कथा : सम्पिडायग्नोसिस

~सरुभक्त~Sarubhakta

उसले आफ्नो नाम ‘अश्वत्थामा’ लेखाउनेछ, पिताको नाम ‘आचार्य द्रोण’ र माताको नाम ‘कृपी’ लेखाउनेछ । उसले आˆनो उमेर अन्दाजी ६ हजार वर्ष लेखाउनेछ । उसले आफ्नो पेसाको ठाउँमा ‘सैन्य सेवा’ लेखाउनेछ । कोष्ठभित्र उसले ‘प्रधान सेनापति, कौरव सैन्य, महाभारत युद्ध’ लेखाउन बिर्सने छैन । अस्पतालको चार्ट होल्डरमा रोगीको असामान्य विवरण पढेर म आफ्नो युगको तर्फबाट छक्क पर्नेछु ।

रोगीमाथि म आँखा उचाल्नेछु । नौ फुटको अग्लाइबाट रोगीले मेरो साढे पाँच फुटको होचाइलाई घुरिरहेको पाउनेछु । डाक्टर भए पनि म आत्तिनेछु ।

“के भयो तपाईंलाई ?” हडबडाउँदै सोध्नेछु । “शरीरमा अजम्मरी पीडा हुन्छ ।” बाघ गर्जे जस्तो स्वरमा रोगीले भन्नेछ । “अजम्मरी पीडा ?” म फेरि छक्क परेर आँखा उचाल्नेछु ।

“हजुर…..।” ऊ सविनय गर्जनेछ, “विगत ६ हजार वर्षदेखि मेरो सर्वाङ्गमा नयाँ कोषहरु जन्मने र पिपग्रस्त भई मर्ने प्रक्रिया जारी छ । परिणाम अपार पीडा र यन्त्रणा भएको छ ।”

“के कारण यस्तो भयो ?” हडबडाउँदै म सोध्नेछु ।

“थाहा छैन ? तपाईंले महाभारत ग्रन्थ पढ्नुभएको छैन ?” रोगीले उल्टो प्रश्न गर्नेछ ।

“पढेको छु तर…..।”

“विश्वास छैन, होइन डाक्टर ?” रोगीको प्रश्न सुनी म फेरि हडबडाउनेछु । रोगी आधा दर्जन बाघ गर्जेझैँ गरी पीडायुक्त हाँसो हाँस्नेछ । यही मौका छोपी म रोगीमाथि आँखा तिख्याउनेछु । सेतो धोती, विशाल छाती, घुँडासम्म लामा र सुगठित हातहरु, सघन दारी, मुठारेर माथि फर्काइएका जुँगा, तिखो-लामो नाक, तीक्ष्ण दृष्टि, झ्याप्प आँखिभौं, दश इन्च चौडा निधार र चुली पारिएका लामा केशराशि ! मलाई महाभारतकालीन प्रभाव पर्न थाल्नेछ ।

“महाभारत कथामा कृष्णले तपाईंलाई श्राप दिएको होइन ?” म सोध्नेछु ।

“हजुर ! मैले उत्तराको गर्भमा ब्रहृमास्त्र विकिरणका रुपमा प्रक्षेपण गरेको थिएँ । त्यो एक अपि्रय दायित्व थियो ।”

“दायित्व ?”

“हो डाक्टर ! म दुर्योधनको प्रधान सेनापति थिएँ । म सैन्यरहित भएका बेला पाण्डवहरुले राति शिविरमा भएको हत्याको बदला लिन मेरो पिछा गरे । मैले ब्रहृमास्त्र प्रहार गरें । अर्जुनले ब्रहृमशिर प्रहार गरी प्रतिकार गर्‍यो । पछि व्यासादि ऋषिका अनुरोधमा अर्जुनले आˆनो अस्त्र वापस लियो, मैले लिइनँ ।”

“किन नि ?”

“मलाई ब्रहृमास्त्र वापस लिने विधि थाहा थिएन । थाहा भएको भए पनि वापस लिन इच्छुक थिइनँ । म पाण्डववंशको सर्वनाश चाहन्थें, त्यसैले ब्रहृमास्त्रको आग्नेय प्रभाव नियन्त्रण गरी विकिरण रुपमा त्यसलाई उत्तराको गर्भमा मोडिदिएँ । कृष्णले यो थाहा पायो, तत्क्षण ममाथि भयङ्कर शब्दास्त्र प्रहार गर्‍यो ।”

“शब्दास्त्र ?”

“हजुर । श्राप भनेको शब्दास्त्र हो । श्राप दिनु भनेको शब्दास्त्र प्रहार गर्नु हो । शब्दका ऊर्जाहरुमा विकिरण उत्सर्जित गर्ने क्षमता हुन्छ । कृष्णले मेरो शरीरका बाहृय कोषहरु घाउ पारेर सधैं पिपग्रस्त भइरहने शब्द-विकिरणास्त्र प्रयोग गरेको हो ।”

“विकिरणको बदलामा विकिरण ! के त्यो न्यायिक दण्ड थियो ?” म मुस्कुराउनेछु । रोगीलाई मेरो मीठो मुस्कान नमीठो लाग्नेछ ।

“युद्धमा विजयी बन्ने अधिकार सबैलाई छ, दण्ड दिने अधिकार कसैलाई छैन !” रोगीले भन्नेछ । यसो भन्दा उसको विशाल छातीभित्रको फोक्सो फुल्न सक्ने हदसम्म फुल्नेछ ।

“माफ गर्नुहोला…. ।” म केही आत्तिनेछु ।

“माफ नमाग्नुहोस् डाक्टर ! तपाईंले कुनै अपराध गर्नुभएको छैन ।” रोगी भन्नेछ । यसो भन्दा रोगीका घाउ परेका ओठका छेउकुनामा स्मितिका चिहृनहरु देखा पर्नेछन् ।

“ओहो, धन्यवाद !” म मुक्त हुनेछु र भन्नेछु- “कृपया त्यहाँ पल्टिनुहोस्, म तपाईंको स्वास्थ्य परीक्षण गर्नेछु ।”

रोगी बेडमा पल्टिनेछ । त्यसरी पल्टिँदा रोगीको घुँडाभन्दा तलका भागहरु बेडमा नअटाई झुन्डिनेछन् ।

म अति सूक्ष्मदर्शी कम्प्युटर चस्मा लगाई रोगीका घाउहरुको निरीक्षण गर्नेछु । मलाई रक्त अर्बुद ९ीभगपबझष्ब० र चर्म अर्बुदको शङ्का लाग्नेछ । अल्फाटाक्सिनको परिणाम भेट्ने छैन तर ओनकोजिन्सको सम्भावना भने म देख्नेछु ।

“डाक्टर ! मेरा घाउहरु निको हुन सक्छन् ?” रोगी सोध्नेछ ।

“अवश्य !” म भन्नेछु ।

“६ हजार वर्षदेखिको असाध्य पीडा, उफ् ! कसैले कसैलाई यस्तो पीडा नदेओस् ।”

“अवश्य !” म फेरि भन्नेछु ।

“मान्छेहरु भगवान् बन्न सैतान नबनून् !”

“अवश्य !” फेरि पनि म भन्नेछु ।

दुइटा बेड जोडी रोगीलाई अस्पतालको विशेष प्रकोष्ठमा राखिएपछि म उसको बायप्सी परीक्षण गर्नेछु । म रोगीमाथि सी.टी. स्केनिङ, लेसर सर्जरी र केमोथेरापीका विधिहरु पनि प्रयोग गर्नेछु । ल्ःच् क्उभअतचयकअयउथ गरी म रोगीको शरीरका आन्तरिक अवयवहरु हेर्नेछु । रोगीका घाउ र पीडाहरुमा कुनै परिवर्तन देखा नपरेपछि म पुर्पुरो समात्नेछु ।

“के भयो डाक्टर ?” रोगी सोध्नेछ । रोगीले नसोध्दै मलाई लाग्नेछ- उसका घाउ र पीडा ‘महाभारत मनोभ्रम ग्रन्थि’ का सृजना हुन् । विभ्रम सत्य भयो भने सत्य विभ्रम हुन्छ । जुन दिन रोगी विभ्रमित अश्वत्थामा बाँच्न छोड्नेछ, त्यसै दिनदेखि उसका घाउहरु भरिँदै जानेछन्, पीडाहरु हराउँदै जानेछन् । म सोच्न थाल्नेछु ।

“तपाईंको घाउ र पीडाको सम्बन्ध तपाईंको कथासित छ । पहिले कथा सक्नुहोस् Û” म आग्रह गर्नेछु । मलाई विश्वास लाग्नेछ, ‘होइन, होइन’ (नेतिनेति) बाट कुरा थाल्नेहरु ज्ञानको ‘हो’ सम्म पुग्न सफल भए भने ‘हो’ बाट कुरा थालेर म विज्ञानको ‘होइन’ सम्म पुग्न सक्नेछु ।

“डाक्टर, मैले मेरो कथा भनिसकें । कृष्णको श्रापास्त्र याने शब्द विकिरणास्त्र….”

“एकछिन, एकछिन !” म रोगीको कुरालाई बीचमा काटी सोध्नेछु- “महाभारतको युद्धमा कृष्णले शस्त्रास्त्र नचलाउने प्रतिज्ञा गरेका थिए, होइन ?”

“हो !”

“तब तपाईंमाथि किन शब्दास्त्र प्रयोग गरे त ?”

“प्रतिज्ञाहरु गर्दै प्रतिज्ञाहरु तोड्नु कृष्णको स्वभाव थियो । ऊ नभएको भए महाभारत युद्धको परिणाम अर्कै हुन्थ्यो ।”

“तपाईंको आशय…. के कृष्ण महाभारत युद्धका निर्णायक पुरूष थिए ?” म रोगीलाई महाभारतकालीन मनोभावहरु जम्मै ओकल्न प्रेरित गर्नेछु ।

“त्यस बेला भन्न सकिँदैनथ्यो तर अहिले भन्न सकिन्छ- कृष्ण निर्णायक पुरूष थियो !” पक्का उत्प्रेरित भई रोगीले भन्नेछ ।

“तर कृष्णले कुरूक्षेत्रको मैदानमा युद्ध नै गरेनन्, होइन र ?” म जिज्ञासा प्रकट गर्नेछु ।

“डाक्टर, महायुद्ध कुरूक्षेत्रको मैदानमा होइन, विचारको मैदानमा लडिन्छ । कृष्णले प्रत्यक्ष युद्ध नगरी सबभन्दा बढी युद्ध गर्‍यो ! त्यस युद्धको आरम्भ कुरूक्षेत्रमा भएको पनि थिएन । त्यहाँ त युद्धको अन्त्य मात्र भएको थियो ।”

“आरम्भ कहाँ भएको थियो त ?” म रोगीलाई हौस्याउँछु ।

“महाभारत युद्धको आरम्भ सय भाइ कौरवका पितामाता धृतराष्ट्र-गान्धारी र पाँच भाइ पाण्डवका पितामाता पाण्डु-कुन्तीका मनमस्तिष्कमा भएको थियो, राजनीतिक कारणले !”

“साँच्चै ?”

“म आˆनो युगको अपि्रय सत्य भन्दै छु । दुवै पक्ष राज्यको उत्तराधिकारी जेठो छोरो जन्माउने होडबाजीमा लागे । होडबाजीको परिणामस्वरुप धृतराष्ट्र-गान्धारी पक्षले सय घडापुत्रहरु जन्माए, पाण्डु-कुन्ती पक्षले पाँच मन्त्रपुत्रहरु जन्माए ।”

“घडापुत्रहरु…. मन्त्रपुत्रहरु ?” म हाँस्न थाल्नेछु ।

“नहाँस्नुहोस् डाक्टर ! घडापुत्रहरु भनेको ‘टेस्ट टयुब बेबिज्’ हुन् ।”

“अनि ‘मन्त्रपुत्रहरु’ भनेको ?”

“योचाहिँ ‘टेलिप्याथिक बेबिज्’ ! कुन्तीले इच्छित व्यक्तिहरुलाई टेलिप्याथीको माध्यमले आमन्त्रण गरी ऋतुदान मागेकी हुन् । तपाईंलाई थाहा हुनुपर्छ डाक्टर, सम्भोग गर्ने निम्ता पाउँदा सम्भोग नगर्नेहरु त्यस युगमा पनि एक-दुई जना थिए, अहिले पनि एक-दुई जना होलान् ।” रोगी अनुहारभरि छरपस्टिएका घाउका पिप चुहाएर हाँस्नेछ । म पनि हाँस्नेछु ।

“टेस्ट टयुब बेबिज्…. टेलिप्याथिक बेबिज्- के त्यस युगको विज्ञान यति उन्नत थियो ?” म आˆनो युगको शङ्का पोख्नेछु ।

“यो कुरा मेरो शरीरका घाउ र पीडाहरुलाई सोध्नुहोस् डाक्टर ।” रोगी पीडाले गर्जनेछ, “म प्राचीन विज्ञानले दिएका घाउहरुलाई आधुनिक विज्ञानले निको पारेको देख्न चाहन्छु ।”

“धैर्य गर्नुहोस्, निको हुनेछ !” म आश्वासनका शब्दहरु उच्चारण गर्नेछु ।

“डाक्टर, कृष्णका शब्द विकिरणद्वारा प्रभावित भएपछि म पुरू ययातिका हारमोन्स साटफेर गरी प्रतिरोपण गर्ने प्राचीन चिकित्सककहाँ गएँ, राजकुमारी अम्बाको लिङ्ग परिवर्तन गर्ने यक्ष चिकित्सककहाँ गएँ- कसैले पनि मेरो शरीरलाई श्रापास्त्र विकिरणमुक्त पार्न सकेन । तपाईंको विचारमा मलाई के भएको छ ?”

“पुरानो भएको कुनै इन्फेक्सन…. क्यान्सर…. लेप्रोसी… हुन सक्छ ।” म गोलमाल उत्तर दिनेछु ।

“डाक्टर, म एक चिरञ्जीवी पुरूष हुँ । मेरो शरीरमा पूर्ण क्षयीकरणको जैविक प्रक्रिया उत्पन्न हुँदैन । ६ हजार वर्षदेखि बाँचिरहेको अनुभवका आधारमा भन्छु- मेरो शरीरको प्रतिरक्षा प्रणालीले अहिलेसम्म कुनै जैविक विश्वासघात गरेको छैन । मेरो शरीरमा छुद्र रोगहरु लाग्न सक्तैनन् । रङ डायग्नोसिस् Û”

रोगी खाटबाट जुरूक्क उठेर हिँड्न थाल्नेछ ।

“कहाँ जान लाग्नुभयो ?” म सोध्नेछु ।

“डाक्टर, म आˆनो स्थानमा जाँदै छु । आजको एक हजार वर्षपछि म फेरि उपचार गर्न आउनेछु, सम्पिडायग्नोसिस हुने आशा गर्दै Û”

जाँदाजाँदै रोगीले भन्नेछ । म हाइपोथेल्मसछेउ पिटयुटरी ग्रन्थिमा ह्रासोन्मुख कम्पन उत्पन्न भएर आˆनो तर्फबाट, आˆनो युगको तर्फबाट बाउन्ने हुँदै गएको अनुभव गर्न थाल्नेछु ।

(सरुभक्तको हालै सार्वजनिक विज्ञान कथासंग्रहबाट । यो संग्रह फाइनपि्रन्टले बजारमा ल्याएको हो ।)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.