अंग्रेजी कक्षा सम्झने वित्तिकै पनि मेरो मनमा बारुद विष्पोट हुन्थ्यो । शरीरका नसाभरी यौटा भयपूर्ण खवर संचारित हुन थाल्थ्यो । जब हिटलर जस्ता अंग्रेजी शिक्षकले कक्षा प्रवेश गर्थे ; म आफ्ना सम्पूर्ण वाह्य गतिबिधिहरुलाई सन्तुलित प्रस्तुत गर्न यत्नरत रहन्थेँ । ‘साइड टक’ र हल्ला त म भूलचुकबस पनि गर्दैनथेँ । तर पनि पढाइरहने क्रममा उनी अचानक आफ्नो दाहिने हातको चोर औँला म तर्फ सोझ्याउँथे र कहिले गृहाकार्य जाँच्न तम्सिन्थे त कहिले
तत्कालिन पाठहरुबाट प्रश्नलहर वर्षाउँथे । कहिँ न कहिँ मैले गरेको गृहकार्य अपुरो ठहरिन्थ्यो र प्रायजसो म उनका प्रश्नहरुको सही उत्तर फर्काउन असक्षम रहन्थेँ ।
यसबाट उनी अत्यन्तै रुष्ट बन्दथे र अविरको रङ जस्ता आखा नचाएर म तिर झम्टिहाल्थे । उनी गाली गर्नमा माहिर लाग्थे , हात छोड्न पनि अवेर गर्दैनथे र कहिले काँहि त कक्षा बाटै निष्कासन गरिदिन्थे । उनका आवाजहरुमा यति विघ्न क्रुरता घोलिएको हुन्थ्यो कि म सिथिल भएर फतक्कै गल्थेँ र मानसिक विचलनको अवस्थासम्म पुग्थेँ ।
एकपल्ट त उनले – ” तँ खैनी खाँदैछस् ?……” भनेर मेरो ओठ र दाँतहरुमा नजर पुर्याए ।
म आफु कहिल्यै खैनी नखाने भएकाले चाँडो चाँडो आफ्नो ओठ पल्ट्याएर देखाइदिएँ । तेसबेला म थर्थर काँपिरहेको कुरालाई मेरो छेवैको साथिले टिपोट गरेको रहेछ । मुख्य रूपमा हिनताबोधी भावनाले म तेसबेला ग्रसित हुन्थेँ जब शिक्षकले म प्रति गरेको व्यवहार देखेर कक्षाभरीका केटा-केटीहरुले हाँसोको अश्रुग्यास प्रहार गरेर वेइज्जतिको दोसल्ला ओढाइदिन्थे ।
कलेजबाट साथिहरुसित गफ गर्दै घर फर्कने क्रममा मेरो र उक्त शिक्षकका बारेमा विशेष चर्चा परिचर्चा हुन्थ्यो । उनीहरु मलाई सहानुभूति व्यक्त गर्दै भन्थे – ” हेहे मैले त अंग्रेजीको किताब नै किनेको छैन यार……मैले त अंग्रेजीको नोट कापी सम्म पनि बनाएको छैन……हाम्लाई त के नै गर्छन् र ती सरले ?…”
उनीहरु यस विषयमा निर्धक्क देखिन्थे ; म मात्रै एक्लो थिएँ जो सदैव सन्तापमा रुमलिरहन्थेँ । हुन पनि हो , उनका तुफानरुपी पाइलाहरु अन्तिम बेन्चको छेउसम्म गर्जिएर आइपुग्थे र विशेष रुपले मप्रति केन्द्रित रहन्थे । कहिले काँहि भने मेरो छेऊको साथिले पनि नराम्रै सँग उनको रिस चाख्दथ्यो , तर बाँकि कक्षाभरका विद्यार्थिहरुको न त गृहकार्य जाँच हुन्थ्यो न त उनीहरुले होहल्ला गरेवापत सजाय नै पाउँथे । हामी विज्ञान संकायका विद्यार्थी थियौँ , तेसैले अंग्रेजी विषयका निम्ति भनेर अतिरिक्त समयको जोहो गर्न मुश्किल पर्थ्यो । physics , chemistry को मोटा-मोटा किताब पल्ट्याउनमै अंधिकांश समय व्यतित हुन्थ्यो । हुनसक्छ Edgar Allan Poe द्वारा लिखित ” The Tell-Tale Heart” कथाको ‘म’ पात्रलाई अर्को बुढो पात्रको आँखो मन नपरेजस्तै उनलाई पनि मेरा आँखा मन नपरेको होस् वा मेरो रुप , लवाई प्रति वैमनस्यता जागेको होस् । तर उनले म प्रति लक्षित रहेर गरिरहेका यस्ता क्रियाकलापबाट म आक्रोशित हुनुका साथै मनोविचलनको भयावह अवस्थामा पुग्न थालेको थिएँ ।
कहिले काँहि त यस्तो लाग्थ्यो एक मुड्की कस्सेर उनेको खप्परमा हानूँ र एकै सर्कोमा उनको सेखी झारूँ । यी दिनहरुमा मेरो पढाई प्रतिको अरुची चुलिँदै गएको थियो । यस्तैमा दोस्रो बेन्चमा बस्ने एक साथिले ठाऊँ साटौँ भन्यो । ऊ अन्तिम बेन्चमा बसेर झ्यालबाट देखिने यौटा केटीलाई हेरिरहन चाहन्थ्यो जस्लाई ऊ मनमनै प्रेम गर्न थालेको थियो ।मैले उस्को प्रेमिल चाहनालाई तुरुन्तै समर्थन गरेँ । तर अचम्मको कुरा के भने तेस दिन देखि उक्त अंग्रेजी शिक्षकले मलाई कहिल्यै वास्ता गरेनन् । बरु अन्तिम बेन्चको छेउमा बसाँई सरेको साथी चाँहि चिन्तित रहन थालेको थियो ।
(स्रोत : Anup Joshi’s Blog)