कथा : एउटा दुखद् पानी

~नारायण अमृत~

राति बाह्र बज्यो । निद्रा त कहाँ पुग्यो कहाँ ! बाहिर वर्षा रोकिएको छैन । अरू जोड-जोडले दर्केको छ । उछिट्टिएर झ्यालको चेप हुँदै बाछिटा कानसम्म आइपुग्यो । छटपटी बढ्यो । गाउँको बर्खे-परिदृश्य आँखावरिपरि नाचिरह्यो निरन्तर । विगतमा हराउनुको रोमान्स र विरक्तिको मध्यविन्दुमा अल्मलिएँ म ।
–– –– –– ––
त्यहाँ पनि पानी नै छ । खोला-नाला, कुलो-खोल्सा, पाखा-पखेरा सबैतिर । छिपछिपे छपनी टेकेर गुन्यु उचाल्दै मेला जाँदाका दिन अब फेरि यो जुनीमा

फर्केर आउलान् र खै ! गाउँको पानीले मकैका पात र स्याखु बजाउँछ, तर यता थोत्रा मिनिबस, सिमेन्टका छत र रेनकोटमा चित्त बुझाउनुपर्छ । उता पानीले भिजाउँछ पसिना उमार्ने खेत र आशा फुल्ने आली, तर यता त्यही पानीले घिसारेको छ ढलसँगै मिनरल वाटरका रित्ता बोत्तल ।

–– –– –– ––
बिहानै उठ्यो घाँसको जोहो गर्न हिँड्यो । आयो, हतार-हतारमा ‘भात’ खायो । र, लाग्यो स्याखु च्यापेर पर्ममा । दिनभर खेतलासँग कहिले जिस्क्यो, कहिले गीत गायो, कहिले अरूका कुरा काट्यो र निरन्तर बीउसँग खेल्यो । यी उपक्रममा कुनै पनि वेला लपक्कै कपडा टाँस्सिने गरी भिजाउँथ्यो, उही पानीले । भिज्नु नै त थियो जिन्दगी ।
डाँडामा घाम डुबेपछि केश-केशबाट पानी चुहाउँदै घर फक्र्यो । जोस थियो, जवानी थियो र हिम्मत पनि । त्यसैले त मध्यरातसम्म काम गर्दा पनि कुनै ऐया थिएन, कुनै अत्था थिएन । ओहो ! सम्झँदा पनि कति मीठो दुःख त्यो । रहरलाग्दो व्यस्तता । सिमिसिम पानी परिरहेको थियो । हामी खेताला हिलाम्मे गह्रामा रत्तिँदै थियौँ । बाउसेहरू आली लगाउने निहुँमा हामी खेतालीलाई हिलो छ्याप्थे । र, उभिएर हास्नसम्म हाँस्थे । हलीदाइ पनि कम थिएनन् । गोरु फर्काउँदै हिलै उराल्थे उनले पनि घरी-घरी । मलाई थाहा थियो, यही मेसोमा उसका चोर नजर ममाथि परेका थिए । अरूका आँखा छलेर उसले जे विनिमय गरिरहको थियो त्यसले मलाई अरू रोमान्चित पाथ्र्यो । लाजले रातै हुन्थेँ । अजीव आकर्षणले तरंगीत हुन्थ्यो सिंगो शरीर । हल्लन्थ्यो मुटु । शारीरिक रूपमा ऊ हेमान थिएन, तर हँसिलो, पटक-पटक ठट्टा गरिरहनुपर्ने, हँसाइरहनुपर्ने । घतलाग्दो बोल्थ्यो ऊ ।

मेला सकेर फर्किंर्दै गर्दा डाँडाको चौतारीमा उसले मेरो हात मुसार्दै प्रशंसा गरेको थियो, ‘तिमी साँच्चै राम्री छ्यौ मनिता ! ठूलो निधार छ, गोलो अनुहार र लाम्चा आँखा । तिम्रो मायाले मलाई पागल बनायो ।’ प्रशंसाका शब्द मेरा कानमा गुन्जिरहँदा म केवल दाँतले ओठ टोकेर सुनिरहेँ उसलाई । भन्न त मलाई पनि मन लागेको थियो, ‘तिमी पनि कम छैनौ नि ! तिमीमा म लठ्ठै छु । रातभर तिम्रै कुरा खेल्छन् यो मनमा । साँच्ची, म तिमीलाई माया गर्छु ।’ तर शब्दमै नभए पनि मेरो भंगीमाले यही सम्प्रेषण गरिरहेको थियो ।
बरको छेल पारेर प्रणय-संलाप चलिरहँदा खेतालाको लर्को गीत गाउँदै चौतारो छिचोल्थ्यो । हलो-जुवा बोकेका बाउसेहरू गोरुका ताँती अघि लगाएर स्याँ-स्याँ र सुइँ-सुइँ गरेको सुनिन्थ्यो । योभन्दा पि्रय थियो, मलाई उसको बोली, सामीप्य र तल बेंसीमा बगिरहेको मोदी खोलाको सुसावट ।

पानी थियो, प्रेमी थियो र पानीजस्तै मनग्गे प्रेम । हिलो र धान-बीउको सम्बन्धजस्तै अन्योन्याश्रति बन्दै गयो हाम्रो प्रेम । बर्खामै उसले मलाई धेरैपटक भेट्यो । गफ गर्‍यो । कहिले रोयो । कहिले हाँस्यो । र, कहिले सपना बाँड्यो । डाँडाको चौतारीको छपनीमा बसेर जून हेर्दै गफ गरेको सम्झना कहिले मेटिएला र ! अन्नपूर्ण शृंखलाबाट मोदीसँगै बग्दै आएको मन्द हावा, पानीले भरिएका गह्रामा टल्केको जुनेली छाया र मेरो गालामा पोखिएको उसको तातो हावा । सम्झँदा पनि मन झंकृत हुन्छ । उसले भन्थ्यो, ‘बर्खाले जुरायो हाम्रो प्रेम । पानी र प्रेमको नाता हाम्रा लागि गहिरो छ ।’ उसले कविता लेखेको मलाई थाहा त छैन, तर ऊ पूरै कवि हृदयको भन्ने लाग्थ्यो ।
एकपटक उसले रोपाइँ गर्दा फाँटको एउटा थुम्कामा उभिएर ‘भलो’ गायो । लाग्यो, उसले मलाई फकाइरहेछ । माया गरिरहेछ । जे भनेको छ, त्यो मेरा लागि हो । भलोमा कहिएकी कान्छी मै हुँ । पानीसँगै गाँसियो भलोमा पोखिएको माया पनि ।
भर्खरै रोपेको धानले हिलो समाउँदै थियो । पानीमा तैरिएकाजस्ता देखिने गाभा हरिया बन्दै थिए गह्राछेउछाउका खाँझ र खरबारीमा अर्को छिमल घाँस मौलाउँदै थियो । बाली लगाइसकेका गाउँका अनुहारमा फुर्सदको ताजगी देख्न सकिन्थ्यो ।
एकदिन उसले मलाई सिमेखेतको धारामा भेट्यो । ऊ हतारोमा थियो, खुसी गुमेको देखिएको । मैले कपडा धुँदैगर्दा उसले मूलगह्राको आलीमा उभिएर भन्यो, ‘अब म गाउँ बस्न नपाउने भएँ ।’ अध्ययनको सिलसिलामा उसले गाउँ छाड्नुपर्ने भयो । ऊसको यो खबरले म रन्थनिएँ । धारातल जमेको पानीमा देखिएको चम्किलो सूर्यको प्रतिविम्ब पनि केवल एउटा भ्रमजस्तो लाग्यो मलाई । साथ गुम्नुको सम्भावनाले मेरा आँखा रसाए । मैले निर्निमेष उसलाई हेरिरहेँ । उसको मुहारमा पनि ‘सियाँल’ छाएको थियो । आँखा झमिझमि पार्दै उसले भन्दै थियो, ‘म भइनँ भने पनि तिमीले आफ्नो ख्याल गर्नू । पढ्न नछाड्नू । हामी गाउँलेको जिन्दगी यस्तै हो ।’

उसले मलाई जे भनेर सम्झायो त्यसले म अरू विचलित बनेँ । निरन्तर बग्दो धाराको पानी मुखमा छ्याप्दै आँखा मिचेँ, यो सपना थिएन । अन्ततः उसले झोला बोकेर घर छाडेको दृश्य हेर्नुपर्‍यो मैले । ऊ हिँडेको देखिन्जेलसम्म हेरिरहेँ । उसले गाउँ छाडेको महिनाँसम्म पनि उसको सामीप्यता याद आइरह्यो । अरूभन्दा पनि हाम्रो प्रेमको भविष्यबारे चिन्तित थिएँ म । मनमा अनेक कुरा खेले । कतै उसले मलाई बिर्सने पो हो कि ? यो प्रश्नले मलाई पटक-पटक झस्क्याइरह्यो । डाँडाको चौतारी, चौतारीमा उभिएका वर-पीपल, घरछेवैको धारो, रातो-दिन ऊ हिँडेको बाटो र रोपाइँ गरेको फाँट, सबैतिर उसको छाया देख्थेँ म ।

उसले मैले पत्र लेखुँला भनेको थियो । घरगाममा हुलाकी आउँदा कतै उसले मलाई चिठी पो लेख्यो कि भनेर मुटु धड्कन्थ्यो । जब हुलाकी हाम्रो घरछेउको बाटो हुँदै अर्को गाउँतिर लाग्थ्यो, त्यतिवेला म मूर्छित हुनुसिवाय अरू केही विकल्प थिएन । म झोक्राएर बस्थेँ ।
कहिलेकाहीँ सोच्थेँ ‘मैले उसलाई यतिसाह्रो किन माया गरिरहेकी छु ?’ यसको सत्य जवाफ मसँग थिएन, थियो त केवल उसको याद ।

असोज लागेपछि गामघरमा पूजाआजा हुन थालेँ । कतै सत्यनारायणको पूजा, कतै चण्डी र कतै सप्ताह वाचन । सबै पूजाआजामा भजन-कीर्तन हुन्थ्यो । हामी साथीसंगी पनि ‘रुमानी रङ’मा रग्मगाउँथ्यौँ । रमाइलो गर्दैगर्दा बीचमा मलाई अचानक उसको यादले सताउँथ्यो । र, म शून्यमा हराउँथे । नाचगानको वातावरण एकाएक एउटा निस्सार परिदृश्यमा बदलिन्थ्यो मेरा लागि । र, मैले साथीहरूलाई भन्थेँ, ‘आज पुग्यो, घर जाम भो ।’
मोराको न कुनै पत्र प्राप्त भएको थियो न त कुनै समाचार । गाउँले कसलै मलाई भनेको थियो, ऊ काठमाडौं पुगेको छ रे ! ऊ काठमाडौं पुग्यो भनेपछि मेरो मनमा अरू धेरै शंका-उपशंका उब्जिन थाले । उतै कुनै केटी पो पायो कि उसले ! एक्लै रिसाउन थालेँ म । कतिसम्मको पापी त त्यो, कमसेकम एउटा पत्र त लेख्न सक्थ्यो नि ! मैले उसका अप्ठ्यारा, बाध्यता र संघर्षका पाटालाई कहिल्यै सोच्न सकिनँ वा चाहिनँ । मलाई उसको साथ, तृप्ति र संवेगको खाँचो थियो ।
बिहे महिना सुरु भयो । हुर्केका छोरा-छोरीका लागि आफन्तहरू मिल्दो जोडी खोज्न थाले । कहिले सानीलाई केटा हेर्न आएको कुरा सुनियो, कहिले तल गोबिन्देले वधू हेर्न गएको । त्यति मात्र होइन, मेरा कतिपय साथीको बिहे नै तय भएको खबर सुनियो ।
एकदिन मलाई पनि केटा हेर्न आयो । म विवश थिएँ, मलाई मेरो उसले बिहेको वचन दिएको थिएन । परिवार र आफन्तहरूको चौघेरामा उभिएँ म । ‘तैले धेरै सपना नदेख कान्छी, अब बिहे गर्नुपर्छ । केटा राम्रो छ’ अहिल्यै आफ्नो बिहेको उमेर नभएको भन्ने मेरो जिकिरको प्रतिरोधमा आमाले भनिन्, ‘अब अरू कुरै छैन । बिहे पक्कापक्कीजस्तो भयो ।’
नभन्दै बिहे तय भयो । मलाई यस्तो चंगुल बनाएर मनाइयो, मसँग विद्रोहको ताकत थिएन । मेरी एउटी संगीले सोधी, ‘जीवनलाई तैले अब छाड्छेस् त ?’ मैले आँखाबाट आँसु झार्दै मेरो बाध्यता र उसको बेखबरको अवस्था दर्साएँ । बिचरी, संगी काली पनि रोई ।
प्रकृतिमा पानी थिएन, त्यसैले मेरो औपचारिक प्रेमी पनि थिएन । अब मसँग थियो, एउटा अपरिचत, अन्जान र राम्रो भनिएको अर्कै साथी । घरपरिवारका तमाम रंग-ढंग, शैली र रिवाज । सबै मलाई नाटकजस्तै लाग्थे । शरीर र व्यवहार एउटा थियो, मनमस्तिष्क र सपना अरू-अरू नै । पृथक् ।
मैले पछि सुनेँ, उसले मेरो बिहेको खबर पायो रे ! रोयो रे ! विछिप्त भयो रे ! र, अरू अरू… पनि । तर, सबै मेरा लागि केवल सन्तप्त पार्ने समाचार मात्रै थिए, कुनै विद्रोही उद्दीपक थिएनन् ।

बिहेपछिका पाँच वर्षसम्म पनि मैले उसलाई भेट्न सकेकी छैन । देख्न पाएकी छैन । सुन्छु ‘उ पनि सहरमा कहीँ कतै समयसँग भौँतारिँदै छ ।’ त्यतिवेला मैले उसलाई भनेकी थिएँ, ‘तिमी मेरो भगवान् हौ । हामी सँगै नभए पनि भगवान् त जहाँ पनि हुन्छन् ।’ तर, अहिलेसम्म मैले भगवान् भेट्न सकिनँ ।
हरेक वर्ष वर्षात्मा उसको यादले मलाई तड्पाउनसम्म तड्पाउँछ । बाहिर पानी दर्किरहेको रात एकातिर उसको मीठो सम्झना र अर्कोतिर आफूसामुको तीतो यथार्थले मलाई अनौठो चेतमा भसाएको छ ।
अहिले मसँग वर्षात् त छ, तर ऊ छैन । उसका कुरा छैनन् । हलो-जुवा, रोपाहार छैनन् । अर्म-पर्म छैन । रोपाइँ छैन । भलो छैन । पानी भरिएर समाबाट पानी छचल्काउने गह्रा छैनन् । मोदीको सुसावट छैन । भन्ज्याङको चौतारी छैन । छेल पार्ने वर-पीपल छैन । मात्र पानी छ र साथमा फगत जुनेली विगतको तिर्सना ।

नारायण अमृत
narayan.amrit@gmail.com

(स्रोत : Amritbachan.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.