मलाई उसको साथी आउने कुरामा खास चासो थिएन रपनि घर त फर्कनु नै थियो । आभा/मेरी पत्नी सुन्न चाहन्थी, आफ्नो लोग्ने अर्थात ‘म’ आफ्नी बालसखाको पहिलो नजरमा कस्तो देखिन्छु ?
उनीहरु एकसाथ हुदाँसम्म हर स–सानाकुरा दुईजनाको साझा रोजाइको हुन्थ्यो रे । ‘आभा एक्लैको रोजाइ म, कतै ..?’ कतकता संकोच लाग्यो ।
सकसक सहिनसक्नु हुँदा म बोले, “आभा एउटा कुरा भनुँ ?”
स्वाभाविक मुस्कानसहित ऊ बोली, “हजार कुरा भन्नु न, किन एक ?”
“सुनन, तिम्रो साथी हामी कहाँ नै बस्ने भन्दा मलाई असजिलो लागिरहेको छ । कुनै राम्रो गेष्टहाउसमा राखिदिउन हुन्न?”
“हँ ! किन र ?”ऊ झण्डैझण्डै चिच्याई ।
“हैन ऊ विदेशबाट फर्केकी मान्छे,असुविधा होला की भनेर ।”
“ए, त्यो मेरी साथी हो । हजुरले बिल्कूल चिन्ता लिनुपर्दैन । त्यो हामीसँगै खुसी भएर बस्छे ।” ऊ ढुक्क देखिई ।
छरितो शरीर,सुहाँउदो कपडा अनि यौवनको स्वाभाविक आकर्षक समग्रमा राम्री देखिन्थी आरती ।
“आभा यस केटोमा केही विशेष पक्कै छ हैं । लौं, मलाई तेरो खसम मनपर्यो ।” पहिलो हेराइ मै मेरी पत्नीको कानमा फुसफुसाई ऊ ।
“तपाई आभाको पति हुनुहुन्छं त्यसैले भिनाजु नै भन्नुपर्ला …………भरपूर जिस्कन र जिस्क्याउन पनि मिल्ने कसो आभा? ” तत्काल साइनो पनि तय गरी उसैले ।
‘ममा हैन त्यसमा भने पक्कै केही विशेष छ |’अनायसै मेरो अन्तरआत्मा करायो ।
परिवारमा ऊ थपिई, हामी तीनजना भयौं । म आफूलाई त्यती छुच्चो र असामाजिक मान्दिन तर किन हो त्यसकेटीको उपस्थिति मलाई असहज अझ भनौ अत्याहटपूर्ण लाग्यो, लाग्थ्यो । मलाई ऊ बडो रहस्यमयी तरिकाले हेर्थी । अग्रेजी (हिन्दी र कहिलेकाहिँ नेपाली पनि) गीत गुन्गुनाउदैं घरी यो कोठा र घरी यो कोठा गरिरहन्थी ।
एकविहान म आफ्नै कोठामा अफिसका केही कागजात तयार गर्दै थिएँ ।
“भिनाजु चिया ।” आभा कहाँ गइछ, आवाज आरतीको थियो ।
ढोकासम्म ठमठम आएकी त्यो, म छेउमा आइपुग्दा रातोपीरो देखिई,उसका हात काम्दै थिएँ ।
“के हो साली ज्यू, चिया लिएर आफैं आइएछ त ?” मलाई जिस्क्याउन मन लाग्यो ।
करेन्ट लागे झैं हात झड्कार्दै त्यो बोली, “आभाले देखीभने…..?”
विचित्रको सवालले अचम्ममा परे म । लाँ मैले त चियाको सट्टा त्यसको हात पो समातेछु ।
“साली–आधा घरवाली भन्ने सुनकी छौंनौं र?” वातावरणलाई सहजता दिने सानो प्रयास मेरो ।
मुख छोपेर दौडिई ऊ,ओझेल परेपछी आफ्नो लापरवाही सम्झेर आफैंलाई कस्तोकस्तो लाग्यो ।
पछिल्लो समयमा त्यसको हर्कत मेरा निम्ति बडो लापरवाह र नखरापूर्ण हुदैंगयो। त्यो यताउता झुल्किरहन्थी । बेलाकुवेला मेरो कोठामा छिर्थी । कहिले चिया त कहिले खाना भन्दै तान्न आइपुग्थी । म जिस्क्याउदै आँखा तरिदिन्थे यसैक्रममा हाम्रा नजर एकाकार भएँ, त्यो पलभरमै उछिट्टिई ।यसकिसिमको मदहोशपूर्ण सामित्यताले मभित्र वेचैनीको ढोका खोलिदियो । बिस्तारै, एककिसिमको तनावको महशुस हुन लाग्यो । भित्रैबाट दुखे झैं छटपटाहट हुन लाग्यो । के भन्ने के गर्ने , आफैंलाई भएको के हो ,आफैं अलमल्लमा पर्न लागे ।
“तिम्री साथी गाँउ कहिले जाने रे ?” अत्याहट बढ्दैजादाँ आभालाई खुसुक्क सोधें ।
“अलिकति काम छ रे, दुईचारदिनमा निम्ट्याउछे होला तर किन र ?त्यसको अलि धेरै बोल्ने बानी छ, हजुरलाई केही… ?”
“त्यस्तो केही हैन, त्यसै सोधेको ।” मसँग टार्नुको विकल्प थिएन ।
यस्तै चल्दै थियो , चल्दै गयो । म अफिस जान्थे, फर्कन्थे । आभा र आभाकी दौंतरीवीचको प्रेम मौलाउदोथ्यो, मेरो मन गन्जगोलमा फस्दैथ्यो ।
एकसाँझ, म टि.भि.मा समाचार हेर्दै थिएँ । भिजेका कपाल झड्कार्दै कोही मेरो आँखा छोप्न आइपुग्यो ।
“के बबचना हो यो ?” म झर्किएँ ।
“सानोछदाँ आभा र मलाई हत्तपत्त कसैले छुट्टयाउन सक्दैनथ्यो, हजुरले चिन्नुहुन्छ कि हुन्न भनेर तर….” काँपेको स्वर आरतीको थियो ।
“हैन हैंन म कहाँ रिसाए र, मैले पनि आभा नै सोचेको ।” सरासर झूट बोले मैले ।
“यसको मतलव,आभालाई छाडेर मैसँग बस्न सक्नुहुन्छ ?”
“हँ …..” मेरो ओठ तालु सुक्यो ।
“मैले त्यसो भने र ? मेरो काम छ तिमी जाँऊ ।” मलाई साच्चैं झोक चल्यो ।
“मेरो प्यारो भिना, कति ‘डरपोक’ हैं ?” खितखिताउदैं ऊ दौडिई ।
खास केही भएकै थिएन, कुनै त्यस्तो कारण पनि थियो जस्तो लाग्दैन । उल्टो परिणती,अनौठो बेचैनीले गालिदैं गएँ म । कसैलाई भन्ने कुरापनि थिएन । म बहादुर लोग्नेमान्छे एउटी पाहुना केटीदेखि भाग्ने कुरा पनि भएन । कुनै डरलाग्दो भूँमरीमा फस्न लागेको संकेतले भित्रभित्र खूव सर्तक रहन खोजे । आफूलाई सकेसम्म व्यस्त राख्ने प्रयासमा लागें ।
“तेरो एक्लो रोजाइमा पनि दम चाहिँ छ हैं ।” मलाई घुर्दै आभालाई फुर्क्याउथी त्यो ।
थाहा छैन, उसको मनमा के थियो ? मैले कबुल गर्नैपर्छ, पक्कैपनि म ऊ प्रति प्रभावित थिएँ ,भएँ । थोरै समयमै त्यो केटीले मलाई रोगी बनाइदिई ।त्यसैले त अव्यक्त ,बडो अनौठो पीडामा गाँजिदै गएँ ।शनिवारको दिन अर्को आपत आइलाग्यो । उसलाई बजार घुमाइदिनु पर्ने रे । उम्कने प्रयास नगरेको पनि हैन । ‘तेरो पति कायर रछ ।‘ पुरुषत्वमाथीको हाँक मलाई मञ्जुर भएन ।
साँझ ढल्कदै थियो । सिमसिम पानि पर्न लागेको थियो ।
“चिया पिउने की?”
“मात्र चिया ?”म वाल्ल परें ।
“केही दिनमा म गइहाल्छु, एकसाथ डिनर गर्दा के बिग्रन्छ र ?” चुलबुले आँखा नचाउदै त्यो बोली ।
“हँ ………..तिमी आएदखी नै एकसाथ खाना खाँदैछौं नी हैन ?” अपराधबोधले फतक्क गाल्यो मलाई ।
“भएपनि….” ऊ के भन्दै थिई । म आत्मविश्वास गुमाएको पुरुष, नसुने झैं बाइक हुइक्याएँ ।
बजारबाट फर्केपछी आरतीको तेस्रो अवतार देखें मैले । उसका बोली बन्द भएँ, चञ्चलता हराएँ । बेसुरा गीत सुन्न छाडें तर कामले हो वा त्यतिकै मेरो कोठाको बाटो यताउता गरिरहन्थी । चोर आँखाले यसो हेर्थी अनि फोनमा कुरा गरेको बाहना गर्दै छेउ लाग्थी, मेरो कोठामा झुक्केर पनि छिर्न छाडी । त्यसको व्यवहार देखेर ममा केही शीतल केही गर्मी एकसाथ सवार हुन्थ्यो । छिनमा हाँसो उठ्थ्यो, छिनमा रिस उठ्थ्यो ।
पर्सिपल्ट विहान, आभा तरकारी लिन बाहिर निस्किई । म आफैंभित्र निस्सासिइरहेथे, आरती धारामा भएजस्तो लाग्थ्यो ।
“तिमी आफूलाई खूव स्मार्ट सम्झन्छौं हैन?अरुलाई फसाएर आफू उम्कन खोज्ने ढोङ्गी, पापी/अपराधी……….. ।” अप्रत्यासितरुपमा मेरो कोठा डगमगायो ।
“किन, के भयो र आरती ?” मैले अनभिज्ञता जनाएँ ।
“तिम्रो मसँग के शत्रुता छ हँ …आभा ! मलाई तेरो यो रोजाइ भारी पर्यो ।” अगे्रजी लवजमा अरु के के भन्दै लडखडाउदै,बरबराउदै,रुदैं त्यो बाहिरिई ।
कुनै नाटकको पर्दा खसे झैं बडो अनौठो, असजिलो परिस्थिती पलभरमै टर्यो। त्याँहा रोकिने हिम्मत भएन मसँग ,सकेसम्म छिटो बाहिर हुत्तिएँ । काममा रत्तिभर मन लागेन ।
‘अरुलाई फसाएर आफू उम्कन खोज्ने, पापी/अपराधी……ढोङ्गी…’ जलाइरहें त्यसका प्रतिध्वनीहरुले ।
भारीमन लिएर घर फर्किएँ,वातावरण शून्य थियो । आरती गएको अन्दाज लगाएँ । कुनै आउदैं गरेका ठूलो भुकम्प रोकिए झैं लाग्यो । अझैं आँखामा त्यही दृश्य नाचिरहेको थियो । ऊ टाढिएको सत्यताले पनि मलाई शान्ति दिएन ।
“आरती गई नी…..ओहो कस्तो फुङ्ग उडेको अनुहार ,के भयो हजुरलाई….सञ्चो भएन?”
जीवनमा पहिलोपटक कसैको साथको खास आवश्यकता महशुस गरिरहेको थिएँ म,के भन्न सक्थे र?मन हडबडाएकै थियो ।
“आभा ….” कसैलाई रुवाएको अपराधबोधले कठाग्रिदैं, हठबडाहटमै आफ्नी पत्नीलाई अंगालेर आँगनमा झरें म । एक्कासी पानी दर्कियो । झमझम पानीमा घण्टौं भिजिरह्यौं हामी,मसँग बोल्ने शब्द थिएनन् । भलसँगैं सारा त्रास,कुण्ठा,पीडा पखालिएर बगें ।
नूतन प्रेमोदयको आभासले शक्ति क्षीण भएको शरीरमा एकाएक स्फूर्ति विउझेर आयो । लाग्यो, भर्खरैमात्र मैले मेरी पत्नीलाई प्रेम गर्न शुरु गरे ।
लजाउदैं भागेकी मेरी पत्नीको चुरा र पाउजुको मीठो झंकारमा तरगिंत हुदैं भोगाइको त्यो स्वर्णिम क्षणमा धेरैदिनदेखि पन्छिएको डायरी पल्टाउदै कृतज्ञतापूर्वक अन्तिम वाक्य लेखे मैले– ‘साधुवाद आरती ।।’
(स्रोत : Shabdahar)