कथा : टिस्टा उसरी नै बगिरहेथ्यो

~धन ‘निर्दोष’ सुब्बा~Dhana Nirdosh Subba

कहिले काहीँ निद्राले छिटो छोडेको बेला या त बेलुका अलिक कम्ति पिएर सुतेको बेला, बिहानको झुल्के घाममा तल शान्तसित बगिरहेको टिस्टा खोलालाई हेर्छु/हेर्ने गर्छु। कहिले यस्तै बेला टुङ्गो न फेदको अलौटे कसरत गरिटोपल्दा देख्छु र हेर्छु।

मानिसमा उमेर छिप्पिँदै गएपछि अनुभवको बुताले हरेक काम सुगम हुन्छ भन्ने उक्ति उट्पटाङ लाग्दछ मलाई जतिखेर मलाई मेरा आफन्तहरूले, इष्ट-मित्रहरूले – ‘अब त चालीस नाघ्न आँटिस् एउटी राम्री केटी हेरेर घर-जम गर्ने कोशिश गर हौ। गाउँमा गोटाका गोटा पढेका केटीहरू छन्। तेरै अफिसमा पनि बाबुनीहरू लद्दी पडिरेहेछन्’ भन्ने गर्छन्।

म त्यतिखेर, साथी-भाइको भुक्लुके नानीहरू, पतिव्रता धर्मपत्नीहरू सम्झेर यतिमात्र भन्ने गर्छु – “त्यही राम्री केटी नै त खोजिराछु यतिसम्म।”

यसरी एकले जिन्दगीका तगाराहरू नाघ्दै जाँदा, कहिले काहीँ आफू छिप्पिएको अनुभवले आतेस खेलाउने गर्छ र भान्से केटोलाई कडा (रम, ब्राण्डी वा ह्विस्की) किन्न पठाउँछु। सरकारी आवासमा भान्से केटो र म; उ सार्छ म पिउँछु। बेफाँटको हाँक पिट्दा-पिट्दा जब म निदाउँछु तब त्यो सुत्दो हो सायद।

मेरो आवास पल्लोपट्टि सेनाका मेजरको घर छ। मेजर बर्षमा एकपल्ट जस्तो घर आउँछन्। घर ठेल्ने काम मेजरनीको। उ साह्रै पौरखी आइमाई। दुहुना गाईहरू र बडे-बडे सुँगुरहरू पालेकी छे। तीन जना लाठे-लाठे केटाहरू काम गर्ने राखेकी छे। मेजरनीको गोराखिलो मोटो शरीर यसै डरलाग्दो, ती केटाहरू थुर-थुर हुन्छन्। एक दिन कहाँबाट मैले कडा खान्छ भन्ने थाहा पाइ कुन्नि पल्टने कडा बोकेर आएर घरको जुठो-पुरो उसको सुँगुरलाई राखिदिने आग्रह गरी। म त्यहाँका सबैको पुरानै भएर पनि नयाँ साहब, उ पनि नयाँ साहब नै भन्छे मलाई।

एक साँझ उसले मलाई खानामा बोलाउँछे। उ पनि पिउँदी रछे। दुवैले पिउँछौं त्यो साँझ।

उमेर पैंतीस-छत्तीस भए पनि धेरै कलिलो देखिन्छे मेजरनी। हामी बीच औपचारिक रुपमा बात शुरु हुन्छ। अलिक भरे कडाले भेटेर हो कि केले हो, छोरा-छोरी जन्मेनन्, अपुतो भएँ भनेर एक छिन रुन्छे पनि। मैले बल छ, तागत छ, उमेर छ नसुर्ताउनु भनेर शान्त्वना दिन्छु। राती, निकै राती थुप्रै गन्-गन् सुनाएर मलाई बिदा दिन्छे। जोसुकैको जेसुकै गन्-गन् सुने पनि तल टिस्टा खोला बगेको एकाम्मे आवाज भने म ननिदाइञ्जेल सुनिरहन्छु।

केही दिनपछि उ मेरो डेरामा आउँछे। मलाई एउटी केटी खोजेर बिहे गर्ने सल्लाह दिन्छे। भान्से केटोलाई भनेर अलिक राम्रो ब्राण्डको कडा र होटेलबाट सुँगुरको भुटुवा पनि मगाउँछु। खान्छौं-पिउँछौं, निकै आत्मीयता साट्छौं। राती उसकामा काम गर्ने मध्येको सबसे खाइलाग्दो केटो आएर मेजरनीलाई लिएर जान्छ। छोटकरीमा भन्नुपर्दा मेजरनी र मेरो हेम-खेम यसरी बड्छ। सायद समयका छालहरूसित बग्दै जाँदा आ-आफ्नै हिसाबले बेहोर्नुपर्ने एकलोपन र नियास्रो अनुभूति नै हामी दुई माझको सम्बन्ध हुनसक्छ।

उ मेरामा आएर राती अबेर फर्किनु र म उसकोमा गइ अबेर गरी फर्किनु आम बात भइसकेको छ। अँ मेजर आएको बेलामा भने हामी बीच उति बात हुँदैन। हुँदैन के भन्नु र, म मेजर बूढासितै व्यस्त हुन्छु। पल्टने रक्सी, टीनको मासु, कहिले सुँगुरको भुटुवा अगाडि टेबलमा राखेपछि बूढाले उम्कन दिएन भनेर जान्नुपर्छ। देशभक्तिका कुरा, देशद्रोहीका कुरा, लडाईंका कुरा, हात-हतियारका कुरा, आतंकित हुने कुरा, सशंकित हुने कुरा, उसको कुरा सुनिदिने मान्छे भेटे उ घरकी स्वास्नीधरि दिउँ झैं गर्छ। सरकारी बिदाका दिनहरूमा कहिले पर बजार छेवको मोडमा निर्मला भाउजूकोमा पान खान जान्छौं, कहिले ए.ओ. साहबकोमा गएर दिनभर रमी खेल्छौं, कहिले कोदोको जाँड खोजिखान तल बस्तीतिर झर्छौं। कहिले रहरले जाइन्छ, कहिले करले जाइन्छ।

एक साँझ, बूढाको भोलिपल्ट ड्यूटी फर्किनुथ्यो, हामी दुई जना बस्तीबाट तीन-तीन हो कि चार-चार कति ढुङ्ग्रो चढाएर उकालो चढ्छौं। बूढाले राजनीति र देशको कुरा चट्ट छोडेर आफू अपुताली भएको बिस्मात गर्छ। अलिक माथिसम्म सुमु-सुमु हिँडेपछि टक्क अडिएर फेरि बोल्छ उ – “खै हेर्नोस् साहब मेरी स्वास्नीको सौतेनी ग्रह छ रे। कान्छी नल्याएसम्म मेजरनीलाई पुत्रलाभ हुँदैन भन्ने जोखाना हेर्नेले भनेको छ। के मैले कान्छी ल्याउँदा हुन्छ?”

आफू त एकलो, स्वास्नी नहुनुको एकपाटे अनुभव मकाहाँ भएपनि स्वास्नी भएर अपुतो रहनुको अनुभूति ममा छैन। मैले निकैबेर सोचेपछि भन्ने कुरा केही नपाउँदा यति भन्दिन्छु – “खै, जसको जेठी त छैन उसलाई कान्छी ल्याउने सल्लाह के माग्नुहुन्छ?”

बूढा आफूले आफैलाई मूर्ख सम्झे झैं गरी फिस्स हाँसेर हिंडिरहन्छ। मलाई पनि बोल्न मन पर्दैन। जिन्दगीको आधा हिस्सा बिताइसक्दा पनि केवल भोग्य भएर रहनु, सांसारिक भोग-उपभोग आफ्नो जीवन र बचाइका फगत जडपक्षहरू मात्र भएर रहनु, संसारको सिङ्गै आधा पाटोसँग गैर अनुभूत म जस्तो व्यक्तित्व, संसारको निम्ति केवल आधा आभासमात्र हुँदो हो – मेरो अस्तित्वको भन्ने सोचाइले, मेजर आफू अपुतो रहेकोमा जति विक्षिप्त छ, त्यतिकै म पनि विक्षिप्त छु।

निकैबेरमा उसको घर र मेरो आवास बीचको दोबाटोमा आइपुगेपछि हामी छुट्टिन्छौं। उसले पनि मलाई उसकोमा जाऊँ भन्दैन, मैले पनि उसलाई मेरामा जाऊँ भन्दिन। त्यो रात सायद मेजर बूढा आफू अपुतो भएको दुःखमा स्वास्नीको छातीमा टाउको राखेर निकैबेर रुन्छ होला अनि सायद स्वास्नी चाहिँले पनि आफूसँगको वियोगमा आफ्नो लोग्ने त्यति विचलित भएको देखी लोग्नेलाई भरमग्दुर माया गर्छे होला। घण्टौंसम्म स्पर्श-स्पर्शमा एकार्कालाई शान्त्वनाको थप्की लगाएपछि सबै पीर, मर्का, क्षोभ, उद्वेग र ग्लानिहरू स्खलित हुँदो हो र उनीहरू छरपस्ट भएर निदाउँछन् होला। तर म भने त्यो रात निदाउन सक्दिनँ। कसै गर्दा पनि मभित्रका ग्लानि र उद्विग्नताहरू स्खलित हुन सक्दैनन्। त्यो रात मेरो निम्ति कोल्टो फेरेरै बित्छ। भोलिपल्ट बिहान बूढालाई बस डिपोसम्म पुर्याउन जाँदा उसको अनुहारमा पत्नी वियोगको पिडा सिवाय अरु केही त्यस्तो देख्दिनँ। बूढाले बाटाभरि देशकै कुरा गरिरहन्छ। निर्मला भाउजूकोमा पान खाँदा सधैं झैं उत्तिकै गफ हाँक्छ।

मेजर गएको दुई-तीन दिन नबित्दै मेरो तबादला अर्को जिल्लामा भएको अनि झट्ट गएर कार्यभार सम्हाल्न पर्ने आतुरी आदेश आएकोले म झट्ट हिँड्न पर्ने हुँदा त्यो साँझ मेजरनीलाई भेट्न जान्छु। मेजरनीले भित्र शयनकक्षमै बोलाउँछे। मेरो तबादला भएको कुरा सुनेपछि उ एकपल्ट गम्भीर हुन्छे अनि फेरि खाना खाएरै मात्र फर्किने आग्रह गर्छे। एक क्षण बाहिर काम गर्ने केटाहरूलाई सबै कुराको खै गरेर पुनः भित्र आएपछि कुनाको दराज खोलेर उही पल्टने कडा निकाल्छे। त्यसपछि हामी पेगपछि पेग पिउँदै जान्छौं।

त्यो दिन म उसलाई औधी गम्भीर देख्छु। हामी बीच गरिरहनुपर्ने कुनै महत्वपूर्ण गफहरू छैनन्। कमरामा ब्याप्त सन्नाटा र ब्याग्रता तोड्न बेकारमा बचे-खुचेका गफहरू गर्दा उसले मेरो बिहे विषय बेसी प्रसंग निकाल्छे। म जुन कुरोदेखि भाग्छु, उ त्यही कुरो घरि-घरि कोट्याउँछे। जुन कुरो सम्झिएपछि मलाई ज्यादा पिउन मन पर्छ, उ त्यही कुरो सम्झाउँछे। उ पिउँदैछे कि छैन मलाई थाहा छैन तर म भने पिउँदै जाँदैछु। राती कति बेलासम्म पिइरहन्छु, कति बेला निदाउँछु, कहाँ निदाउँछु, केही थाहा छैन। थाहा छैन भन्दा एउटा दुःस्वप्ना थाहा छ – एउटा भयावह सपना थाहा छ।

आकाशमा डम्म बादल छ। बिजुली चम्किन्छ अनि चट्याङ पर्छ। केही क्षणमा भयंकर आँधी हुरी आएर पृथ्बीको हरेक सम्वेदनशील अंगहरूको स्पर्श गरेर गएपछि एकपल्ट भूकम्प आउँछ अनि त वृष्टिपात हुन्छ – घनघोर वृष्टिपात। मसिना- मसिना खोल्सा-खोल्सीदेखि तरंगित हुँदै एउटा समिश्रित नदी बगर-बगर रगड्दै टिस्टा बग्न थाल्छ – उर्लिएर; कहालिलाग्दो भयावह आवाज गरेर। पूर्णिमाको रातमा समुद्रमा छाल उठे झैं त्यहाँ पनि छाल उठ्दछ। केही क्षणमा एउटा गर्जनासाथ सबै ठप्प हुन्छ। छालहरू जहीँको तहीँ रहन्छन् अचल अनि त त्यहाँ शान्ति हुन्छ, एउटा अपरिभाषित शान्ति।

भोलिप्ट बिहान म उठ्दा मेजरनी अघि उठिसकेकी हुन्छे। सधैं झैं अरु अघि आफू मातेको दोस्रो दिन हुने अपराधबोध त्यहाँ पनि नभएको होइन। यद्यपि अभ्यस्त व्यवहार; औपचारिक बिदा मागेर हिँड्न लाग्दा कुन्नि कस्तो अनुहार पारेर उसले – “नभुल्नोस् है आउँदै गर्नोस्। तपाईं तबादला भएको खबर आजै पठाउँछु मेजरलाई” भन्छे। फेरि के सोच्छे कुन्नि खिस्स हाँसेर – “बिहे गर्नोस् अनि हामीलाई पनि बोलाउनोस् है।” भन्छे अनि गम्भीर हुन्छे। म चुप-चाप हिँड्छु। भारी-तारी गाडीमा लाइसकेर चिया पिउँदै उँधो हेर्दा हामीले जाँड खोजिखाने गाउँदेखि अलि तल टिस्टा खोला सधैं झैं उसरी नै शान्तसित बगिरहेछ।

म गएको नयाँ ठाउँ भन्नुमात्र कुरा पुरानै। उही भन्से केटो, उही पट्याइलाग्दो सरकारी आवास, उही दफ्तर, उही रम-रक्सीका बोतलहरू; खास केही नयाँ छैनन् – त्यहाँ। सबै पुराना छन् भन्दा मेरा निम्ति त्यहाँ मेजर-मेजरनी छैनन्। कोही –कोही बेला पिउँदा-पिउँदै मेजरनीको याद आउँदछ। उसका सुडौल केराका थम्मा जस्ता पिँडुलाहरू अनि त्यही दुःस्वप्ना।

निकै दिनपछि मेजरको एउटा चिट्ठी प्राप्त हुन्छ। चिट्ठीको शुरुमा त उही कडा, कपुरे चाना, जाँडको ढुङ्ग्रो र निर्मला भाउजूको पान हुन्छ तर अलि तल भने यस्तो लेखेको हुन्छ – “अस्ति छुट्टीमा मैले चाहेर पनि भन्न सकिन तपाईंलाई। यता फर्किने अघिल्लो साँझ कोशिश गरेँ तर सकिन। वास्तवमा मैले कान्छी ल्याइसकेको छु तर मैले अस्ति त्यही रात सम्पूर्ण जानकारी दिएपछि मेजरनीले पनि स्वीकार गरिन्। ट्याम-ट्याममा उता घर पनि निस्किनुपर्छ है…..।”

कस्तो प्रसन्नता, सफलताको आभास हुन्छ पत्रमा। अनुभव गर्छु तर बुझ्न सक्दिन खुशी। त्यसको पाँच महीना बित्दा-नबित्दा अर्को पत्र आउँछ। कुराहरू उस्तै-उस्तै भएपनि पत्रमा आद्योपान्त असीम प्रसन्नता र सन्तुष्टि व्याप्त पाउँछु। पत्रको अन्तमा यस्तो लेखिएको हुन्छ – “म हाल औधी खुशी छु। यत्तिको खुशी त म सायद सेना पदक प्राप्त गर्दा पनि हुन्न होला। अँ दशैं अघि नै छुट्टी मिलाएर घर आउने छु। तपाईंले दशैं छुट्टी हामीसितै बिताउनु पर्छ। म यहाँ मेजरनीको समझनाले मर्न आँटिसकेको छु……….।”

म पुनः अचम्भित हुन्छु – किन उसमा त्यस्तो अपार खुशी संचार भएको छ।

फेरि लगत्तै दुई महीनापछि, दशैं छुट्टी हुन एक साता अघि अर्को पत्र आउँछ। पत्रमा झन बढी प्रसन्नता हुन्छ। यहाँहरूलाई सुनाउनै पर्ने यति हुन्छ त्यहाँ – “साहब, मेरो छुट्टी मिल्यो। म नौरथा नलागी घर आइपुग्नेछु। त्यस बेला आउन नमिले पनि दशैंमा चाहिँ म र मेजरनी बाटो हेर्ने छौं……..।” त्यसपछि कुनै पत्र पाउँदिन।

दशैंको छुट्टी। मेरो ड्राइभर उसको घर जान्छ। आफै गाडी लिएर मेजरको निमंत्रणमा म सदरमुकामको सानो बजारमा आइपुग्छु। गाडी रोकेर निर्मला भाउजूकोमा पान खान जान्छु। निर्मला भाउजू उही पहिले जस्तै मुसुक्क मुस्कुराएर जिस्काउँछिन् –
“तपाईं एक्लै कि छन् साथी?”
“को साथी भन्नु भो?” म अनभिज्ञता जताउँछु।
“हन यत्रो एघार एघार महीना एक्लै हराउनु भो कि क्या हो अन्त?”
“होइन कोसित हराउनु र अब भाउजू?”
“साँच्ची तपाईंलाई थाह छ? मेजरनीले पनि छोरो पाइ त। मेजर बूढाको भूईँमा खुट्टा छैन आजकल। कान्छी पनि ल्याए। त्यही कान्छी ल्याउनाले मेजरनीले छोरो पाएको भन्छन् बूढा।”
“आच्छ्या, कहिले पाकी?”
“झन्डै दुई महीना भयो होला। उः मेजर साहब पनि यतै आउँदैछन्।”
मलाई देखेर हो कि किन हो बूढा झन्डै झन्डै दगुरे झैं गरेर आइ मलाई अँगालेर बोल्छन् – “तपाईं पक्कै आइपुग्नु भो भनेर लिन आएको।”

म मेजरको घरभित्र पस्दा भित्र एउटा कोठामा दुधे बालक खिल्खिलाएर हाँस्छ। साँच्चै मेजरको घर रमाइलै रमाइलो व्याप्त रहेछ।

“औ यहाँ आऊ त, को आउनु भएको छ?” दैलोबाटै मेजर कराउँछ।

भित्रबाट मेजरनी एउटा भुकुल्ले नानी बोकेर आउँछिन्। औपचारिक बातबाहेक अरु बेसी बोल्दिनन् तिनी। एकैछिनमा भित्र गइहाल्छिन् पनि।

मेजर भित्र फर्केर फेरि कराउँछ – “कान्छी, यहाँ आऊ त हाम्रो साहबसँग भेट गर।”

एउटी बीस-बाइसकी युवती आएर नमस्कार गर्छे।

“देख्नुभो मेरो कान्छी! कति जोखाना हेर्ने त जन्डा हुँदो रहेछ। जे भन्यो त्यही पुग्यो। मैले यता कान्छी ल्याएँ, टक्क मेजरनीको कोखबाट पुत्रलाभ हेर्नोस् त। अब एउटा पूजा लाउनु भनेको छ। यो दशैं पछाडि पूजा र हर्ष बडाईं एकैचोटि मिलाउनु छ। त्यतिखेर तपाईं नआइ हुँदैन, बुझ्नुभो?” बूढा उत्तेजित छन्।

त्यस रात निकै अबेरसम्म बसे तापनि बिहान छिट्टै निद्राले छोड्छ। बिहानको कलिलो घाम ताप्न माथि टेरेसमा उक्लिँदा मेजरनी नानीलाई घाम तपाउन त्यहीँ रहिछे। म नानीको गालामा हात राखेर म्वाईं खाइदिन्छु। मेजरनी मुसुक्क हाँस्छिन्। फेरि कुन्नि किन यता उति हेर्छिन् अनि दबेको स्वरमा भन्छिन् –
“तपाईंले यो नानीको केही याद गर्नु भो?”
“अँहँ के छ त्यस्तो?”
“के यो नानीको नाक र आँखा तपाईंको जस्तो छैन र? तर जे होस् हजुरले मलाई ठूलो कलंकबाट बचाउनु भो। म बाँझी छुइन।”

फेरि एघार महीना अघिको दुःस्वप्ना, उर्लिँदो टिस्टा, बर्सिँदो वृष्टि आँखा अघि सररर कुद्छ। म जुरुक्क उठेर टेरेसबाट तल हेरिपठाउँछु – टिस्टा सधैं झैं उसरी नै एकोहोरो बगिरहेथ्यो।

धन ‘निर्दोष’ सुब्बा
सिक्किम, भारत।
dhannirdosh@gmail.com

(स्रोत : Inlscolorado.org)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.