~लिला रिजाल (सुवेदी)~
आकाश पनि रिसाए झैं गरेर कानको जाली नै फुट्ने गरी गर्जदै थियो घरि घाम लाग्दै थियो त घरि सिमसिम पानी परिरहेको थियो । पाल टाँगेर आँगनमा तुलसाको मठ छेउ हरिशरण काकाको लास लडिराखेको छ । श्रद्दान्जली दिन आउने जाने मान्छेहरुको भिडभाड थपिइरहेको छ । कोहि फूलका गुच्छा चडाएर आशु झर्दै छन् भने कोहि “उनि त सारै सहयोगी मान्छे पो थिए त् ….” भनेर राम्रो चरित्रको बर्णन गरिरहेका थिए । लाश उठाउन मलामीहरु तरखर गरिरहेका थिए रमा भने एक टक लाएर लाश माथि हेरिरहेकी छे ।
यसै क्रममा आउने मध्ये कसैले रमालाई सम्झाउदै थिए —- “धैर्य गर नानी के गर्नु रोएर आउदैनन नरोउ हामी सबैको जाने बाटो उही हो ढिलो चाँडो मात्र, यस्ता देवताजस्ता मान्छे लाई भगवानले चाडै बोलाउछन ।” रमा चुपचाप मुकदर्शक भएर त्यो दृष्य हेरिरहेकी छे । आखाहरू रसाइसकेका थिए । नियतिले कता लैजाने हो अब भनेर झस्किरहेकी छे ।
आज फेरी त्यो तितो अतित सिनेमाको दृष्य झैं आखामा झल्झल्ती आइरहेको छ । दश वर्ष अघि छिमेकका आफन्त काका पर्नेले उसकी आमा र उसलाई सहारा दिएर आफ्नो घरमा शरण दिएका थिए | आज रमा त्यो दिन सम्झेर एकोहोरो जस्ती भएकी छे घाउ बल्झेर दुख्यो फेरी ती दिन तिर फर्केर टोलाउन थाली । उ बेला बास बस्ने एउटा घर सम्म थिएन अर्काको जग्गामा सानो झुपडी बनाएर बसेका थिए । घरमा कमाइ गर्ने भनेका बाबु एक मात्र थिए । दुखले घरपरिवार चलेको थियो । आमा सधैजसो बिरामी भैरहने अनि बाबु रक्सिले मात्तिएर आएर सधै आमासँग झगडा गरिरहन्थे । केहि समय पछाडि बाबुको अकस्मात मृत्यु भयो । जहाजै डुब्यो टुहुरी भई …रोएर बेहाल अवस्थामा भएको बेलामा कसैले सान्त्वना दिदै भन्यो — ‘ हेर छोरी दाजु नभए पनि तँ मेरो छोरी जस्तै होस् आजदेखि म तेरो बाबु हुँ चिन्ता नगर‘ भन्दै अंगालोमा लिए अनि काखमा राखेर सबै तिर चुमे कहिल्यै नजिक नभएका हरिशरण काकाले देखाएको आफ्नोपन देखि तेतिखेर अचम्म लागेको थियो तर पनि स्वीकार गर्नु सिवाय अरु कुनै बिकल्प थिएन । समय बित्दै गयो समय संगै उनले सहारा दिनु, आलिंकनमा लिनु, चुम्नु, काकाको अनावस्यक स्पर्श उसबेला त बुझ्न सकेकी थिइन् तर अब ठुली भइसकेपछि थाहा पाउन थाली । आज आगनमा उसको अगाडि उनै काकाको लाश लडाइएको छ अचम्मसंगले त्यो लाश हेरेर रमाको मनभित्र एक तमासले द्वन्द भइरहेको छ । समाजको अगाडि घोषित देवता काकाको लाशको छेउमा गएर रोउं या पापीको लाश माथि थप्पड हानेर दिन खोलेर अट्टहास हाँसु ।
(स्रोत : Nepalisrael.net)