बगरमा गिट्टीहरु फोर्दै
अचानक उसले भगवान सम्झ्यो
र मन्दिरहरुमा फूल चढायो |
चढाउदै गयो फूलपाती, गर्दै गयो आरती र
थाक्यो – भित्र भित्रै |
र फेरी फोर्न थाल्यो गिट्टीहरु बगरमा |
देख्न थाल्यो गिट्टीहरुमा – उस्तै भगवान
जहाँ चढाउथ्यो पाती र गर्थ्यो आरती
र अब उसले गर्न थाल्यो बगरहरुमा आरती – भगवानको |
गाइ गूई चल्यो गाउँमा
मान्छेहरु भन्न थाले – ठुले बौलायो |
ठुलेले पनि सोच्यो –
हो त नि –
‘ढुंगाहरु कसरी भगवान हुन सक्छन’ ?
‘भगवानहरु कसरी ढुंगा बन्न सक्छन’ ?
र ति ढुंगाहरु बगरमा फ्याक्दै
पस्यो ठुले शहरमा – एउटा भगवानको खोजीमा
झलमल शहरको बत्तीहरुमा
ठुले अक्षरमा ‘साइनबोर्ड’ पढ्यो –
‘भगवानहरु बिक्रीमा छन्’
प्रकाश नेपाल
डिसेम्बेर ११, २०११
(स्रोत : Prakash Nepal’s Webpage)