुखाइमा छाती सुमसुमाइरहन्छु । बस पीडालाई मत्थर गर्न छाती सुमसुमाइरहन्छु ।

ठेगाना ः
पो. ब.नं.८९७५
ईपिसी २६७६
काठमाडौं
acharyasubisudha@yahoo.com

(स्रोत : Majheri.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.