कथा : कृति र पुरस्कार

~सुबिसुधा आचार्य~SubiSudha Acharya

काठमाडौंको भब्य होटलमा बिमोचित हुँदै थिए दुई कृति । अखबारमा छापिएको न्यूज हेरेरै रामहरि पुग्यो कार्यक्रममा । पास चाहिने रै’छ भित्र पस्न पनि, थाहा पायो गेटपालेले बाहिर धकेलेपछि । जारी थियो मान्छेहरु भित्रने क्रम । पत्रकारको छेको लागेर भित्रियो सुटुक्क उ पनि ।

खचाखच थियो हल आगन्तुकहरुले । ड्यासमा बसेका थिए खुट्टा हल्लाउँदै केही महोदय । स्रष्टा, समीक्षक, अतिथि होलान्शायद । उद्घोषक बोलिरह्यो ठुटे कपाल हल्लाउँदै । किताब बिमोचित गरियो त्यही ड्यासमा बस्नेहरुको हातबाट । स्रष्टाहरुलाई नियाल्यो रामहरिले । नाम सम्झने प्रयास गर्‍यो दिमाग घुमाउँदै । खोतल्यो दिलको सतह खूव गहिराइसम्म । नाम सुनेका, अनुहार देखेका स्रष्टा बिल्कुल थिएनन् उनीहरु ।

समीक्षकले आँखीभौँ उचाल्दै ठोकुवा गरे कितावको बारेमा । आजसम्म यस्ता सृजनाका किताव बजारमा आएकै छैन् । धेरै नाम चलेका साहित्यकारको सृजना पनि अपुरा होलान् तर, यो किताव नितान्त पृथक, रसमय, सुगन्धित आदि आदि ।

अगाडि समीक्षा भइरहँदा सबैको हातमा पुर्‍याइयो किताव । पत्रकारको छेवैमा बसेको कारण एउटा किताव भेट्यो रामहरीले पनि । शुरुकै कबिताले छोएन पटक्कै उसलाई । एउटा कबिता पनि पढी नभ्याउँदै आयो हाइहाई । बन्द गर्‍यो कबिताको किताव । मिठाइको पोका पास हुँदै आयो उ सम्म पनि ।

डिब्बा हातमा मुठ्याएर सुनिरह्यो बक्ताले बोलेको । अगाडि बोल्नेको आवाजलाई धमिलो बनाउँदै साइडमा खासखुस चल्न थाल्यो कितावको बारेमा । रचना झूर भए पनि मिठाइ भने छ है साथी हो दम्दार । एउटाले आँखा झिम्काउँदै खोक्यो । “यो लेखक मोरो लेखेर ठूलो बनेको हो र पैसाले पो हो त“,पैसाले पनि बन्दा रै‘छन् साहित्यकार ! अर्कोले फेरि खुस्खुसायो यता-उता हेर्दै । त्यतिकैमा राष्ट्रियस्तरको पुरस्कारको घोषण गर्‍यो एउटाले ।

कार्यक्रम सकियो । डिनरको व्यवस्था पनि छ, नजानु होला-उद्घोषक फर्फरायो माइकबाटै । सबै पालैपालो लागे डाइनिंग रुमतिर । जसलाई जस्तो मनलाग्यो खानसक्ने थियो व्यवस्था । धेरै त जलपान पिउनमै व्यस्त । लेखक पनि खन्याउँदै थियो गिलास माथि गिलास । पत्रकार पनि थिए व्यस्त पिउनमै । एउटा पत्रकारको नजिकै आएर अतिथिले सुटुक्क कानैमा मुख जोतेर भन्यो, यो लेखकले त्यो कबिता लेखेको कहाँ हो र, यो त मैले लेखिदिएको हो निः । आफूलाई पैसो चाहिएको- उसलाई नाम । बेचिदिएँ एक लाखमा । खितिति हास्यो ह्विस्कीको तालमा । पुरस्कारको घोषणा गर्ने व्यक्तिको पछाडि लुकेर लेखक स्वयं गफमा फ्याँक्कियो नशाको सूरमा । त्यो मोराले त्यत्रो पुरस्कार त्यसैमलाई दिने उद्घोष गरेको हो र ? सालेलाई डेढ लाख दिएको छु मैले । जो सँग कुरा गरिरहेको थियो ऊ मुसुमुसु हाँस्यो र ह्विस्कीको घुट्को निल्यो घुटुक्क !

मेरिल्याण्ड,अमेरिका

(स्रोत : Bhutaneseliterature.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.