दश बजेर दश मिनेट जाँदा भित्रन्छे ऊ कोठामा । छोरा-छोरी पल्याङ्ग पुल्टुङ्ग सुतेका छन् सोफामा । लामो हाई काड्दै ऊ पनि बस्छे कुर्सीमा । लथालिङ्ग छ कोठाको अवस्था । टिभी अन, ल्यापटप अन, टेबल र भुइँभरि छरिएका किताब-कापी । यो विदेशको बसाइ पनि कति व्यस्त । थकाइ र अव्यवस्थित कोठाको अवस्थाले थिलथिलो बन्छे ऊ ।
झसङ्ग हुन्छे फोनको घण्टीले । फोन उठाउँछे अल्छि मान्दै ।
‘हेलो रजनी, घर पुग्यौ ? सरी ल आज खाना बनाउन जाँगर पटक्कै थिएन, त्यसैले पिजा अर्डर गरेँ । केटाकेटी र मैले खायौं । तिमीलाई पनि फ्रिजमा छ ।’-केही भन्न खोज्दा खोज्दै फोन राखेको आवाज आउँछ उताबाट ।
यी लोग्ने मान्छे, आफैंले मात्र गर्नपरेको जस्तो सोच्छन् सारा काम । उसले सोँच्छे–‘उनी रातभरि काम गर्छन्, यसको मतलब म पनि त दिनभरि गर्छु निः । फेरि भान्छा सधैं मेरै टाउकोमा थोपरिन्छ । कति सजिलो बाहिरको खाना अर्डर गर्यो पकाउने टन्टै साफ ।’ अलिकति चिटचिट् हुन्छे लोग्नेसँग ।
मनमनै फुस्फुसाउँदै फेर्छे कपडा । पालैपालो बेडमा लगेर सुताउँछे छोरा-छोरीलाई । घडीमा चोपलिन्छ एक नजर । पौने एघार । उफ् खाना बनाएर केटा-केटीलाई तयार पारी सात बजे त पुग्नैपर्छ काममा ! कतिखेर सुत्ने भनेर आत्तिन्छ मन ।
भान्छामा पुगेर फ्रिज खोल्थे । नभन्दै दुई स्लाइस् पिजा पर्खिरहेको छ उसैलाई जर्जर्ति पर्दै । सुत्नेबेला यो ह्याब्बी चिल्लो पिजा खाम् कि नाई, दोधारले अलिकति रेट्यो । होस् खान्न, एउटा स्याउ निकालेर बन्द गरी फ्रिज मन मार्दै ।
स्याउ काट्नै लाग्दा फोन चिच्याउँछ, उसको सोचाइमा धावा बोल्दै । फोन उठाउँछे –‘हेलो, हेलो भाउजु…, दर्शन । म नेपालबाट सानुकान्छो । दाइको फोन उठेन त्यसैले यो नम्बरमा गरेको ।’
‘ए बाबू, दाजु त काममा । भाउजु… कुरा के हो भने मैले पल्सर बाइक लिन ला’को भोलि दाजुलाई साढे दुईहजार डलर पठाइदिन भन्दिनुस् है । जसरी पनि !’
देवर बाबूको कुरा नसकिँदै फोनबाट पालैपालो फरक-फरक आवाज र भिन्न-भिन्न माग हुन्छ । ऊ सुनिमात्र रहन्छे बिना संवाद । मागको सूचिहरु धमिलो सुन्दै थिई ल्यापटप, आइफोन, आइपड, घडी, क्यामरा अनि कुन्नि के के किन्न पैसा ।
त्यसो त हिजोमात्र स्काइपमा कुरा हुँदा माइतीको भाइको पनि माग थियो ल्यापटप चाहियो र पाँच, बीस हजार डलर जति घडेरी किन्न सापटी पैसा । बहिनीले सुनाउँदै थिई सबैसँग छ आइफोन ! आदि इत्यादि ।
सबैले सोच्छन्, बिदेशमा डलर फल्छ, यहाँको दुःख आफैसँग, मनमा कुरा खेल्दै गर्दा ऊ पुग्छे बेडरुममा । पल्टनै लाग्दा फेरि बज्छ फोनको घण्टी । उठाउँ कि नउठाउँको दोधारले रेटिरहँदा भारी मन पार्दै उठाउँछे फोन ।
‘हेलो, मिस रजनी स्पिकिङ्ग ।’
‘या । आइ याम् रजनी ।’
‘आइ याम सरी रजनी, जस्ट टेन मिनेट एगो, योर हजबेन्ड राकेश किल्ड बाई समवन एण्ड रब्ड द स्टोर ।’
मेरिल्याण्ड,अमेरिका
(स्रोत : Bhutaneseliterature.com)