~शरद निरोला~
बीस बर्ष अघिको नेपाल सम्झेर
त्यति नै बर्ष अघिको काठमाडौंलाई गुनेर
आज त्यही नेपाललाई अनिमेष हेर्दा
त्यही काठमाडौंलाई नियालेर हेर्दा
सगरमाथा किन हो
मरिमरी हाँसिरहेछ
घिनलाग्दो राजनीति र पराकाष्ठाको पदलोलुपता
सहमतिको नाममा मोलमोलाइको महाभारत
पार्टीगत स्वार्थले चिराचिरा भएको एकता
कोही दक्षिण, कोही उत्तर
कोही राष्ट्रियताइतर
देशको माया कसैलाई छैन
नेपाली भनाउन कसैलाई मन छैन
यो हरिबिजोगलाई
उनन्तीस हजार फीट माथिबाट हेर्दै
सगरमाथा किन हो
औधि हाँसिरहेछ
सहमतिका नाममा अतिरन्जित भागबन्डा
यो नभए त्यो, त्यो नभए ‘म’ को कुश्ताकुस्ती
समयको सीमांकन खरानीको थुप्रो
जिन्दगीभर अन्तरिम संबिधान काँधमा बोक्ने
पूर्ण संबिधानको वास्तै नगर्ने
अन्तर्राष्ट्रिय जगतमा भैरहेको देशको बेइज्जति
देखेको नदेखै गर्ने, आँखा भएर पनि अन्धा
यस्ता मतिभ्रष्ट हुतिहाराहरुले
देशलाई च्याँखे थापेको देखेर
साँच्ची नै सगरमाथा
खित्का छोडेर हाँसिरहेछ
कस्तो देशमा स्थायी बसोबास गरिएछ भन्दै
अट्टहास गरी गरी
वायुमंडल थर्काइरहेछ
यस्ताका लागि म किन हुनु राष्ट्रियताको प्रतीक
सोच्छ सगरमाथा–
मैले सदा देखिआएको भातृत्वको भावना
चार जात छत्तीस वर्णको सुमधुर सहअस्तीत्व
अभिवाजित एउटा सिंगै सबल मुलुक
आज टुक्राटुक्रा हुने खतरा
बढ्दो छ, उर्लंदो छ
यस्तै सोचाइले आक्रान्त छ सगरमाथा
नेपाल छोडी बरु तिब्बततिरै घस्किने कि ?
उग्रपन्थी सोचाइमा पर्छ सगरमाथा
यो अर्काले नउचालेसम्म स्वविवेकले नजुर्मुराउने जनता अंगालेर
निरर्थक कति दिन बस्ने
सोचमा परेको छ सगरमाथा
तर टुलुटुलु हेर्ने बाहेक
अरु कुनै विकल्प नदेख्दा
आँखाभरि आँसु लिएर
आहत हाँसो हाँस्न
बाध्य छ सगरमाथा
अमेरिका