“भन्ज्याङको बखते आ’को थियो । तिम्लाई दिनु भनेर एउटा पत्र छोडेर गा’छ । घरमा थोपो पानी छैन । पानी लिन पँधेरा गएँ म । पत्र माथि तख्तामा राख्दियाछु रातो खोल भएको बाइबलमाथि ।” गर्मीले असिनपसिन भएको शरीरले आँगन टेक्न नपाउँदै तुलबहादुरलाई श्रीमतीको हतारोले झस्काइदियो । “ए जुनकिरी, कति हतार गर्छेस् ? बूढाले आँगन टेक्न नपाउँदै मृगभैँm कुदिहाल्नुपर्छ ? फेरि यो बखते भन्या को हो ? के कस्तो चिठ्ठी लिएर आ’को हो ?
म यहाँ थाकेर लोथ भा’छु । बरु पानी एकछिनपछि मै ल्याइदिउँला । मलाई माथि जान पनि अहिले अल्छी ला’छ । झर्को नमानी पैला चिठ्ठी ल्याइदेन ।” भादगाउँले टोपीले हम्किँदै तुलबहादुरले जुनकिरीको पाइला रोक्यो ।
“कति मात्र स्वास्नीको भर पर्छौ ए बूढा । साँझ पर्न लागिसक्यो, भात पकाउन त परै जाओस्, खानलाई समेत एक घुट्को पानी छैन भनेको कुरा सुनेनौ कि क्या हो ?” खुट्टा बजार्दै जुनकिरीले हल्का रिस पोखिन् । मुढामा थुचुक्क बस्दै तुलबहादुरले शान्त स्वरमा भन्यो, “मैले भनेँ त पानी मै ल्याइदिउँला, एकछिन पसिना त ओभाउन दे । तँ यतै भात पकाउन तरखर गर् । तरकारी छैन भने बरु करेसामा गएर फर्सीको मुन्टा लिएर आ । अनि केलाउँदै गर् । त्यतिञ्जेल त म पानी लिएर आइपुगिहाल्छु ।”
“कुरा सुन्दा त अहिले पानीको गाग्रो घर ल्याएजस्तो । नेताको आश्वासनले पेट भरिन्न । मलाई खुल्लासँग काम गर्न दिए मात्र पनि कति सञ्चो हुन्थ्यो । कहिले सुध्रिने हो यो बूढा ? म त हार खाइसकेँ ।” घरको पेटीमा गाग्री राखेर जुनकिरी भित्र छिरिन् । जुनकिरीले झर्कोफर्को गरेको हेरी तुलबहादुर जुड्डामा ताउ मिलाउँदै मुस्काइरह्यो । उसले एकपल्ट आङ तन्काएर चारैतिर हेर्यो । आँगन सफासँग बढारेर पोतेको । किलोमा बाँधिएका बाख्राहरू टन्न खाएर सुस्ताइरहेको । आँगनको डिलमा ढकमक्क फूलहरू फुलिरहेको । हरेक ठाउँ चिटिक्क मिलेको, सफा । साँच्चै आइमाई भएको घरको रूप नै बेग्लै हुँदोरहेछ । बिहान झिसमिसेमा उठेदेखि झमक्क रात नपरुञ्जेल घरको धन्दामा एकछिन फुर्सद पाउन्न । तैपनि कामको उचित सम्मान पाउँदैनन् यिनीहरूले । न त पारिश्रमिक नै पाउँछन् । यस्तो भए तापनि उनीहरू आÇनो कर्तव्यबाट कहिल्यै विमुख हुँदैनन् ।
हातमा चिठ्ठी बोकेकी जुनकिरी आँगनमा देखापरिन् । जति झर्कोफर्को गरेपनि श्रीमान्को आज्ञा, आग्रह उनी कहिले पनि टार्न सक्दिनन् । चिठ्ठी तुलबहादुरको हातमा थमाउँदै भन्न थालिन्, “म नभए कसरी बस्दो हो यो बूढा । एउटा सिन्को भाँच्न पनि मेरै भर पर्नुपर्ने । घर बाहिर त ‘सबैलाई सहयोग गर्दै हिँड्छ तेरो बूढा त’ भनी सबै मलाई फुक्र्याउँछन् । पत्याउँ कि नपत्याउँ म त दोधारमा परेँ ।” जुनकिरीको कुरा सुनेर तुलबहादुर मज्जाले हाँस्यो । “किन खिसी गर्छौ अर्कालाई ?” हल्का रिसाउँदै जुनकिरीले भनिन् । जुनकिरी साँच्चै सोझी छिन् । यसैले त तुलबहादुर उनलाई जिस्काइरहन मन पराउँछ ।
“कुन चाहिँ बखतेले ल्याएको चिठ्ठीमा के लेखेको रहेछ त, हेरिहालुँ ।” चिठ्ठी हातमा लिँदै तुलबहादुरले भन्यो । “साकार मण्डलीका एल्डर छ नि के रे प्रेमनाथ, हो उनैका छोरा त हो नि बखते । तीन चार वर्ष विदेश नि बसेर आ’का हुन् क्यारे । तिम्लाई दिनु भनेका छन् क्यारे । मैले पढ्न जान्या भए खबर अघि नै सुनाएर यतिखेरसम्म त पँधेराबाट पानी समेत ल्याइसक्थेँ हुँला क्यारे । अलमल अलमल गरेर झमक्कै साँझ पार्ने भो यो बूढाले । के गर्नु, बाउआमाका सन्तान धेरै भए । भाइबहिनी स्याहार्दा स्याहार्दै स्कुलको मुख देख्न पाइनँ ।” पेटीमा रहेको पिरकामा बस्दै जुनकिरीले भनिन् ।
“पढ्ने रहर गर्छेस् भने अहिले पनि के बितेको छ र । पढ्नलाई उमेरले छेक्दैन । हाम्रै मण्डलीमा प्रौढ कक्षा ल्याउँला अनि पढ्लास् तर बीचैमा छोड्न पाउन्नस् नि ।” खाम च्यात्दै तुलबहादुरले भन्यो । एउटा पत्र पनि पढ्न नजान्दा साँच्चै विरक्त लाग्दोरहेछ । परमेश्वरका वचन समेत अर्काले पढेको भरमा बुझ्नुपर्ने । आज पहिलोपल्ट तुलबहादुरको वचनले जुनकिरीको मुटुमै छेड्यो । हँसियाको टुप्पोले आँगनमा टुक्क टुक्क हान्दै उनले सोच्न थालिन् । अक्षर नजान्नुजस्तो कानो जीवनमा केही रहेनछ । मर्ने बेला हरियो काँक्रो भनेर किन नीच मारिबस्नु । अहिले अक्षर पढ्न जान्या भए परमेश्वरको वचन सुन्न पनि अर्काको बैशाखीमा भर पर्नुपर्ने थिएन । प्रौढ आइहाले त कम्मर कसेर अनि घुँडा धसेर पढ्नुपर्छ । मान्छेले प्रौढ पढेर पछि म्याट्रिक कटाएको खबर पनि रेडियोले दिएकै हो । प्रार्थना गर्नुपर्छ, आँट हुनुपर्छ, असम्भव के होला र ।
“बूढी, यो काटाकुटी बजारमा फेरि अर्को मण्डली सुरु हुने भो । प्रेमनाथका छोरा बखते अब त अझ बेन्जामिन रे, हो, उही पास्टर भएर आ’का रहेछन् विदेशमा तीन वर्ष पढेपछि । साकार मण्डली फेरि चोइटिने भो । भन्ज्याङमा उनीहरूकै घरको चोटामा मण्डली उद्घाटन कार्यक्रम राख्या रै छ । त्यही निम्तो पत्र रै छ यो ।” तुलबहादुरको कुराले जुनकिरीको कान ठाडो भयो ।
काटाकुटी बजारमा पुग नपुग दुई सय घर जति होला । हिँडेर जाँदा बजार छिचोल्न पन्ध्र बीस मिनेट भन्दा बढी लाग्दैन । यही बजारमा पहिलो पल्ट जीतबहादुर पास्टरले स्थापना गरेको थियो साकार मण्डली । बजारको मध्य भागमा स्थापना गरिएको मण्डलीले स्थानीय बजारवासीको निकै विरोध खेप्नुपर्यो । पास्टर जीतबहादुरलाई तीनपल्टसम्म चौकी पुर्याइयो । तैपनि पास्टरले हरेश खाएन । उपवास बसेर प्रार्थनामा निरन्तर जुटिरह्यो । एक रात सुत्ने तरखरमा रहँदा अचानक उसको ढोका कसैले ढक्ढक्यायो । पास्टर भित्रैबाट ‘को हो ?’ भनी करायो । बाहिर उही उसलाई चौकीमा पोल लाउने व्यक्ति रहेछ । ऊ उसको घरमा गएर प्रार्थना गरिदिनुपर्यो भनेर अनुनय गर्दै रहेछ । ‘कतै यो अर्को षड्यन्त्र त होइन ?’ पास्टरको मनमा चिसो पस्यो । ‘कतै परमेश्वरले प्रार्थनाको उत्तर स्वरूप यो बजारमा अचम्मको कार्य गर्न खोज्नुभएको पनि हुनसक्छ” अर्को मनले भन्यो । पास्टर जीतबहादुर द्विविधामा पर्यो । उसले एकपल्ट श्रीमतीको अनुहारमा पुलुक्क हेर्यो । श्रीमतीले उसको हात च्याप्प समाइन् । “तँ नआँटी, मेरो निम्ति जिउनु ख्रिस्ट हो र मर्नु लाभ हो ।” ढोका खोलेर जीतबहादुर त्यही मान्छेसँग अन्धकारमा बिलायो । साँच्चै परमेश्वरको योजना अचम्मको रहेछ । घरमा त्यो मान्छेको छोरा पीडाले छट्पटाइरहेको थियो । डाक्टरले माया मारेपछि घरमै ल्याएको रहेछ । केही सीप नलागेपछि छोराले नै प्रार्थनाको लागि पास्टरलाई बोलाउन पठाएको थियो । पहिलाको सबै घटना बिर्सेर पास्टरले उसको लागि प्रार्थना गर्न थाल्यो । प्रार्थना गर्दा गर्दा घण्टाहरू बित्न थाले । उता घरमा पास्टरकी श्रीमती उसको बाटो हेर्दै प्रार्थना गर्दै रात कटाउन थालिन् भने यता पास्टर भने सैतानलाई डाँट्दै बिरामीको चङ्गाइको लागि खुरन्धार प्रार्थनामा लागिरह्यो । परिवारका सबैले विगतमा भए गरेका गल्तीहरूको लागि क्षमा माग्यो । त्यहाँ क्षमा लेनदेन भयो । बिहानीपख बल्ल बिरामी केही सुस्तायो । प्रार्थनाको उत्तरस्वरूप रोगले क्रमश: उसको शरीरलाई छोड्दै गयो । धेरै महिनापछि ऊ राम्ररी निदायो । सबैको आँखाबाट खुशीका आँसु बर्सिन थाले । सबैजनाले उत्तिखेरै ग्रहण गरे । सम्पूर्ण परिवार निरन्तर मण्डलीमा जान थाले । उही व्यक्ति पछि एल्डर प्रेमनाथको नामले चिनिन थाल्यो । अहिले तुलबहादुरलाई पत्र पठाउने बखते अर्थात् पास्टर बेन्जामिन त्यही मर्न लागेको बिरामी थियो जसलाई पास्टर जीतबहादुरले रातभर जागा रहेर परमेश्वरमा प्रार्थना गरी ब्युँताएको थियो ।
“हुन त आफू अनपढ मान्छे । त्यति धेरै जानेको, बुझेको पनि छैन । यो सानो काटाकुटी बजारमा अहिले नै आठ, नौ वटा मण्डलीहरू भैसके । अब फेरि नयाँ मण्डली खाँचो छ र ? भएका मण्डली भवनहरू अझै भरिएका छैनन् । यताको मान्छे उता, उताको मान्छे यता तान्नमै अगुवाहरू व्यस्त छन् । बजारभरि सुसमाचार नसुनेका मान्छे कोही छैनन्, बजारियाहरू मण्डली छिर्ने कुरै गर्दैनन् । यस्तो अवस्थामा बरु सबै एकजुट भएर भएका मण्डली मात्रलाई पनि सुसज्जित बनाएमा परमेश्वरको काम प्रभावकारी हुन्छ जस्तो लाग्छ । खोइ किन अर्को मण्डली खोल्नुपर्यो ?” जुनकिरीले तुलबहादुरको मुहार ताकिन् । जुनकिरीको कुराले तुलबहादुर एकछिन गम खायो । वास्तवमा उनको भनाइमा सोह्रै आना सत्यता छ । कुनै संस्था वा व्यक्तिको स्वार्थको लागि मात्र मण्डली स्थापना गर्न खोज्नु कतिको बुद्धिमानी हो ? विश्वासीहरूलाई विभिन्न डिनोमिनेसनको घनचक्करमा पेलेर लानुको साटो ख्रिस्टलाई केन्द्रविन्दु बनाएर एउटै विशाल मण्डलीमा गोलवन्द भएर जान सके कति असल हुन्थ्यो । तर के गर्नु, लाटो देशमा गाँडो तन्नेरी बन्नैपर्ने । निमन्त्रणा पत्रले हम्किँदै तुलबहादुरले भन्यो, “यस्तै हो बूढी, तिम्रो जस्तो विशाल मन सेवकाइको ढोङ रच्ने अगुवाहरूमा पाइन छाड्यो । परमेश्वरको अगुवाइभन्दा पनि आÇनो चाहना र संस्थाको स्वार्थको लागि मण्डली खोल्न थालियो । पास्टर जीतबहादुरको मृत्युसँगै टुक्रिन सुरु भएको साकार मण्डलीले अझै स्थिरता पाएन । पास्टर जीतबहादुरको जस्तो त्याग र तपस्या नयाँ पुस्तामा खट्कियो । उनी छउन्जेल कसैले चुईंक्कसम्म बोल्न सकेनन् । उनको उच्च व्यक्तित्व र परमेश्वरप्रति इमानदार सेवकाइले सबैलाई एकतावद्ध हुन करमै पारेको थियो । उनी पछि आएका पास्टरले आÇनो प्रतिष्ठा जोगाउन सकेन । परमेश्वरभन्दा मान्छेमा बढी भर पर्न थाल्यो । मण्डलीमा निस्वार्थ सेवकाइ गर्नेहरूलाई पाखा लगाउने चालबाजी सुरु भयो । अनि त के चाहियो र ? एउटै मालामा उनिएका फूलहरू क्रमश: झर्न थालिहाल्यो ।”
“तिम्रा कुरा पनि ठीकै हो बूढा तर म साकार मण्डलीको मात्र कुरा गरिरहेकी छैन । हुन त मभन्दा तिमी धेरै घुमेका छौ । अझ तिम्लाई बढी थाहा होला । विकट गाउँवस्तीमा मण्डलीको नामोनिशान छैन, सहर बजारमा घरैपिच्छे मण्डलीको बोर्ड झुण्डिन थालेको छ । कि कसो बूढा ?” जुनकिरीले आÇनो असन्तुष्टिलाई मनभित्रै दबाएर राख्न सकिनन् ।
“सुविधामुखी अगुवा भएको कारण नै यो असन्तुलन पैदा भएको हो । परमेश्वरको बोलावटलाई बुझ्न नसकेको हो वा बुझपचाइरहेको हो, मैले पनि बुझ्न सकेको छैन । अब जेसुकै होस्, मण्डली खोल्ने निर्णय नै गरिसकेर उद्घाटन कार्यक्रम राखेपछि यसो मुख देखाउन भए पनि जानै पर्यो ।”
“जान त जानु, उद्घाटनमा जानु, बैठकमा जानु, गोष्ठीमा जानु, तिमी चाहिँ सबैतिर जानु, म भने पानी लिन समेत नजानु ?” अचानक जुनकिरी रिसाएकोमा तुलबहादुरलाई अचम्म लाग्यो । उसले पश्चिमतिर नजर लगायो । घाम डुब्नै आँटेको रहेछ । गफले गर्दा पानी ल्याउनै भुलेछ । मुढाबाट उठ्दै तुलबहादुरले गाग्रो समायो । “अब पसिना ओभायो । म पानी लिन गएँ । तिमी भान्छाको तयारी गर्दै बस । तु गएर तु आइहाल्छु ।” गाग्रो बोकेर ओरालो झर्न लागेको तुलबहादुरलाई फेरि जुनकिरीको चर्को आवाजले ठिड्ड उभ्यायो, “ए बूढा, यतिका ढिलो त भइ नै सक्यो । अब मेरो अलिकति कुरा सुन्दैमा रात परिहाल्दैन । अब तिमी उद्घाटनमा जाने भैहाल्यौ । तिम्लाई पनि दुई शब्द पक्कै बोल्न देला । त्यसमा एक शब्द मेरो पनि राख्देऊ । अबदेखि बैज्ञानिक हिसाबले मण्डली खोल्नुपर्छ । एउटा मण्डलीबाट कति दूरीमा वा कति जनसंख्याको फासलामा अर्को मण्डली खोल्न पाउने हो, एउटा आचारसंहिता बनाएर लागु गरौँ भनेर प्रस्ताव राख । परमेश्वरको बेवास्ता गरी कसैको निहित स्वार्थको लागि मण्डली खोलेर दुनिया हँसाउने कार्य नगर अगुवा हो भन । घरैपिच्छे, टोलैपिच्छे बीस पच्चीस जना मान्छे जम्मा गरेर मण्डली भनी झ्याली पिट्दै हिँड्दा छिमेकीहरूले क्या हो तिमेरु सबै क्रिस्तान एकै होइनन् भनेर हाम्लाई सोधेर हैरान पारेका छन् भनिदेओ । भन्नलाई डराउनु पर्दैन बूढा ।”
“म अहिले उद्घाटनको लागि जान लाग्या होइन बूढी, म पानी लिन जान लाग्या ।” ओरालो झर्दै तुलबहादुरले भन्यो । उसको कुराले जुनकिरी आँगनै थर्किने गरी हाँसिन् ।
समाप्त
क्वाइनोनिया भक्तपुर मण्डली
हाल: धुलिखेल, काभ्रे
प्रतिक्रियाको लागि: helpandcare99@gmail.com
(स्रोत : Ebachan.com)