बाँची बाँची मर्नु र मरेर बाँच्नुमा कति अन्तर हुँदो रहेछ । तीन दिनपछि मृत्युको मुखबाट फर्केर तिमीलाई सम्झने र सम्बोधन गर्ने मौका पाइरहेकी छु मलाई लाग्छ यो सम्बोधन सम्झना हाम्रो भेटघाट पश्चात् लामो अन्तरालमा भएको छ । टेलिफोनमा गरिएको वार्ता इमेलमा लेखिएको हाइ हेलो र मोबाइलमा गरेको एस.एम.एस.
भन्दा नितान्त पृथक छ यो लेखाइ ।
जीवन ! बितेको समय मुठीमा कसेर राख्न मिल्ने भए म एक जुनीको लागि मात्र हैन सयौं जुनीको लागि साँचेर राख्ने थिएँ तर के गर्नु…। ! बितेका ती दिनहरु मेरो टाउकोमाथि लगातार एकपछि अर्को गर्दै खसेर विभिन्न किसिम र आकारमा ठूला किर्कौला गहिरो र भर्खर बन्न आँटेका भड्खालाहरुमा आकृत हुँदै थोपरिदैछन्, थप्प थप्प कृष्णभिरबाट पहिरो खसेजस्तो ।
वास्तविक भोगाइबाट एक कदम फर्केर पछाडि हेर्दा म देख्छु टाढा क्षितिजमा टाँसिएझैँ विगतका तमाम दृश्यलाई पूर्णरुपले ढाक्दै एउटा कालो नीलो ज्वालामुखी बिस्फोट भएको छ जसबाट छरिएका म्याग्मा र लाभा पोतिएका छन् मेरो मुहारभरि एउटा युवतीले महङ्गो क्रिम पोतेझैँ लत्तपत्त ।
अनुहारको मात्र के कुरा सिङ्गो शरीरको कुनै कुना बाँकी नराखी मेरा बितेका दिनहरुले कुन्नि कहिलेदेखि हो विरुप र कुरुप बनाइराखेका छन् । जसको कुरुपता म सुमसुम्याउनसम्म सक्दिन, भ्याउन्न वा चाहन्न । मान्छे सुन्दरतामा नै रमाउँछ कुरुपतासँग ग्लानि हुन्छ टाढा भगाउने ।
दिन प्रतिदिन म भाँसिदै छु अतितका गहिरा भड्खालाहरुमा जहाँ कुनै भड्खालो यति गहिरो अँध्यारो अत्यासिलो र निसासिँदो लाग्छ कि म त्यहाँको कुनै वस्तुलाई स्पर्श गर्न नसकेर बाहिर निस्कन्छु निरीह भै सिकार नभेटेर गुफामा फर्केको चितुवा जस्तो ।
मेरा आँखा अँध्यारामा कैद बन्छन् उज्यालामा पुनः फर्कन नसक्ने तरिकाबाट आखिर यो सबै किन भैरहेछ ! एउटै प्रश्न चिन्ह खडा छ मेरो रौँ-रौँमा । के आँखा सधैँ अँध्यारो नियाल्नका लागि नै बनेका हुन् र यदि त्यसो हो भने किन आउँछन् बिहानीहरु ? किन उदाउँछ सूर्य ?
जीवन ! मलाई थाहा छ गोसाइकुण्ड जस्तो गहिरो यो भूमिका तिमीले बुझेका छैनौ । जब यो पत्र सबै पढ्ने छौ अनि देख्ने छौ भड्खालाहरु भित्रको अँध्यारो । यो अँध्यारोले तिमीलाई नसुम्सुम्याओस्, नगिजोलोस् र नपच्छ्याओस् पनि | किनकि म मात्र एउटी अतीत हुँ । समयले चपाएर ओकलेको तीतो अतीत । समयको नजरमा त म ओकलिइसकेकी छु तर उसको गिजाहरुमा पिसिएर अड्किनुको पीडा मसँग प्रशस्त छ जुन म सहन मात्र सक्छु देखाउन हैन ।
सपना देख्ने आँखाहरु भ्रमित पनि हैनन् किनभने सपना देख्न विपनाको आधार चाहिन्छ । तर आज मेरो सपनाको आधार भत्किएको छ इँट्टाहरु एकाएक खसेर म कति लाचार……… ! आफ्नो आधार भत्कदा एउटा मूक दर्शक बनेर टुडिखेलमा गाईजात्रा हेरेझैँ हेरिरहेँ निर्लज्ज ।
तिमीलाई मैले पहिले पनि भनेकी थिएँ हामी दुई बीचको मायाको सम्बन्ध गाँसिनु, हुर्किनु, मौलाउनु भनेकै गर्लम्म ढल्नु हो तर तिमी मेरो मुख थुनेर यी शब्द ओकल्नबाट वञ्चित गराउँथ्यौ हैन ? हामी दुईको मिलन दैवको खातामा रातो मसीले लेखिएको थिएन | हो जीवन ! ईश्वरले लेख्न कन्जुस्याइँ गरेछन् मलाई आज यही प्रतीत भैरहेछ ।
म आज बुटवल स्थित लुम्बिनी अंचल अस्पतालको शैयाबाट सकी नसकी यो पत्र लेख्दैछु तिम्रो नाममा । मलाई थाहा छैन यो पत्र तिम्रो हातमा परुन्जेल म अस्पतालको शैयामा हुन्छु या धर्तीबाट धेरै टाढा………। यो समयले बताउने कुरा हो । हुन त यी सब लेखेर तिमीलाई दुःखी बनाउने चाहना त थिएन तर हाम्रो मायामा गरेका सम्झौता र कसमले लेख्न विवश बनायो ।
मलाई थाहा छ विभिन्न सञ्चार माध्यमबाट कपिलवस्तु जिल्लाको निन्दनीय अकल्पनीय घटना तिमी सामु आइसकेको छ एउटा अर्को सुनामी बनेर । घटनाले कपिलवस्तु पूरै जलेको छ । त्यहाँ भएको क्षति, क्षति गराइएको प्रक्रिया र त्यसपछि उत्पन्न अन्त्यहीन प्रभावबारे कसैले सोच्न भ्याएको पनि देखिदैन । कहालियो, आत्तियो होला तिम्रो मन, छट्पटियो होला मेरो सम्झनामा, फोनको नम्बर धेरै थिचे होलान् ती स्नेही औलाहरुले परिणाम हात लाग्यो शून्य ।
लेख्न त सुरु गरेँ तिम्रो नाममा यो पत्र तर लम्ब्याउन कठिन भैरहेछ । लेखौँ या नलेखौँ दोधारले रेटिरैछ भित्रभित्रै । शब्दाङ्कुरको अँध्यारो गुफा जतिसुकै गहिरो भएपनि तल पुगेपछि कुन्नि किन स्मृति लोकबाट टुक्रिएर आएको प्रकाशले उद्भाषित भएको छ मेरो मानसपटल | मेरो विस्मृतिको पर्दा पन्छिन्छ र म यर्थाथको गहिरो खाडलमा नराम्रोसँग जाकिन्छु । जहाँबाट उत्रनु कल्पनामा पनि असम्भव छ मेरा लागि ।
दुःख सबैले मानेका छन्, तिमीलाई पनि लाग्यो होला । दुःख मान्नु, दुःख लाग्नु र दुःख पाउनुमा कति फरक छ एक पटक तिमी आफै कल्पना गर त । काट्ने खुकुरी उसको कामै काट्नु तर चोट अचानोलाई नै लाग्छ । अचानोको चोट जो सुकैले कल्पना गर्न सक्दैन | यदि जानकारी हुँदो हो त खुकुरी उजाएर हान्ने नै थिएन । जबसम्म कसैले खुकुरी चलाउँदैन ऊ आफैँ चल्ने वस्तु हैन ।
भदौ तीस गते एउटा कालरात्री भएर उदायो मेरा लागि । म संसारबाट लखेटिएँ, खोसिएँ, हराएँ एउटा बिरानो संसारमा । गुम्यो मेरो आफ्नो पहिचान, भएँ नालीमा मिल्केको फूलजस्तो । के अर्थ रह्यो र एकमुठी प्राण रहनुको ? खेद छ दैवसँग प्राण लानमा कन्जुस्याइँ गरेको देख्दा । नखेल्नु भाग्यसँग खेलिसके पछि किन तमासा हेर्दै छ ईश्वर ?
जीवन ! म त यसै उसै प्वाल परेको माटोको आरी भएँ नै । दोबाटोमा हुत्याई टुक्रा टुक्रा बनाउन बाँकी रहेकी | तर कसरी लेखौं त्यो घटना | एउटा पर्दा पछाडिको नाटक जस्तो विश्वास गर्न कठिन । हजुरआमाले भन्ने गरेको दन्त्य कथा जस्तो अपाच्य । मैले आफैले नभोगेको भए सायद म पनि विश्वास गर्ने थिइन कि ? यस्तै लाग्छ मेरो सोचाइमा ।
भदौ उन्नतीस गते कपिलवस्तु वीरपुरका लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता अब्दुल खाँको हत्या अज्ञात समूहबाट भएपछि एकाएक आँधीबेरी आयो । हुरी बतास मडारियो | बस्ती उडाउने गरी डडेलो फैलियो घर जलाउने गरी । होश समालुन्जेलको घटनाक्रम हेर्दा सम्झँदा लाग्थ्यो साँच्चिकै टेलिभिजनमा हेरिने अंग्रेजी फिल्मी दृश्य जस्तो अकल्पनीय । यदि टिभीको पर्दामा देखिएको भए म पनि रमाइलो मानेर हेर्ने थिएँ | तर वास्तविक जीवनमा आफैँले भोग्नु पर्दा निकै गाह्रो हुँदो रहेछ । सर्पको मुखमा परेर छट्पटिएको भ्यागुतोलाई जस्तो असाध्यै कठिन, सकस ।
बिहानको सबा नौ बजेको हुनुपर्छ मेरो अनुमानमा हातको घडीलाई नियाल्ने क्षमता ममा पटक्कै थिएन । बुबा सधै झैँ पसलमा ग्राहक रुङ्दै हुनुहुन्थ्यो । अघि पछिको दिनको तुलनामा सडक अलि व्यस्तै देखिन्थ्यो | आमा भान्छामा खाना बनाउनै व्यस्त । भाइ सडकमा आफ्नै सुरले उसको फुच्चे साइकल चलाउँदै थियो । म कोठामा कपडा सिउँदै थिएँ । तिजको मुखमा आएका सबै कपडा भ्याइसकेका थिएनन् । मनभरि तिम्रो सम्झना उर्लिरहेको थियो मर्स्याङ्दी बनेर । छालले कहिले किनारा पुर्याउँथ्यो त कहिले लैजान्थ्यो भूमरीमा नै । जसको नतिजा एकापट्टि जोड्नु पर्ने कपडा म अन्तै जोड्थेँ । जब होशमा आउँथेँ सराप्थेँ आफैँलाई र तिम्रो सम्झनालाई । यदि सम्झनामा तिमी त्यसरी नआउँदा हौ त मेरो काम बिथोलिने थिएन भन्दै ।
कति नाजुक मन | सम्झनामै पङ्ख फिंजाई टाढा, धेरै टाढा तिम्रो सामीप्यता र आलिङ्गनको प्यासमा छट्पटिदै उड्थ्यो । मलाई थाहा छ तिमी नौडाँडा पारि छौ | तर सम्झनाहरु एकदम नजिकबाट चुमिरहन्थे | अङ्ग-अङ्ग सुमसुम्याउँथ्यो सम्झना र त आन्दोलित बन्थेँ तिम्रो उपस्थितिबिना नै ।
कलको पाङ्ग्रोसँगै घुम्थे सम्झना, सोचाइ र यादहरु । म त्यसैमा कुतकुतिएर रमाउँथे, हाँस्थेँ आफैसँग | अनि गुनगुनाउँथे एक्लै जपेर तिम्रो नाम गाउँदै मिलनको गीत । सम्झनामा हराउँदा कति मीठो हुन्छ संसार जहाँ तिमी र म बाहेक हुदैनन् कोही पनि ।
दुर्भाग्य ! मेरो एकाग्रपन बिथोल्यायो बाहिरी वातावरणको चिच्याहटले, कोलाहलले र हल्ली खल्लीले । सिलाउँदै गरेको कपडाको मेलो बीचमै रोकेर चियाएँ झ्यालबाट बाहिर । चन्द्रौटा बजार आगो ओकल्दै रैछ धुवाँको कालो मुस्लोले ख्वाप्प निलीसकेछ एक गाँसमा । मान्छेहरु कराउँदै चिच्याउँदै भागिरहेका थिए, मान्छेबाटै लखेटिएर | मलाई पत्याउन मुस्किल भयो त्यो घटना ।
घरहरु आगोको मुस्लोमा बिलाउँदै रहेछन् | सुस्तरी सडकका सवारी साधनहरु एउटा पनि अछुत थिएन आगोबाट । चैत मासको डढेलोले खरबारी सल्किएझैँ चन्द्रौटा बजार सल्किदै रहेछ । एकहुल मान्छे घरघरमा लुटपाट र आगजनी मच्चाई रहेका थिए भने अर्को हुल आफ्नो जिउ जोगाउन भागिरहेका ।
आँखा जब घरअगाडि सडकमा दुई टुक्रा भएको भाइको लासमा गएर ठक्कर लाग्यो तब मलाई एकाएक आकाश खसेर थिच्यो नराम्रोसँग । च्यापिएँ किचिक्क हुँदै आँखा तिरमिराए अँध्यारो देख्ने गरी । म उसै विव्हल भएँ । एकै फड्कोमा तल ओर्लदा त्यहाँ झन भयावह दृश्य ताडण्व नृत्य देखाउँदै रैछन् । हाम्रो लगायत वरपरको पसलको सामान केही गाडीमा लोड हुँदै थियो त कोही सडकमा घोप्टो मुन्टो लगाएर असरल्ल छरिएका । एक जत्था मान्छे धमाधम बाहिर निकालेको सामानमा आगो सल्काउँदै थिए ।
बाबाको दुवै हातमा डोरीले बाँधेर गाडीको पछाडि झुण्ड्याई घिसार्दै गरेका बाबाको मुहार रक्ताम्मे भैसकेको थियो | उहाँ कराइरहनु भएको थियो ‘बचाऊ’ ‘बचाऊ’ भन्दै तर ती राक्षसहरु चिच्याइको कुनै पर्वाह नगरी गाडी हाँक्दै थिए मान्छेलाई मुढो बनाएर । आमा भान्छामा हुनुहुन्न थियो । मलाई थाहा भएन कि उहाँ कुन संसारमा हुनुहुन्थ्यो धर्ती वा आकाश ।
केही राक्षसहरु खनिए मैमाथि | उनीहरुको पंजाबाट बाँच्न म भागेँ बजारैबजार | मेरो पछाडि उनीहरु कुद्दै थिए सिकारी कुकुरले हरिण लखेटेजस्तो । बजारका अधिकांश घरहरु आगोको मुस्लोमा हराउँदै थिए भने मान्छे भागाभाग । सपनाको दुनियाँमा हो वा काल्पनिक विपनामा, म अनुमान लगाउन नसक्दै लखेटिएँ । जब म बजार छोडेर उखुबारीमा फाल हालेँ प्राण जोगाउने बहानामा मेरो नौनाडी गलिसकेको थियो ।
हजारौँ लासहरु छरपस्ट थिए उखुवारी र खोलामा मेरा पैतालाले ति मानव शरीरहरुलाई कुल्चिदै बढें । म जति दौडनु पर्ने थियो, जति भाग्नु पर्ने थियो, त्यति दौडन भाग्न सकिन । एक त मान्छेको रगतपच्छे लासहरु देखेर रिँगटा लाग्यो | अर्को डर, त्रास र थकाइले लखतरान भएँ म उसै ।
थाकेका गलेका र लर्वरिएका पाइला उखुको ओखतामा अल्झेर पछारिन पुगेँ | उखुबारी भित्र ती नरभक्षी जो मलाई लखेट्दै थिए भेटाए उनीहरुले सजिलै आखिर ओथारा बसेको कुखुरीलाई समात्न अप्ठेरो पर्दैन स्याललाई । मेरो आङमा लगाएको कपडा सबै च्याते | एकपछि अर्को गर्दै नङ्ग्याए मेरो शरीर चिलले चल्लो नङ्ग्याए झैँ । म जति प्रतिकार गर्न खोज्थेँ उति बर्सिन्थ्यो खुकुरी तिघ्रा र पाखुरामा | एकातिर खुकुरीको चोटले चुस्दै थियो भने अर्को तर्फ ती सर्पहरुले मलाई पालै पालो डसे । चितुवाको खिचातानीमा जरायो छटपटाएझैँ छटपटाइरहेँ म चोटै चोटको विषले होशमा हुन्जेल ।
बेहोशीमा थाहा भएन कति साँपको डसाइ ओइरियो मेरो शरीरमा र कति विष ओकलियो । हुन सक्छ उनीहरुले मलाई मरी भनेर छोडेका । तर जीवन ! अभागीलाई हत्तपत्त कहाँ काल आउँथ्यो र ? यसो भनौँ अभागीलाई स्वर्गमा पनि बस्ने स्थान पुग्दैन | सायद यसै भयो र म मर्न सकिन | जब ममा होश आयो म अस्पतालको शैयामा रहेछु | सलाइन पानी र ब्लडसँग सम्झौता गरेर मृत्युसँग पौठेजोरी खेलिरहेकी । अस्पताल घाइतेले खचाखच भरिएको रहेछ | ओल्लो पल्लो शैयामा नजर हुत्याएँ बाबा र आमालाई भेट्छु कि भनी तर उहाँहरु त्यहाँ हुनुहुन्न थियो ।
मन्त्रीदेखि पार्टी कार्यकर्तासम्म पालैपालो आएर हामीलाई हेरेर गए | हेर्नु के थियो र सान्त्वना प्रदान गर्नु न हो ? उनीहरुले दिएको खोक्रो सान्त्वनाले हराएका फर्कने, मारिएका बिउँझने र म जस्ता लुटिएकाको अस्तित्व फिर्ता हुने थिएन । उनीहरुको आगमन पनि मलाई रङ्गमञ्चमा कलाकारले अभिनय गरे झैँ लाग्यो ।
जीवन ! म किन बाँचे होला ? मृत्युले गिजोलेर किन छाड्यो मलाई । शरीरभरि टाँका र ब्यान्डेज गरिएको छ | शैयाबाट उठेर एकपाइलासम्म हिड्न सक्दिन म | कति अभागी रहेछु । आफ्नो सर्वस्व लुटियो, घर जल्यो परिवारका सदस्य कहाँ छन् ? मरे वा जिउँदै छन् ? त्यो पनि थाहा छैन भाइको लास त आफैंलाई देखेको हुँ | त्यसैले आश छैन | तर बाबा आमाको आश छ र यादले सताइरहेछ यो अस्पतालको शैयामा ।
होशमा आएको पल त लागेको थियो वैरी चन्द्रौटा बजारमा मात्र लाग्यो | तर म गलत रहेछु | चन्द्रौटा बजारमा लागेको आगो कृष्णनगर, देवीनगर, वीरपुर, बालपुर, उज्ज्वलपुर, गुगौली, पथ्थरदैयासम्म सल्किन भ्याएछ र खरानी बनेछन् सबका सब बस्तीहरु ।
ह्वात्तै सल्कियो आगो | अग्लियो अपराधिक गतिविधि | कपिलवस्तु भासियो तलतल । गाउँ, सहर, मेलापात, कलकारखाना, घर, पसल, युवायुवती, बाल, वृद्ध केही हेरिएन | कोही भनिएन । सीमापारीबाट आएका केही व्यक्ति समेतको उच्छृंखल जत्था हेलियो बस्ती बस्तीमा धमिलो बाढी बनेर । मान्छे मूला काटेझैँ काटिए भने कति जिउँदै जले | घरभित्र धर्तीमा तातो रगतको भुल्का कति छुट्यो जसको लेखाजोखा रहेन ।
जनमत सङ्ग्रहमा नमरेको मानिस, छ्यालीस सालको आन्दोलनमा बगेको भन्दा बढी रगत र जनआन्दोलन भाग-२ को लडाइँमा नढलेका मान्छेहरु ढले धर्तीको छातीमा भदौ तीस गते । यसो भन्दा फरक नपर्ला कि अर्को एउटा कोतपर्व मच्चियो कपिलवस्तुमा । बुद्ध जन्मेको जिल्ला, शान्ति अहिंसाको बिगुल फुकेको माटो, शान्तिदूतको मझेरी पोतियो रगतले नराम्रोसँग अर्को एउटा इतिहासमा कालो दिन बनेर ।
रगतको खोलामा पौडेर स्वाँठहरु धर्ती थर्काएर लुटपाट मच्चाइरहे | तर प्रशासन कानमा तेल हालेर बस्यो । जतिखेर राक्षसहरुले लखेटेर देवताहरु त्राहिमाम त्राहिमाम भन्दै भागेथे ठीक त्यति बेला नै मान्छेले मान्छेलाई लखेट्दा मान्छेले सुनेनन् । जब हुने हुनामी भइसक्यो तब कफ्र्यु लाग्यो कपिलवस्तुका ती सम्बन्धित क्षेत्रहरुमा । जलेको घर बलेको सवारी साधन र मरेको लासलाई कफ्र्युले कत्तिको असर पार्छ त्यो प्रशासन आफै अनुसन्धान गरोस् ।
यसको मतलव प्रशासनले आफ्नो जिम्मेवारी बहन गरेन | हुन पनि लगनपछिको पोते अनि मृत्यु पछिको औषधिको के काम ? जङ्गलै जङ्गल खाली खुट्टा दूधे नानी च्यापेर फुस्किएको फरिया स्याहार्न नभ्याई भागे मान्छेहरु जिउ जोगाउन । घरवार कता, छिमेकी कहाँ, के खाने केही टुङ्गो नभएका हजारौं हजार मान्छेको जत्था आइपुग्यो बुटवल । धन्य हुन् ती बाँच्नेहरु, जिउ जोगाउन सक्नेहरु किनकि बाँच्न पाउनु अहो भाग्य हो मर्नेहरुको तुलनामा ।
जीवन ! कपिलवस्तु जलिरह्यो आफूभित्र बेस्सरी खरानी बनेर | तर त्यहाँको धुवाँको मुस्लो देखेन राजधानीले र हेर्न पनि चाहेन । घर जलिरह्यो, मान्छे मरिरहे, कैयौं चेलीको अस्मिता लुटियो चुपचाप सहे मैले झैँ । उता काठमाडौंको मन्त्रिमण्डल मुसा र बिरालाको खेलमा मस्त रमायो । कोही सरकार छोड्ने, कोही फकाउने र कोही मिलापत्रको कागजमा सही छाप गरे झैँ गर्ने कस्तो बिडम्वना । थुक्क ! नेपालको प्रशासन नेता मन्त्रीहरु ।
जीवन ! अहिले सुन्दैछु बाँचेकाहरु शिविर खडा गरेर बसेका छन् अरे सकुशल छैनन् रे | जुनै परिवारको पनि सदस्य कोही न कोही हराएका छन् | बिलाएका छन् | सायद संसारैबाट । सरकारले राहत त दियो रे बाँच्नेलाई | साथमा परिवारका सदस्य मर्नेलाई पैसा देला । के पैसाले परिवारको सदस्यको क्षति पूर्ति हुन सक्छ
‘नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी हो ।’ पृथ्वीनारायण शाहको भनाइ थियो | तर खै त जातित्वमा समानता ? पहाडी र मधेसी बीचमा किन उब्जियो पर्खाल ? के हो हिन्दु अनि कुन हो मुसलमान ? कुन हो ईश्वर र के हो अल्लाह ? किन भयो विभेद ? छानी छानी पहाडीलाई उठीबास लगाउनुको पछाडि के रहस्य छ ? आखिर के का लागि ?
सबैले आ-आफ्नै पाखुरी बजारेर पसिनाको मूल्य नै खाएका थिए । त्यसमा पक्षधरले र्याल चुहाउनु पर्ने कारण किन ? मानवत्व, भातृत्व साथित्व सबै लिलाम गरेर जाति र धर्मको नाममा हिँसा फैलाउँदा फाइदा कसलाई ? लुट्ने पक्षलाई न भयो । साँढेको जुधाइमा निर्धा बाच्छा पेलिनुको पीडा कसैलाई थाहा छैन | न नेतालाई न त सरकारलाई नै । उल्फाको धनमा फुपूको सराद्धे गरेर पिण्ड खाए होलान् पापीहरुले निमुखाको रगतमा मुछिएको ।
यदि यो घटना मुठीभरका शासकको इसाराबाट गरिएको भए के फाइदा ? सोझा निमुखा जनताको उठीबास लगाएर जुन पक्षको मारमा पनि पेलिने हामी नै हौँ । अझै बढी चेप्पिने त नारी जाति । आखीर कहिले सम्म ? आफूलाई उज्यालोमा उभ्याए पनि मन कालै भएको पत्तोफाँट नपाउनेहरुले कहिल्यै पाउन्नन् उज्यालोको किरण । उज्यालो त्यहाँ झुल्कन्छ जहाँ मन चाँदीजस्तो सफा हुन्छ ।
जीवन ! विचारहरुको विकास हुनको लागि पहिला वातावरणको विकास हुनुपर्छ तर हाम्रो देशमा वातावरण संधै एउटा कन्टेनरमा थुपारिएको फोहोर झै भयो | जताबाट बतास चलेपनि दुर्गन्धको हस्को नै बोकेर ल्याउने । फोहोरी वातावरण, फोहोरी मन, फोहोरी विचार अनि कहाँ हुन्छ सभ्यताको उदय अमन चैन र शान्ति ?
जीवन ! जे जति मनका उकुसमुकुस लेख्नु थियो लेखेँ | केही होसमा त केही बेहोसमा | तिमीलाई पत्र लेख्नुको कारण सम्बोधन गर्नुको औचित्य यतिमै खत्तम भएको छैन | मन गाँठो परिरैछ । आँसुले कागज भिजेको छ लफलफ्ती । सोचिरहेछु कलम बन्द गरौँ वा अगाडि बढाउँ । दोमनले रेटिरैछ भित्रभित्रै श्वास एउटै मुस्लोमा निस्कन खोज्छ अचेटिएर नाकबाट ।
हुन त कपिलवस्तुको घटनामा म मात्र लुटिएकी हैन | मेरो मात्र घर जलेको छैन | मेरो मात्र मरेको हैन भाइ र बेपत्ता छैनन् मेरा बाबुआमा मात्र । तर मानिस स्वभावैले स्वार्थी प्राणी | उसले देख्दैन अरुमाथि पहाड खसेको बरु सुमसुम्याउँछ आफ्नै शिर ।
म यति भन्न खोज्दैछु जीवन ! आजभोलि म तिमीलाई लिएर सोच्ने गर्छु धेरैधेरै । आफ्नोभन्दा मलाई चिन्ता छ तिम्रो | कुन संयोगले भेटियौँ हामी | कसरी साटियो मुटु र गाँसियो मन ? हाम्रो सुन्दर घर बसाल्ने सपना सपनामै सिमीत रह्यो | न तिम्रो चाहना पूरा भयो न मेरो इच्छा ।
तिमीलाई भनेर साँचेको मन मात्र चोखो छ अहिले मसँग । पापी असुरहरुले जुठ्याए | तन साँच्न सकिनं सकुशल मैले तिम्रो लागि यो यौवन । मलाई माफ गर जीवन, तिमीलाई दिएको वाचा काँच जस्तो टुक्रियो, सिसा जस्तो फुट्यो । लुटियो मेरो अस्तित्व, खोसियो भाग्य र मेटाइयो बाँच्ने चाहना, बिटुलिएँ म । कसैले पहिरिएर मिल्काएको माला जस्तो, भोजमा खाएर फ्याकेको जुठो टपरी हुँ म | अब कसैले हेर्ने छैन नजिकबाट, सुमसुम्याउनु त परैको कुरा ।
तिमी त मायाले स्वीकार्न तम्सौला | तर के विश्वास अन्तर्यामी मर्यादा पुरुषोत्तम रामले त सीतामाथि विश्वास नगरेर अग्निपरीक्षा दिन लगाएका थिए भने तिमी पनि एउटा पुरुष हौ | जीवन, तिम्रो समाज छ, आफन्त छन् परिवार छ । यो समाजमा नारीलाई जहिले पनि हेयको भावमा हेरिन्छ | ऊ जबरजस्ती बलात्कार हुन्छे | तर बिटुलोको पगरी गुथाइन्छ उसैलाई । बुझ्दैनन् उसको विवशता र बाध्यता | नियतिले मसँग कौडा खेलेर जितिसक्यो । अब मसँग कुनै त्यस्तो बस्तु छैन जुन दाउमा थापेर समाजसँग अर्को जुवा खेलौँ ।
सामूहिक दुर्व्यवहार र निर्ममताको सिकार भएर जिउँदै ह्दयमा आगो सल्केर पनि जीवनप्रति अटुट मोह हुँदा-हुँदै सास फेर्ने ठाउँ कतै नदेखेर झ्वाम्म नदीमा हाम फालेका कति नारीहरुको दुखान्त जीवन कथाहरु पढेकी छु | नजिकबाट पढ्नु र भोग्नुमा आकाश धर्तीको फरक हुन्छ त्यो तिमी बुझ्दैनौ जीवन ! अहँ पटक्कै बुझ्दैनौ ।
नारी हुनुको दुर्भाग्य आज म भोगिरहेछु, चपाइरहेछु | आफूले आफैलाई निल्नु न ओकल्नुसँग । कपिलवस्तुको दङ्गाग्रस्त क्षेत्रमा शान्त भएपछि सबै विस्थापितहरु फर्कन्छन् अरे | आफन्त हुनेहरु त फर्कलान् | इज्जत बचाउन सक्नेहरु पनि फर्कलान् | तर म जस्तो निरीह व्यक्तिको लागि कुनै ठाउँ छैन कतै पनि ।
जीवन ! जे हुनु थियो भैसक्यो | अब त्यो बितेको दिन फर्केर पनि आउन्न र समयले मेरो घाउमा मलम पनि लगाउन सक्दैन । हाम्रो प्रेम अधुरो नै रह्यो केही छैन् । म बर्बाद भए पनि तिमी तिम्रो सहरमा इज्जतका साथ जीवन गुजारी रहेका छौ | तिमी एक राजकुमार हौ | तिम्रो लागि एक से एक राजकुमारी भिड लाग्छन् | विगतमा हामीले बिताएको समय एउटा मीठो सपना सम्झेर भुलिदिनु र बसाउनु घरजम । मानिसहरु पुनर्जन्ममा विश्वास गर्छन् | यदि साँच्चै पुनर्जन्म हुन्छ भने पुनः हामी भेटौँला बाँचौंला सँगै र सुम्पौँला चोखो यौवन | नत्र यो जुनीमा म तिमीबाट टाढा हुनेछु । सम्झनू कपिलवस्तुको अग्निकुण्डमा अर्को एउटा सतीदेवीको पतन भयो । अब धेरै लेख्न चाहन्न | सायद धेरै दिन बाँच्नु पनि छैन यस्तो ठाउँमा | यस चोलाबाट सदाको लागि विदा ।
subisudha9841140180@gmail.com
acharyasubisudha@yahoo.com
(स्रोत : KhassKhass.com)