गाउँमा हल्ला फैलियो – ‘सुन्तली आत्महत्या गरी’
कोहि भन्थे – ‘बिचरी अकाल मै मरी’
कोहि भन्थे – ‘सुन्तली दुखमा मरी’
खोइ उ कसरी मरी
सुन्तली आत्महत्या गरी |
थाले कोहि बक्न – ‘यो कायरता हो ‘
कोहि भन्थे – ‘होइन – सुन्तली साहसी हो’
चर्चा छायो दिनभरी
खोइ सुन्तली साहसले मरी वा कायर भै मरी
सुन्तली आत्मा हत्या गरी |
जब एक मुठी अन्न पाक्दैन घरमा
जब फर्किन्छ बेसाह खोज्न गएको लोग्ने रित्तै घरमा
जब पाउदिन सुत्केरी रोएका बच्चाहरु फकाउन केहि
तब ढल्छ संसार गर्ल्याम गुर्लुम्म यसरी
कतै जाने ठाउँ हुन्न
कतै रुने गाउँ हुन्न
आकाश रित्तिन्छ – बर्साउदैन पानी
पाताल बुझ्दैन – निरङ्कुश गरिबी
अनि ईश्वर थाक्छन् – बरदान सकिएर सबै
घामहरु देखिन्नन् आकाशमा कतै
जून हरु भेटिन्नन आकाशमा कतै
एउटा अन्धकार मन बोकेर
बिबश तन बोकेर
खोइ सुन्तली कसरी मरी
सुन्तली आत्महत्या गरी
प्रकाश नेपाल
मार्च १८, २०१२
(स्रोत : Prakash Nepal’s Webpage)