समयको बक्रतामा एक पटक सेमिनारको चाँजो-पाँजो मिल्यो । चीनमा आएपछिको पहिलो सेमिनार । हल्का उत्साह र धेरै भ्रमका बीच पाँचतारे होटलमा मूकदर्शक भै सेमिनारको मेलो गुजारे ।
जब भोजनको समय भयो, पाँचतारेको पाकशालामा हाम्रा परिकार पक्कै पाकेका होलान् भनेर म मक्ख थिए । टोलि नेताले भोजनगर्न
सैंतिसौं तल्लामा जानुपर्ने भनेपछि मैले एक पटक भिडलाई नियाले, भिड अलिकति उत्तेजित अनि अलिकति हतास हुँदै हतारो गर्न थाल्यो । मैले पनि उसै गरे जसो भिडले गर्यो । बल्लबल्ल के खाने ठाउँमा पुगेको थिए त्यहाँको भिड देखेर म झन् दङ्ग परे, मनमनै गम खाए – नेपालकै पारा भए रहलपहल मिल्ला की !
भोजनपत्र उर्फ लन्च कुपन हातको पसिनाले लत्रक्क भिजिसकेपछि पालो आयो । पालो त आयो तर फेरी के खान हुने/नहुने र मीठो-मसिनोको चिन्ताले सतायो । गोरु बाबा र गौमाता मेरो मनले अझै नखा भन्छ । परिकार जति थरिका भए पनि आफ्नो जीब्रोको स्वाद अनुसार नभएपछि ग्रन्थी रसायन र आधा पेटमा चित्त बुझायँ । गोलो टेबलको बसाइमा धेरै अपरिचित थिए । खानेक्रममा पोर्चुगलकी एक महिलासंग परिचय भयो । चन्चल स्वभावकी, पातली, मुखभरी छिर्काबिर्का भएकी उनको आँखा भने नीला थिए । वार्तालापमा उनको बोल्ने शैली र प्रस्तुति मलाई काउकुती लाउने खालको थियो । म पनि जवानीको जोशमा सेतो छालाको लोभले कुत्कुतिए ।
मेरा परम् मित्र महेशले मुखपत्रिकामा “कुटनितिज्ञ जस्तो देखियौ” भनेर टिप्पणी गरेपनि वास्तविकतामा म आफूलाई भने छद्मचर जस्तो लाग्थ्यो । बिना टाईको सुट-पेन्ट, छालाको कालो जुत्ता, छातिबाहिरको कोटको भागमा एकापट्टि चिकित्सक संघको ब्याच अर्कोपट्टि खुकुरी र नेपालको झन्डा क्रसको फूली, दारिजुंगा खौरेका चिल्ला गाला र कन्चट फुलेका कपाल । सायद मेरो यो रुपमा ती महिलालाई भ्रम भयो की म कुनै बरिस्ठ नै हुँ । म सकि-नसकी मृदुभाषामा अंग्रेजी वार्तालाप गर्दै उनको नील आँखारुपी सागरमा डुब्दै थिए । उनीपनि मेरा कुरामा लट्ठीएको आभाष हुन्थ्यो । यसैक्रममा उनले नेपालमा गयर स्वयंसेवक भै सेवागर्ने बताईन् । उनको नेपालप्रतिको मोह देखेर म दङ्ग परे । मलाई लग्यो उनी नेपाल र नेपालीलाई साच्चै माया गर्छिन् । मेरा सदा सहयोगी र तत्पर ग्रन्थी रसाए । प्रतिउत्तरमा मैले सकेको सहयोग गर्ने बचन दिए । संगै बसेको ईश्वर भाइले मेरो ध्यान भंग नगरुन्जेल म उनीसंगको वार्तालापमै लट्ठीरहें । वार्तामा हाम्रो बसाई एउटै होटलमा भएको र भेटेर थप कुरागर्ने निचोडसाथ म उनीसंग विदा भए ।
****
दृष्टि भ्रमपढाईको व्यस्तताको बीचमा पनि समय काट्ने मेलो हुन्थ्यो WeChat राजनीति । मुखपत्रिका जस्तै यो संजालले मेरालागि केहि कुरा जुराइदियो । मित्रप्राप्ति र बिछोड यो संजालको बिशेषता थियो । तीसबर्षे महिला मेरा मित्र बनिन् । भेटघाटको साईत जुर्यो नजिकैको KFC मा । तीन बर्षको छोरोलाई KFC भित्रको बाल खेलकुद गृह ल्याउने उनको चाहना र मेरो समय काट्ने बहानाले मूर्तरुप पायो । मेरा अंग्रेजी उनी सजिलै बुझ्दथिन् भने उनले चाइनीज बोल्दा म पकरल्ल पर्दथें । उनलाई मीत्र बनाउन पाउनु म यस अर्थमा भग्यमानी ठान्दथेंकी मेरै गुरुआमा मैले बोलेको अंग्रेजी बुझ्दिनथिन् । उनीसंगको उठबसमा मैले चिनीया भाषा, कला, संस्कृति, पर्यटकीय स्थल, विभिन्न खानेपरिकार, चिनीया महिला-पुरुषका सोच्ने शैली र कमी-कमजोरी लगायतका थुप्रै कुराको जानकारी र विशेषगरी उनको सम्मान अनि माया पाए ।
बिस्तारै हाम्रो हिमचिम बढ्दै गयो । पहिलो भेटमा उनले मेरो आँखा मनपरेको बताइन् भने अलि पछि म आँटिलो भएको बारम्बार बताउने गर्थिन् । मलाई यी कुराको बारेमा न हिजो पत्तो थियो न आज ! तारीफ मेरो कमजोरी रह्यो । न म कसैलाई तारीफ गर्न सक्ने न अरुले तारीफ गर्दा ग्रहण गर्न सक्ने ! उनी अलिक छिटो रिसाउथिइन् भने म अझ चाडै । उनी भन्ने गर्थिन्- “जति रिसाए पनि तिमीलाई भेटेपछि मेरा सबै रिस-राग हराउँछन् । तिमी मेरा सुख-दुख, रिस-राग, पिडा-कुण्ठा, हाँसो-रोदन, माया-घृणा सबै बिसाउने चौतारी हौ । चिनीयाको मन चीसो हुन्छ, थोरै बोल्छन् धेरै संकेत गर्छन्, बिदेशी सबै खराब हुन्छ भन्ने सोच्छन्, आफ्ना कुरा मात्रै सुनाउछन्, अर्काको कुरा सुन्दैनन्, घमण्डी हुन्छन् ।” उनले यी सबै एकै सासमा भानिसकिन् र अर्को लामो सास लिइन् अनि गम्भीर मुद्रामा भनिन्- “सबै बिदेशी खराब हुँदा रहेनछन्, भगवानले मलाई तिमीसंग पहिले नै किन भेट गराएनन् !”
म निशब्द भावबिहीन भएर सून्यतामा हराए । त्यतिकैमा बाल खेलकुद गृहबाट बच्चा रोएको आवाज आयो । उनी उता लागिन्, म यता टोलाईरहें ।
****
एकदिन बिहान प्रायजसो शान्त रहने मोबाइल घुर्यो । प्रचार-प्रसार गर्न धेरै पटक अपरिचत व्यक्ति र ठाउँबाट आउने फोनले गर्दा मलाई फोन उठाउन अल्छी लाग्न थालेको थियो । त्यसैले जाँगर चलाईन फोन उठाउन । एकछिन पछि फेरी घुर्यो फोन । नजर लगाउदा चिनीया महिला मीत्रको रहेछ । उनले मेरै कोठामा आएर मलाई भोजन गराउने सुरले फोन गरेकी रहिछन् । मैले हरियो बत्तीको संकेत गरे ।
कक्षा छुट्टी भएपछि ईश्वर भाइलाई भोजनको निम्तो दिएर म उनलाई लिन KFC पुगे तर फोन भने गरिन । पारदर्शी काँचका झ्यालबाट मैले बाटो काटेको उनले देखेकी रहिछन् । पुग्ने बित्तिकै झटारो हानिन्- “Bad boy! Better use subway.”
म फिस्स हाँसे र मनमनै गम खाए – म नेपाली हुँ, त्यसमा पनि बुद्धु तर वीर गोर्खालीको छोरो !
उनले किनेका सामग्रीले भरिएका झोला बोकेर म र उनी होटलतिर लाग्यौं । होटल पुग्नै लाग्दा एकजना महिलालाई देखें बाटोमा उभिरहेको । उनको र मेरो आँखा जुध्यो । उनी सेमिनारमा परिचय भएकी उनै पोर्चुगलकी महिलामीत्र थिइन् । हाम्रो दुरी करीब दश मीटर जतिको हुदोंहो । नजिकै गयर बोल्ने सुरले आँखा जुद्धा केवल मुस्काए मात्र । दुइचार पाइला हिडेर उनलाई हेर्दा उनी त म तिर पिठ फर्काएर अन्तै हेरेर बसेकी रहिछन् । म असमन्जसमा परे । सोचें – संगै अर्की महिला देखेर हो की ! न टाढाबाट ठम्याउन सकिनन् की ! बोलाउ की नबोलाउ दोधारबीच मैले बोलाउने निधो गरे । त्यति राम्रोसंग कुरा भएको अनि नेपाल र नेपालीलाई मायागर्ने मान्छेलाई बोलाउनु मेरो कर्तब्य हो भन्ने सम्झे । नजिकै गएर बोलाए | बोल्न मन नलागेको बान्कीमा केवल म तिर पुलुक्क हेरिन् र फेरी मुन्टो बटारिन् । म परिबन्धमा फसें । सेतो छालाप्रतिको तिर्सनाको अवसान भएको आभाष भयो मलाई । केहि बोलुँ उनको त्यो पारा, नाबोलुँ बोलाई त सकें ! दुइचार वात सोधें, उनले मन नलागी-नलागी उसैगरी पिठ फर्काएर रुखो उत्तर दिइन् । अन्त्यमा “शुभदिन” भनेर कुडिएको मनले होटलतिर लागे । प्रतिउत्तरमा मेरो कानमा हावाको चीसो झोक्कामात्रै पर्यो ।
होटलको लिफ्ट चढ्न लिफ्ट अगाडिको पुन्टे बाकसमा कोठाको कार्डले दल्नुपर्छ । मलाई यसोगर्दा जैलेपनि गाउँका उरन्ठेउला र भुसतिग्रे केटाहरुले भिडभाड र बिशेषगरी जात्रामा तरुनीका संबेदनशील अंगमा दलेर मज्जा लिनुपर्छ भनेको मात्रै याद आउँछ ।
आजपनि उसै गरें जसो पैले गर्थे । लिफ्टको ढोका च्यातियो र ऐना देखियो । ऐनामा चिनीया महिलामीत्रको मलीन अनुहार देखापर्यो । ऐनामा उनको र मेरो आँखा जुध्यो । म फिस्स हाँसे तर उनी हाँसिनन् । मेरो मनमा चीसो पस्यो । महिलाको मन – के के सोचिन् !
कोठामा पुग्नेबित्तिकै उनले मलाई बोलाइन् – “San !” यो उनको मलाई संबोधन गर्ने तरिका थियो । भन्थिन् – तिमीलाई यसरी बोलाउन मलाई मनपर्छ । मैले पुलुक्क उनीतिर हेरें । उनले सोधिन् – “अघि बाटोमा भेटेको को हो ?” “साथी” मैले भने ।
“साथीभए देखेपछि किन पिठ फर्काएको त ?” उनको प्रश्नको जवाफमा सोझो उत्तर दिए “ मलाई थाहा छैन ।” “तिमीहरुले एकअर्कालाई चिनेका त थियौ ?” उनको अर्को प्रश्न । विगत सम्झेर म एकछिन गम खए र उत्तर दिए – “परिचय मात्रै हैन, लामै भलाकुसारी भएको थियो ।”
अलिक रिसाएझैँ गरेर फेरी प्रश्न गरिन् – “ त्यसोभए अघिको वार्तालाप नाटक हो ?”
स्खलित मेरो माथिंगल सून्य थियो । उनको आँखामा आँखा जुधाएर विश्वास दिलाउँदै भने “नाटक होइन”, “केवल दृष्टि भ्रम !”
सन्जित सापकोटा हाल चीनमा चिकित्सा शास्त्रमा स्नाकोत्तर गर्दै हुनुहुन्छ । उहाँ बिशेष गरि समाज सेवा, अध्यन अनुसन्धान, भ्रमण र साहित्यमा रुचि राख्नुहुन्छ । सम्पर्कको लागि उहाँको इमेल ठेगाना – sapkotasanjit@gmail.com.
(स्रोत : Nirmal Blog)